मकवानपुर । ‘मनको मान्छे’ बोलको गीतको म्यूजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ। गीतकार तथा साहित्यकार अञ्जना पौडल ‘अनुश्रुती’ को शब्दमा रहेको गीतलाई ओएस आर डिजिटल युट्युव च्यानलले सार्वजनिक गरेको हो । म्यूजिक भिडियोमा पौडलको शब्द संगै गायक आनन्द कार्कीको स्वर तथा संगीतकार शक्ति वल्लभको संगीत रहेको छ ।
एरेञ्जर मनोहर सुनाम, मिक्सिङ र मास्टरिङ भोला पौडेलको रहेको उक्त गीतको म्यूजिक भिडियोमा विकास लामिछाने, दिपिका थापा, अनुप बोहोरा, आदित्य देव रुपाखेती र एन्थस खनालको अभिनय रहेको छ ।
भिडियोमा क्यामरा मुकेश हुमागाईं, कोरियोग्राफर राहुल बराइली, सम्पादन विनोद वम र निर्देशन कृष्णदेव रुपाखेतीको रहेको भिडियो नयाँ वर्ष २०२३ को सुरुवात संगै सार्वजानिक भएको हो ।
नेपाली साहित्यको विविध विधामा कलम चलाउदै आएकी साहित्यकार पौडेल पछिल्लो समयमा गीतकारको रुपमा समेत आफ्नो परिचयको दायरालाई फराकिलो बनाउदै छिन् । आगामी दिनमा पनि गीति लेखनलाई निरन्तरता दिदै अन्य गीतहरु पनि दर्शक श्रोतामाझ ल्याउने उनले बताइन ।
भिडियोले सार्वजनिक भएको ५ दिनमा १ लाख ३३ हजार ३ सय ७० भ्युउज पाइसकेको छ ।

तल्ला घरे सानेको घरमा सानो राम्रो चिटिक्क परेको कुकुरको छाउरो देख्दा माथ्ला घरे ठूलेलाई अचम्म लाग्यो। “हिजो सम्म त यो छाउरो देखिएको थिएन, यसले कहाँ बाट ल्याएछ?” ठूलेलाई त्यो छाउरो सार्है मन पर्यो । ऊ साने कहाँ गयो।
“यो छाउरो तिमिले कहाँबाट ल्याएउ?” उसले सानेलाई सोध्यो। “मैले ल्याएको हैन, राती पानी पर्दा दौडदै आएर यहाँ बस्यो। मलाई माया लाग्यो। तातो पारेर राखेँ, खान दिएँ, अहिले त मलाई छाडेर जानै मान्दैन।” “आहा कति राम्रो रहेछ, खान चाहिँ के दिन्छौ नि यसलाई?” “के दिनु नि आफैले खाने भात एक गाँस उसको लागि छुट्याएर दिन्छु।”
“यो मलाई सारै राम्रो लाग्यो। तिमीले पनि भेट्टाकै रछ, मलाई देउ। म यसलाई मिठो मिठो खानेकुरा खुवाएर पाल्छु।” सानेले कुकुरको छाउरो दिएर पठायो।ठूलेले आफ्नो घरको चौघेरा भित्र साङ्लोले बाधेर राख्यो अनि मिठो खानेकुरा खान दियो। “यति मिठो खान पाएपछि यो छाउरो अन्त के जान्थ्यो र!” उसले साङ्लो फुकाईदियो।
छाउरो खानेकुरा त्यसै छाडी कुई कुई गरी हाम फाल्दै सानेकहाँ पुगिहाल्यो। “खाने कुरा खाएर बस्ला भनेको त भागि पो हाल्यो त!” ठूले पछ्याउदै आईपुग्यो, छाउरो समाउन खोज्यो । सानेको काखमा लुटुपुटु गरिरहेको छाउरो झन् साने तिरै घुस्रियो। सानेले छाउरोलाई सुम्सुम्याउँदै भन्यो,”यो मानिस भन्दा फरक पशु हो नि ठुल्दाई खानामा मिसिएको माया र स्वार्थ छर्लङ्ग छुट्याउन सक्छ।”
सुन्दरहरैचा, मोरङ

गीता ढुंगाना फुयाँल
१.
