गङ्गाप्रसाद रिमाल
उत्पीडितको शंखघोष जनयुद्ध अमिट लाह थियो,
सर्वहारा ती निमुखाहरुको वलिदान अथाह थियो ।
फेरिएको हो र क्रान्तिको श्वरुप सारतत्व रुपरेखा,
समाजवादी लक्ष्यको जुन उत्साहपुर्ण प्रवाह थियो ।
###
मुक्ति युद्धको निर्विकल्प सार हो जनयुद्ध
समावेशी समाजको आधार हो जनयुद्ध ।
लालसलाम ! वीर योद्धा सपुतहरुलाई,
राज्यको रुपान्तरण मुलधार हो जनयुद्ध ।
हाल: कावासोती -१६, नवलपुर
पुष्पा के.सी.भण्डारी
१.
आफ्ना कुरा आफ्नै व्यबहारले काटेपछि
जनतालाइ सिद्धन्तका कुरा गरि ढाँटेपछि
कालो चस्माले आँखा छोप्नु ठिकै त हो नि
आफ्नै बिचारहरुलाइ स्वार्थसंग साटेपछि!
२.
भन्थे उनिहरुले उ बेला हात मिलाएर बिहे गरे
बाजा बजेनन् रे उ बेला बात मिलाएर बिहे गरे
तर देख्दैछु आज उनिहरुले आफ्ना सन्तानको
सुनमा लादेर फेरो लिँदै जात मिलाएर बिहे गरे!
३.
एक हुल रङ्गिन सपना आँखामा बिसाउन मन छ
मनको बोझिलो भारी काखामा बिसाउन मन छ
बोक्नै नसक्ने भएछु अगणीत रहरहरुको भारी
इन्द्रेणी फुलबारीको पाखामा बिसाउन मन छ!
लामाचौर, पोखरा
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटाैडाबाट प्रशारण भइरहेकाे रेडियो मकवानपुरकाे बार्षिकाेत्सव सुरु भएकाे छ । १०१ दशमलव ३ मेगाहर्जमा प्रशारण हुने रेडियो मकवानपुरकाे १३ औं बार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु भएको हाे ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन सोमबार सहिद दिवसको अवसरमा ‘सहिदको सपना र आजको नेपाल’ बिषयमा साहित्यकारसंग अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम भएको हाे । रेडियो मकवानपुरमा भएको कार्यक्रमका सहभागी साहित्यकारले अझै सहिदको सपना पूरा नभएको गुनासो गरेका थिए । सर्जक सञ्जाल मकवानपुर अध्यक्ष निमेष निखिलले मुलुकको परिवर्तनका लागि सयौंले बलिदानी दिएपनि अझै जनताले सुखको अनुभव गर्न नसकेको बताए । ‘संविधान पूर्ण कार्यान्वयन अझै हुन सकेको छैन । जनताले परिवर्तनको प्रत्याभुती गर्न पाएका छैनन्, महंगी, बेरोजगार र भ्रष्टाचार बढ्दो छ’, निखिलले भने, ‘सहिदको सपना पूरा गराउनेतर्फ राजनीतिक दल र राज्य लाग्नु आवश्यक छ ।’
यस्तै समालोचक एवम् साहित्यकार घनश्याम घिमिरेले केही हदसम्म समाज र व्यवस्था परिवर्तन भएपनि सहिदको सपना भने पूरा हुन नसकेको धारणा राखेका छन् । अहिलेकै अवस्थामा सहिदको आत्मासन्तुष्ट हुने अवस्था नरहेको भन्दै उनले जनताको मुहारमा हाँसो नभएको बताए । सहिद को हो भन्ने नै समस्या रहेको स्मरण गर्दै उनले भने ‘राष्ट्र, समाज र परिवर्तनको लागि लडेकाहरु नै सहिद हुन् भन्ने बुझ्न जरुरी छ ।’
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सचिव सुवास खनालले मुलुकको सकारात्मक परिवर्तनका लागि सहिदले बलिदानी दिएको भएपनि त्यसको कदर हुन नसकेको बताए । मुलुकमा विभिन्न नामको तन्त्र आएपनि देशले भने गति प्राप्त गर्न नसकेको उनले बताए । आँचल साहित्य कला पुञ्जका उपाध्यक्ष नीरा शर्माले मुलुकको विकास, समृद्धि एवम् परिवर्तन नै सहिदको सपना भएपनि त्यो पूरा हुन नसकेको बताइन् । अझै नेपालमा गाँस, बास, कपासको लागि आत्मदाह गर्नुपर्ने अवस्था रहेको भन्दै शर्माले दुःख व्यक्त गरिन् ।
यसैगरी प्रगतिशिल लेखक संघ मकवानपुरका पूर्व अध्यक्ष पुरुषोत्तम आचार्यले देश र जनताको लागि ज्यान नै दिनु सामान्य कुरा होइन भन्ने बुझ्न जरुरी रहेको औंल्याए । अब हुने सहिदका कार्यक्रमहरु कतै औपचारिकतामै सिमित हुने त होइन भन्दै उनले प्रश्न गरे । मुलुकमा राजाको छोरा नै राजा हुने प्रथाको अन्त्य भएपनि दुखी गरिबको अवस्था उस्तै रहेको आचार्यको भनाई थियो ।
