मकवानपुर । साहित्य सङ्गम मकवानपुरको नियमित साहित्य सन्ध्यामा अप्सरा तिमल्सिना विशेष कार्यक्रम गरिएकाे छ । शनिबार संगमकाे ३ सय ३३ औँ सन्ध्या अन्तर्गत अप्सरा स्मृति विशेष रचना वाचन गरिएकाे हाे ।
साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको हेटौडा ४ मा रहेकाे भवनमा आयाेजना गरिएकाे कार्यक्रममा स्रष्टाहरूले रचना वाचन गरी स्वर्गीय तिम्सिनाकाे सम्झना गरिएकाे थियाे । साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता र निर्मोही व्यासको प्रमुख आतिथ्यतामा भएकाे रचना वाचनमा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल विशिष्ठ रहेका थिए ।
बाल सर्जक अनुसुया खनालका साथै अनिल कोइराला, बैकुण्ठ लामिछाने, आँचल साहित्य कला पुञ्जकी सचिव सबिता तिमल्सिना, यश लामा, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य, किशन पौडेल, पुरूषोत्तम आचार्य, गीतकार शम्भुजित बासकोटा, देवराज खरेल, जनार्दन खनाललगायतले रचना वाचन गरेका थिए ।
स्मृति विशेष रचना वाचनमा नेपाली लेखक संघका केन्द्रीय सदस्य हयग्रीव आचार्य, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण, कवि रमेश अधिकारी, टिका अविरल, सुवास खनाल, साहित्यसेवी मुक्तीगोविन्द वैद्य संगम सचिव डिबी बर्तौला, यमनदेव उत्प्रेरक, भवानी तिमल्सिना न्यौपाने, कुवेर पराजुलीलगायतकाकाे उपस्थिति रहेकाे थियाे ।
गीता अर्याल
थिएन हिजो राती
मस्त निन्द्रा पनि
सोचिँरहे मनभरी
मन पोलेका कथा कहानी पनि।
स्वार्थीले भौतिकता छामेर
हृदय दुखाएका दिन पनि
भनीरहेँ कस्तो जिन्दगी यो
भावीको खेल पनि।
सम्झिरहेँ कसैले भनेका कुरा
मन शान्त पार स्वार्थ छैन केहि
हृदय खुशी हुने मात्र काम गर
यस्तै अमृतरुपी वचन पनि।
फेरि सम्झिए,
केहि लेख केहि गर
केहि त गर भनेर
प्रेरणा दिएका प्रसंग पनि।
तर ,
म नि:शब्द छु आज
कसैका त्यी प्रेरणामा खेल्न नसक्दा
न लेख्न आउछ
न शान्त बस्न
न खुशी हुन।
मात्र मन पोलेको छ
एउटै प्रश्नले जिस्काएको छ
कोही कसैले स्वार्थ लुटेर
बेहद खुशी हुँदै रमाएको दिन सम्झेर
ब्वाँसाका निर्दयी नङ्ग्रा संझेर
किन खेल्यो खेल भनेर ।
निन्द्रा बिर्सिएर रातको सन्नाटामा सम्झदैछु म
नसोचेका दिनहरू, पलहरु
अनि थोपरेका एकोहोरो क्षणहरु
स्वार्थमा सजिलै रुमलिएका परिवेश हरु
दु:खीरहेछन कसैको खुशीको लागि
आफ्नो हृदयमा लागेका घाउहरु।
फेरि मनको कलम बन्द गर्छु
तुलना गर्छु यथार्थ र कल्पनाको
सपना देखाउने र मलम लगाउनेको।
संझनामा तरंगित हुन्छु
समाजका अगुवा भनाउदाको
चर्तीकला
एक्लो हो एक्लो छ भनेर गरिने व्यबहार
बोलिने शब्द
हेरिने दृष्टिकोण
मान्छेका स्वार्थी र नालायकीपनहरु।
कसैका वास्तबिक त्याग र समर्पणहरु
बिना मोलमोलाइ चुक्ता गरिने
मायाका पहाडहरु।
फेरि फर्कन्छु कोल्टे
एउटा दृश्यले सताउछ
पुरुष र पुरुषका झुन्ड र झुठ
सलबलाउन थाल्छन
प्रश्न उब्जिएको छ मनको गहिराइमा
सुनेका देखेका भोगेका बिषयमा
घरमा श्रीमती छ
छोराछोरी पनि
पुरुषको भेषमा कोही
म अविवाहित छु भन्छ
नभए पनि एक्लै छु भन्छ
पासोमा पार्न मायाको बल्छि फाल्छ
सपनाको सागर ढालेर
हातमै राखिदिन्छु भन्छ
पासो थापेर स्वार्थ पुरा गर्छ
अनि फरक हुन्छ ब्यबहार
सुरु हुन्छ कसम कहानी र तर्कने बानी
फेरि सोचें सबै यस्ता हुन्नन
न पुरुष न महिला ।
मध्यान्तर भैसकेको थियो
म मनका उकालि ओरालि गरेर
आफैले आफैंलाई सोधिरहेको थिएँ
किन? के का लागि?
