- त्रिपुरा पोखरेल खरेल
कलेजमा राजनीतिशास्त्र पढाइ हुँदैथ्यो। रिडर जगतलाई छात्रछात्राले मन पराउथे ।उनको पढाउने शैली गजबको थियो। सधैँको जस्तो आज प्रश्न गर्ने प्रशान्तको पालो हो। अनि पाँच मिनेटमै यो सकेर हामी आफ्नो पढाइको विषयतिर लाग्नुपर्छ ।
” सर क्रान्ति भनेको के हो ? ” प्रशान्तले प्रश्न गर्यो। ” किन सोध्यौ प्रशान्त ? ” तिनी मुस्कुराए ” मलाई जान्ने चाहना जाग्यो ।” ” क्रान्ति भनेको भोकोको आबाज हो ,जब ऊ डम्म भएर अघाउँछ त्यसपछि ऊ विश्राम गर्छ, फेरि अर्को भोकाएको मान्छे, क्रान्ति भन्दै आक्रोशित आवाजले माइक घन्काउँछ ।
“अनि परिवर्तन भनेको चाहिँ के हो सर?” आज ऊसले सानो बालक सरह गुरुलाई प्रश्नको वर्षा गर्दैछ। ” हैट लाटा , परिवर्तन पनि कतै हुन्छ र? परिवर्तनको शाब्दिक अर्थ के हो तिमीलाई थाहा छ ?” “छैन , त्यसैले गुरूलाई सोधेको ।” प्रशान्तले पछाडि फर्केर साथीहरुलाई हेर्यो। उसले मन पराएकी ललिता र उसका चार आँखा जुधे। ऊ मुस्कुराइ।
” बाबु , परिवर्तन भनेको चाहिँ पुरानो रक्सीलाई नयाँ बोतलमा हालेको जत्तिकै हो। राजनीतिशास्त्रमा प्रजातन्त्रको व्याख्या कस्तो लेखिएको छ, त्यो तिमीलाई थाहा छ ,तर प्रयोगमा भने प्रजातन्त्रको सही मूल्यांकन भएको छ त?” तिनले उल्टै प्रशान्तलाई प्रश्न गरे। ” नाइँ ,ऊसले नकारात्मक पाराले टाउको हल्लायो। राजनीति शास्त्रमा मौलिक अधिकारको कुरा लेखिएको छ।
कसैले मौलिक अधिकार पाएका छन् त? ” छैन गुरू।” ऊसले पुन: टाउको हल्लायो। ” बावु ! प्रजातन्त्र , परिवर्तन , मौलिक अधिकार र क्रान्ति भन्दै नेताहरूले सिधासाधा जनताको भोट हत्याउने काम गर्छन् । सरकार परिवर्तन हुन्छ, सरकार चलाउने मान्छे परिवर्तन हुन्छन् तर व्यवस्था परिवर्तन हुँदैन ।” “अहिले भने अलिअलि बुझें सर।”
पानी खोलाबाट बोकेर खानुपर्ने गाउँका मानिसहरूले सरकारसँग पानीको माग गरेर नारा लगाएका रहेछन् । पुलिसहरुले अश्रुग्यास छोड्दै भीडलाई लाठीचार्ज गर्दैथ्ये। “गुरूको भनाइको अर्थ पुरै बुझें। ” बाहिरको दृश्य हेर्दै प्रशान्तले भन्यो।
सिक्किम, भारत

