मकवानपुर । साहित्य सङ्गम मकवानपुर अक्षयकोष निर्माण अभियानमा जुटेकाे छ । नयाँ कार्य समिति चयन भएपछि संगम अक्षय काेष निर्माणमा लागि परेकाे हाे । नवनिर्वाचित अध्यक्ष डीबी बर्तौलाको नेतृत्वमा सुरु भएकाे अक्षय काेष निर्माण अभियानमा विभिन्न क्षेत्रका व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रहेकाे बताइएकाे छ ।
संगमका नवनिर्वाचित अध्यक्ष बर्तौलाले सङ्कलित रकमलाई अक्षयकोषमा जम्मा गराई सोबाट प्राप्त व्याजमार्फत् संस्थाको साहित्य सन्ध्या, पुस्तक विमर्श, रचना वाचन जस्ता नियमित गर्ने कार्यक्रम तथा आन्तरिक खर्च व्यवस्थापनमा सघाउ पुग्ने र यसबाट साहित्यिक उन्नयनमा सहयोग पुग्ने बताए । केही सर्जक तथा साहित्यसेवीले आफ्नो नाम उल्लेख नगर्नेगरी सहयोग गरेकाे समेत बताइएकाे छ ।
सङ्गमको मासिक सन्ध्या, विमर्श, एकल तथा संयुक्त विशेष कार्यक्रमहरू, खानेपानी, बिजुली, सरसफाइलगायतका नियमित खर्च व्यवस्थापनका लागि अक्षयकोषमा रकम जम्मा गरी सोबाट प्राप्त व्याज रकमले व्यवस्थापनमा सहज हुनेछ । स्थापित पूरानो संस्था भएकोले नवपुस्ताहरू केन्द्रित गतिविधि सञ्चालनमा समेत सघाउ पुग्ने उपाध्यक्ष सानु खनालले बताए । सहयोगी दाताहरूसँग निरन्तर सम्पर्कमा रही आर्थिक स्रोत जुटाउने कार्यमा संस्थाका अध्यक्षको सक्रियता रहेको साथै धेरैको सहयोग प्राप्त भइरहेकाेले अभियानले सार्थकता पाउनेमा खनाल विश्वस्त छन् । ‘कोषको व्याजबाट संगमले हरेक गतिविधि गराउन सके सके संस्थाले लिएका लक्ष्य तथा उद्देश्य पूरा हुनेछ’ अध्यक्ष बर्तौलाले भने अक्षयकाेषकाे स्थापना पछि हरेक कार्यक्रममा सहयोगी दाताहरू खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्न सहयाेग पुग्नेछ।’
संगम कार्यसमितिका अध्यक्ष बर्तौला, उपाध्यक्ष खनाल, सचिव मनोज पोखरेल सदस्य कुबेर पराजुलीबाट प्राप्त भएकाे रकमबाट सुरू भएको अभियानमा गैँडाकोट, नवलपुर स्थायीबासी हाल अष्ट्रेलिया निवासी नवराज भट्टराई तथा दीपेन्द्र यादवले जन्मदिनको अवसरमा सहयोग गरेका छन् । यसैगरी हेटौँडा ९ निवासी व्यावसायी नरेन्द्र भण्डारी, हेटौँडा ४ निवासी स्वास्थ्यकर्मी निर्मला भ्लोन, हेटौँडा १ का रामकुमार बर्तौलाले र राजकुमार तिमल्सिनाबाट पनि अक्षय काेषकाे लागि आर्थिक सहयोग प्राप्त भएकाे अध्यक्ष बर्ताैलाले जानकारी दिए ।
आफ्नाे छोरा रिदम घिमिरेको जन्म दिनको अवसर हेटौँडा ५ निवासी रजनी पौडेल तथा मातृभूमि साहित्य समाजका महासचिव हेटौँडा ४ का हेमन्त ढुङ्गेलले छोरी सँस्कृति ढुङ्गेलको शुभ जन्मदिनको अवसर, साइराम राकोसका व्यवस्थापक हेटौँडा ५ का राजकुमार तिमल्सिनाले पनि संगमकाे अक्षयकाेषकाे लागि रकम उपलब्ध गराउनु भएको छ ।
