मकवानपुर । भैरव स्मृति सम्मान २०८० हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछानेलाई प्रदान गरिने भएको छ ।
२१ हजार 1 सय ११ रुपैयाँ राशीको उक्त सम्मानबाट मकवानपुरका हास्यव्यङ्ग्यकार लामिछानेलाई फागुन महिनामा सम्मानित गरिने साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
भैरव अर्यालका छाेरा दीपक अर्यालले उक्त सम्मानका लागि अक्षयकोष स्थापना गरेका छन् । शिक्षण पेशामा आवद्ध लामिछानेले हास्यव्यङ्ग्य कृति पनि प्रकाशन गरेका छन् ।
साहित्य संगम मकवानपुरले वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको सम्झनामा हरेक वर्ष एकजना हास्यव्यङ्ग्य साहित्यमा कलम चलाउने साहित्यकारलाई सम्मान गर्ने गरेकाे छ ।
चितवन । सारस्वत रत्न पुरस्कारबाट प्राडा कृष्णप्रसाद पौडेल सम्मानित भएका छन् । चितवनकाे रत्ननगर नगरपालिकाबाट प्रकाशित सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने ‘सारस्वत रत्न पुरस्कार-२०८०’ डाक्टर पौडेलद्वारा लिखित `लय छुटेको समय´लाई प्रदान गरिएको हो ।
रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शनिबार डाक्टर पौडेललाई नगर ३० हजार रुपैयाँ र सम्मानपत्रद्वारा सम्मानित गरेका हुन् । प्रतिष्ठानले रत्ननगर नगरपालिकाका स्रस्टाले सिर्जना गरेका तथा प्रकाशन गरेका कृतिलाई पुरस्कार उक्त पुरस्कार प्रदान गर्ने योजना अनुसार आह्वान गरेको थियो । प्राप्त भएका कृतिमध्ये पौडेलको उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय पुरस्कार निर्णायक समितिले गत पुस महिनामा गरेको थियो ।
पौडेलका यसअघि ‘खुसीहरूको वनवास’ कवितासङ्ग्रह र ‘कम्मरीदेखि कोभिड कहर’ (हाडजोर्नी, नसा र स्वास्थ्यसम्बन्धी जानकारी) पुस्तक प्रकाशित छन् । लय छुटेको समय डाक्टर पौडेलको संस्मरण हो । यसमा बिरामी र डाक्टरका भोगाइहरू समेटिएका छन् । डाक्टर पौडेल अर्थोपेडिक विषयका प्राध्यापक हुन् । अर्थोपेडिक र स्पाइनल सर्जन उनी भरतपुर अस्पतालमा कार्यरत छन् । उनी उक्त अस्पतालमा २ पटक मेडिकल सुपरिटेन्डेन्ट पदमा रहेर काम गरिसकेका छन् ।
कार्यक्रममा सम्मानित स्रस्टाको व्यक्तित्व र कृतित्वका बारेमा प्राध्यापक लक्ष्मण अर्यालले बोलेका थिए । कार्यक्रमको दोस्रो चरणमा विभिन्न स्रस्टाले रचनावाचन गरेका थिए । कार्यक्रमलाई राजेन्द्र हमाल र कमल अर्यालले सहजीकरण गरेका थिए । कार्यक्रममा पौडेलका मातापिता कपिलामणि र तुलसी पौडेल पनि सहभागी थिए ।
भरतपुर । चितवनमा चियासँग कविताको ५० औँ शृङ्खलामा हेटौंडेली कवि शान्ति प्रियवन्दनाले कविता सुनाएकी छन् । शनिबार भरतपुरमा कवि शान्तिले समय शीर्षकको कविता सुनाएर कार्यक्रमको शुरुआत गरिन् ।
समयले आफूलाई धेरै कुरा सिकाएको र समय अनुसार आफू चल्न कोसिस गरेको भाव उनले कवितामा उतारेकी थिइन् । कार्यक्रममा शान्तिले १२ वटा कविता सुनाइन् । वोनस कविताको रूपमा उनले आफ्नो कवितासङ्ग्रह जिल खाइरहेको एक्काइसौं शताब्दीबाट एउटा कविता थप सुनाइन् । शान्तिका कवितामाथि ईश्वर कँडेल, उदय अधिकारी, डाक्टर एकनारायण पौड्याल र नमूना शर्माले टिप्पणी गरेका थिए ।
चियासँग कविताको शृङ्खला २०७३ साल साउन १५ गते सुरुवात भएको हो। शनिबार स्वर्ण शृङ्खला आयोजना भएको छ । पहिलो शृङ्खलामा कवि गोविन्दराज विनोदीले कविता सुनाएका थिए । त्यसपछि नियमितरूपमा भइरहेको कार्यक्रम कोरोनाकालमा रोकिएको थियो । ‘अहिले अवस्था सहज भएकोले यो शृङ्खलालाई नियमित लैजाने भएका छौँ´, शृङ्खलाका सदस्य भूपिनले भने ।
चियासँग कविताको स्वर्ण शृङ्खलामा चितवनका स्रष्टा तथा साहित्यानुरागी र कवि शान्तिका पारिवारिक सदस्यलगायतको उपस्थिति थियो ।

झरना साहित्यिक परिवारले ९ जनालाई सम्मान गर्ने
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे साहित्यिक संस्था झरना साहित्यिक परिवारले ९ जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
