नियात्रा
– विनोद नेपाल
हामी अघिल्लो दिन रोल्पाको लिवाङ पुगेका थियौं । दिउंसो ४ बजे अघि नै पुगेकाले लिवाङ बजार र सेरोफेरोको घुमफिर पछि हामीले भोली विहान स्वर्गद्वारी तर्फ जाने योजना बनायौं । सोही अनुसार जेठ १० गते विहान ७ बजे नै अगाडि बढ्यौं । पुग्नु थियो सातदोबाटो हुंदै सुलीचौर, खुंग्री, चतुर्भुज अनि भिंग्री । त्यहांबाट लाग्नु थियो स्वर्गद्वारी तर्फ ।
भिंग्री पुग्दा झण्डै नौ बज्यो । हामीले त्यहां चिया पियौं । अनि पक्की छाडेर लाग्यौं कच्ची सडक तर्फ माथि डांडामा अवस्थित स्वर्गद्वारी ताक्दै दक्षिण–पश्चिम । जतिजति माथि उक्लंदै गयौं उतिउति रमाइला दृष्य देखिए । समथर फांट, तुवांलो भित्र उकुसमुकुसिएका वस्ती अनि परपरसम्मका डांडाकांडा देखिन थाले । फांटमा बाक्लो वस्ती अनि आंखाले देखेसम्मका भित्तामा सडकका धर्सा भएपछि तुवांलोले नढाकोस् पनि किन ? हरियाली भए पो त प्रदूषण भाग्दथ्यो ।
झण्डै ४५ मिनेटको यात्रा पछि हामी ‘धरम्पानी’ पुग्यौं । यो भञ्ज्याङ स्वर्गद्वारी आश्रमको फेदि हो । यहां केही पसलहरु छन् । उता दाङ तर्फबाट होलेरी हुंदै आएपनि आइपुग्ने यहीं नै हो । गाडीहरु यही राख्नुपर्ने रहेछ । धरम्पानीबाट आश्रम पुग्न ढुंगा छापेको रेलिङसहितको सुविधायुक्त फराकिलो सिंढी रहेछ । अलमल नगरी हामी त्यहांबाट अगाडी बढ्यौं । जतिजति माथि पुग्दै जान्थ्यौं उतिउति फरक खालका वनस्पती त देखिने नै भए, परपरसम्मका रमाइला र सुन्दर दृष्यहरु देखिन्थे । तर उही तुवांलोले गर्दा तिनलाई घुर्मैलो घुर्मैलोमा हेर्नुपर्ने बाध्यता थियो । तथापि लाग्थ्यो नेपाल सांच्चिकै प्रकृतिको अमूल्य उपहार हो । यो सुन्दर छ । यसको सुन्दरता वयान गरी साध्य छैन ।
मेची–महाकाली, हिमाल होस् वा मधेस–पहाड नै, जहां पुगेपनि हरेक स्थानको आफ्नै आकर्षण छ । आफ्नै विशिष्टता र आफ्नै पहिचान छ । हरेकको आफ्नै सुन्दरता छ । त्यसमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक सम्पदा र विशेषताहरु जोडिंदा त ती स्थान झनै महत्वका लाग्छन् । यिनै कारण मुलुक ठूलो पर्यटकीय आकर्षणको केन्द्र र विश्वकै पर्यटकीय गन्तव्यमा पर्दै आएको हो ।
आश्रम ताक्दै व्यवस्थित पदमार्गमा यात्रा गर्दा हामीले यहां आउनु अगाडी यात्राका विषयमा जे जस्ता कुरा सुनेका र अनुमान गरेका थियौं त्यो भन्दा भिन्न खालको वास्तविकता महसुस गर्याै । सुनेका कुरा गलत सावित हुंदै गए । ठाउंठाउंमा तस्वीर लिंदै हामी उकालो चढ्यौं । झण्डै ४५ मिनटको यात्रामा हामीलाई वास्तवमा भन्नुपर्दा, हिंडाइको महसुस नै भएन, थकान थाहै भएन । उकालोमा उक्लने, ओर्लनेहरुको संख्या राम्रै थियो ।
आश्रमको प्रवेशद्वार पुग्नु अघि बाटोमा स्वास्थ्य चौकी तथा प्रहरी चौकी रहेछन् । नजिकै पानी तथा शौचालयको व्यवस्था रहेछ । आश्रम परिसरमा प्रवेश गर्दा अनौठो खालको अनुभूति भयो । लामो समयदेखि मनले पुग्ने चाहना गरेको यस पुण्यभूमिमा पुग्दा आफ्ना पुर्खालाई स्मरण गर्न मन लाग्यो । सर्वप्रथम शिवालयमा पुगि शिवलिंगको दर्शन गर्यौ अनि नजिकैका अन्य मन्दिर तर्फ लाग्यौं । त्यसपछि भने मन्दिरका पुजारी मध्येका एकले हामीलाई सहजीकरण गर्ने काम गर्नुभयो । हामी उहांकै सहयोगमा देवीदेवताको दर्शन गरी यज्ञशालामा पुग्यौं । दैनिक घृतधारा सहित हवन गरिने सो यज्ञशाला नै यस स्थानको सर्वाधिक महत्वको स्थल हो ।
धुवांले आंखाबाट बर्बरी आंशु बहे पनि हामी अपूर्व अवसर ठान्दै त्यहांको हवन प्रक्रियामा सहभागी भयौं । अनि गोबर्धन पर्वतको अवलोकन गर्यौ । गोबर्धन,तलाउ र मन्दिरहरु आश्रम परिसरका आकर्षणका केन्द्र हुन् । यहां हरेक दिन रुद्री गरिंदो रहेछ । अघिल्लै रात वास बस्न जानेले तोकिएको रकम भुक्तानी गरेपछि भोलिपल्ट आफ्नै उपस्थितिमा स्वयं सहभागी भई रुद्री गराउन सक्ने व्यवस्था रहेछ भने नवस्नेहरुले आफ्नो गोत्र र नाम सहितको विवरण टिपाई तोकिएको रकम भुक्तानी गरेपछि सोही अनुसारको रुद्री लगाईदिने व्यवस्था रहेछ । हामीले पनि आफ्नो तर्फबाट रुद्री लगाईदिन नियमानुसारको रकम भुक्तान गरी विवरण टिपायौं ।
सोही स्थानमा यज्ञशालाको विभूती सहितको प्रसाद उपलब्ध गराईंदोरहेछ । हामीले प्रसाद लियौं ।
त्यसपछि हामी भोजनालय तर्फ लाग्यौं । रु. १०० भुक्तानी गरेपछि पेटभरी दाल, भात, तरकारी सहितको खाना खान पाईंदोरहेछ, साथमा फुराएको सिंगो खुर्सानी पनि, जुन त्यहांको आफ्नै पहिचान रहेछ । केही समय अघिसम्म भक्तजनहरुलाई सित्तैमा भोजन उपलब्ध गराइने व्यवस्था रहेपनि हाल प्रतिव्यक्ति एक सय रुपैयां लिन थालिएको रहेछ । स्वर्गद्वारी आश्रमको नाममा प्युठान र दाङमा गरी अचल सम्पत्ति रहेको छ । सोही जग्गामा उत्पादन हुने धानको भात यहां आउने आगन्तुकहरुलाई खुवाउने गरिंदोरहेछ । तर सो सम्पत्तिमा पनि पछिल्लो समय कतिपयको बक्रदृष्टि परेको सुन्दा भने दिक्क लाग्यो ।
