मकवानपुर । प्रज्ञा कुञ्ज माध्यमिक विद्यालयकी निर्देशक सपना खरेलले पिताकाे सम्झनामा चित्रकला प्रदर्शनी गरेकी छिन् । सपनाले पिता दयाराम खरेलको प्रथम वार्षिक पुण्य तिथिको अवसर पारेर पुष्प सजावटको शिल्पकला प्रदर्शनीमा ल्याएकी हुन् ।
नेपाल कला परिषद् बबरमहलमा माघ १३ गतेदेखि सुरु भएकाे चित्रकला प्रदर्शनी माघ १७ गतेसम्म चल्ने बताइएकाे छ । उक्त प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति किरण मानन्धरले गरेका हुन् । प्रदर्शनी उद्घाटन गर्दै मानन्धरले आधुनिक समाजमा चित्रकलाको भूमिकामा नारी उपस्थितिकाे प्रशंसा गरेका थिए ।
यसैगरी काठमाडौँ विश्वविद्यालयका प्रा. भीमप्रसाद श्रेष्ठले सपना खरेलका चित्रमा नेपाल र जापानका विशेषता झल्कनुले युगीन चेतनाको झल्को दिएकाे बताए । जापानी दूतावासकी सांस्कृतिक अधिकृत सातो मायोकुले कलाकारिताको प्रशंसा गर्दै जापानी कलाकारितालाई नेपालमा पनि स्थान दिएकोमा सपना खरेललाई धन्यवाद ज्ञापन गरेका थिए । शिल्पाञ्जली नाम दिइएको कला प्रदर्शनीमा सपनाले आफू जापानमा रहँदा सिकेको सिकाइ र अनुभवलाई समेटेर जापानी शैलीगत पुष्प सजावट गर्ने कलालाई प्रस्तुत गरेकाे बताइन् ।

इन्जिनियर्स विद आउट बोर्डर्सका अध्यक्ष कपिलदेव रेग्मीले कला, साहित्य र संगीतको महत्वबारे प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबै अतिथिजनहरूमा धन्यवाद ज्ञापन गरेका थिए । अस्मि कार्की र अनुष्का रेग्मीको संचालन तथा स्वागत मन्तव्य चित्रकार खरेरलले स्वयं गरेकाे चित्रकला प्रदर्शनी उद्घाटन कार्यक्रममा ललितकलासँग सम्बन्धित व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।
गोल्डेन गेट कलेजका निर्देशक सम्झना खरेलकाे विशेष उपस्थिति रहेको प्रदर्शनीमा बिक्री भएकाे चित्रबाट प्राप्त हुने रकम कुनै परोपकारी कार्यमा सहयाेग गरिने चित्रकार खरेलले बताइन् ।
मकवानपुर । साहित्यकार अन्जना पौडेल उपन्यास प्रकाशन गर्ने तयारीमा छन । बिशेषत कथा, कविता, हाइकु, मुक्तक र गीत लेखनमा सकृय श्रष्टा पौडेलको उपन्यास कृति चरीमई बजारमा आउने भएको हो ।
उपन्यास चरीमईको पाण्डुलिपि अन्तिम चरणमा रहेको र प्रकाशन गृह छनौट भएपछि यो वर्ष भित्रै पुस्तक बिमोचन गरिने पौडेलले बताइन । चरीमई उनको चौथो कृति हो।
हाल शताब्दी साहित्य प्रतिष्ठानको अध्यक्ष पौडेलको यस अघि कथा सग्रह जव वेदना फूल बन्यो २०६०, हाइकू संग्रह हिउँ खस्ने पर्वत,२०६३ र आरु बारीको फूल,२०७० प्रकाशित छन ।
तीज, दोहोरी र आधुनिक गीत लेखनमा समेत सकृय पौडेलको सबै बिधाका गरेर एक दर्जन गीत रेकर्ड भएका छन । उनको गत पुसमा मनको मान्छे बोलको आधुनिक गीत आनन्द कार्कीको स्वरमा युटुवमा सार्वजनिक भएको थियो ।
भावना बिष्ट
१.
