मकवानपुर । महालक्ष्मी साहित्य समाजको तेस्रो अधिवेशनले बिनोद खत्री आकाशलाई अध्यक्षमा चयन गरेको छ ।
लेखक, कविहरूको भेलाबाट सम्पन्न भएको उक्त अधिवेशनले महालक्ष्मी साहित्य समाज ललितपुरको अध्यक्षमा बिनोद खत्री आकाश चयन भएका छन् । खत्रीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।उक्त समाजको उपाध्यक्षमा जुमन किरण, सचिवमा निरा श्रेष्ठ, कोषाध्यक्षमा रूविना राना चयन भएका छन् भने सदस्यहरूमा पुरूषोत्तम बस्नेत, पुष्कर थापा, सुमन घिमिरे, महेश गौतम, विष्णु थापा, होमनाथ खत्री र राजाराम राउत सर्वसम्मत चयन भएको समाजले जनाएको छ।
वि.सं. २०७९ सालमा दर्ता भई संस्थागत साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यका साथ गठन गरिएकाे उक्त संस्थाले आफ्नो स्थापना कालदेखि नै नियमित साहित्य श्रृङखला, पुस्तक प्रकाशन, स्रष्टा सम्मान जस्ता कार्यक्रम गर्दै आएको थियो । नयाँ कार्यसमितिको कार्यकाल २ बर्षको रहनेछ ।
आँचलमा शर्माको नेतृत्व
Tags: No Comments
मकवानपुर । महिला साहित्यकारहरूको साझा संस्था आँचल साहित्य कला पुञ्जको अध्यक्षमा निरा शर्मा चयन भएकी छिन् । शर्मा निवर्तमान कार्यसमितिमा उपाध्यक्ष थिइन् । शुक्रबार सम्पन्न अधिवेशनले शर्मालाई निर्विरोध अध्यक्षमा चयन गरेको निर्वाचन मण्डल संयोजक पुर्णकला घिमिरेले बताइन् ।
पुञ्जको उपाध्यक्षमा भवानी तिमल्सिना, सचिब एलिजा पुडासैनी, सहसचिव सरिता दाहाल, कोषाध्यक्ष संझना अधिकारी रहेका छन् । यसैगरी सदस्यहरूमा रजनी पौडेल, अनु रोक्का, सिर्जना पौडेल र गोपिनी गौतम चयन भएका छन् ।
आगामी दिनमा संस्थापक तथा पुर्व अध्यक्ष स्वर्गीय अप्सरा तिम्सेनाको सम्मानमा स्मृति ग्रन्थ, आंचल परिचय ग्रन्थ प्रकाशन तथा महिला साहित्यको क्षेत्रमा सिर्जनशील कार्यलाई प्राथमिकता दिने नवनिर्वाचित अध्यक्ष शर्माले बताइन् ।
आर सी रिजाललाई आँचलको अभिनन्दन

आँचल साहित्य कला पुञ्ज मकवानपुरले हास्य ब्याङ्ग्य साहित्यकार आर सी रिजाललाई अभिनन्दन गरेको छ । मकवानपुरमा रहेर राष्ट्रिय स्तरमा हास्यब्याङ्ग्य क्षेत्रमा सशक्त योगदान गरेका रिजाललाई शुक्रबार हेटौंडामा अभिनन्दन गरिएको हो ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरको पाँचौं अधिवेशन एवम् चौधौ साधारण सभा तथा पारिजात स्मृति दिवसको सन्दर्भ पारेर रिजाललाई सम्मान गरेको पुञ्जले जनाएको छ । साहित्यप्रेमीहरू मुक्ति गोबिन्द बैद्य र हरिबंश भेटवालद्वारा रिजाललाई अभिनन्दन गरिएको हो । कार्यक्रममा साहित्यकारहरूले रचना वाचन समेत गरेका थिए । पुञ्जको अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
मकवानपुर । भैरव अर्याल स्मृति साहित्य सम्मान २०८२ साहित्यकार प्रोल्लास सिन्धुलीयलाई प्रदान गरिएको छ । हेटौंडा पुष्पलाल स्मृति पुस्तकालयमा आयोजित कार्यक्रममा सिन्धुलीका साहित्यकार सिन्धुलीयलाई २१ हजार १ सय ११ रुपैयाँ नगदसहित भैरव अर्याल स्मृति सम्मान प्रदान गरिएको हो ।
हरेक वर्ष साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले संयुक्तरुपमा उक्त सम्मान प्रदान गर्दै आइएको छ । भैरव अर्यालकै जीवनीमा आधारित उपन्यास ‘भग्न भैरव’ लेखन तथा नेपाली साहित्यको वाङ्मयमा पुर्याएको योगदानको कदर गर्दै सिन्धुलीयलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