भोजन पश्चात हामीले त्यहां स्थित अतिथी गृह तथा वरपरका संरचनाहरुको अवलोकन गर्यौ । बारेमा जानकारी लियौं । प्रशिद्ध ऐतिहासिक बांझ वृक्ष, गौशाला आदि हुंदै यहांको अर्को आकर्षण स्वर्गको द्वार मानिने गुफा तर्फ लाग्यौं । हामी गुफामा पुग्दा भयंकर हावा चल्यो । शिवलिंग रहेको गुफाभित्र पसी केही तस्वीरहरु लिएपछि हामी पुनः आश्रमतर्फ फर्कियौं । केहीवेर आश्रम परिसर तथा त्यहांबाट देखिने दृष्यहरुको अवलोकन गरेपछि हामी पवित्र त्यस स्थानलाई नमन गर्दै मूलद्वार तर्फ लाग्यौं ।
ओर्लंदा आश्रम परिसरको प्रवेशद्वार, उकालोको बीच भाग र तल धरम्पानीको प्रवेशद्वार सामु पनि महिलाहरु डोकोमा काफल लिएर बिक्रीका लागि वसेका भेटिए । ऋतु फल खाने चाहना स्वाभाविक थियो, हामीले इच्छा गर्यौ । फरकफरक मूल्यमा काफल किन्दै र खांदै ओरालो ओर्लियौं । तर मूल्य भने ठाउं पिच्छे फरक, त्यो पनि सामान्य होइन ठूलै रहेछ । मौकाको फाइदा लिन खप्पिस रहेछ्न् बिक्रेताहरु ।
ओर्लने क्रममा हामी केही तल मात्र आइपुगेका के थियौं भयंकर हावा चल्यो । वरपरका रुखहरु नै ढल्लान् जस्तो । पात पत्करहरु उडायो, धुलो उडाएर ल्यायो । हाते रुमालले अनुहार छोपेर धुलोबाट जोगिने प्रयास गर्यौ । केहीबेर ठूलो रुखको छेउमा उभिएपछि हावा कम भएपछि पुनः ओरालो लाग्यौं । ओर्लंदा परपरसम्मका दृष्य केही प्रष्ट देखिए । धरम्पानी आइपुगेपछि हामी केही समय त्यहांको र वरपरको दृष्य हेर्दै त्यहीं अलमलियौं । मानिसहरु आउने र जाने क्रम जारी नै थियो । सो स्थानमा रहंदा हामीले यस पवित्र स्थानको विकासका सम्भावनाहरुका बारेमा आआफ्ना धारणा व्यक्त गर्यौ । अनि गाडीमा वसी ओरालो लाग्यौं । भिंग्री,माडी खोला, चतुर्भुज, खुंग्री, सुलीचौर, सातदोबाटो हुंदै पुनः लिवाङ फर्कियौं ।
मानिसहरुले सही सत्य कुरा जानकारी नगराईदिंदा स्वर्गद्वारी यात्रामा निस्कन चाहनेहरुलाई पनि भ्रम उत्पन्न हुने रहेछ । हामीलाई नै कतिपयले अत्यन्त कष्टकर यात्रा गर्नुपर्ने डर देखाएका थिए जुन सर्वथा गलत रहेछ । मुलुकको कुनै पनि भागबाट यहांसम्म पुग्न कठिन छैन । आश्रमको फेदी धरम्पानी बजारसम्म पुग्नका लागि स्थानीय यातायातका साधन उपलब्ध छन् । आश्रमसम्म पुग्न हिंडनुपर्ने शारीरिक अवस्था अनुसार आधा घण्टा देखि ४५ मिनेट मात्र हो ।
स्वर्गद्वारी बारे जानकारी:
नेपालको प्युठान जिल्लामा अवस्थित स्वर्गद्वारी मुलुकका विभिन्न आकर्षण मध्येको एक हो । यो एक प्रशिद्ध धार्मिक स्थल संगसंगै पर्यटकीय गन्तव्य पनि हो । प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट झण्डै २६ किमी पश्चिमतर्फ पर्ने यो स्थान करिब २१०० मिटरको उचाईमा अविस्थत छ ।
प्राचीन समयमा स्वर्गद्वारी क्षेत्र यज्ञभूमिको रुपमा विख्यात थियो । वेदव्यास जस्ता त्रिकालदर्शी महर्षिले यही ठाउंमा ठूलाठूला यज्ञ गरेका मानिन्छ । सत्ययुगमा ब्रम्हाले यही स्थानमा ठुलो यज्ञद्वारा शक्ति सञ्चय गरी श्रृष्टि गरेकाले यो स्थान यज्ञभूमिको नाममा विख्यात रहेको मान्यता छ । ठूलाठूला ऋषिमुनिले यही ऐतिहासिक महत्वलाई आत्मसात गर्दै कठीन तपस्या गरी यहींबाट स्वर्ग प्रस्थान गर्दथे भन्ने विश्वास छ । पौराणिक कालमा पाण्डवहरु स्वर्ग जांदा यहांको बाटो भएर गएको द्वार हुनाले यसको नाम स्वर्गद्वारी रहेको जनविश्वास छ । यिनै कारण स्वर्ग जाने ढोकाको रुपमा यसलाई ‘स्वर्गद्वारी’ नामाकरण गरिएको हो ।
स्वर्गद्वारीमा स्थित यज्ञमण्डप भित्र अग्निकुण्डमा धृतधारासहित नित्य हवन चल्छ । शिवलिंग स्थापित एक शिव मन्दिर छ । यहां रुद्री पाठ गरी दैनिक रुद्राभिषेक हुन्छ । यहां विभिन्न देवीदेवताका मन्दिर छन् जहां नित्य पूजा हुन्छ । वेद, गीता, श्रीमद्भागत शप्तसती चण्डी समेत विभिन्न धर्मग्रन्थको पाठ हुन्छ । यहां संस्कृत पाठशाला पनि छ जहां निःशुल्क खाने,वस्ने व्यवस्था तथा वेद, रुद्री, कौमुदी, चण्डी कर्मकाण्डसमेत धर्मग्रन्थहरुको पठनपाठन गराइन्छ ।
स्वर्गद्वारी आश्रमको स्थापना बालतपस्वी महाप्रभु हंसानन्द गिरिबाट विसं १९५२मा भएको हो । १९५१ सालमा स्वर्गद्वारीमा आएपछि वेदका मन्त्रद्वारा अग्नी प्रज्वलित गरी १९५२ सालको वैशाख पूर्णीमा देखि प्रारम्भ गरेको मानिएको यज्ञशालामा आजपर्यन्त हवन भइरहेको छ । महाप्रभु वि.सं. १९९७ सालमा ब्रम्हलीन भएको मानिन्छ । बालतपस्वी महाप्रभु त्रिकालदर्शी सन्त मानिनुहुन्थ्यो । उहांको वास्तविक नाम नारायण गौतम हो ।
