मकवानपुर । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले मकवानपुरका दुई स्थानीय तहलाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले एक्सपर्ट फाउण्डेशन मार्फत सोमबार मकवानपुरको कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकालाई १/१ थान अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो ।
सामाजिक उत्तरदायित्व तथा सामाजिक सेवामा प्रतिबद्ध व्यावसायिक संस्था एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.ले एक्सपर्ट फाउन्डेसन मार्फत विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा परेकाव्यक्तिहरुलाई विभिन्न सहायताहरु प्रदान गर्दै आएको छ ।
एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँलाई १० लिटर क्षमताको अक्सिजन कन्सट्रेटर हस्तान्तरण गरेका हुन् ।
अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तानले माहामारीसंग लड्न र अन्य समयमा पनि बिरामीलाई सहज उपचार पाउनका लागि अक्सिजन कन्सट्रेटरले महत्वपूर्ण सहयोग गर्ने बताए । उनले सहयोग प्राप्त अक्सिजन कन्सट्रेटर गाउँपालिका भित्रको नामटार स्वास्थ्य चौकीमा प्रयोगमा ल्याइने बताए ।
यस्तै अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले अक्सिजन कन्सट्रेटरको पूर्ण रुपमा सदुपयोग गरिने बताए । उनले यस सामग्रीले अक्सिजन आवश्यक पर्ने बिरामीलाई गाउँपालिका भित्रै उपचार गर्नमा सहयोग मिल्ने भन्दै सहयोगका लागि एक्सपर्ट परिवारलाई धन्यवाद दिए ।
अक्सिजन कन्सट्रेटर सहयोग हस्तान्तरण गर्दै एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले केन्द्रीय कार्यालय अष्ट्रेलियाबाट प्राप्त भएको अक्सिजन कन्सट्रेटर आवश्यक क्षेत्रमा प्रदान गरिएको बताए । उनले सुगम क्षेत्रमा भन्दा पनि दुर्गम क्षेत्रका जनताले सहज रुपमा अक्सिजन पाउन समस्या झेल्नु पर्ने गरेकाले त्यस्तो ठाउँमा सहयोग गरिएको बताए ।
उनले देशमा आइपर्ने हरेक आपतविपत्मा एक्सपर्टले सहयोगी भूमिका खेल्दै आइरहेको भन्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्दै जाने बताए । एक्सपर्टको केन्द्रीय कार्यालयबाट प्राप्त अक्सिजन कन्सट्रेटर नेपालका विभिन्न शाखा मार्फत आवश्यक स्थानमा हस्तान्तरण गरिरहेको छ । हस्तान्तरण कार्यक्रममा एक्सपर्टका लेखा प्रमुख किरण पौडेल, एक्सपर्ट हेटौंडाका अच्युत चालिसे, पत्रकार शिव रिजाललगायतको उपस्थिति रहेको थियो ।
यस संस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई विभिन्न राहत प्याकेजहरु वितरण गरेको छ भने नेपालका विभिन्न स्थानमा खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदानलगायतका सहायताहरु प्रदान गरिसकेको छ ।

