मकवानपुर । शनिबारबाट तीन दिनसम्म बैंकहरु बन्द भएका छन्। तिहारको बिदा अवधि भएकाले आज, भोलि र पर्सी सबै बैंकहरू बन्द भएको नेपाल बैंकर्स संघले जनाएको छ। गएको वर्षको दशैँ तथा तिहारको बिदामासमेत बैंकले सीमित काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका थिए। तर, यस वर्ष कोरोना महामारीले गर्दा बैंक तथा वित्तीय संस्थाले सेवा बन्द गरेका हुन्।
सीमित शाखा खोलेर बैंकिङ्ग सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको छ। सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन भइरहने संघले जनाएको छ।
मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल इण्डष्ट्रिज पुन संचालन भएकाे छ । विगत २ बर्षदेखि बन्द अवस्थामा रहेको उद्योग ५ करोड लागतमा बुधबार बाट पुन संचालनमा ल्याइएको हाे ।
बुधबार हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कंडेल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल र उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष नवराज अर्यालले रिबन काटेर उद्योग पुन सचालनकाे उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कंडेलले औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेका उद्योगहरु यसैगरी पुन संचालनमा ल्याउनुपर्ने र उद्योगीलाई विभिन्न तहका सरकार र अन्य निकायबाट सहयोग प्राप्त हुनुपर्ने बताए । त्यसैगरी उद्योग संघ मकवानपुरका अध्यक्ष पोखरेलले बन्द अवस्थामा रहेका उद्योगहरु संचालनमा ल्याउन सके मकवानपुरे जनतालाई रोजगारीको अवसर प्राप्त हुनुको साथै नेपाली बजारमा नेपाली कम्पनीबाट उत्पादित सामग्री बिक्रिबितरण गर्न सकिने बताए ।
‘उद्योग बुधबारबाट पुन संचालनमा ल्याइएको छ’ उद्योगका संचालक एवम् उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले भने ‘उद्योगले ‘सन्रे’ नामक भाँडा माझ्ने सर्फ, ‘उर्जा’ नामक कपडा धुने सर्फ, माँडा माफ्ने साबुन, कपडा धुने नाङ्गो साबुन लगायतका सामग्री मासिक ७ सय टनसम्म उत्पादन गर्ने लक्ष्य लिएको छ ।’ उद्योगमा १ सय ४५ जनाभन्दा बढीले प्रत्येक्ष रोजगारी प्राप्त गर्नेछन् भने अप्रत्येक्ष रुपमा करिब ५ सय जनाले रोजगारी प्राप्त गर्ने संचालक अर्यालले बताए ।
उद्योगमा केही नयाँ मेसिनहरु थप गर्नुको साथै विदेशी कम्पनीको तुलनामा राम्रो र सेवामुलक बनाइने र बजारको माग अनुसार उत्पादन तथा लागतमा समेत बृद्धि गरिने संचालक आर्यालको बताए । उद्याेगबाट उत्पादित सामग्रीलाई सुरुवातमा मकवानपुर, काठमाडौँलगायतका जिल्लाहरुमा बिक्रिवितरण गरिने र केही महिनाभित्रै बागमती प्रदेशभर बजार विस्तार गर्दै लैजाने बताइएकाे छ ।
मकवानपुर । आइतबार पनि सुनचाँदीकाे मुल्य वृध्दिले निरन्तरता पाएको छ । पछिल्लो केहि समययता उकालो लागेको सुनचाँदीको मूल्य वृध्दि आइतबार पनि कायम रहेकाे हाे ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएकाे छ । शुक्रबार अघिल्लो कारोबार दिन सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको थियो । अघिल्लो सातायता सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले बढेको छ । गत आइतबार सुन प्रतितोला ९५ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।
यसैगरी चाँदीको भाउ पनि आइतबार वृद्धि भएको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । यस अघिको सातामा सुनचाँदीको भाउ बढेको थियो । अघिल्लो आइतबार चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