उहांको जन्म वि.सं. १९१६ मा रोल्पाको रुम्टीमा भएको थियो । सत्ययुगमा देवताहरुले यात्रा गरेको तपोभूमीमा रोल्पा जिल्लाको रुम्टी गाउंमा विसं १९१६ सालमा जन्मिएका १०८ महाप्रभुको वास्तविक नाम नारायण गौतम थियो । स्वर्गद्वारी आश्रम महाप्रभुको व्यक्तिगत प्रयासबाट संस्थापित एवं सञ्चालित सनातन धर्मको आश्रम हो । यो आश्रम विभिन्न कठिनाईका बीच गुरु–शिष्य परम्पराबाट आज पर्यन्त सञ्चालन भइरहेको छ ।
स्वर्गद्वारीमा ऐतिहासिक अग्निकुण्ड, गुफा, गौशाला आदि छन् । आश्रम परिसर र वरपर बाझका वृक्षहरु छन् । यहां हरेक वर्षको वैशाख पूर्णिमा र कार्तिक पूर्णिमाका दिन विशेष अनि अन्य विभिन्न तिथी र अवसरमा पनि धार्मिक मेला लाग्छ । मेलामा सहभागी हुन नेपालका विभिन्न स्थान तथा भारतबाट समेत ठूलो संख्यामा तीर्थयात्रीहरु आउने गर्दा रहेछन् ।
जाडो याममा हिउं पर्ने यहां गर्मी याममा भने शीतल तथा आनन्दको महसुस हुन्छ । विभिन्न किसिमका वनस्पतीले युक्त यो टाकुरोमा पुग्दा सांच्चिकै मन आनन्दित हुन्छ । यस स्थानको प्राकृतिक सौन्दर्य आकर्षक छ । मौसम खुलेको बेला परपरसम्मका दृष्य हेर्न सकिने भएर पनि यो रमणीय छ । बेलाबेलामा आउने हावाका झोंक्काले उडाउला झै नै गर्दोरहेछ । स्वर्गद्वारीबाट उत्तरतर्फ हेर्दा सुन्दर हिमश्रृखलाको दृष्यावलोकन गर्न सकिन्छ । यहां देवदार, गुरांस, बांस, बांझ, साज, साल, जामुन, काफल, पाकरी जस्ता ठूला तथा अन्य विभिन्न खालका साना वनस्पती पनि पाइंदारहेछन् ।
यहां विभिन्न बन्य जन्तुहरुको आवास रहेको समेत जानकारीमा आयो । तर यहांको बन विस्तारै पातलिंदै गएको र गौशालामा पालिएका गाईको चरण तथा अन्य कारणले गर्दा नयां बोट विरुवाहरु उम्रन सकेको देखिंदैन । बुट्यान र झाडीहरु सबै मासिएका तथा ठूला बोट भएपनि साना बुट्यान नहुंदा उजाड लाग्यो । यसले वातावरणमा समेत प्रभाव पार्ने भएकाले ठूला रुखको संरक्षण तथा साना खालका र त्यस स्थानका लागि उपयुक्त हुने वनस्पती हुर्काउनु आवश्यक महसुस भयो । नयां वृक्षहरु रोपी वन संरक्षण गरिएमा त्यहांको वातावरण सुरम्य हुने छ ।
स्वर्गद्वारीमा संस्कृत पाठशाला, वेदविद्याश्रम सञ्चालन भएको छ र वेद तथा धर्मकर्म एवं कर्मकाण्डको अध्ययन गर्नको निम्ति टाढाटाढाबाट आउने विद्यार्थीहरुलाई खानपीन र आवासको निःशुल्क व्यवस्था रहेछ । वि.सं १९५२ सालदेखि सञ्चालन भएको पाठशालामा पछिल्लो समय देशका विभिन्न ठाउंबाट बालबालिका संस्कृत पढ्न आउने क्रम बढ्दै गएको जानकारी भयो । यस विद्यालयमा कक्षा चार देखि १०सम्म अध्ययन अध्यापन हुने रहेछ । पाठशालामा अनिवार्य विषयसंगै संस्कृत व्याकरण, संस्कृत साहित्य, वेद, कर्मकाण्ड आदि समेत पढाउने गरिंदोरहेछ ।
आवासीय रुपमा पठनपाठन हुने हुंदा विद्यार्थीलाई पढाईसंगै व्यावहारिक ज्ञान सिक्न समेत सहज रहेछ । हवन गर्ने, पूजाआजा र कर्मकाण्डका सबै प्रक्रियामा यस पाठशालाका विद्यार्थी सहभागी हुंदारहेछन् । स्वर्गद्वारीमा कक्षा १२सम्म अध्ययनको व्यवस्था गर्न सकेमा विद्यालय स्तरको अध्ययत सोही स्थानमा गर्न पाउने भएकाले सो आवश्यक रहेको बुझियो । सनातन धार्मिक परम्परा विस्तारै मासिंदै,हराउंदै जान लागेका र कर्मकाण्डहरु समेत औपचारिकतामा सीमित हुन लागेका बेला विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र धेरै भन्दा धेरैलाई धार्मिक शिक्षा प्रदान गर्न सके त्यसबाट हिन्दु धर्मका संस्कार एवं परम्परालाई जीवन्त राख्न समेत सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
पछिल्लो समय हामीकहां आन्तरिक पर्यटन पनि निकै बढेको छ । यातायात सञ्चारको सुविधा र भ्रमण प्रतिको बढ्दो रुचीले एकातिर स्थानीय समुदायसंगको सान्निध्य र सम्पर्क बढाएको छ भने अर्कोतिर त्यस्ता गन्तव्यहरुको प्रचार हुन गई त्यस्ता क्षेत्रमा रहेका समुदायको आयआर्जन वृद्धि हुनमा समेत सहयोग पुगेको छ । स्वर्गद्वारी धार्मिक पर्यटकीय गन्तव्य हो । यहांको प्राकृतिक सुन्दरता पनि रमणीय छ । स्वर्गद्वारीबाट अग्ला हिमाली चुचुराहरु सहितको लामो हिमश्रृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । यसदृष्टिले अनुकूल मौसम भएका बेला यो स्वर्गैसरी हुन्छ । पूर्वाधारहरुको निर्माण गर्ने तथा दुबैतर्फबाट आउने सडकलाई पक्की हुने हो भने गर्मी याममा यहां मानिसहरुको ओइरो लाग्नेछ जसले स्थानीयको आर्थिक खांचो टार्न ठूलो सहयोग पुग्न सक्छ ।
कति रंगीन छ जिन्दगी !
