मकवानपुर । जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले गत असोज ११ गतेबाट आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ५ करोड ६ लाख खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा ७० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ २३ पैसा छ। कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।
मंगलबार कार्यालय समयसम्म इन्स्योरेन्सको आईपीओमा ६ लाख ८२ हजार ७७२ वटा आवेदनबाट एक करोड ९१ लाख ९४ हजार ८३० कित्ता शेयरको लागि आवेदन परिसकेको छ।
मकवानपुर । नेपाल सुनचाँदी व्यवसायी महासंघको बागमती प्रदेश सभापतिमा हेटौंडाका व्यवसायी ज्योतिरत्न बज्राचार्य निर्वाचित भएका छन् । बज्राचार्यको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ । साेमबार हेटौंडामा भएको अधिवेशनबाट बागमती प्रदेशको प्रथम सभापतिको रुपमा बज्राचार्य तथा प्ररदेश समिति सर्वसम्मत निर्वाचित भएका हुन ।
अधिवेशनले उपसभापतिमा टेकबहादुर बिश्वकर्मा र रत्नसुन्दर शाक्य, सचिवमा रोहिणा देवी शाक्य र किरण भाई बज्राचार्य, कोषाध्यक्षमा रमेश बहादुर शाक्य र सहसचिवमा विवुषा शाक्य र सहकोषाध्यक्षमा उमेश रत्न शाक्य निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा मणि कुमार बिश्वकर्मा, रविन्द्र कुमार खाती, भीमराज बज्राचार्य, सुसन शाक्य, गोकर्ण न्यौपाने र उजिना शाक्य निर्वाचित भएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको बागमती प्रदेश समितिको तदर्थ समितिका सभापति दियेश रत्न शाक्यको अध्यक्षतामा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यको विशेष आतिथ्य रहेको थियो ।
मकवानपुर । जनरल इन्स्योरेन्स कम्पनी (GIC) को आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्म करिब साढे ३२ लाख कित्ता शेयरको लागि आवेदन परेको हो ।
शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईविएल एस क्पापिटलका अनुसार कम्पनीको आईपीओमा ९७ हजार १ सय ७० वटा आवेदनबाट ३२ लाख ४४ हजार ६३० कित्ता शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता भन्दा ५ लाख १४ हजार ६३० कित्ता बढी हो ।
कम्पनीले आइतबार एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियाे । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने बताइएकाे छ ।
कम्पनीको शेयरमा आवेदन गर्नेको चाप बढेपछि मेरो शेयरमा कार्यालय समयमा समस्या समेत देखिएको थियो । मेरो शेयरमा समस्या आएपनि कम्पनीको आईपीओ आबेदन गर्नेको संख्या उच्च देखिएको हो । कम्पनीको आईपीओमा पहिलो दिननै माग भन्दा बढी आवेदन परेकोले असोज १४ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।
मकवानपुर । मेरो शेयरमा समस्या देखिएकाे छ। आज आइतबारदेखि बिक्री खुला भएको जनरल इन्स्योरेन्सको आइपीओमा आवेदन दिनेको चाप बढेपछि सिडिए एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरोशेयरमा समस्या आएकाे हाे ।
मेरो शेयरमा समस्या आउँदा सर्वसाधारणहरुले जनरल इन्स्योरेन्सको आईपीओ आवेदन दिन पाएका छैनन्। यस्तै लगानीकर्ताहरुले समेत मेराे शेयरबाट गर्नु पर्ने कामहरु समेत गर्न पाएका छैनन् । हरेक समय आईपीओ निष्काशन हुँदा लगानीकर्ताहरुले यस्तो समस्या भोग्दै आएका छन् ।
मकवानपुर । आज आइतबार सुन तथा चाँदीको मूल्य घटेको छ । गत शुक्रबार बढेको सुनचाँदीको मूल्य साताको पहिलो दिन घटेकाे हो ।
आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी चाँदी पनि आइतबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जानकारी दिएकाे छ । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १६० रुपैयाँ तोकिएको थियो ।