मैले मलाई बेचेँ कुनै दाम नलिएर
मात्र कसैको खुशीको लागि
आफ्नो मुटुमा घाउ लगाएर
कसैको विस्वासमा आगो लगाएर !
म उठें अठोट लिएर
अब म सत्य हुँ सत्य बन्छु भनेर
त्यै भएर ,
आजभोलि चिन्दैछु मान्छेहरुलाई
मान्छेभित्रका स्वभावहरुलाई
सोझोपनको फाइदा उठाउन जान्ने
ध्रुत स्यालहरुलाई
चटक देखाउन सिपालु चाटुकारहरुलाई
तैपनि ,विबस भएर छटपटाइरहेछु
निन्द्रा बिर्सिएर
मस्त निदाएर फेरि लुट्ने सपना देख्ने
स्वार्थीलाई सम्झेर
१.
न घर छ उसको, न बार उसको
छ जताततै हाहाकार उसको
समयको हत्कडी सजिलो छैन तोड्न
जिन्दगीनै कठ्घरामा गिरफ्तार उसको ।
२.
बाँचुन्जेल हारजीतको जुवा बनेर
गहभरी आँशु जम्यो कुवा बनेर
यस्तै रै’छ जिन्दगी मरिलानु के छर,
नभ तिर फैलियो जीवन धुवाँ बनेर ।
३.
छहारी त मै बनौंला मनमा शान्ति छाओस् सधैं
सुनौलो त्यो रश्मीसँगै तनमा कान्ति आओस् सधैं
जहाँ जता गए पनि कोषौ टाढा भए पनि,
प्रेमको प्रतीक ढुकुरले प्रेमिल गीत नै गाओस् सधैं ।
लक्ष्मीपुर,इलाम
सडक !
के छ फरक
तिमी र ममा ?
दिनहौं कुद्छन्
तिम्रा छातीमा
हजारौँ सपना बोकेका यात्रीहरू
अनि
ती यात्रीलाई चाहिने
खाद्य सामग्री,
गगन चुम्बी भवन बनाउने
सामान र
ती महलमा बस्नेहरूका
मायालु प्रेमी प्रेमिका
बोकेर गुड्ने
चिल्ला भाटकयान
विशाल मालबाहक
घोडा, गाडी र रेलहरू
अनि
बिर्सिन्छन् आफूले टेकेको धरातल
सोच्छन् तुच्छ अरूलाई ।
यी देखेर
कुद्छन् मेरा छातीमा
दायित्व,जिम्मेवारी र कर्तव्य
तिमी पनि मौन सहन्छौ
म पनि चुपचाप सहिरहन्छु
आफ्नो धर्म, कर्म र अस्तित्व सम्झेर
लडिरहन्छन् लम्पसार
हाम्रा आफ्ना सपनाहरू
उनीहरू भने
तिम्रो र मेरो मौनतालाई
कमजोरी सम्झेर
हाम्रा छातीमा
नाचिरहन्छन् , रमाइरहन्छन् ।
सडक-
माटो-आमा !
आमा-
माता, जननी र चेलीहरू !
थाहा छ
यी इज्जत र अस्मिताका
लुटेराहरूलाई पनि
तर पनि हाम्रो वक्षमा
निर्मम टेक्दै कुद्छन् , दौडन्छन्
संसार बनाउने होडमा
तिमी जस्तै मौन छु, म पनि
फरक यति त छ, तिमी र ममा
तिमी निर्धक्क, निर्जीव सहन्छौ
खुल्ला आकाशको ओड्ने ओडेर,
अनि म,
चेतनशील, जीवित र
सिर्जनशील भएर पनि
खोक्रो समाजको अघि
मौन सहिरहन्छु ।
फरक यति त अवश्यै छ,
तिमी –
सडक भएर आमा भएकी छौ
म –
आमा भएर
सडक भएकी छु ,
तिमी निर्जीव दुखेकी छौ
म सजीव दुखेकी छु,
अनि हामी दुखिरहन्छौँ
शायद अनन्त अनन्त सम्म !!
दिपक पनेरु
आँधीवेरी हुरी जस्तै चल्न सिकें मैले ।
चिताको राख सरी नै जल्न सिकें मैले ।
रम्छु अचेल बाढी पहिरो झरी वर्षासँग,
सागरको छालसित बहल्न सिकें मैले ।
प्रेममा निराश भयो मन जहिलेदेखि,
तब खुशीहरु सित छल्न सिकें मैले ।
समयले दुर्भाग्यको रंग देखाए पछि,
मनको रहरहरु बदल्न सिकें मैले ।
यात्रा थियोे अनिश्चित सफर गर्नैपर्ने,
ठोकर खाँदै आज संभल्न सिकें मैले ।
सागरनाथ, सर्लाही