मकवानपुर । विश्वकप र एसियन कप छनाेट अन्तरगत आज शुक्रबार नेपाल अस्ट्रेलियाविरुद्ध खेल्दैछ । नेपालले फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी मा आज अस्ट्रेलियाको सामना गर्ने भएकाे हाे ।
नेपाली समय अनुसार राति ९:४५ मा सुरू हुने याे खेल नेपालको विश्वकप २०२२ र एशियन कप २०२३ को संयुक्त छनौट अन्तर्गतको अन्तिम खेल हो । यस अघी नै नेपाल विश्वकपमा छनौटबाट बाहिरिइसकेको छ । तर एशिया कपको छनौटको सम्भावना भने कायम रहेको छ ।
विश्वकप २२ र एसियन कप २३ को संयुक्त छनाैट अन्तर्गत अहिलेसम्म खेलेका ७ खेलमा २ जित र ५ हारसहित ६ अंक जोड्दै समुहमा नेपाल चौथो स्थानमा रहेको छ । त्यस्तै अस्ट्रेलिया ६ खेलमा अपराजित रहदै १८ अंकसहित शिर्ष स्थानमा रहेको छ । जोर्डन ६ खेलमा १३ अंकसहित दोस्रो स्थानमा छ भने कुवेतको ६ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै समूहको पुछारमा रहेको ताइपेइको ७ खेलमा कुनै अंक छैन ।
छनौटको पहिलो चरणमा १ जित निकालेको नेपालले दोस्रो चरणमा पनि १ जित चाइनिज ताइपेइविरुद्ध मात्र जित निकाल्न सफल भयो । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा ६-२ गोल अन्तरले पराजित भएको नेपालले चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै अर्को खेलमा जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको थियो । नेपालले यस अघि अस्ट्रेलियासँग खेलेको १ मात्र खेल २०१९ अक्टोबर १० मा ५-० गोल अन्तरले पराजित भएको थियाे ।