तिमी एक तर्फ छौ वा दुबै तर्फ बुझ्नै सकिएन्
भेट हुँदा पनि गरियो अनेक तर्क बुझ्नै सकिएन्
खै,कसरी पो मेटाउनु यो अन्यौल दुबिधालाई
म हतारमा छु तिमी भन्छौ पर्ख बुझ्नै सकिएन् ।
२.
कलेजीमा नमेटिने खत हुन सक्छ
हरपल सम्झिने आदत हुन सक्छ
तेसैले प्यार देखि टाढा रहनु पर्छ
न मर्ने न बाच्ने हालत हुन सक्छ ।
३.
तिमी वर म पिपल भइ बस्न मन थियो
अरुको जस्तै लगन गाँठो कस्न मन थियो
समयले किन गर्यो हामी माथि नै जाल झेल
मुना मदनको जस्तै प्रेम रच्न मन थियो।
काठमाडौं
मकवानपुर । बागमती प्रदेश राजधानी हेटौंडामा एउटै मञ्चमा ६ जना व्यक्ति सम्मानित भएका छन् । शनिबार भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले ६ जना व्यक्तित्वलाई शनिबार एउटै मञ्चमा प्रादेशिक पुरस्कार समर्पण गर्दै सम्मान गरेको हो ।
प्रादेशिक पुरस्कार समर्पण समारोहमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तुल्सी थापा प्रतिष्ठान अध्यक्ष ह्याग्रीव आचार्य तथा समाजसेवी मुक्ति गाेविन्द वैद्य तथा पुरस्कार संस्थापककाे तर्फबाट पुरस्कार प्राप्त गर्ने व्यक्तित्वलाई सम्मानित गरेका थिए ।
प्रतिष्ठानले यस वर्षको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट साहित्यकार बासुदेव गुरागाईँलाई सम्मानित भएका छन । साहित्यमा पिडालु पण्डितको उपनामले चिनिने गुरागाईँलाई १५ हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिएको हो । गुरागाईं नुवाकाेटमा जन्मिएर हेटौंडा १८ हर्नामाडीका स्थायी बासिन्दा रहि नेपाल सरकारको सह सचिबबाट सेवा निवृत कर्मचारी हुन । हाल काठमाडौ गोंगबु निवासी गुरागाईका लघुकथा, कविता, हास्यब्यङ्यलगायतका सहित्य सग्रह प्रकशित छन्।
प्रतिष्ठानकाे यस वर्षको तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट मकवानपुरे साहित्यकार भावना सापकोटा सम्मानित भएकी छिन । सापकोटालाई १० हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिएको हो । सरकारी शिक्षक पेशामा आवद्ध रही साहित्य सिर्जनामा क्रियाशील सापकोटा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष समेत हुन् ।
यस्तै भीम–मथुरा बाल प्रतिभा पुरस्कार २०७९ बाट हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा सुविज्ञा सुवेदी पुरस्कृत भएकी छिन । बालसाहित्यमा सक्रिय सुवेदीलाई प्रदान गरिएको पुरस्कारको राशी ७ हजार ५ सय रुपैयाँ रहेको छ । पुरस्कार समर्पण कार्यक्रममा सुविज्ञा अनुपस्थित रहे पछी उनका बुबा विनाेद सुवेदीले पुरस्कार ग्रहण गरेका थिए ।
यसैगरी विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार २०७९ मकवानपुरका लोक गायक रविन्द्रकुमार चेपाङलाई प्रदान गरिएको छ । सरिखेत पलासेका स्थायी बासिन्दा चेपाङ रेडियो नेपालबाट ५० को दसकमा लिइएको स्वर परिक्षामा समेत सफल गायक हुन । चेपाङलाई २० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिएको हो ।
यसैगरी मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार २०७९ बाट स्वास्थ्यकर्मी बेला वैद्यलाई पुरस्कृत गरिएको छ । बैद्यलाई १० हजार रुपैयाँ राशीको पुरस्कारबाट सम्मानित गरिएको हो । बैद्य स्वास्थ्य सेवामा स्थायी कर्मचारीको रुपमा कार्यरत रही सेवा निवृत कर्मचारी तथा हेटौंडाकी सफल स्वास्थ्य ब्यबसायी समेत हुन् ।