झरनाले आगामी फागुन महिनामा आयोजना गर्ने ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० मा सष्ट्राहरूलाई सम्मान गर्ने भएकाे हाे । हेटौंडामा सोमबार पत्रकार भेटघाट गर्दै झरनाले स्रष्ट्रा सम्मान तथा कला साहित्य महोत्सवकाे आयोजना गरी सम्मान गर्ने जनाएकाे हाे ।
साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका होमनाथ–टीकामाया प्रतिभा सम्मान २०७९ बाट काठमाडौँका डा. गीता त्रिपाठी सम्मानित हुने भएका छन् । गिरीलाई साहित्य क्षेत्रमा योगदान गरेबापत नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो ।यसैगरी,साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट खोटाङका बाबुराम पोखरेललाई सम्मान गरिने भएको छ । पाेखरेललाई साहित्यकाे मुक्तक विधामा योगदान पुर्याए वापत नगद १५ हजार ५ सय ५५ सहित उक्त सम्मानबाट सम्मानित गरिने झरनाले जानकारी दिएकाे छ ।
मकवानपुरका साम्ब ढकाललाई बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान प्रदान गरिने भएको छ । साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेका उक्त पुरस्कारबाट जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत उनलाई सम्मान गर्ने भएकाे हाे। उक्त पुरस्कार राशी नगद १५ हजार ५ सय ५५ रहेकाे छ ।
त्यस्तै, साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गरेको खडानन्द–मनमाया प्रतिभा सम्मानबाट स्याङ्जाका मिलन समिर, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट बिमला कार्की सुसं, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेको सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट भरतप्रसाद सापकोटा र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले स्थापना गरेको खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट बासुरीवादक बिष्णु घतानीलाई सम्मान गरिने झरनाका सचिव मसान उपासकले जानकारी दिए । उनीहरुलाई जनही नगद ७ हजार ७ सय ७७ सहित सम्मान गरिने भएको हो ।
त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार गजलकार अजर फुयाँललाई प्रदान गरिने भएको छ । यो पुरस्कार बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका हुन् । पत्रकारिताको माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पुर्याएको भन्दै पत्रकार रामकुमार एलनलाई गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको हो । उक्त सम्मानको राशी नगद ११ हजार १ सय ११ रहेको छ । उक्त पुरस्कार गौतमका माता नन्ददेवीले स्थापना गरेकी हुन् ।
झरनाको ३१ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८० फागुन ११ र १२ गते बकैया–९, शिखरपुरमा हुने सचिव उपासकले जानकारी दिए । उनका अनुसार कालीदेवी माविमा हुने कार्यक्रमकाे पहिलो दिन रचना वाचन र चित्रकला प्रतियोगिता हुनेछ । यसैगरी पहिलाे दिन नै बकैया बिशेष रचना वाचन हुनेछ ।
यस्तै कला साहित्य महोत्सवको दोस्रो दिन नवपुस्ता केन्द्रित रचना वाचन कार्यक्रम, चेतनाको विकासमा स्थानीय तहको भूमिका विषयक वहस, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन/गायन तथा सम्मानित स्रष्टाको मन्तव्य र रचना वाचन कार्यक्रम हुने उपासकले जानकारी दिए ।
१.
म लडेको आफ्नैले खुट्टा तानेपछि हो हजुर
मैले जीउन जानेको बचनले हानेपछि हो हजुर
मान्छे आखिर मान्छे बन्न भगवान् बन्नु पर्दैन
म मान्छे बनेको दुखलाइ जानेपछि हो हजुर
२.
जीवनभरि खुसी जमाउन सकिओस्
बाडेर यहीं मुस्कान रमाउन सकिओस्
जानु छैन कदापि त्यो सपनाको मलामी
जीउँदो छदै मलामी कमाउन सकिओस् ।
३.
कोही आउँछन् आँखामा नानी बनेर
कोही हराउँछन् आँखामा पानी बनेर
आँशु अनुभुती होकि भोगाइ जीवनको
कोही छाउँछन् आँखामा रानी बनेर ।