पिता उमानाथ शास्त्री सिन्धुलीय र माता लालित्यलक्ष्मी शर्माबाट २०३२ साल बैशाख ७ गरे सिन्धुली जिल्लाको गैयाटारमा जन्मिएका सिन्धुलीयले निरन्तररुपमा नेपाली साहित्य लेखन, सम्पादनलगायतका क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । उनको बाहिर एक मुठ्ठी तुसारो छ, शब्दहरुको नेपथ्य, चुपचापको अन्त्यलगायतका कविता संग्रह प्रकाशित छ । कविताबाहेक कथा, लघुकथा, उपन्यास, निबन्ध, यात्रा संस्मरणका दर्जनौँ कृतिहरु प्रकाशित छन् ।
‘कथालिका’, ‘सेतो कागज’लगायतका साहित्यिक पत्रिकाका सम्पादकीय भूमिकामा रहेर काम गरिसकेका सिन्धुलीय हाल ‘नयाँ पत्रिका’ दैनिकको उपसम्पादकको रुपमा कार्यरत छन् । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा साहित्यकारहरु स्नेह सायमी तथा लक्ष्मी मालीले आफ्ना कृतिहरु पुष्पलाल स्मृति पुस्तकालयलाई उपलब्ध गराएका थिए ।
प्रख्यात भारतीय पार्श्व गायिका आशा भोसलेको आइतबार निधन भएकाे छ। कार्डियक अरेस्टका कारण उपचारका लागि भर्ना गरिएकी भोसलेको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो।
भारतीय सङ्गीत जगतको एक ठूलो हस्तीको रूपमा उनको नाम गनिन्थ्यो र पार्श्व गायिकाको रूपमा उनले धेरै अविस्मरणीय गीतहरू दिएकी छन्। भाेसलेले भारतीयसहित नेपाली तथा अन्य विभिन्न भाषाका गीतमा आवाज भरेकी छिन् ।
काे हुन् आसा भाेसले ?
आशा भोसलेको जन्म ८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रको ‘सांगली’मा भएको हो। यिनको पिता दीनानाथ मंगेसकर प्रसिद्ध गायक एवं नायक थिए। जसले शास्त्रीय सँगीतको शिक्षा एकदम सानो उमेरमा नै आशालाई दिएका थिए । भोसलेले मात्र ९ वर्षको उमेरदेखि नै गायन यात्रा सुरु गरेकी थिइन्। पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनले दिदी लता मंगेशकरसँगै गीत गाउन र अभिनय गर्न थालेकी थिइन्।
सन् १९४३ मा मराठी फिल्मबाट पार्श्व गायन सुरु गरेकी उनले १९४८ को फिल्म ‘चुनरिया’ बाट हिन्दी सिनेमामा पाइला टेकेकी थिइन्। आफ्नो बहुमुखी प्रतिभाका कारण गजल, भजन, पप र शास्त्रीय संगीतमा जादुमयी स्वर दिएकी आशा ताईको नाममा विश्व कीर्तिमान समेत रहेको छ। सन् २०११ मा गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई संगीतको इतिहासमा विश्वमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने कलाकारको रूपमा मान्यता दिएको थियो।
सुविख्यात गायिका आशा भोसलेले भारतीय २० भन्दा बढी भाषा र विदेशी भाषाहरूमा समेत गरी १२ हजार भन्दा बढी गीत गाएकी छन्। ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’ र ‘पिया तू अब तो आजा’ जस्ता उनका कालजयी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् । उनले स्वर दिएका नेपाली गीतहरमा ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायत थुप्रै नेपाली हिट कालजयी छन् ।
१६ वर्षको उमेरमा आफ्नो ३१ वर्षीय प्रेमी ‘गणपत राव भोसले’ (१९१६-१९६६) सँग घरबाट भागेर पारिवारिक इच्छाको विरूद्ध विवाह गरिन्। गणपत राव लता जीको निजी सचिव थिए। यो विवाह असफल रहयो। पति एवं उनको भाइहरूको नराम्रो व्यवहारको कारण यस विवाह दु:खान्त भयो। १९६० को आसपास विवाह विच्छेद पछि आशा आफ्नो आमाको घरमा दुई बच्चाहरू र तेस्रो गर्भस्थ शिशु (आनन्द) सँग फर्किइन। १९८० ई.मा आशाले ‘राहुल देव वर्मन’(पञ्चम) सँग विवाह गरिन्। यो विवाह आशाले राहुल देव वर्मनको अन्तिम अबस्थासम्म सफलतापूर्वक निभाइन्।