रेडियो मकवानपुरका प्रबन्ध निर्देशक आशिष दुलालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरुले सहिदसँग सम्बन्धित कविता वाचन समेत गरेका थिए । रेडियाे मकवानपुरले २२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी बार्षिकाेत्सव मनाउँदै छ । १७ गरे मंगलबार श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रम हेटौंडा १७ मा खाद्यान्न सहयोग, १८ गते रेडियोकै प्राङ्गणमा रक्तदान, १९ गते बालअधिकार विषयक विद्यालयस्तरीय कविता प्रतियोगिता हुनेछ ।
यस्तै माघ २० र २१ गते रेडियो मकवानपुर कप फुट्सल प्रतियोगिता, २१ गते शनिबार मनहरी गाउँपालिका ४ मा बृहत निशुल्क स्वास्थ्य शिविर र २२ गते बार्षिकोत्सव समापन हुने रेडियाे संचालक समितले जनाएकाे छ । समापन समाराेहमा दुईजनालाई सामुदायिक सम्मान र पुरस्कार वितरण कार्यक्रम हुनेछ ।
कविता प्रतियोगिताको विजेता विद्यार्थीले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै रेडियो मकवानपुर कप फुट्सलको विजेता र उपविजेतालाई नगदसहित पुरस्कारको व्यवस्था रहेको बताइएको छ । रेडियोले बार्षिकोत्सवको अवसरमा दुईजनालाई जनही नगद १० हजार सहित सामुदायिक सम्मान समेत प्रदान गर्नेछ ।

अलिअलि गर्दै मनमा पस्यौ अनि हेरें ।
दिलमा अड्डा जमाई बस्यौ अनि हेरें ।
कति पनि दिन्न भिन्न हुन दिन्न भनी
बलियो आलिङ्गनमा कस्यौ अनि हेरें ।
गहुँ गोरो वर्ण हिमाल झैं दन्ते लहर
त्यहि माथि अत्तर नै घस्यौ अनि हेरें ।
मायैमायामा लुटुपुटु पारी मलाई
मदहोस प्रेमको छुरा धस्यौ अनि हेरें ।
मायाको सागरमा गहिराईमा डुब्दा
उर्लंदो त्यो खहरे मै खस्यौ अनि हेरें ।
सूर्योदय नगरपालिका, इलाम
विजुली माया वन: संगीत अन्तर्राष्ट्रिय पुरस्कारबाट किरण प्रधान सम्मानित
Tags: No Comments
मकवानपुर । यस वर्षको विजुली माया वनः संगीत अन्तर्राष्ट्रिय पुरस्कारबाट वरिष्ठ गायक तथा सङ्गीतकार डा. किरण प्रधान सम्मानित भएका छन्। भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान नेपालले मकवानपुरको हेटौंडामा आइतबार लेखक तथा निर्देशक समेत रहेका प्रधानलाई १ लाख राशी सहित उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
पुरस्कार हेटौंडाका कुशल व्यवसायी, सङ्गीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नाममा २०६४ सालमा स्थापना गरेका हुन् ।वरिष्ठ कलासाधक कवि एवम् गीतकार भीम विरागकाे स्मृती दिवसको अवसरमा आइतबार १४ औं पुरस्कार प्रधानलाई बरिष्ठ साहित्यकार एबं प्राज्ञीक तुलसी थापाले प्रदान गरेका हुन् ।
२०१० सालमा काठमाडौंमा जन्मिएका प्रधानको के सोचें मैले के भयो अहिले, छातीमा मेरो यो छोटो भोटो, भुल हो तेरो भागी हिँड्नु जीवनदेखि, रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो, पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदे, अभागी आमा कुन देशमा, विपना नभई बाँचिदिने म भित्रका मेरा सपनालगायत ४ सय बढी गीतहरुमा स्वर दिएका छन् । प्रतिष्ठानले आइतबार हेटौंडामा पुरस्कार समर्पण तथा सांगितिक कार्यक्रमको समेत आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यले जानकारी दिए । पुरस्कृत ब्यक्तित्व प्रधानले कार्यक्रममा आफ्ना कालजायी गीत प्रस्तुत गरेका थिए ।
यस अघी विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छे बहादुर डंगोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की ( २०७४) दावा ग्याल्माे (२०७७) र दीपक जङ्गम (२०७८) पुरस्कृत भइसकेका अध्यक्ष आचार्यले जानकारी दिए ।
वरिष्ठ कलासाधक कवि एवम् गीतकार भीम विरागकाे व्यक्तित्वप्रति सम्ममान स्वरुप भाषा साहित्य र कला क्षेत्रकाे संरक्षण एवम् संवर्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएकाे प्रतिष्ठानले साहित्य संगीत साँस्कृतिक र कला क्षेत्रमा १२ वटा पुरस्कारकाे व्यबस्थापन गर्दै आएकाे छ ।
गत पुष १ गते शनिबार ६ जना व्यक्तित्वलाई ६ विधाकाे पुरस्कारद्वारा सम्मान गरेकाे थियाे । प्रतिष्ठानले अन्य विधाकाे पुरस्कार छिट्टै प्रदान गर्ने तयारी गरेकाे बताइएकाे छ ।