नेपाल सरकारका अधिकृत ठाकुरराम भण्डारीले आफ्नी छोरी सर्जु भण्डारीको उज्ज्वल साहित्यिक जीवनको कामनाका साथ सहयाेग गर्नु भएकाे अक्षयकाेषमा बालजागृति सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदी तथा हेटौँडा निवासी शिवहरि प्याकुरेल थप टेवा पुर्याउनु भएकाे छ । मुक्तक मञ्च काठमाडाै अध्यक्ष तथा मुक्तककार राजेन्द्र घिमिरे र कृष्ण पौडेलबाट साहित्यिक उन्नयनका सहयाेग प्राप्त भएकाे छ भने हेटौँडा १३ पदमपोखरी निवासी शिक्षक केशव न्यौपानेले आफ्नो श्रीमती रमा न्यौपानेको जन्मदिनमा अक्षय काेषकाे लागि सहयोग गरेका छन् ।
संगमकाे अक्षय काेषकाे लागि अन्य सहयोगी दाताहरूमा केशव सञ्जेल, नारायण बर्तौला जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँ, झम्क तिमल्सिना, आधुनिक राष्ट्रिय माविका शिक्षक कृष्णगोपाल श्रेष्ठ साहित्य सर्जक, समालोचक महेश पौड्याल, सङ्गमको पूर्व उपाध्यक्ष ईन्द्रजीत शर्मा धरान निवासी कवि चन्द्र गुरूङ रहेका छन् ।
काठमाडौं । बाह्रखरी कथा लेखन प्रतियाेगिता २०८० हुने भएकाे छ । पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि बाह्रखरी मिडियाले कथा आह्वान गरेकाे छ । बाह्रखरीले काठमाडौंमा पत्रकार भेटघाट गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरिएको जनाकारी दिएकाे हो ।
कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको निरन्तरताकाे लागि पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ घोषणा गरेको हाे । आख्यान साहित्यको सशक्त विधा, कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्य रहेको प्रतियोगितामा नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको प्रतियोगिता हाे ।
बाह्रखरीलाई प्राप्त हुने सबै कथाहरू पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले प्राप्त कथामध्येबाट ५० कथा छनाैट गरी निर्णायक समूहलाई उपलब्ध गराउनेछ । तीमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीयका साथै ‘उत्कृष्ट कथा, २०८०’ पुस्तकका लागि थप २२ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिने बताइएकाे छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगदसहित तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिने बाह्रखरी मिडियाले जनाएकाे छ । यसैगरी संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । उत्कृष्ट कथासंग्रहको पुस्तकमा प्रतियोगिताबाट प्राप्त २५ कथाका साथै स्थापित कथाकारहरूबाट प्राप्त पाँच कथाहरू पनि समावेश गरिनेछ ।
पाचाै संस्करणकाे कथा प्रतियोगिताको नतिजा २०८० पुस ६ गते शुक्रबार सार्वजनिक गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा–२०८०’ को लोकार्पण पनि गरिने कार्यक्रम रहेकाे छ । आउँदो असोज ३० गतेसम्म 12kharibooks@gmail.com मा इमेल गरेर कथा कथा पठाउन सकिने विज्ञप्तिमा जनाइएकाे छ । संसारभरिबाट नेपाली भाषामा कथा पठाउन सकिने प्रतियोगितामा गत वर्ष ५ सय ९६ कथाहरू प्राप्त भएको थियो ।
