साविक उपविजेता फ्रान्स र साविक विजेता पाेर्चुगलले युरोकप २०२० मा विजयी सुरुआत गरेका छन् । विश्व विजेतासमेत रहेको फ्रान्सले मंगलबार राति भएको खेलमा आत्मघाती गोलको सहयोगमा जर्मनीलाई १-० ले पराजित गरेको हो । यस्तै क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदा हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
समूह एफ अन्तर्गत घरेलु मैदानमा भएको खेलमा जर्मनीका डिफेण्डर माट हुमेल्सले फ्रान्सलाई गोल उपहार दिएका थिए । म्युनिकमा भएको खेलको २०औं मिनेटमा फ्रान्सका पउल पोग्बाको पासमा लुकास हर्नान्डेजले क्रस गरेको बल बचाउने क्रममा हुम्ल्सले आफ्नै पोष्टमा गोल गरेक थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।
समूह एफ मा रहेको साविक विजेता पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ गोल गरेपछि हंगेरीलाई उसैको मैदानमा पराजित गरेको हो । खेलमा रोनाल्डोले दुई गोल गरे भने राफेल गुरेइराले एक गोल गरे ।
लगातार पाँच संस्करण युरोकप खेल्ने पहिलो खेलाडीसमेत बनेका रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीलाई पछि पार्दै गोल संख्या ११ पुर्याए । खेलअघि रोनाल्डो र प्लाटिनीको समान ९ गोल थियो । ८७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका थिए।
बुढापेस्टस्थित पुस्कास एरेनाले घरेलु दर्शकको साथ पाएको हंगेरीले ८३ मिनेटसम्म पोर्गुचललाई गोल गर्नबाट रोकेको थियो । तर पोर्चुगलले खेलाडी परिवर्तन गरेपछि खेलको गति पनि परिवर्तन भयो । रोनाल्डोले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले ३-० को जित हात पारेको हो ।
ग्रुप अफ डेथको रुपमा रहेको समूह एफमा यस जितपछि फ्रान्सले ३ अंक जोडेको छ । यसै गरी साविक विजेता पोर्चुगलले हंगेरिलाई ३-० ले पराजित गर्दै ३ अंक जोडिसकेको छ ।
ग्रुप अफ डेथमा रहेको पोर्चुगलले पहिलो खेल जित्दै ३ अंक जोडेको छ । यस समूहमा विश्वविजेता फ्रान्स र जर्मनीसमेत छन् । अब अर्को खेलमा फ्रान्सले हंगेरी तथा जर्मनीले पोर्चुगलसँग खेल्नेछ । दुवै खेल जुन १९ मा हुनेछ । एजेन्सीकाे सहयाेगमा

