मकवानपुर । काेराेना भाइरस संक्रमण राेकथाम नियन्त्रण तथा व्यवस्थापनकाे लागि मकवानपुरमा जारी निषेधाज्ञा १ हप्ता थप गरिएकाे छ । असार ७ गते सोमबार राती सम्म जारी निषेधाज्ञा आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १ हप्ता थप गर्न सिफारिस गरेकाेमा जारी निषेधाज्ञा थप खुकुलो बनाएर १ हप्ता थप गर्न प्रमुख जिल्ला अधिकारीबाट आजै आदेश जारी गरी निषेधाज्ञा थप गरिएकाे हाे ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रकाे सिफारिसमा जिल्ला सुरक्षा समितिकाे निर्णयानुसार जारी निषधाज्ञामा अत्यावश्यक उपभोग्य वस्तुको पसल विहान ४:०० बजेदेखि विहान १०:०० बजेसम्म मात्र खोल्न पाइने छ । हेटौडा खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेका खुद्रा तरकारी तथा माछामासु बजार भने पूर्णरूपमा बन्द नै रहने प्रशासनले जनाएको छ ।
त्यस्तै पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विक्रीवितरण गर्ने पसल दिनको १२:०० बजेदेखि दिनको ४:०० बजेसम्म खोल्न पाइने निर्णय भएको छ । तर फुटपाथमा पसल राख्ख नपाउने बताइएको छ ।
त्यस्तै रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट टेकअवे र होमडेलिभरी हुने गरी मात्र दिनको १२:०० बजेदेखि दिनको ४:०० बजेसम्म खोल्न पाइने भएको छ । पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्यरूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्नुपर्ने निषेधाज्ञाकाे अादेशमा भनिएकाे छ ।
जिल्लामा गत बैशाख १९ गते राति १२ बजे देखि निषेधाज्ञा जारी रहेको छ ।
हेर्नुहाेस जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र तथा प्रमुख जिल्ला अधिकारीबाट भएकाे अादेश