कथा प्रतियोगिताको प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । त्यस्तै, लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तृतीय भएको थियो । त्यसैगरी, प्रतियोगितको दोस्रो संस्करणमा लाहानकी मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो ।
यस्तै तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय भएका थिए भने चौथो संस्करणमा दाङका नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम, रमेशजंग थापाको ‘डढेको आकाश’ द्वितीय र रुमु न्यौपानेको ‘घूँघट’ तृतीय भएको थियो ।
नयाँ पुस्तासँगै जोडिँदै नेपाली साहित्य
पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ को निर्णायक समूहका संयोजक प्रा. डा. सावित्री कक्षपतिले नेपाली साहित्यलाई नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बताएकी छन् । उनले डिश होम बाह्रखरी कथा प्रतियोगिता नयाँ पुस्ताका कथाकारका लागि सुनौलो अवसर भएको बताइन् । डा. कक्षपतिले विश्व साहित्यले अनुवाद गर्ने तहका कथा अब युवा पुस्ताले लेख्नुपर्नेमा जोड दिइन् ।
‘प्रतियोगितामा आउने कथाले समाज रूपान्तरण गर्न सकून् । कतिपय कुरा औपचारिक रूपमा भन्न सकिँदैन, त्यस्ता कुरा साहित्यमार्फत विम्ब र प्रतीकको प्रयोग गरेर भन्न सकिन्छ,’ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० घोषणासभामा उनले भनिन्, “चाहेर पनि औपचारिक रूपमा कतिपय विषय भन्न सकिएको छैन । त्यस्ता विषय यो प्रतियोगितामा कथामार्फत आउँछन् भन्ने मेरो विश्वास छ ।”
बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई नाटक, चलचित्र र टेलिचलचित्रमा रूपान्तरण गर्न सकिने उनको धारणा छ । सिनेमा र नाटकका लागि कथा भएन भन्ने गुनासो आउने गरेको उनले स्मरण गरिन् । प्रतियोगिताका कथाबाट नाटक र सिनेमाको कथा बनाउन सकिने उनले बताइन् ।
कथा प्रतियोगितालाई निरन्तरता दिन सहज नरहेको उनको भनाइ छ । ‘म सुरुदेखि नै यो प्रतियोगितालाई नियालिरहेको छु । यो कथा प्रतियोगिताको पहिलो संस्करण घोषणा हुँदादेखि नै म निकै खुसी र उत्साही भएको थिएँ,’ उनले भनिन्, ‘आज पाँचौँ संस्करणसम्म आइपुगेको छ, यसलाई नेपाली साहित्यको इतिहासमा स्वर्ण अक्षरले लेखिनुपर्छ ।’
उनले बाह्रखरी कथा लेखन प्रतियोगितालाई नयाँ पुस्ताले सुनौलो ‘प्लेटफर्म’का रूपमा लिनुपर्ने बताइन् । ‘प्लेटफर्म नपाउनेका लागि यो अवसर हो । यो अवसरलाई सदुपयोग गर्दै समाजलाई दिशा दिने कथा आउनेछन् भन्ने लाग्छ,’ उनले अगाडि थपिन्, ‘नयाँ पुस्ताले नै नेपाली कथालाई धानिरहेको छ । त्यसैले यो प्रतियोगिताले निरन्तरता पाओस् भन्ने मेरो चाहना छ ।’
निर्णायकमण्डलका सदस्य सुविन भट्टराईले नयाँ प्रतिभाले बाह्रखरी कथा लेखन प्रतियोगितालाई भरपुर उपयोग गर्नेमा आफू ढुक्क रहेको बताए । ‘बाह्रखरीले नयाँ प्रतिभालाई विशिष्ट स्थान दिएको छ । हामीले हाम्रो समयमा यो अवसर पाएनौँ,’ कथाकार भट्टराईले भने, ‘हामीलाई सुरुसुरुमा कथा लेख्ने हुटहुटी हुँदा यस्तो प्लेटफर्म थिएन । सायद यस्तो अवसर पाएको भए आज अवस्था अर्कै हुने थियो ।’
