मकवानपुर । मकवानपुर प्रहरीले हेटाैडाबाट २ सय ९ किलाे गाँजा सहित ३ जना पक्राउ गरेकाे छ । हेटाैडाकाे २ छुट्टा छुट्टै स्थानबाट उक्त परिमाणकाे गाँजासहित ट्रक समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
हेटौंडा उपमहानगरपालिका–१५ रातमाटे र हेटौंडा–१९ नेवारपानीबाट बुधबार विहान दुई वटा ट्रकमा लुकाई छिपाइ ल्याएको २ सय ९ किलो लागु औषध गाँजासहित ३ जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार विहान १०: ४५ बजेको समयमा हेटौंडा–१५ रातमाटेबाट बि.आर ०१ जी.जी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलो लागूऔषध गाँजा बरामद भएको हो । पूर्व पश्चिम राजमार्ग सडक खण्डमा हेटौडाबाट बारातर्फ जाँदै गरेको उक्त भरतीय ट्रकलाई रोकी चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको सो परिमाणको लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

रिमालका अनुसार ट्रकका चालक भारत मोतिहारी बस्ने ३० बर्षको रविन्द्र राय र सोही स्थान बस्ने ट्रकका सह–चालक ३१ बर्षको मुक्तार सैफिकलाई पक्राउ गरिएको हो ।
त्यस्तै बुधबार बिहान करिब ७ बजेको समयमा हेटौंडा–१९ नेवार पानीबाट ना ६ ख ३७४१ नम्बरको कन्टेनरमा लुकाई छिपाइ ल्याएको ४० किलो लागुऔषध गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गतकाे सडक खण्डमा मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्दा उक्त परिमाणमा लागुऔषध गाँजा फेला परेको रिमालले बताए ।
उनकाअनुसार कन्टेनरका सह–चालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर–४ बस्ने १९ बर्षको दिपक गुरुङलाई पक्राउ गरिएको रिमालले बताए । पक्राउ परेका व्यक्ती र सवारी साधानकाे सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

