मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार डा.गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ । महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आइरहेको उक्त पुरस्कार यस वर्ष भट्टराईलाई प्रदान गर्न लागिएको हो ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै समाजले प्रदान गर्ने पुरस्कारको जानकारी दिइएको हो । मातृभूमि र महालक्ष्मी बैंकले संयुक्त रुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार यो वर्ष २१ औं पुरस्कार रहेको समाजका अध्यक्ष माधव प्रसाद पोखरेलले जानकारी दिए ।
नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत भट्टराईलाई ५१ हजार राशीको पुरस्कारद्वारा सम्मान गर्न लागिएको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदाता र कवि समेत हुन् ।
त्यस्तै, समाजले यसवर्षको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कारबाट हेटौंडाका पत्रकार सुरेश श्रेष्ठ सम्मानित हुने भएका छन । ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशी ७ हजार पाँच सय रुपैयाँ रहेको छ ।
महालक्ष्मी साहित्य पुरस्कार र केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार साउन ६ गते शनिबार हेटौंडामा विशेष कार्यक्रमकाबीच प्रदान गरिने आयोजकले जनाएको छ ।
वित्तीय क्षेत्रमा काम गरिरहेको संस्थाले साहित्यको श्रीवृद्धिका लागि साहित्य पुरस्कारमा सहकार्य गरेकोमा समाज अध्यक्ष पोखरेलले महालक्ष्मी विकास बैंक प्रती कृतज्ञता प्रकट गरे ।
मातृभूमिद्वारा ५ पुरस्कार प्रदान गर्ने घोषणा
मातृभूमि साहित्य समाजले यसवर्ष प्रदान गरिने ५ पुरस्कार समेत शुक्रबारको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
समाजले १५ हजार राशीको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार मकवानपुरका साहित्यकार आरआर चौलागाईंलाई प्रदान गर्ने भएको छ । यसैगरी ईश्वर स्मृति मातृभूमि पुरस्कारबाट शैलेन्दु प्रकाश नेपाल सम्मानित हुने भएका छन । उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
यस्तै १५ हजार राशी रहेको होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार चितवनका साहित्यकार लकाश पौडेललाई प्रदान गरिने समाज अध्यक्ष पोखरेलले जानकारी दिए । शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान पुरुषतर्फ हेटौंडाका रामचन्द्र आचार्य फुर्सती र महिलातर्फ मालती उप्रेतीलाई प्रदान गरिने अध्यक्ष पोख्रेलले बताए ।
झलकबहादुर बानियाँ जीवन संघर्ष मातृभूमि सम्मान २०७९ बाट कमला आधारभूत विद्यालय हेटौंडा–१८ का एकजना विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ । समाजले उल्लेखित पुरस्कार श्रावण ५ गते एक कार्यक्रमको आयोजना गरि प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष हयग्रीव आचार्य, महालक्ष्मी विकास बैंकका हेटौंडा शाखा प्रबन्धक अनन्तराज धिताल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, हेमन्त ढुंगेल, किशन पौडेललगायतको उपस्थिति रहेको थियो ।

