मकवानपुर । अहिले देशैभरी मनसुनी वायुको सक्रिय प्रभाव रहेकोले हाल सामान्य देखि पूर्ण वदली रही धेरै स्थानमा वर्षा भइरहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
आगामी ३ दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण समेत महाशाखाले गरेको छ । मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिवारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएकाे छ ।
देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केहि भू-भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको महाशाखाले जनाएकाे छ ।
नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु समेत महाशाखाले अनुरोध गरेकाे छ ।
आगामी ३ दिनको मौसम पूर्वानुमान
असार २ गते बुधबार देशभर सामान्य देखि पूर्ण बदली रहेेकाेले देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
असार ३ गते विहीबार देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका १ वा २ स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
असार ४ गते शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