Tags: No Comments

अक्सर म विषय तयार पारेर शिर्षक राख्छु । यस पटक शिर्षक तयार पारेर विषय लेख्दैछु ।
विहान उठ्न नभ्याउदै चराहरु चिरविर गर्छन । भुक्क उठेका वादल निमेषभरमै हराउछन र रापिलो घाम ठोक्कीन आइपुग्छ । शित पर्न सुरु गरेको छ । तुयल लागेको छैन त्यसैले पाखाका हिमाल आखैमा ठोक्कीन आईपुग्छन । समयले ल्याएको विकास नै सही काठमाण्डौमा धुलो उड्न कम भएको छ । नियमनकारी निकायको सकृयताले ठेकेदारहरु प्रेजेक्ट होल्ड गर्ने भन्दा काम छिटो सक्ने ध्याउन्नमा छन । त्यसैले सकड चिल्ला छन ।
सिजनमा वर्षा ज्यादा भएकोले होला हरियालीमा रत्तीभर कमी आएको छैन । लक डाउनले मानिसलाई घरभित्र मात्र थन्क्याएर केही सिर्जनशिल पनि वनाएको छ । कौषीमा मात्र होइन गमला, पुरना वाल्टी या वोतलमै सही विरुवा रोप्ने क्रम चलेको छ । वाहिरको मौषम रंगीन छ । लेखनाथ पौड्यालले दशै कवितामा व्याख्या त्यसै गरेका होइनन । हिलो मैला सबै हटेर मौषम मादक वनेको छ । बाली पाक्न लागेको छ । सागपात फल्न लागेको छ ।
त्यसैले आश्विनलाई माषहरुमा सर्वाेत्त्तम त्यसै भनिएको होइन । जन्मका आधारमा पनि आश्विनमा जन्म लिनेहरु रोमान्टीक, रमाइला, हासी खुशी रहन मन पराउनेहरु हुन्छन । यो सबै समयको प्रभाव हो । स्टेफेनी मियरले भने जस्तै जब जीवनले सय वटा रुने कारणहरु दिन्छ भने तिमीले हजार वटा हास्ने कारणहरु खोज्नु पर्दछ । (When life gives you a hundred reasons to cry, show life that you have a thousand reasons to smile.) त्यसै भनिएको होइन ।
हुनत पिर लिनेहरुका लागि एउटै कारण कोरोना काफी छ । चितवनकी ९२ वर्षीय आमाले कोरोना कहरलाई जितेपछि मृत्यु त्यति सजिलो छैन भन्ने प्रमाणित भएको छ । काल नआई मरिदैन त्यसै भनिएको होइन । हो साबधानी अपनाउनु पर्छ तर डराएर जीवन चल्दैन । दशै आउदै गर्दाको मादक मौषम जो कोहीलाई रमणीय छ ।
७७ वर्ष पुगेकी मेरी आमालाई ९ वर्ष टेक्दै गरेकी छोरीले सोध्छी, आमा किन आजकल पानी पर्दैन, किन आकाष निलो देखिन्छ, किन घामले पोल्दैन, किन चराहरु अरु बेला भन्दा अर्कै नाच्दै उड्छन, किन फूलहरु एकै चोटी फूल्न लागेका छन, …किन? …किन?… किन?… आमा भन्नुहुन्छ मलाई पनि केटाकेटीमा यस्तै लाग्थ्यो नानी यो सब दशै आउदै गरेको लक्षण हो । छोरी दशै आया, दशै आयो, अब विर्घा जान पाइन्छ । खेल्न पाइन्छ । मामाघर जान पाइन्छ । टिका लगाएर दक्षीणा पाइन्छ भनेर उफ्रिन्छी । उसको उत्साह दोब्बर थपिएको छ । आमाका जवाफले ।
उसका बाल सुलभ प्रश्नहरुले रंगीन आकारहरु ग्रहण गरेका छन । तर मैले आमाले छोरीलाई दिएको जवाफवाट जीवनको सानो रहस्य वुझ्दछु । श्रृष्टीमा यो सब हुन्छ । किनकी जीवन रंगीन छ ।
कथा
- दीपक वाग्ले
पर क्षितिजसँगै फैलिएको खाडीको त्यो उजाड मरुभूमि र त्यही मरुभूमिभित्र जीवन मृत्युको दोसाधमा बाँच्न खोज्ने कयौ परदेशी जीवनहरू हरेक साँझ सामुद्रिक तटमा रहेको त्यो अञ्जान बस्तीमा भेला भई यौटा छुट्टै मेहफिल जमाउने प्रयत्न गर्दथे।
शुरुवाती मौनताहरू कथा, कविता, गीत र गजलहरूसँगै भङ्ग हुँदै जान्थे। जिन्दगीका अधुरा सपनाहरू र ती सपनाहरुको गन्तव्यतिर निष्प्राण भएर भौतारिदै हिड्ने म जस्तै अनगिन्ती परदेशीहरू आफ्ना रङ्गिबिरङ्गी कल्पनाहरुलाई कल्पनामै सीमित राखेर अन्धकार रातहरूसँगै सुस्ताउने गर्दथे। मानौ सूर्य र त्यसभित्रको असह्य ताप सदाको लागि अस्ताएर बिलिन होस्।
दिनभरिको कामको बोझले लखतरान परेर होला हरेकको मुहारमा पीडा झल्कन्थ्यो। पीडासँगै घृणाहरू झल्कन्थे। मदिराको मादकतासँगै केही युवाहरू विरहको आँसुमा डुब्न थाल्छन्, केही बेहोशीमै चिच्याउँन थाल्छन् । हरेकसँग गुनासो थियो। गुनासो केवल जिन्दगीप्रति र जिन्दगी बनाउँनेहरू प्रति। प्राय युवा तथा अधबैशेहरू हरेक साँझ अतितमा डुबेर बिगतका पीडाहरू आँखाबाट बर्साइरहेका हुन्थे। परदेशी जिन्दगी अनौठो उल्झनमा अल्झिएको हुन्थ्यो। तत्क्षण एकदिन मुदिरले भनेको कुरा सम्झना भयो।
‘ मरुभूमिमा पनि वर्षाद् हुन्छ भाइ बस् फरक यत्ति हो। तेरो जन्मभूमि मेघहरुसँगै बर्सिन्छ अनि यो रेगीस्तान भूमि पीडाहरुसँगै, घृणाहरुसँगै र अधुरा सपनाहरूसँगै बर्सिदिन्छ। चुपचाप जहाँ रोदनको कुनै गुञ्जायस नहोस्।’ हरेक साझमा झै आज पनि म त्यो मेहफिल भित्र हराउँदै गए। त्यहाँ उपस्थित सबैजना आ आफ्नो पीडासँगै रौनकताको खोजीमा हराइरहेका थिए।
त्यो सन्ध्याकालीन रात सदाझै उस्तै उदास र उराठलाग्दो थियो। रेगीस्तानबाट बहने तातो वायु पर क्षितिजमा उड्दै गर्दा म भित्र अचानक भ्रम उत्पन्न भयो। त्यो अपरिचितहरुको माझमा कुनै नौलो आकृति देखा परेको भान भयो। म झसँग भए। मैले जे देख्दैछु त्यो केवल दृष्टिभ्रम थियो वा यथार्थ ? मैले केही कुराको मेसो पाउँन सकिरहेको थिइन।
मलाई नसा चढिसकेको थियो र म बिस्तारै बेहोशी हुँदै गइरहेको थिए। सोच्न थाले। सायद म भ्रममा थिए होला। नशासँगै बौरिएर म आफ्नो गन्तव्य तर्फ अघि बढे। फर्केर हेरे। केही भेउ पाउँन सकिन। सायद जिन्दगी पनि त रहस्य नै हो। मन भित्रको भ्रम पनि कहिलेकाही यथार्थ जस्तो लाग्दो रहेछ। म विश्वस्त हुँन खोजे।