खान त खादैन है घिउ किन हो,
मोटी भनी खोज्छन् निउ किन हो
एकै छाक खाना खाए पनि अझ,
हात्तीझै भैदिदिन्छ जीउ किन हो।
२.
चाहिएको भन्दा माथिको ज्याजति नहेर्नु।
ज्यानै लिने इज्जत जाने झुटो पिरती नहेर्नु।
कुमारीहरु प्रशस्त हुँदा हुँदा सुन छोरा मान्छे
घरबार बिगार्नलाई अर्काको श्रीमती नहेर्नु ।
३.
सुन्दर सपनाको हत्यारा हुनु परेको छ।
खोजेको अर्को जिन्दगी पर पुगेको छ।
बोलचाल हुन्न भनेर बिर्सेछ नभने,
तिम्रो यादमा निदाउने लत बसेको छ।
संगीकार नातिकाजीको ९८औं जन्मजयन्तीमा प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘नातिकाजी पुरस्कार’बाट स्रष्टाहरु सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शितल निवासमा आयोजित विशेष समारोहबीच ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८’बाट उनीहरूलाई सम्मानित गरेकी हुन् ।
समारोहमा राष्ट्रपति भण्डारीले ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७८’ गीतकार तथा नाट्यकर्मी मनबहादुर मुखिया, अग्रज गायिका दीपानारायण झा, वरिष्ट रेकर्डिस्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, संगीत संयोजक फणिन्द्र राई, गीतकार बिके राना, संगीतकार तथा गायक कन्हैया सिंह परियार, गीतकारद्वय शुभ मुकारुङ र अमर बान्तुलाई सम्मानित गरिन् ।
तीन दशक वा सोभन्दा लामो समयदेखि आ–आफ्ना क्षेत्रमा योगदान पु¥याएको भन्दै उनीहरूलाई सम्मानित गरिएको नातिकाजी स्मृति समाज अध्यक्ष शम्भूजीत बासकोटाले जानकारी गराए ।
यसैगरी, ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७८’ संगीत गुरु चन्दन श्रेष्ठलाई प्रदान गरियो । राष्ट्रपति भण्डारीले समारोहमा ‘नातिकाजी पत्रकारिता पुरस्कार २०७८’बाट गीतकारसमेत रहेका पत्रकार डब्बु क्षत्री र कुवेर गिरीलाई प्रदान गरिन् । पुरस्कृतलाई ताम्रपत्रसहित जनही ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छ ।
‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७८’ गीतकारतर्फ एकनारायण भण्डारी, संगीतकारतर्फ कालीप्रसाद बासकोटा, गायकतर्फ राज सिग्देल र गायिकातर्फ माण्डवी त्रिपाठीलाई प्रदान गरियो ।
त्यस्तै, ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८’ गीतकारतर्फ देवेन गिरी, संगीतकारतर्फ दीपक शर्मा, गायकतर्फ कृष्ण काफ्ले र गायिकातर्फ अस्मिता अधिकारीले पाएका छन् ।
यसैगरी, ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार’ रविन कार्की ढली, ‘नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार’ देवी घर्ती र ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार–२०७८’ आशिष गौतमलाई प्रदान गरिएको छ ।
त्यस्तै, नाजिकाजी स्मृति समाज र कोषका लागि आ– आफ्नो क्षेत्रबाट उल्लेख्य योगदान दिएको भन्दै प्रोडक्सन म्यानेजर सुवास काफ्ले, छायाँकार तथा फोटो पत्रकार मनोज शाही, म्युजिक नेपाल र काठमाडौं महानगरपालिकालाई ‘विशिष्ट योगदान’स्वरुप कदरपत्रबाट सम्मानित गरियो ।
