मकवानपुर । हिमराइट्स मकवानपुरको आयोजना तथा कोर इन्टरनेशनल क्यानडाको सहयोगमा मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकाको कोभिड अस्पताल तथा आइसोलेसन वार्डका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
विहीबार हिमराइट्स मकवानपुरले गाउँपालिकाहरुका स्थापना गरिएको कोभिड अस्पतालमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । राक्सिराङ गाउँपालिकाले ठाडेचुरीमा स्थापना गरेको कोभिड अस्पतालको लागि फेस शिल, पारासिटामोल, पीपीई, थर्मल गन तथा अक्सिमिटर सहयोग गरिएको हिमराइट्स मकवानपुर कार्यक्रम संयाेजक कुमारी वाइवाले बताइन् ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्माला हिमडुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । स्वास्थ सामग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष मल्लले सबैको सहयोगबाट गाउँपालिकामा स्थापना गरिएको कोभिड अस्पतालबाट प्रभावकारी सेवा प्रवाह गर्न सकिएको बताए । ‘सहयोग भन्ने कुरा धेरै र थोरै हुन्न, सद्भाव ठुलो कुरा हो, सबैको सदभावको कारण हामीले अस्पतालको सेवालाई बलियो बनाउन सकेको छौ’ अध्यक्ष मल्लले भने ।
स्वास्थ सामग्री हस्तान्तरण कार्यक्रममा राक्सिराङ स्वास्थ्य चौकी अहेव विजय कापरीको पनि उपस्थिती रहेको थियो ।
यसैगरी हिमराइट्स मकवानपुरले मनहरी गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलेलाई फेस शिल, पारासिटामोल, पीपीई, थर्मल गन तथा अक्सिमिटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

महामारीको बेलामा स्थानीय क्षेत्रमा शिक्षा, स्वास्थ्यको लागि काम गरिरहेको गैरसरकारी संस्थाले आफूहरुसँग सहकार्य गरेको भन्दै गाउँपालिका अध्यक्ष उप्रेतिले खुसी व्यक्त गरे । ‘यस्ता सहयोगले हामी जनप्रतिनिधिहरुलाई मनोबल उच्च राखेर फिल्डमा खटिन उर्जा प्रदान गर्ने छ’ अध्यक्ष उप्रेतीले भने ‘एकदमै उपयोगी, अत्यावश्यक र महत्वपूर्ण सामग्रीहरु सहयोग गर्नुभएको छ ।’ आगामी दिनमा पनि समाजसेवामा गैससहरुको हातेमालोको अपेक्षा गाउँपालिकाले गरेको उनले बताए ।


हिमराइट्स मकवानपुरले यि गाउँपालिकाहरुमा स्वास्थ्य जानकारीमुलक पम्प्लेट पनि वितरण गरेको संस्थाले जनाएको छ । महामारीबाट जाेगिनकाे लागि अपनाउनु पर्ने स्वास्थ्य जानकारीमुलक पम्पेटहरू वितरणा गरिएकाे हिमराइट्सले जनाएकाे छ ।
सिमान्तकृत समुदायको लागि नेतृत्व विकास तथा शैक्षिक सहयोग कार्यक्रम अन्तरगत हिमराइट्स मकवानपुरले विगत ४ वर्षदेखि दुबै गाउँपालिकाको २ / २ वटा विद्यालयहरुमा कार्यक्रम गर्दै आएको र कोभिडको समय भएकोले स्वास्थ्य सामग्री सहयोग गरिएको हिमराइट्स मकवानपुर कार्यक्रम संयोजक वाइबाले बताइन् ।