सोच्छु जिन्दगी सपना हो अनि हरेक दिन जस्तै आज पनि ओभरटाइम सपनाहरूसँगै म झिसमिसेमा ब्यूँझिन पुग्छु। टाउँको अनायासै रुपमा भारी भइरहेको थियो। त्यत्तिकैमा हिजोको त्यो रातलाई एकपटक पुनः सम्झिने कोसिस गर्छु। तर म ती मधुशालामा रित्तिएका बोतलहरू जस्तै आफूलाई पनि रित्तो पाउँछु। अघिल्लो रातको बारेमा मलाई केही याद रहदैन। आफैसँग प्रश्न गर्न थाल्छु। के मैले कुनै परिचितलाई देखेको थिए? को थियो त्यो? वा म कसैको मिल्दोजुल्दो अनुहारमा भ्रमित भए? अक्सर यस्तो हुन्छ पनि।
सायद नशामा कुनै बिभत्स सपनाहरू पो देखे कि। थाहा छैन। म शून्य थिए। मरुभूमिजस्तै। जहा चारैतिर बालुवाका मैदानहरू होस् अनि तुफानी लहरसँगै ती गोरेटाहरू मेटिएर शून्यतामा बिलिन भएको जस्तो म अनन्तमा हराएको पो हो कि? समय बित्दै थियो । बिना निश्कर्ष म आफ्नो गन्तव्यतर्फ अघि बढे।
दिन ढल्दै गयो। सदाझै त्यो मेहफिल भित्र जमघट बाक्लिदै गयो। धेरै अनुहारहरू आआफ्नै दुनियामा मस्त थिए। म खालिरहेको बेञ्चमा चुपचाप आड लागेर बसे। केही पर हस्याङफस्याङ कुदिरहेको एउटा अल्लारे ठिटोलाई ईशारा गर्दै रक्सी अर्डर गरे। ऊ बङ्गाली थियो र यस होटलमा वेटरको काम गर्ने गर्दथ्यो। हामी साथी जस्तै थियो। कहिलेकाही ऊ मसँग विरहका कुराहरू सुनाउने गर्थ्यो।
आमाले सानैमा छोडेर गएपश्चात उसको बाबुले दोष्री श्रीमती भित्र्याएका थिए रे। तत्पश्चात बाउको घृणा र सानीआमाको कचकचैसँगै ऊ बिक्षिप्त हुँदै गएछ र अन्त्यमा उसको पढेर पाइलट बन्ने सपना आकाशमा उड्ने जहाजहरुसँगै उडेर गएछ। त्यसपछि ऊ हरेक दिन कुनै खुल्ला ठाउँमा गएर उडिरहेको जहाजलाई ढुङ्गाले हानेर झार्ने कोसिस गर्थ्यो रे। अनि दिमागी सन्तुलन गुमाएपछि ६ महिना मानसिक अस्पतालमा भर्ना गरेको। ऊ रक्सीको बोतल र ग्लाससँगै मेरो अगाडि उपस्थित भयो। म फिस्स हाँसे।
केही समयपश्चात छेवैको टेवलमा बसेर पिउँदै गरेको कुनै आकृति चिरपरिचित लाग्न थाल्यो। एकाएक मुटु जोडले चल्न थाल्यो। हिजोको दृष्टिभ्रम आज यथार्थमा परिवर्तित भएको चाल पाए। त्यस आकृतितर्फ एकटकले हेर्न थाले। सायद मेरो हेराइप्रति उसलाई अप्ठ्यारो महसुस भयो कि? ऊ पनि बेलाबेलामा मलाई शंकास्पद दृष्टिले हेर्ने गर्थ्यो। जब हाम्रो दृष्टि एकापसमा जुध्थ्यो तब हामी दुवै अन्तै कतै नियालिरहेको जस्तो बाहाना गर्न थाल्यौ।
म बिस्तारै भयभीत हुँदै गए र आफ्नो ध्यानलाई अन्तै केन्द्रित गर्न खोजे। केहीबेर म विगतका दर्पणहरू तर्फ घोत्लिदै जिन्दगीका पुराना स्मृतिहरुलाई उजागर गर्ने प्रयास गर्न थाले । मैले केही भेउ पाउँन सकिरहेको थिइन। को थियो उ? के थियो उ? के ऊ मेरो लागि कुनै परिचित थियो वा ऊ केबल यौटा भ्रम मात्र हो? मेरो मानसपलटलमा यादहरुका बृतचित्रहरू फनफनी घुम्न थाल्यो र अन्त्यमा तिम्रो लोग्ने मेरो अगाडि यथार्थ बनेर उभिरहेको चाल पाए। हो, ऊ तिम्रो लोग्ने थियो।
जसलाई मैले स्वदेशमा छदा कहिलेकाही तिमीसँगै देख्ने गर्थे। एकपटक मसँग परिचय पनि गराएकी थियौ तिमीले मेरो स्कुलको एकदमै मिल्ने साथी भनेर। म विश्वस्त भए। हो त्यो त्यही विभत्स आकृति थियो। बारम्बार मैले उसलाई चिहाउने प्रयास गरे। सोच्न थाले। सायद उसको लागि निश्चय पनि म एक अपरिचित मात्र हुँ। यहाँ वर्षौसम्मसँगै बाँच्नेहरू त क्षणभरमै मेटिएर जान्छन् भने ऊ त केबल वर्षौ पहिले एकपटकको भेटमा झर्ल्याक्क देखिएको मान्छे।
परिचित भएर पनि अपरिचित जस्तो लाग्ने यौटा कल्पित भ्रम। ऊ अर्थात तिम्रो लोग्ने नशामा थियो। उसको अनुहार चम्किलो हुँदै गइरहेको भान भयो। यस्तो लाग्थ्यो ऊ नशा होइन पीडा पिइरहेको छ निख्खर घृणा पिइरहेको छ। म बिस्तारै निस्तेज हुँदै गए। तिम्रो लोग्नेको सम्मुखबाट फर्किएर म पर रेगीस्तान माथिको आकाश नियाल्न थाले। छेवैमा बसिरहेको यौटा युवा स्टेजमा उक्लिएर बडो रवाफिलो पाराले गजल सुनाउदै थियो।
माया प्रेमका कुरा,सँगै बाँच्नेसँगै मर्ने सपना, मरुभूमिका पीडाहरु, गाउँघरका मेलापात, सुनका चुरा, साउँको ऋण… यस्तै यस्तै केही भनिरहेको थियो जसलाई मैले ध्यान दिन सकिरहेको थिइन। वास्तवमा म भित्र क्रोध उत्पन्न भइरहेको थियो। शनिवारको त्यो रात, रातसँगै रौनकता पनि छिप्पिदै गइरहेको थियो। केहीबेरपश्चात उक्त व्यक्ति अचानक मेरो सम्मुखमा आएर परिचयको लागि हात अघि बढायो। म आश्चर्यमा परे तत्क्षण उसले आफ्नो परिचय दिदै भन्यो “तपाई नेपाली हो?”
म स्वीकृतिको साथ टाउको हल्लाउदै मुसुक्क मुस्कुराए “हजुर”।
टेबलको ग्लास र मोबाइल साथमा लिएर ऊ मेरो आडैको कुर्सीमा आएर बस्यो। गहुगोरो वर्णको मंगोलियन आकृति, खाइलाग्दो शरीर अनि मादक मुस्कान सहितको तिम्रो लोग्नेले मसँग केही सोध्न खोज्यो। “के गर्नुहुन्छ?” म निकैबेर मौन रहे। उसको प्रश्नको प्रतिप्रश्न मनभित्र खेल्न थाल्यो। के गर्नुहुन्छ? म प्रेम गर्छु। तिम्रो स्वास्नीसँग। म उनी बिना एकपल पनि बाँच्न सक्दिन। हो तिमीलाई लाग्ला तिम्रो स्वास्नी बिना पनि त म बाँचेकै रहेछु। यो मात्र भ्रम हो।
तिमीले बाँचेको देख्नु र म बाँचेजस्तो गर्नु दुवै भ्रम हो। म काल्पनिक दुनियाबाट बाहिर निस्कदै भन्न थाले। “बस् जिन्दगी गुजारा गर्दैछु। बाँच्ने प्रयासमा छु यो दुनियासँगै अनि यो मेहफिल सँगै। अनि सुनाउनुस् तपाई के गर्नुहुन्छ?”
