मकवानपुर । अहिले बागमती प्रदेशका केही स्थानहरुमा मध्यम्/भारी वर्षा भैरहेको छ। देशभर मनसुनी वायुको प्रभावकाे कारण आज देशका विभिन्न स्थानमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । त्यसैले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेकाे छ ।
३ दिनकाे माैसम पूर्वानुमान
असार २५ गते प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
असार २६ गते देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
असार २७ गते देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

