
मलाई सधैं जून बिनाको रात अधुरो लाग्छ
भँवरा हैन फूल बिनाको पात अधुरो लाग्छ
भोक छैन पेटमा रत्ति चैन छैन मनमा
तिमी साथ नहुँदा हर बात अधुरो लाग्छ
पानी काट्यो समाजले अछुत भनि तिमीलाई
मलाई तिम्रो थर बिना जात अधुरो लाग्छ
न आफ्नो भन्न सक्छु न पराई नै मान्न सक्छु
तिम्रो मौन स्वीकृतिको घात अधुरो लाग्छ
हरेक साँझ मन्द जहर पिउन थालेकी छु
नशाको विहोशीमा पनि मात अधुरो लाग्छ।