उनले विचार र भाषालाई सन्तुलित गरेका कथा नै बलियो हुने धारणा राखे । ‘विचार र भाषा सन्तुलित भएका कथा नै वास्तवमा सशक्त हुन्छन्,’ उनले भने, “प्रतियोगितामा यहीभित्र रहेर कथा पठाउन म आग्रह पनि गर्छु ।’
डिश मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले नेपाली माटोका मौलिक कथा आवश्यक रहेको बताए । कथा लेखनमा स्वतन्त्रताको भरपुर प्रयोग गर्न सकिने उनले उल्लेख गरे । उनले समाज रूपान्तरण गर्न सक्ने कथा आवश्यक रहेको औँल्याए । उनले बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई सिनेमा र टेलिसिरियल बनाउन सकिने धारणा राखे । ‘कथा लेख्ने पालो अब युवा पुस्ताको हो । टेलिभिजनले उठाउन नसकेका विषय कथाले समेट्नुपर्छ भन्ने लाग्छ,’ उनले थपे ।
फाइन प्रिन्टका सञ्चालक निरज भारीले कर्पोरेट हाउसलाई साथमा लिएर कथा प्रतियोगिता गर्नु नै नेपाली साहित्यमा नयाँ सोच भएको टिप्पणी गरे । बाह्रखरी कथा लेखन प्रतियोगिता नयाँ पुस्ताका लागि सम्भावनाको ढोका उघार्ने माध्यम भएको उनले बताए । यसलाई नयाँ पुस्ताले अवसरका रूपमा लिन सक्नुपर्ने उनको धारणा छ ।
बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले बाह्रखरी कथा लेखन प्रतियोगिता नयाँका लागि मात्र नभएर सबैकाे लागि भएकाे बताए । ‘यो प्रतियोगिता नयाँ प्रतिभाका लागि मात्रै हो कि भन्ने भ्रम रहेको छ, तर त्यस्तो होइन । सबैका लागि हो,’ उनले स्पष्ट पारे । हरेक वर्ष नयाँ प्रयास गर्दै आएको स्मरण गर्दै उनले यसपटक पनि आमन्त्रित साहित्यकारको कथा समावेश गरिएको जानकारी दिए ।
बाह्रखरी मिडियाका विशेष सम्पादक हरिबहादुर थापाले नयाँ स्रस्टा जन्माउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले संसारभरका नेपालीभाषी कथाकारलाई प्रतियोगिताले समेट्ने भन्दै सहभागी हुन आह्वान गरे ।
बाह्रखरी कथा लेखन प्रतियोगिताको आन्तरिक निर्णायकमण्डलका संयोजक गोविन्द अधिकारीले प्रतियोगितामा भूगोल र उमेरको छेकबार नरहेको बताए । जुनसुकै देश र उमेरका कथाकारले सहभागिता जनाउन सक्ने उनले जानकारी दिए । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि विभिन्न जाति, समुदाय, लिंग र भूगोललाई प्रतिनिधित्व गर्ने कथा प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।
मकवानपुर । हेटौंडामा ‘दि एक्स’ ब्याण्डले सांगीतिक कार्यक्रम गर्ने भएको छ । दि एक्स’ ले आउँदो भदौ ३० गते शनिबार हेटौंडा-५ स्थित रिगल हेटौंडा रिसोर्टमा सांगीतिक कार्यक्रम (कन्सर्ट) गर्ने भएको हो ।