मकवानपुर । देशभर काेराेना भाइरसकाे संक्रमण बढे सँगै यसकाे बिमा गर्नेहरू पनि थपिए । तर काेराेना भाइरस पुष्टि भएपछि बिमा गरेकाे बिमा कम्पनी मार्फत दाबी गरे पनि अहिलेसम्म बिमा वापतकाे रकम नपाएकाे गुनासाे काराेना भाइरस संक्रमण भइ निकाे भएकाहरूकाे छ । बिमा कम्पनीहरूले आवश्यक कागजात सहित केन्द्रीय कार्यालयमा पठाउने र त्याे विषयमा केन्द्रीय कार्यालयले नै निर्णय गर्ने भन्दै जवाफ दिने गरेकाे बिमितहरू बताउँछन् ।
देशभरबाट काेराेना बिमा गर्नेकाे सङ्ख्या लाखाैं रहे पनि काेराेना संक्रमण पश्रचात पाउनु पर्ने बिमा रकम पाउन सकेकाे छैनन् । काेराेना पाेजेटिभ भएकाे २ महिना बढी हुँदा समेत बिमा दाबि रकम हाल सम्म प्राप्त गरेकाे नेपाली काँग्रेस हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुलीले बताए । कोरोना जीतेर आफ्नो कार्यमा फर्किसकेका उनले कोरोना बिमाको रकम आउने भएपिछ बिमा बराबरको १ लाख रकम विभिन्न संघसंस्थालाई सहयोग गरिसकेका छन् । पराजुली त प्रतिनिधि पात्र मात्र हुन बिमा दाबि भुक्तानीकाे कागजात पेश गरेर हालसम्म दाबि रकम भुक्तानी नपाउने हजाराै रहेका छन् ।
कोरोना संक्रमण भएर २ महिना बित्दा पनि बिमा रकम नपाएकी हेटौंडाकी पत्रकार कुमारी स्याङ्बो पनि हुन् । उनकाे नेपाल पत्रकार महासंघ बागमती प्रदेशबाट युनाइटेड इन्स्योरेन्समा बिमा गरिएको थियो । बिमा दाबि भुक्तानीको लागि पेश गरेको भए पनि बिमा बापतको रकम पाउने आश मरिसकेको उनी बताउँछिन ।
कोरोना संक्रमित करिब ९० प्रतिशत बिमितले भुक्तानी पाएका छैनन् । आवश्यक सबै कागजात पुगे पनि लामो समयसम्म दाबि भुक्तानी नपाएका अधिकांश हेटौंडाका बिमितले बिमा रकम पाउने आश मारिसकेका बताउँछन् । कोरोना बिमा मापदण्ड–२०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तनी पाइसक्नुपर्ने प्रावधान छ ।
यसै बीच बिमा समितिले कोरोना बिमाको दाबि भुक्तानी सात दिन भित्रै गर्न बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले सबै निर्जीवन बिमा कम्पनीहरुलाई मंगलबार सर्कुलर जारी गर्दै कोरोना बिमाको दाबि भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको हो ।
अर्थमन्त्रालयले पनि कोरोना बिमाको दाबि भुक्तानीमा ढिलाई गरेको भन्दै बिमा समितिलाई पत्र लेखेर सात दिन भित्र दाबि भुक्तानी दिने व्यवस्था मिलाउन पत्र काटेको थियो । त्यस अनुसार समितिले सात दिन भित्र दावी भुक्तानी दिने व्यवस्था मिलाउन निर्नेशन दिएकाे हाे ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा मंगलबार बसेको बैठकले कोरोना बिमाको दाबि गरेका सबै बिमितहरुलाई एक हप्ताभित्रै दाबि भुक्तानी दिने समेत निर्णय गरेको थियाे । दाबि भुक्तानीको समन्वय र अनुगमन बिमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने पर्ने निर्णय बैठकले गरेको छ । कोरोना बिमाको दाबि भुक्तानीमा ढिलाई भएको चौतर्फी आलोचना भएपछि अर्थमन्त्रालयमा छलफलभएपछि समितिले उक्त निर्देशन दिएको बताइएकाे छ ।

मकवानपुर । आज मंगलबार सुन तथा चाँदीको मूल्य वृद्धि भएकाे छ । सुन तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएकाे छ ।
महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार र सोमबार सुन प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको थियो ।
यसैगरी चाँदीको भाउ पनि मंगलबार बढेको छ । मंगलबार चाँदी ५ रुपैयाँले वृद्धि भएकाे छ । चाँदी प्रतितोला एक हजार २ सय १० रुपैयाँमा खरिद बिक्री भएकाे महासंघले जनाएकाे छ । सोमबार चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा किनबेच भएको थियो ।