यस्तै अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविमा कार्यरत दृष्टिविहिन शिक्षक विदुर अधिकारीलाई प्रदान गरिएको छ । दृष्टिविहिन विद्यार्थीलाई नै पढाउँदै आएका अधिकारीलाई १० हजार रुपैयाँ राशीको पुरस्कारबाट सम्मान गरिएको हो ।
स्थापनाकालदेखि नै साहित्य, संगीत, सँस्कृति र कलाका क्षेत्रमा १२ वटा पुरस्कारको व्यवस्थापन गर्दै आएको प्रतिष्ठानले दोस्रो चरणको ६ वटा पुरस्कार आगामी माघ महिनामा प्रदान गर्ने बताइएको छ । प्रतिष्ठानले पुष ७ गते बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी पहिलो चरणमा विभिन्न क्षेत्रबाट पुरस्कृत हुने ६ जना व्यक्तिको नाम र प्रादेशिक पुरस्कर सार्वजनिक गरेको थियो ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा पुरस्कार संस्थापक तथा मकवानपुरका विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्ति तथा साहित्यकारहरुकाे उपस्थित रहेकाे थियाे ।
वरिष्ठ कलासाधक कवि एवम् गीतकार भीम विरागकाे व्यक्तित्वप्रति सम्ममान स्वरुप भाषा साहित्य र कला क्षेत्रकाे संरक्षण एवम् संवर्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएकाे प्रतिष्ठानले साहित्य संगीत साँस्कृतिक र कला क्षेत्रमा १२ वटा पुरस्कारकाे व्वस्थापन गर्दै आएकाे छ ।
मकवानपुर । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान नेपालले विजुली माया वनः संगीत राष्ट्रिय पुरस्कार २०७९ वरिष्ठ गायक, सङ्गीतकार, लेखक तथा निर्देशक डा. किरण प्रधानलाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानले २०६४ सालमा स्थापना भएकाे विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारद्वारा भीम विरागकाे स्मृती दिवसको अवसरमा प्रधानलाई सम्मान गर्न लागेकाे हाे । हेटौंडाका कुशल व्यवसायी, सङ्गीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नामबाट स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १ लाख रुपैया रहेकाे छ ।
आगामी माघ १५ गते हेटौंडामा सांगितिक कार्यक्रमको आयोजना गरी प्रधानलाई पुरस्कार प्रदान गर्ने प्रतिष्ठानले शनिबार जानकारी दिएकाे छ । प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यका अनुसार २०१० सालमा काठमाडौंमा जन्मिएका प्रधानको के सोचें मैले के भयो अहिले, छातीमा मेरो यो छोटो भोटो, भुल हो तेरो भागी हिँड्नु जीवनदेखि, रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो, पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदे, अभागी आमा कुन देशमा, विपना नभई बाँचिदिने म भित्रका मेरा सपनालगायत ४ सय बढी गीतहरुमा स्वर दिएका छन् ।
यस अघी विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छे बहादुर डंगोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की ( २०७४) दावा ग्याल्माे (२०७७) र दीपक जङ्गम (२०७८) पुरस्कृत भइसकेका अध्यक्ष आचार्यले जानकारी दिए ।
वरिष्ठ कलासाधक कवि एवम् गीतकार भीम विरागकाे व्यक्तित्वप्रति सम्ममान स्वरुप भाषा साहित्य र कला क्षेत्रकाे संरक्षण एवम् संवर्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएकाे प्रतिष्ठानले साहित्य संगीत साँस्कृतिक र कला क्षेत्रमा १२ वटा पुरस्कारकाे व्वस्थापन गर्दै आएकाे छ । शनिबार मात्र ६ जना व्यक्तित्वलाई ६ विधाकाे पुरस्कारद्वारा सम्मान गरेकाे प्रतिष्ठानले अन्य विधाकाे पुरस्कार चाडै घाेषणा गरी प्रदान गर्ने बताइएकाे छ ।