मकवानपुर । स्वर सम्राट नारायण गाेपालकाे ‘केही मिठाे बात गर’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक गरिएकाे छ । नेपाली सांगीतिक क्षेत्रका अमर नक्षत्र एवं स्वरसम्राट स्व.नारायण गोपालको स्वर तथा संगीतको सुमधुर गीतको म्युजिक भिडियो नारायण गाेपाल काेषले सार्वजनिक गरेकाे हाे ।
स्थानीय कलाकार दिपक भट्ट र नेपाली चलचित्रकी नायिका केकी अधिकारीकाे अभिनय रहेकाे म्युजिक भिडियाे काठमाडौंमा आयोजित समारोहमा सार्वजनिक गरिएको हो । आफू अभिनित म्युजिक भिडियाे सार्वजनिक भएपछि कलाकार भट्टले स्वर सम्राटकाे गीतमा अभिनय गर्न पाउँदा गाैरवान्वित भएकाे बताए ।
रहर नभई बाध्यताले विदेशिनु परेकाे भए पनि नेपाल नेपाली र नेपाली गीत सगीतलाई उत्तिकै माया गर्नेछु उनले भने । पारिवारिक कार्यक्रमकाे लागि अमेरिकाबाट छाेटाे समय नेपाल आउँदा गरिएकाे म्युजिक भिडियाेले आउँदा दिनमा अन्य कालजायी गीतहरुकाे प्राेत्साहनकाे लागि समेत काम गर्ने उत्प्रेरणा मिलेकाे उनले बताए ।
कार्यक्रममा नारायण गोपाल संगीत कोषका अध्यक्ष दीपक केसीले स्व.नारायण गोपालको गीतलाई संरक्षण गर्ने काम गरिरहेको बताए । सुव्रतराज आचार्यद्वारा निर्देशित म्युजिक भिडियाे सार्वजनिक कार्यक्रममा कलाकारहरु दिपक भट्ट केही अधिकारी निर्देशक आचार्य नारायण गोपाल संगीत कोषका अध्यक्ष दीपक केसी नेपाली चलचित्रका लेखक अभिमन्यु निरवी लगायतका सहभागिता रहेकाे थियाे ।
मकवानपुर हटिया घर भई हाल अमेरिका बसाेबास गर्दै आएका दिपकले २०५७ सालमा रेडियाे नेपालबाट बज्ने गितिकथा र नाटकबाट कलाकारिता सुरु गरेका हुन् । दिपकले नेपाल छदाँ, सन्ताेष पन्त निर्देशित हिजाे आजका कुराबाट टेलिभिजन अभिनय सुरु गरेका थिए । केही टेलिसियलहरुमा समेत अभिनय गरेका उनले र म्युजिक भिडियाेहरुमा समेत अभिनय गरेका छन् । करिब १९ वर्ष अघि अमेरिका गएका दिपक नेपाल आँउदा केही यस्तै नयाँ गर्ने साेच रहेकाे बताउँछन् ।
मकवानपुर । मकवानपुरकाे थाहामा रही नेपाली साहित्यमा याेगदान पुर्याउदै आएका साहित्यकार बिर्खे अन्जान सम्मानित भएका छन् । २ सय १० औं भानु जयन्तीको अवसरमा पालुङ जेसिजले साहित्यकार बिर्खे अन्जानलाई सम्मान गरेको हाे।
लक्ष्मण बर्तौला बास्तविक भइ साहित्यमा बिर्खे अन्जानबाट चिनिदै आएका उनलाई थाहा नगरपालिकालाई साहित्यको माध्यमबाट राष्ट्रिय रुपमा चिनाउन सफल भएको भन्दै गरेकाे पालुङ्ग जनाएकाे छ ।
साहित्यकार अन्जानले मकवानपुरको उत्तरी क्षेत्रमा रहेर नेपाली भाषा र साहित्यमा विगत लामाे समयदेखी सक्रिय रहि मुक्तक , कविता र समालाेचना लेखनमा योगदान पुर्याएकाेले भानु जयन्तीकाे अवसरमा सम्मान गरिएको पालुङ जेसिज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए।
साहित्यकार बिर्खे अन्जानलाई थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली र पालुङ जेसिजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालले भादगाउँले टोपी,दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । थाहाका साहित्यकार बिर्खे अन्जान युवा बर्ष मोती पुरस्कार २०७९ र बागमती प्रदेश सरकारले प्रदान गर्ने बिशिस्ट युवा प्रतीभा पुरस्कार २०८० बाट सम्मानित भइसकेका छन् ।
पालुङ जेसीज बर्ष २०२३ शाखा अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएकाे सम्मान कार्यक्रममा जेसीज कार्यक्रम संयोजक अजय कार्की, उपाध्यक्ष दिपा बल, निवर्तमान अध्यक्ष जयराम खत्री, बर्ष २००३ का राष्ट्रिय उपाध्यक्ष पुरुषोत्तम कार्की ,संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पुर्व अध्यक्ष मनोज रायमाझी, मोटिभेसन स्पिकर जय बहादुर मल्ल, शुभारम्भ कृषक समुह अध्यक्ष बिक्रम बिष्ट लगायतका उपस्थित रहेको थियो ।
मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार डा.गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ । महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आइरहेको उक्त पुरस्कार यस वर्ष भट्टराईलाई प्रदान गर्न लागिएको हो ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै समाजले प्रदान गर्ने पुरस्कारको जानकारी दिइएको हो । मातृभूमि र महालक्ष्मी बैंकले संयुक्त रुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार यो वर्ष २१ औं पुरस्कार रहेको समाजका अध्यक्ष माधव प्रसाद पोखरेलले जानकारी दिए ।
नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत भट्टराईलाई ५१ हजार राशीको पुरस्कारद्वारा सम्मान गर्न लागिएको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदाता र कवि समेत हुन् ।
त्यस्तै, समाजले यसवर्षको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कारबाट हेटौंडाका पत्रकार सुरेश श्रेष्ठ सम्मानित हुने भएका छन । ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशी ७ हजार पाँच सय रुपैयाँ रहेको छ ।
महालक्ष्मी साहित्य पुरस्कार र केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार साउन ६ गते शनिबार हेटौंडामा विशेष कार्यक्रमकाबीच प्रदान गरिने आयोजकले जनाएको छ ।
वित्तीय क्षेत्रमा काम गरिरहेको संस्थाले साहित्यको श्रीवृद्धिका लागि साहित्य पुरस्कारमा सहकार्य गरेकोमा समाज अध्यक्ष पोखरेलले महालक्ष्मी विकास बैंक प्रती कृतज्ञता प्रकट गरे ।
मातृभूमिद्वारा ५ पुरस्कार प्रदान गर्ने घोषणा
मातृभूमि साहित्य समाजले यसवर्ष प्रदान गरिने ५ पुरस्कार समेत शुक्रबारको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
समाजले १५ हजार राशीको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार मकवानपुरका साहित्यकार आरआर चौलागाईंलाई प्रदान गर्ने भएको छ । यसैगरी ईश्वर स्मृति मातृभूमि पुरस्कारबाट शैलेन्दु प्रकाश नेपाल सम्मानित हुने भएका छन । उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
यस्तै १५ हजार राशी रहेको होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार चितवनका साहित्यकार लकाश पौडेललाई प्रदान गरिने समाज अध्यक्ष पोखरेलले जानकारी दिए । शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान पुरुषतर्फ हेटौंडाका रामचन्द्र आचार्य फुर्सती र महिलातर्फ मालती उप्रेतीलाई प्रदान गरिने अध्यक्ष पोख्रेलले बताए ।
झलकबहादुर बानियाँ जीवन संघर्ष मातृभूमि सम्मान २०७९ बाट कमला आधारभूत विद्यालय हेटौंडा–१८ का एकजना विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ । समाजले उल्लेखित पुरस्कार श्रावण ५ गते एक कार्यक्रमको आयोजना गरि प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष हयग्रीव आचार्य, महालक्ष्मी विकास बैंकका हेटौंडा शाखा प्रबन्धक अनन्तराज धिताल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, हेमन्त ढुंगेल, किशन पौडेललगायतको उपस्थिति रहेको थियो ।
जुनु घिमिरे
हिजो मेरी आमासँग
सपनाहरू थिएनन्
तर
जीवन थियो
आज मसँग सपनाहरू छन्
तर
भने जस्तो जीवन छैन ।
यस्तो लाग्थ्यो
आमालाई हेर्दा
सपना बेगरका जीवन के जीवन ?
