- मञ्जु मैनाली
मकवानपुर/जेसीआई हेटौडा लेडीको आयोजना तथा व्यवसायी राजु अधिकारीको सहयोगमा अटो एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
कोरोना भाइरसको महामारीमा हेटौडा उपमहानगरपालिकामा भित्र संचालित ३६ वटा अटो एम्बुलेन्स चालकलाई वासेबल पीपीइ सेट वितरण गरिएको हो । साथै अटो एम्बुलेन्स चालकहरुलाई ३६ पाकेट मास्क,३६ पिस फेससिल्ड,२० लिटर सेनीटाइजर सहयोग गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले महामारीमा जोखिम मलेर कार्यक्षत्रमा खटेका अटो एम्बुलेन्स चालकहरुलाई मानवियता प्रकट गर्न आग्रह गरे ।
‘अटो चालकले भाडा बढी लिएको गुनासो आएको छ, यो महामारीमा भाडा भन्दा चालकलाई मानवियता देखाउ’ उनले भने । जेसीआई हेटौडा लेडी र सहयोगी व्यवसायी अधिकारीले जस्तै मानवियता प्रकट गर्न महतले अनुरोध गरे ।

कार्यक्रम मा जेसीआई हेटौडा लेडी अध्यक्ष प्रतिमा श्रेष्ठ पूर्व अध्यक्ष रश्मि बस्नेत, हेटौडा जेसिजका अध्यक्ष सिनेटर लिशेन बस्नेत, कुखुरा ब्यबसायी संघ का अध्यक्ष गोकुल नाथ पौडेल, निवर्तमान अध्यक्ष राजु अधिकारी, अटो व्यवसायी संघका अध्यक्ष भीमप्रसाद गौतम, महासचिब नवराज घिमिरे, जेसिज पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।
अटो एम्बुलेन्स चालकहरुलाई घाम पानीमा फेरफार गर्नको लागि समेत पीपीइ सेट अपुग भएकोले सहयोग गरिएको अधिकारीले बताए । महामारीमा नागरिकको स्वास्थ्यको लागि लागिपरेकाहरुलाई १० हजारबराबरको स्वास्थ्य सामग्री व्यवस्था गरिएको शाखाको कार्यक्रम संयोजक ज्योति काफ्लेले बताइन् । तस्बिरहरूः मञ्जु मैनाली