सोही अवसरमा राष्ट्रपति भण्डारीले नेपाली संगीत श्रीवृद्धिमा नातिकाजीको अतुलनीय योगदान रहेको स्मरण गरिन् । ‘कालजायी सिर्जना पस्केर नेपाली संगीतलाई यहाँसम्म ल्याउनमा उनको ठुलो देन रहेको’ भन्दै उनले ‘अहिलेका पुस्ताले नातिकाजीको मार्गदर्शन आत्मसात् गरेर अघि बढ्न’ सुझाव दिइन् ।
नातिकाजी स्मृति समाज अध्यक्ष शम्भूजीत बासकोटाले अबका दिन नातिकाजीसहित उनका पुस्ताका संगीतकर्मीको नाममा सरकारले पुरस्कार स्थापना गर्नुपर्ने माग गरे ।
मकवानपुर । प्रदर्शनी मिति नजिकिँदै गर्दा चलचित्र ‘ह्यारी कि प्यारी’को युनिट कलाकार सहित मोफसल यात्रामा निक्लिएको छ । उनीहरुले शनिबार नेपालगजबाट मोफसल यात्रा सुरु गरेका हुन् । नेपालगंज पछि ‘ह्यारी कि प्यारी’काे यात्रा चितवनबाट औपचारिक रुपमा अगाडी बढ्दै साेमबार हेटाैडामा आइ पुगेकाे छ ।
मोफसल यात्रामा यो चलचित्रका निर्देशक डा. कपिल रिजालसंगै कलाकारहरु जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाललगायत छन् । डा. रिजालसहितको यो टिम साेमबार बागमती प्रदेशकाे राजधानी सुन्दर नगरी हेटौडा आइ पुगेकाे हाे ।
फिल्मका कलाकारसँगै यो मोफसल यात्रामा चलचित्रका गायक सपन कुमार राई, सुविन सिंह र गायिका बेनिशा पौडेलपनि सोमबार हेटौडाबाट जोडिएका छन् । चलचित्रकाे प्रचारकाे लागि हेटौडामा गायकहरुकाे प्रमाेसन प्रस्तुती रहेकाे थियाे ।
७ माघसम्म जारी रहने यो यात्रामा बेनी, बुटवल, विराटनगर, धरान, इटहरी, दमक र अन्तिममा विर्तामोडमा पुगेर यो चलचित्रको कन्सर्ट गर्दै मोफसल यात्रा उनीहरुले सम्पन्न गर्ने बताइएकाे छ ।
साेमबार चलचित्र ‘ह्यारी कि प्यारी’को टिमले हेटौडामा पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी गराएको छ । चलचित्रका निर्देशक डा कपिल रिजालले चलचित्र ‘ह्यारी कि प्यारी’ आगामी माघ २० गते देखी प्रर्दशनमा आउने बताएका छन् । निर्देशक रिजालले आफनो पहिलो प्रयासलाई दर्शकहरुले मन पराउनेमा आफु विश्वस्त रहेको बताए ।
पहिलो चलचित्र भएकाले लगानीका हिसाबले पनि धेरै भएको बताउदै चलचित्र विभिन्न भाषामा डविङ गरिने उनले बताए । नेपालमा नेपाली भाषामा चलचित्र प्रर्दशन हुने समेत उनले बताए । पत्रकार सम्मेलनमा कलाकार जितु नेपालले चलचित्र ‘ह्यारी कि प्यारी’फरक चलचित्र बनेको बताएका छन । आफूले अभिनय गरेका चलचित्र भन्दा फरक विषय उठान चलचित्रमा गरीएको उनले बताए । उनले यो चलचित्रमा आफू मुख्य भूमिकामा रहेको बताउदै चलचित्रमा ‘ह्यारी को भुमिकामा देखिने बताए ।
चलचित्रका बारेमा बोल्दै नायिका साम्राज्ञी आरएल शाहले कमेडी वेशको चलचित्रमा काम गर्ने अवसर पाएको र चलचित्र राम्रो बनेको बताईन । आफूलाई फरक खाले कथाका चलचित्रमा अभिनय नगरेको भन्ने भनाईलाई चलचित्रले निस्तेज पार्ने उनले बताईन । चलचित्रका कलाकार विजय बरालले जितु र आफू काका भतिजको भुमिकामा रहेकोले हाम्रो जोडीलाईमन पराउनेमा विश्वस्त रहेको बताए । पत्रकार सम्मेलन चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपिल खडकाको अध्यक्षतामा भएको थियो ।
निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयमको लेखन छ । सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।