ऊ पनि निकैबेर घोत्लियो। केही बेरपश्चात ऊ बोल्न थाल्यो । “ड्राइभिङ गर्छु। जिन्दगी स्टेरिङ र ब्रेकमा बित्छ। मरुभूमिको उजाड बस्तीहरु। ती बस्तीहरूसँगै जोडिएको घुम्ती र घुम्तीहरुको अनन्त र अट्टहासपूर्ण यात्राहरु। जहाँ फर्केर आउँने कुनै गुञ्जायस नरहोस्। अब चाहिं जिन्दगीको यात्रालाई जिन्दगीभरको लागि ब्रेक लगाउने सुरसारमा छु। जीवनका हरेक घुम्ति र मोडहरुबाट टाढा जान मन छ। यात्रा धेरै गरियो। अब म थकित भइसके जिन्दगीका ती यात्राहरू देखि र ती यात्रासँगै गुज्रिने यात्रीहरू देखि। कसैले भनेको थियो जिन्दगी यात्रा हो हा.. हा.. हा..त्यसैले एक्लै हिड्दैछु । बस् एक्लै…………..।”
तिमीजस्तै रहेछ तिम्रो लोग्ने। बुझेर पनि बुझ्न नसकिने।म अनिच्छापूर्वक बोल्न थाले।
“लोग्ने मान्छेको जिन्दगी भाग्य होइन कर्म हो। रेगीस्तान भूमिको बालुवा भित्र सपना खन्दा खन्दा सपनानै बनेर भासियौ भने अलग कुरा। नत्र जिम्मेवारीहरू जिम्मेवार रहदासम्म वहन गर्नुपर्छ। घरपरिवारको सपना साकार पार्नलाई नै त बिदेश भासिएका हौ हामीहरु…..।”
ऊ पुनः हाँस्न थाल्यो। एक भयानक हासो। “घरपरिवार….. हा.. हा.. हा.. जसको परिवार नै छैन उसको घर कसरी हुन्छ? घर हुनको लागि परिवार हुँनुपर्छ। परिवार हुँनको लागि समाज हुँनुपर्छ। मेरो कुनै समाज छैन। म लावारिश हुँ। एक वेवारिसे शव जस्तो म हरेक क्षण मृत्यु बाचिरहेको छु। हरेक शिशिरसँगै म पलभरमै उजाडिएर जान्छु। तपाई बुझ्नुहुन्न यी कुरा । वास्तवमा म समुद्री किनारमा रहेर पनि प्यासले छटपटाइरहेको एउटा व्याकुल प्राणी हुँ। त्यही प्यास नै मेरो मृत्यु हो र म छिट्टै मृत्यु चाहन्छु।” यति भन्दै उसले फेरि अर्को बोतल अर्डर गर्दै २ प्याग भर्न थाल्यो। म आश्चर्यमा परे। जसलाई म आफ्नो आँखा अगाडि देख्दैछु के ऊ तिम्रो लोग्ने थिएन र? म भित्र कौतुहलता बढ्दै गयो।
निकै बेर हामी निःशब्द रह्यौ। ग्लास रित्तिएसँगै मन भित्रको जिज्ञासा मेटाउने प्रयास गरे। “तपाई विवाहित वा अविवाहित?” ऊ कुनै स्वप्निल दुनिया भित्र हराउन थाल्यो। उसले मेरो प्रश्न सुन्यो वा सुनेन तापनि म मूर्तिवत रुपमा जवाफको प्रतिक्षामा बसिरहे। उसको अनुहार बिस्तारै मलिन हुँदै गयो र उसले केही भन्न खोज्यो। “बिहे अघि हामी कहिल्यै नटुट्ने कहिल्यै नछुट्ने बाचा, प्रतिबद्धताको साथ जिन्दगीका पाईलाहरू अगाडि बढाउने कसम खाएका थियौ। नियतिको अटल र रहस्यमयी खेलसँगै हामीहरू अन्ततः एक हुन पुग्यौ।
उनीसँग जिन्दगी बिताउने मेरो सपना साकार भएर आयो। ती दिनहरुमा म आफूलाई संसारकै सबैभन्दा भाग्यमानी पुरुष ठान्ने गर्थे। समय बित्दै गयो। देशभित्रको अस्थिर राजनीतिले चरम सीमा नाघिसकेको थियो। स्वदेशमा गाडी चलाएर परिवारको पेट पाल्न लगभग मुस्किलप्राय थियो। जताततै जनयुद्धको तयारी चलिरहेको थियो त्यसबेला। चक्का जाम र नेपाल बन्दको लहरसँगै असुरक्षा बढ्दै गयो। हरेक दिन कयौ सवारीसाधनहरू तोडफोड भइरहेको समाचार बारम्बार मिडियाहरुमा आउने गर्थ्यो।
देशको अस्थिर राजनीतिबाट म र म जस्ता लाखौ नेपालीहरू दिक्क भइसकेका थियौ। एकदिन उनले मलाई स्वदेशमा बसेर गफगाफमै दिन बिताउँनुभन्दा बरु बिदेश गए राम्रो भन्दै सल्लाह दिन थालि। यहाँको जस्तो जागिरको अनिश्चितता पनि नहुने र कमाई पनि राम्रो हुने भन्दै ऊ मलाई बारम्बार सम्झाउने कोसिस गर्थि। नावालक छोरो र उसलाई छोडेर खाडी मुलुकमा होमिन त मलाई पटक्कै मन थिएन तर उसको जिद्दि र हाम्रो सुनौलो भविष्यको लागि अन्ततः म परदेशी जीवन व्यतीत गर्न राजी भए। हो म त्यतिबेला खाडीमा धसिन पुगे सिर्फ त्यो स्त्रीको लागि जो मतिर अहिले हेर्दासम्म हेर्दिन।” उसले एकै घुट्कोमा ग्लास रित्तो पार्यो। म अधैर्यपूर्वक उसको कुरा सुनिरहेको हुन्छु।
“दिन, हप्ता, महिना हुँदै वर्षौ बित्यो, यिनै घुम्तीहरुमा घुम्दा घुम्दै। हामी भौतिक रुपमा एकाअर्कादेखि टाढा भएको पनि लगभग २ वर्ष पुग्न आटिसकेको थियो। समय न हो कसरी बित्यो पत्तै भएन। अब घर फर्किने दिनहरू गन्दै औला भाच्न थालिसकेको थिए। ती दिनहरुमा म प्राय उसलाई दैनिक फोन सम्पर्क गर्ने गर्थे तर दिनप्रतिदिन उसको बोल्ने शैली तथा म प्रतिको बदलिदो व्यवहारले मलाई कताकता शंका लाग्न थाल्यो। ऊ अनावश्यक कुरामा पनि झर्कने गर्थी।
