मकवानपुर । हामी चुनाव चाहन्छाै भन्दै हेटाैडामा प्रदर्शन भएकाे छ । अनेरास्ववियु मकवानपुरले राजनीतिक निकासका लागि चुनावकाे माग गर्दै प्रदर्शन गरेकाे हाे । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु मकवानपुरले अहिलेकाे परिस्थितिमा ताजा जनादेश पक्षमा प्रदर्शन गरेकाे हाे ।
संविधानको सर्वोच्चता र लोकतन्त्रको रक्षाको लागि ‘वि वान्ट इलेक्सन’ (हामी चुनाव चाहन्छौं) भन्दै अनेरास्ववियुले शुक्रवार हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको हो । अनेरास्ववियु मकवानपुरका संयोजक बिशाल पौडेलले संवैधानिक सर्वोच्चता, दलिय व्यवस्थाको सुनिश्चितता, लोकतन्त्रको रक्षा,निर्वाचनको वातावरण नविथोल्न खवरदारी गर्दै प्रदर्शन गरेको बताए ।
‘राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बनौं, ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं’ भन्ने नारासहित अनेरास्ववियु सडकमा उत्रेको केन्द्रिय सदस्य किशन घिसिङ्गले बताए ।अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिबारे समेत सरकारको ध्यानाकर्षण गराएको घिसिङ्गले जानकारी दिए ।

