मकवानपुर । मकवानपुरमा सबै सरकारी सेवा असार १३ गते आइतबारदेखि सुरु हुने भएकाे छ । काेराेना संक्रमणकाे कारण बन्द रहेकाे सरकारी कार्यालयकाे सेवा आगामी आइतबारदेखि सुरु हुने भएको हाे ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको विहीबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सरकारी कार्यालयकाे सेवा सुरु गर्ने निर्णय गरेकाे जिल्लामकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले जानकारी दिए ।
काेराेना संक्रमण सक्रिय संख्या रहीरहेकाेले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालन गरी गराइ कार्यालयमा सेवाग्राहीहरूकाे भिडभाड नहुने बैकल्पिक विधिहरू अवलम्बन गरी सार्वजनिक गर्ने कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
यसैगरी जिल्ला प्रशासन कार्यलय मकवपानपुरले हेटौंडा-४ स्थित खोपेगल्लीको तरकारी पसल बाहेक अन्य पसल खोल्न अनुमति दिएको छ ।
प्रशासनले एक सूचना जारी गर्दै खोपेगल्लीमा रहेको तरकारी बाहेक खाद्यन्नका पसलहरु बिहान ४ बजेदेखि बिहान १० बजेसम्म खोल्न अनुमति दिएको हो ।
यसैगरि प्रशासनले पुस्तक तथा स्टेसनरी,इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरु,हार्डवेयस पसल,भाँडा पसल,कपडा पसल,टेलर,जुत्तापसल,सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस बिक्रीबितरण गर्ने पसलहरु दिउँसो १२ बजे देखि ४ बजे सम्म खोल्न अनुमति दिएको छ ।