नभन्दै हाम्रो सम्वन्ध बिस्तारै चिसिदै जान थाल्यो। ती दिनहरुमा हामी हरेक संवादमा झगडा गर्ने गर्थ्यौ। तपाई सुन्दै हुनुहुन्छ नि मेरो कुरा ? ” मेरो एकाग्रता भङ्ग भयो।“जरुर……अनि त्यसपछि…..?”। “यस्तै हो म जस्ता जड्याहाहरुको जिन्दगी। पिए पछि बोल्नै पर्ने।पीडाहरू पोख्नै पर्ने। आखिर होसमा भएपछि त यी कुराहरुले कुनै अर्थ राख्दैनन् म माथि। त्यसैले पिएपछि बोल्नुको मजा नै बेग्लै छ। तपाई झर्को मानिरहनु भएको त छैन नि?” “हा..हा.. त्यस्तो केही छैन।” नयाँ सिलप्याक टेवलमा आइपुग्यो। उसका हातहरू नशासँगै हल्लिरहेको थियो तापनि उसले होसियारीपूर्वक दुवै ग्लास भर्यो र फेरि भन्न सुरु गर्यो।
“लगभग २ वर्ष खाडीमा बिताइसकेपछि म नेपाल फर्किए। अन्त्यमा जे नहुनु थियो, त्यही भैदियो। मसँगको दुरीसँगै उसको पराईसँग हिमचिम बढ्दै गएको कुरा चाल पाए। ऊ अब अर्कै दुनियाको कल्पनामा रमाउन थालिसकेकी थिई। हामी बीचको सम्वन्धमा बिस्तारै खटपट सुरु भयो। धेरैको मुखबाट मैले उसको असली चरित्र बारे थाहा पाउँने सौभाग्य पाए। हुन त त्यो मेरो लागि दुर्भाग्य नै थियो।
तापनि म त्यसलाई सौभाग्य नै ठान्दछु। बिस्तारै मलाई उसले धोका दिदै छे भन्ने कुरा प्रष्ट हुँदै गयो। उसको कोमल हासो भित्र पनि मैले डरलाग्दो छलकपटको आधिबेहरी देख्न थालिसकेको थिए। पराई पुरुषसँगको सामिप्यता कसलाई पो सह्य हुँन्छ र? त्यस्तै भयो मेरो कथित जिन्दगीमा पनि। ऊ मबाट र मेरो जिन्दगीबाट सदाको लागि पराई बन्न खोज्दै थिइ। ऊ वास्तविकतालाई लुकाएर हरेक कुरामा झुट बोल्ने प्रयास गर्थी। मेरो सहनशिलता टुट्दै गयो। जबदेखि उसको वास्तविकता चाल पाउँदै गए तबदेखि ऊ मलाई विभिन्न बाहानामा कमजोर बनाउने कोसिस गर्न थालि। अब उसलाई ममा कुनै रुची थिएन।
त्यसैले हरेक दिन घट्ने सानातिना पारिवारिक झमेला वा घटनालाई निहुँको पहाड बनाएर ऊ मसँग झगडा गर्न तम्सिने गर्थि। हामी बीचको सम्वन्ध बिस्तारै आगोबिना नै सल्कन थाल्यो र समयसँगै त्यसले यौटा विशाल रुप लिन सुरु गर्यो। दैनिकको कलह र तमाशा जिन्दगी। हाम्रो दुरी दिनप्रतिदिन अरु धेरै बढेर गएको थियो……..।” उसले आफ्नो कोटको खल्तीबाट चुरोट निकाल्दै सल्काउन थाल्यो। धुवाको सर्कोसँगै ऊ पुनः बोल्न थाल्यो। “………अन्ततः एकदिन उसले मसँग डिभोर्स मागी। म अवाक् रहे। धर्ती नै भासिएझैं भयो। तापनि छुट्टिनु अगावै मैले धेरै सम्झाए उसलाई तर ऊ टसको मस भइन।
अरुको बहकाउँमा लागेर उसले मेरो केही कुरा सुन्न नै चाहेकी थिइन। उसले मेरो जिन्दगी बर्वाद गरिदिई। लगत्तै हामीले ८ वर्षको त्यो लामो बैवाहिक सम्वन्धलाई पूर्णबिराम दिने निर्णय गर्यौ।समय मेरो वशमा थिएन। हामी एकअर्कासँगै छुट्टियौ अनि हाम्रो संसार पनि त्यो पर रहेको मरुभूमिको साम्राज्य जस्तै पलभरमै उजाडिन पुग्यो……।”
केही बेर सन्नाटा छायो।उ नशामा चुर भइसकेको थियो।केहीबेरको मौनतालाई चिर्दै ऊ बोल्न थाल्यो “ति दिनहरुमा कहिलेकाही मेरो मनमा उसको हत्या गरेर बदला लिने विचार समेत आउने गर्थ्यो। जब मध्यरातमा म सपनाहरुबाट भयभीत हुँदै ब्यूँझिने गर्थे तब मेरो मनमा थुप्रै पटक हत्या गर्ने मनासाय नआएको पनि होइन। तर जब चिरनिद्रामा रहेको उसको कोमल अनुहारमा हेर्ने प्रयास गर्थे तब म भित्र ऊ निर्दोष भएको भ्रम पैदा हुन्थ्यो। सोच्थे ऊ निर्दोष छे।
तर अनुहारको निर्दोषपना जिन्दगीसँग कहिल्यै मेल खादैनथ्यो। म भित्रको उत्कण्ठा केवल भ्रम थियो।उ हरेक बिहान फेरि उस्तै कठोर र रुखो बचनसँगै उपस्थित हुन्थी। अनि अन्त्यमा उसलाई र ऊ प्रतिको मेरो अधिकारलाई सदाको निम्ति छाडिदिने कठोर निर्णय गरेको थिए मैले ।” ऊ पुनः व्यथित कल्पनामा हराउन थाल्यो र अचानक चिच्यायो।“ राम्रै भयो। म समयमै सम्हालिए। नत्र आश नै कहाँ थियो र उसको प्रतिघात सहेर बाँच्ने।”
औशिको रात निष्पट अँध्यारो थियो। ऊ नशासँगै बग्न थाल्यो। मैले पुनः बार्तालाप गर्ने कोसिस गरे। “कसैको बहकाउमा लागेर निर्णय लिनु अवश्य पनि राम्रो होइन। के थाहा तपाईको सोचाइ नै गलत थियो कि वा तपाई स्वय म भ्रममा पर्नुभयो। सायद अरुको कुरा सुन्नु तपाईको भूल थियो। थाहा छैन दुनियामा कति निर्दोषहरू भ्रमको आवेगमा दोषी बन्न पुग्छन्। दुनिया स्वार्थी छ र स्वार्थको लागि जो जे पनि गर्न तयार हुँन्छन्। समाजको नियति नै यस्तै हुँन्छ। अरुलाई उजाडेर रमिता हेर्नेहरू प्रशस्तै हुँन्छन् यहाँ। आवेशमा निर्णय लिनु सदा घातक हुन्छ। हुनसक्छ तपाई आफैप्रति वा आफ्नो जिन्दगी प्रति अन्तर्घात गरिरहनु भएको छ कि?”