मंगलबार हेटौंडामा पत्रकार भेटघाट गर्दै आयोजक नेपाल डाइरिज हेटौंडा प्रालिले कन्सर्टको तयारी तीब्र रुपमा भइरहेको जानकारी दिएको छ । नेपाल डाइरिजका प्रमुख सागर गजुरेलका अनुसार दि एक्सले पहिलो पटक हेटौंडामा सांगीतिक कार्यक्रम गर्न लागेको हो । कन्सर्टमा करिब ७ लाख खर्च हुने अनुमान गरिएको र टिकटबाट प्राप्त हुने रकमबाट खर्च कटाएर बाकी रकम आर्थिक अवस्था कमजोर भएको कारण पढाईमा समस्या भएका विद्यार्थीहरुलाई सहयोग गरिने गजुरेलले बताए ।
डाइरिज हेटौंडाका कार्यक्रम संयोजक समीर सापकोटाका अनुसार कन्सर्ट प्रवेश शुल्क टिकटदर प्रतिव्यक्ती एक हजार रुपैयाँ राखिएको छ । टिकटमा दर्शकलाई पेय पदार्थ निःशुल्क उपलब्ध गराइने ब्यबस्था समेत गरिएको छ ।
सांगीतिक कार्यक्रम (कन्सर्ट) शनिबार अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म जारी रहने छ । यस्तै स्थानीय कलाकार र ब्यान्डहरुको प्रस्तुति रहने कार्यक्रममा १ हजार भन्दा बढी दर्शकले सहभागिता जनाउने आयोजकको अनुमान गरेको छ ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुर अध्यक्षमा डीबी बर्तौला निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा बर्तौलले ९७ मत ल्याउदै अध्यक्षमा निर्वाचित भएका हुन ।अध्यक्षका प्रत्याक्षी पुरुषोत्तम आचर्यले ८१ मत प्राप्त गरे ।
शनिबार भएको संगमको १६ औ अधिबेशनबाट बर्तौताको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्वाचनबाट चयन भएको हो ।
कोषाध्यक्ष र सहसचिव पदका उम्मेदवार भने निर्विरोध भएका छन । कोषाध्यक्षमा मनु तिमल्सिना र सहसचिवमा भावना तिमल्सिना न्यौपाने निर्बिरोध निर्वाचित भएका हुन ।
अन्तिम मत परिणाम हेर्नुहोस
अध्यक्ष
डिबि बर्तौला : ९७ (विजयी)
पुरुषोत्तम आचार्य : ८१
उपाध्यक्ष
एस के निधन : ५६
सानू खनाल :१२१ (विजयी)
सचिव
मनोज पोखरेल : ११० (विजयी)
यश लामा : ६७
सदस्यहरु
कुबेर परजुली:८३ (विजयी)
कृतिका लौडारी : ९९ (विजयी)
मिनप्रसाद लामिछाने : ७६
रजनी पौडेल : १२४ (विजयी)
बैकुण्ठ लामिछाने : ७५
सिएम रिमाल : ७९
स्वस्तिका बानियाँ : ११८ (विजयी)
कुल मत : २४४
खसेको मत :१८२
बदर मत : ३
मकवानपुर । मकवानपुरका महिला साहित्यकारहरूको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २, चौकीटोलमा रहेको ओम वृद्धाश्रममा विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजकाे अवसरमा आँचलले वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।
आँचल मकवानपुरकी अध्यक्ष भावना सापकोटाले आश्रममा रहेका वृद्धवृद्धालाई बिहानकाे खाजा दूध, पाउरोटीका साथै दाल, चामल, नुन, तेल, तरकारी, गेडागुडीलगायत विभिन्न खाधन्नका साथै सरसफाईका लागि आवश्यक पर्ने साबुन, सर्फ मन्जन जस्ता सामान सहयोग गरेको जानकारी दिइन् ।
कार्यक्रममा आँचल साहित्य कला पुञ्ज मकवानपुरका कार्यसमिति सदस्य एवम् आँचलका आजीवन सदस्यहरू, ओम वृद्धाश्रमकाे सञ्चालकहरूकाे उपस्थिति रहेकाे थियाे ।
आँचलले हरेक वर्ष फरक फरक किसिमको सिर्जनात्मक तथा सचेतनामूलक तीज कार्यक्रम गर्दै आइरहेकाे छ ।