दाेलखा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेत गृह जिल्ला दाेलखामा स्वास्थ्य सामग्री सहित आइपुगेकी छिन् । प्रदेश सरकारबाट दोलखा जिल्ला स्वास्थ्य कार्यालयलाई करिब एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नकाे लागि मन्त्री बस्नेत दाेलखा आएकी हुन् ।
सामाजिक विकास मन्त्री बस्नेतले जिल्ला स्वास्थ्य कार्यालय दाेलखाका प्रमुख अर्जुन पौडेललाई शनिबार एक कार्यक्रमका बीच भेन्टिलेटर, मोबाइल एक्सरे मेसिन, अक्सिजन कन्सेन्ट्रेटर, अक्सिजन सिलिण्डर, डेड बडी ब्याग, डिजिटल थर्मोमिटर, पल्स अक्सिमिटर, सर्जिकल तथा करिब ७० हजार वटा मास्क, पन्जा, स्यानिटाइजर, गाउनलगायत स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेकी छन् ।
स्वास्थ्य सामग्रीहरु जिल्ला स्वास्थ्य कार्यालय दाेलखामार्फत आवश्यकताका आधार जिल्लाका ९ वटै पालिका र अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा प्रदान गर्ने गरी स्वास्थ्य कार्यालयलाई प्रदान गरिएको मन्त्री बस्नेतले बताइन् । यसप्रकारका स्वास्थ्य सामग्री आवश्यकता अनुसार बागमती प्रदेश अन्य सबै जिल्लामा पनि जिल्लाकै मन्त्री तथा सांसदहरुमार्फत पठाइसकेको उनले बताइन् । स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मन्त्री बस्नेतले एकडेढ हप्ताभित्रै मिर्गौला रोगीहरुको लागि डायलासिस गर्न लागि आवश्यक पर्ने डायलासीस मेसिन पनि जिल्लामा पठाइने जानकारी दिइन् ।
शनिबार नै मन्त्री बस्नेतले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पनि पुगेर विभिन्न सामग्री हस्तान्तरण गरेकी थिइन् भने प्रदेश अन्तर्गतको चरिकोट अस्पतालको पनि अवलोकन गरिएकाे थियाे । शिक्षाको समेत जिम्मेवारीमा रहनु भएकी सामाजिक विकास मन्त्री बस्नेतले विभिन्न सामुदायिक विद्यालयहरुलाई ल्यापटप र प्रोजेक्टर पनि हस्तान्तरण गरेकी छन् ।
हिंसा पीडित महिलाहरुसँग भेट सामाजिक विकास मन्त्री बस्नेतले चरिकोटमा रहेको आवाज नेपालको सुरक्षित आवास गृहमा पुगेर हिंसा पीडित महिला तथा बालबालिकाहरुसँग पनि भेट गर्दै उनले पीडितहरुको कुरा सुनिन । महिला तथा बालबालिका पनि प्रदेश सरकारमा सामाजिक विकास मन्त्रालयकै कार्यक्षेत्रमा रहेकाले मन्त्री बस्नेतले जिल्ला पुग्दा सुरक्षित आवास गृहमा पुगेर आवास गृहको अवस्था र त्यहाँ बसिरहेको महिलाहरुको अवस्थाबारे आवाज नेपालकी अध्यक्ष सृजना कार्कीसँग पनि भेट गरी बुझ्रकी हुन् ।
सामाजिक विकास मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पुग्नुभएकी मन्त्री बस्नेतले अन्य विभिन्न सरोकारवालाहरुसँग पनि भेटघाट र छलफल गरेकाे उनकाे निजी सचिवालयले जनाएको छ ।

