मकवानपुर । नेकपा एमाले मकवानपुरका नेता राजु नापितको विहीबार निधन भएको छ । थाहा नगरपालिका २ पालुङ घर भएका नापितको उपचारको क्रममा काठमाडौंस्थित वीर अस्तपालमा निधन भएको नेकपा एमाले मकवानपुरले जनाएको छ ।
करिव २ साता अघि कोरोना संक्रमण देखिएपछि घरमै आइसोलेसनमा बसेका नापितलाइ स्वासप्रस्वासमा समस्या आएपछि २७ जेठ थप उपचारकाे लागि काठमाडौं लगिएको थियो । विहीबार बिहान अचानक अस्पतालमा १५ मिनेट विद्युत आपुर्ति बन्द हुन्दा नापितलाई थप समस्या भएको पारिवारिक श्रोतले जनाएको छ । त्यसपछि करिब सबा १२ बजे उनको निधन भएको हो ।
१५ मिनेटसम्म अक्सिजन सप्लाईमा समस्या भएपछि नापितको अक्सिजन सपोर्टमा लेभल ७० ७५ मा झरेको र पछि आईसियुमा लग्न नपाई उनको निधन भएको छोरा रबिन्द्रले बताए ।
२०३६ सालदेखि कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका नापित हाल नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा थाहानगर इन्चार्जको जिम्मेवारीमा थिए । नापितको निधनले मकवानपुरको एमालेलाई गम्भीर धक्का पुगेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए । श्रेष्ठले फेसबुकवालमा लेखेका छन् ‘भूमिगत कालदेखि राजनीतिमा कृयाशिल भै पार्टीको एक निष्ठावान र जुझारु नेताको छबि बनाउनु भएका आदरणीय नेता, सहृदयी कमरेडको योगदान सदा स्मरणीय रहने छ । उहाँको निधनले नेकपा एमाले मकवानपुर जिल्लाले एउटा भरोसायोग्य नेता र ईमानदार राजनीतिक ,सामाजिक अभियन्ता गुमाउनु पुगेको छ । यस दु:खद क्षणमा कमरेड राजु नापित प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै शोकाकुल परिवारजन प्रति गहिरो समबेदना प्रकट गर्दछु ।’
यसैबीच, नेकपा एमाले थाहा नगर कमिटीले एक विज्ञप्ति जारी गरि एमाले नेता नापितको निधनले मकवानपुरको कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति भएको उल्लेख गरेको छ । नापितको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । अन्तिम संस्कार अघी उनको शरिरमा एमालेका नेता कृष्णप्रसाद दाहालले पार्टीको झण्डा ओढाएका थिए । मृतक नापितका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

