
१.
भोक र रोगले अकालमै जनता मर्ने गरेका छन्
उता दिन दहाडै देशका सिमाना सर्ने गरेका छन्
देश बनाउछु भन्नेको पटक्कै ध्यान जादैन त्यता
खै कस्ले यिनलाई जालमा पारी कनिका छरेका छन् ।
२.
बैरीको सामु डरले मुन्टो नलुके हुन्थ्यो
लाचार भई अर्काको ढोका नढुके हुन्थ्यो
पुर्खाको बिडो थाम्ने हो भने नेताज्युहरु
कम्तिमा अब बिदेशी सामु नझुके हुन्थ्यो ।
कानेपोखरी २ मोरङ्ग
हाल: मधेस प्रदेश

मलाई सधैं जून बिनाको रात अधुरो लाग्छ
भँवरा हैन फूल बिनाको पात अधुरो लाग्छ
भोक छैन पेटमा रत्ति चैन छैन मनमा
तिमी साथ नहुँदा हर बात अधुरो लाग्छ
पानी काट्यो समाजले अछुत भनि तिमीलाई
मलाई तिम्रो थर बिना जात अधुरो लाग्छ
न आफ्नो भन्न सक्छु न पराई नै मान्न सक्छु
तिम्रो मौन स्वीकृतिको घात अधुरो लाग्छ
हरेक साँझ मन्द जहर पिउन थालेकी छु
नशाको विहोशीमा पनि मात अधुरो लाग्छ।
मकवानपुर । नेपाली साहित्यआकाशमा लघुकथा संग्रह ओजन थपिएको छ । कथाकार निशा केसीको लघुकथा सङ्ग्रह “ओजन” लोकार्पण भए सङै साहित्यले अर्को कृति प्राप्त गरेको हो ।
नेपाल स्रष्टा समाजको आयोजनामा पुस ३० गते शनिबार काठमाडौंमा केसीको पहिलो कृति ओजन लोकर्पण गरिएको हो । कथाकार केसी मुक्तक बिधामा समेत राम्रो दख्खल राख्छिन ।
कार्यक्रममा प्रमुख अतिथि प्राडा. लक्ष्मणप्रसाद गौतमले निशा केसी राम्रो मुक्तककार भएकै हुनाले ओजनमा राम्रो लघुकथा आएको बताए । ‘आख्यानमा लोकप्रिय लघुकथा हो’ गौतमले भने ‘शैलीगत सृजना ओजन लघुकथा भित्र असी प्रतिशत राम्रा भएकै हुनाले राम्रो कृति भएको छ ।’ गौतमले निशाले कथा लेख्दा आफ्नो रचनाको प्रतिस्पर्धा आफ्नै सृजनासँग हुने पनि अझ राम्रो लेख्नु पर्ने बताए ।
यसैगरी प्राडा ज्ञानु पाण्डेले निशा केसीको साहित्य प्रेम र साहित्य प्रतिको लगाव रहेकोले नै साहित्यकारको रुपमा स्थापित भएको बताइन् । साहित्यकार मन्दिरा मधुश्रीले लोकार्पित सङ्ग्रहबाट लघुकथा वाचन गरेको कार्यक्रममा लघुकथा समाजका अध्यक्ष गोपाल अश्कले लघुकथाकार केसीलाई लघुकथा शैलीमा शुभकामना ! बधाई दिएका थिए।
कथाकार केसीले ओजान कथा बाचन गरी लेखनलाई निरन्तरता दिने बताईन । उनले आयोजक नेपाल स्रष्टा समाज सहित पुस्तक प्रकाशन गर्ने सबैलाई धन्यवाद समेत दिइन्।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”को सभापतित्वमा भएको कृति लोकार्पण कार्यक्रममा वरिष्ठ समालोचक प्राडा. ज्ञानु पाण्डे, लघुकथा समाजका अध्यक्ष गोपाल अश्क, प्राज्ञ विवश पोखरेल, लेखक निशा केसीलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।


आँखाहरुले त सपना पठाउछँन् रहर पठाउँछन्
आफ्नाहरुले पो बद्लिएको अखबर पठाउँछ्न्
आफ्नो सोचेर काडा भाचेर पनि फूल पठाउँछु
प्रतिक्रिया दिनेहरूले त झन् पत्थर पठाउँछन्
डुब्ने बेलासम्म त हात माग्छन् किनारा खोज्छन्
उत्रेपछि पो खुट्टा भाँचेर लामो सफर पठाउँछन्
त्यो लास जलाएर फर्केको एक हप्ता पनि नहुँदै
कोसेली झन सिन्दुर पठाउँछन् ,जन्तर पठाउँछन्
मौसम बिना नै बद्लिएको यो मौसम जस्तो गरि
बद्लिन्छन् अनि अमृत मिसाएर सगर पठाउँछन
भरतपुर चितवन

पृथिवी एकता तिम्राे हरायाे आज के भयाे
दु:ख बिर्से कि लाै तिम्राे रमिता आज के भयाे ।
निर्माण देशकाे निम्ति साेचेकाे सब अस्त भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।१।।
विदेशी घुस्रिए सारा तिम्राे सन्मार्ग छाेडियाे
दिव्याेपदेशका नारा थाहै पाएर ताेडियाे ।
चार वर्ण थिए जात छत्तीस भाग-दाैड भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।२।।
ढुङ्गाकाे बीचकाे तिम्राे तरुल आज के भयाे
च्यापियाे च्यापियाे अझ्झै नजान्दा कि त याे भयाे ।
आफूआफूबीचै लड्ने फुट्नैमा सरगर्मी भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।३।।
जन्मे वाद विदेशीकाे स्वदेशी बिर्सँदै गयाे
आयातित बनेँ धर्म पन आफ्नै बिछाेडियाे ।
सदाचार भयाे छाडा विदेशीपन भित्रीगाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।४।।
धराे उत्पादन छैन विलासिता विदेशकाे
मुद्राकाे मूल्य नै छैन पाएसम्म विदेसियाे ।
“जाई कटक पाे गर्छन्” नचिनेसरि आज भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।५।।
चाडबाड मिली मान्थ्याैँ आएकाे सब एक भै
गाउँ सबै जुटी हिँड्थ्याैँ समाजै गाेलबद्ध भै ।
आफ्नै गाउँ पनि पस्न- साेध्ने ! आज उदेक भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।६।।
गुरागाईको कविता संग्रह बास उठेका चराहरू, २०६४ बाट