जहाँ पुग्नुको उद्देश्य हुँदैन
उद्देश्य प्राप्ति गर्दाको
खुसी के हो थाहा छैन
फगत आमाको जिन्दगी
चलिरहयो चलिरहयो ।
आज मसँग
धेरै सपनाहरू छन्
उँचाइको भोक लागेको छ
प्राप्तिको प्यासले सताएको छ
त्यसैले जीवनका भोकहरू
अव्यवस्थित छन्
जिन्दगीका तिर्खाहरू
पानी पानी भन्दैछन्
तर मसँग
न पिउने फुर्सद छ
न खाने फुर्सद ।
मात्र मलाई पछ्याउँदै आउँने
जीवनका उद्देश्यहरू छन्
जिन्दगीका सपनाहरू छन्
तिनै सपनाहरूले
मलाई कुदाइ रहन्छन्
म कुदिरहन्छु
थाहा छैन
मेरो जीत कहाँ पुगेर हुन्छ ?
पुग्ने कुनै स्थान तोकिएको छैन
तर म कुदिरहन्छु
जिन्दगीको म्याराथनमा
सफलताको आश बोकेर ।
जब मेरा आँखाले
सपनाहरू खेलाउन थाले
त्यसबेला मेरी आमा
मलाई बिचरा लाग्थ्यो
मेरो हातहरुले योग्यताका
प्रमाणपत्रहरू बटुलेका थिए
आमाको त
प्रमाणपत्र भनुँ वा तक्मा
तिनै खस्रा हातहरू थिए
खडेरीले धाजा पारेका
खेतहरू जस्तै पैताला थिए
अनि
उसिनेर फुटेको
आलु जस्तै आमाका कुर्कुचाहरू ।
दुःख,अभाव,थिचोमिचो आँसु
धेरै थरिका निशानी
देख्थेँ म आमाको जीवनमा
अनि मलाई लाग्थ्यो
के यो पनि जीवन हो ?
म आमाभन्दा
धेरै अगाडिको पुग्न चाहन्थें
र
आज
सपनाहरू भरी कसेर
दौडिरहेछु
तर बिडम्बना
मेरी छोरी मलाई भनिरहन्छिन्
अरे मामु,
यो पनि जिन्दगी हो ?
धनकुटा हाल दुवाकोट भक्तपुर
घिमिरेकाे भर्खरै प्रकाशित पसिनाको घर कविता संग्रहबाट
मकवानपुर । हेटौडाकाे किताबघरमा उत्सव चौलागाईका कविता सुनिएकाे छ । हेटौंडाका कवि चौलागाईंको एकल कविता वाचन हेटौडा ४ भैरवरोड स्थित किताबघरमा शनिबार भएको हाे ।
किताबघरको आयोजनामा शनिबार भएकाे कविता वाचनमा चौलागाईंले एक दर्जन कविता सुनाएका थिए । चौलागाईले आमा, बा, मट्याइला हातहरु, तिमी बाहिर निस्क, सम्झनाहरुमा, आधा, ऊ कुनै अपराधी हैन, मैले आँखा खोलिसकेँ, सत्ता र कान्छा, मालिक मनोविज्ञान र पार्लियामेन्ट शीर्षकको कविता सुनाएका थिए । कवि चौलागाईका कवितामा नारीवादी चेतना, प्रेम, वर्गीय चेतनासम्म भाव थियाे ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले कविताको विश्लेषण गर्दै उत्सवले कर्मयोगी किसानदेखि जन्मदाता बाआमाप्रति समर्पण भाव व्यक्त गरेको बताए । कविता वाचन कार्यक्रममा मकवानपुरका साहित्यिक स्रष्ट्राहरुकाे उपस्थिति रहेकाे थियाे ।
किताबघरका संचालक मकवानपुरका शैक्षिक व्यक्तित्व छिव अनित्यले किताबघरले व्यवसायीक काराेबार मात्र नगरी साहित्यमा फरक स्वाद पस्कने जमर्काे गर्दै आएकाेमा पहिलाे पटक एकल वाचन कार्यक्रम गरिएकाे बताए । यस खालकाे कार्यक्रम निरन्तर रुपमा गरिरहने समेत उनले बताए ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलकाे सभाध्यक्षता तथा हेटौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट रामचन्द्र सापकाेटाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।