गायन क्षेत्रमा चम्किएपनि उनको नीजि जीवन भने सुखद रहेन । विवाहपछि आशा भोसलेले धेरै कठिनाइहरूको सामना गर्नुप¥यो र उनी घरेलु हिंसाको सिकारसमेत भइन् । उनी जीवनबाट यति निराश भइन् कि आफूलाई समाप्त गर्न चाहन्थिन् । सन् १९६० मा उनी पहिलो पतिसँग अलग भइन् ।
जब आशा भोसलेको पहिलो विवाह टुट्यो, उनी आफ्ना तीन सन्तान (हेमन्त, वर्षा र आनन्द) सँग परिवारमा फर्किइन्, तब बिस्तारै दूरी कम हुन थाल्यो । आशा भोसलेले दोस्रो विवाह संगीतकार आरडी बर्मनसँग गरिन्। दुवैको पहिलो भेट १९५६ मा भएको थियो। उनीहरूको गहिरो मित्रता र संगीत यात्रा फिल्म ‘तीसरी मञ्जिल’ (१९६६) को समयमा सुरु भयो।
लगातार काम गर्दै जाँदा उनीहरूको मित्रता बिस्तारै प्रेममा बदलिन थाल्यो । आशा भोसले र आरडी बर्मन (पञ्चम दा) को आफ्नै सन्तान थिएनन्। आरडी बर्मनले एक दिन मौका पाएर आशासमक्ष विवाहको प्रस्ताव राखे । आशाले तुरुन्तै स्वीकार गरिन्, तर बर्मनकी आमाले विवाह अस्वीकार गरिन् ।
उनले बर्मनलाई भनिन्, यदि यो विवाह भयो भने मेरो लाशमाथि मात्र हुनेछ । बर्मनकी आमाले अस्वीकार गर्नुको कारण आशा उनीभन्दा ६ वर्ष जेठी थिइन् र तीन सन्तानकी आमा थिइन् । त्यसपछि बर्मनले चुपचाप आमाको कुरा माने। तर जब बर्मनका पिता एसडी बर्मनको निधन भयो, आमाको मानसिक अवस्था बिग्रियो ।
आमाको अवस्था सुधारका लागि बर्मनले १९८० मा आशा भोसलेसँग विवाह गरे । आशा भोसलेले ५० देखि ९० को दशकसम्म ओपी नैयर, आरडी बर्मन, खय्याम र बप्पी लहरीजस्ता धेरै संगीतकारसँग काम गरिन्। धेरै सदाबहार गीत गाइन्। भोसलेकाे अन्तिम संस्कार सोमबार गरिने भएकाे छ ।
- विष्णु दत्त अवस्थी
तिमीसँग जोडिएको मन
मनसँग गाँसिएको आत्मा
आत्मासँग मिसिएको परमात्मा
कहाँ बिलाए
आज ती सबै स्नेहका डोरीहरू
सबै छुटे झै लाग्छ
हेर्दा हेर्दै कहाँ हरायौ बुबा तिमी ?
चारैतिर खोजे
आकाश छाम्ने कोशिस गरें
मन्द हावासँग सोधें
बादलसँगै मडारिएं
भौतारिँदै नयनहरू रसाए
तर
तिम्रो छायाँ कतै भेटिन बुबा ।
आँसुका थोपाहरूले
आखाँ रसाए
सकेनन् तिमीलाई फर्केर ल्याउन
रोदनका प्रत्येक थोपाहरूले
मुटुको गहिराइलाई झन गहिरो बनाई रहे
जहाँ तिमी अझै गाडिएका छौ
रसिलो सम्झना बनेर ।
तिम्रा अर्ति सम्झें,
तिम्रा वचनहरू मनन गरें,
आज पनि कानमा गुन्जिरहन्छन्
एक्लै टोलाएर बस्छु
तिम्रै सम्झनामा हराउँछु
आँखा आफैँ चुहिन्छन
यहिँ छौ कि ? भनी
झलझली देख्छु
त्यो पुरानो कुर्सीमा बसेर
मलाई नै हेर्दै मुस्कुराइरहेको
नियाल्छु सबैतिर
पाउँदिन तिम्रो छायाँ पनि
केबल सुनसान अँध्यारो रात मात्र
तिमी बिनाको यो संसार
उराठ लाग्दो,
सुनसान,
अनौठो,
विश्वास गर्नै गाह्रो,
तिमी साँच्चै छोडेर गइसकेको हौ र बाबा ?
सायद तिमी नजिक छैनौ,
त्यो टाढाको आकाशमा
एउटा तारा बनी
मलाई नै नियालिरहेछौ
मेरो हरेक सुख दु: ख हेर्दै
मेरा आँसु पुछ्दै
एक दिन
दुई दिन गर्दै
आज एक महिना बितिसक्यो
तिमीले टुहुरो बनाएर
परमात्माको काखमा समेटिएको
सधैँका लागि ।
तर बुबा
मेरो हरेक सासमा तिमी छौ
हरेक धड्कनमा तिमी
जीवनको हरेक मोडमा
मेरो शक्ति बनि
मेरो साहस बनि, मेरो जोश र जांगर बनी ।
मात्र तिमी मेरो साथ छौ
हार्दिक श्रद्धा सुमन बुबा ।