ऊ मन्द मुस्कुरायो र भन्न थाल्यो “त्यो कहालीलाग्दा अतितका दिनहरुलाई म अवश्य पनि सम्झन चाहन्न। छोडिदिनुस् ती स्वार्थीहरुको कुरा, जो हरेकको अंगालोमा बाधिएरसँगै जिउँनेसँगै मर्ने बाचाकसम खान्छन् हा.. हा.. हा.. हरेकको अंगालोमा बाधिएर हा.. हा.. हा..। मलाई अब आफैप्रति कुनै सहानुभूति छैन। गुमाउनको लागि केहिरहेन र पाउने केही आशा छैन। म रित्तो भइसके अब के फरक पर्छ र म पोखिनु र नपोखिनुमा। यो बोतलजस्तै म पनि रित्तो छु। लडेपनि खाली नलडेपनि खाली।”
घडीले रातको १२:०० बजाइसकेको थियो। पुनः भेट्ने बाचाका साथ तिम्रो लोग्ने र म छुट्टिने तर्खरमा लाग्यौ। लगत्तै म आफ्नो कोठातर्फ लागे। हिडाईको तेज गतिसँगै निस्केको पसिनाले सारा शरीर र कपडा निथ्रुक्क भिजिसकेको थियो। ओछ्यानमा पल्टिदै गर्दा तिमीबिनाको ती क्षणहरू कल्पना गर्दै केहीबेर अतितका छायाहरुसँगै छटपटाउँन थाल्छु।
आज अचानक तिम्रो अभाव महसुस हुन थाल्छ जसलाई म वर्षौ पहिले देखि भुल्ने कोसिस गर्दै थिए। तिमीसँग भेट नभएको पनि वर्षौ भइसकेको थियो। जब तिमी नयाँ जिन्दगीको शुरुवात गर्दै थियौ तब देखि म तिम्रो जिन्दगीबाट पराईको नातासँगै सदाको लागि गुमनाम भएको थिए। स्मृतिमा सुनौलो केशहरुसँगै मन्द मुस्कुराएको तिम्रो ओठमाथिको कालो कोठी आँखा अगाडि झझल्किन थाल्यो। साच्चै ती दिनहरुमा उनीसँगको एकतर्फी प्रेममा म पागल जस्तै बनेको थिए।
सायद तिमीलाई थाहा नहोला तिम्रो आशुमा मैले आफ्नो सम्पूर्ण भविष्यहरू बगाएको थिए।तर दुर्भाग्य समयको गतिलाई चाहेर पनि मैले रोक्न सकिन। समय बितिसकेको थियो। तिमी पराईको अंगालोमा बाधिइसकेकी थियौ। प्रेमको कलिलो कोपिला नफक्रिदै सदा सदाको निम्ति चुडिइसकेको थियो। ती आधिबेहरीसँगै जहाँ क्षणभरमै म नामेट भएर गए।
समयको पाबन्दीसँगै हाम्रो भेट संयोग मात्र नभई आवश्यकता हुँन पुग्यो। जीवन भोगाईका सारा व्यथाहरू भुलेर हामी निरन्तर पिइरहेका हुन्थ्यौ तर नितान्त फरक थियो हाम्रो पिउँने उदेश्य। सायद ऊ अर्थात तिम्रो लोग्ने पिएपछि तिमीलाई भुल्ने गर्थ्यो अनि म । म चाहिं तिमीलाई भुल्नको निम्ति पिउने गर्थे। मलाई थाहा छैन ऊ भ्रममा थियो वा म। तर म उसको कुरामा कदापि पनि विश्वास गर्न चाहदिन। थाहा छैन तिमीहरू बीचको सम्वन्ध टुक्रिनुमा गल्ती कसको थियो? सायद थाहा पाउँन पनि चाहदिन। आखिर तिमीले वा तिम्रा यादहरुले दिने केबल चोटहरू मात्र हो। त्यही चोट पाएर ऊ मुर्छित थियो। अनि त्यही चोटहरू गुमाएर म घायल थिए।
समय गतिशील थियो। तर त्यो रेगीस्तान भूमि, हाम्रो भेट, त्यो मेहफिल, हामी बाँचेको युग, ऊ भित्रको भ्रम, हाँसो तथा रोदनका सिलसिलाहरू अनवरत रुपमा उस्तै थिए। उसले एकदिन मलाई सोधेको थियो। “के तपाईले कसैलाई प्रेम गर्नुभएको थियो?” मैले मुस्कुराउँदै उसलाई भनेको थिए। “जरुर तर त्यो केबल एकतर्फि प्रेम मात्र थियो। उसले कहिल्यै पनि बुझ्न सकिन अनि मैले कहिल्यै पनि बुझाउन सकिन।”
ऊ पहिलो पटक दिल खोलेर हाँसेको थियो मेरो सामु। म पनि हासिदिए मनभित्र गुम्सिएका अनेकन् रहस्यहरुलाई गुमनाम बनाएर । अनि हररात त्यो मेहफिलमा आशुहरुसँगै पीडाहरू बगाएर जिन्दगी जिउँने भ्रममा पलपल मरिरहेका हुन्थ्यौ हामी। हामी अर्थात तिम्रो लोग्ने र म।
नवलपरासी
कथा
- डा. सावित्री श्रेष्ठ
उनको नाम म जताततै सुन्छु । उनी ठुला साहित्यकार, लेखक र प्राध्यापक । टिभीमा उनलाई हेर्दै छु । उनी भन्दै छन्— हो मेरो एउटी छोरी पनि छिन् कतै तर अब कसरी मेरी भन्नू । मैले अपनाउन नसकेकी छोरी, मैले देख्न नपाएकी छोरी, सुन्छु राम्रै गर्दै छिन् रे । ठ्याक्कै मजस्तै छिन् ।
‘भेट्न मन छैन ?’ प्रश्न सोधिन्छ उनलाई ।
ओहो ! मेरा बा के भन्छन् ? सुनिहालूँ न ।
मेरो मुटु ढुकढुक गर्न थाल्यो । मैले महसुस गर्ने गरी उनी भन्छन्, ‘छैन । भेट्न मन छैन । अब भेटेर पनि के गर्नु ! उनीविनाको मेरो व्यस्त संसार छ । उनी जन्मिनुअगाडि नै मैले व्यवस्थापन गरिदिएको हुँ । नभेट्ने गरी ।’
‘आफ्नै छोरी हगि यहाँको ?’
‘हो त अगि नै भनँे । यो कुरा गोप्य राख्न खोजेर पनि नसकिएको हो । फेरि मैले त्यसको जरुरत पनि देखिनँ । अब उनीसँग मेरो अंश–वंश केहीको नि सम्बन्ध छैन । हो, सम्झनामा आउँछिन् तपाईँहरूजस्तो पत्रकारले प्रश्न सोधिदिँदा ।’
मेरो मन चसक्क दुख्छ, छोरी हुँ नि म उनको । पहिलो सन्तान केही नाता छैन कसरी भन्न सकेको । मान्छेलाई जिनले पनि तान्नुपर्ने हो नि अलिकता त । तर, खै मेरा बा हुन नसकेका बा निर्लज्ज भएर मतलब छैन; वंश–अंश केहीको नाता छैन भन्छन् । माया र खोला तलतिर बहन्छ भन्थे; होइन रहेछ । मेरो सन्दर्भमा पटक्कै हैन ।
म आकर्षित छु मलाई माया नगर्ने बासँग र भेट्न पनि चाहन्छु । एक पटक म मेरा वास्तविक अनुवांशिक बासँग भेट्न चाहन्छु । उनको चौडा छातीमा टाउको राखेर रुन चाहन्छु । बस्, यत्ति हो मेरो चाहना । न मलाई उनको माया चाहिन्छ न दया । कति सङ्कीर्ण र कन्जुस त मेरा बा ! यत्ति सानो इच्छा पनि इन्कार्ने ?
उनी लेखक रे । त्यो पनि प्रगतिशील । हो, यही प्रगतिशील शब्दको अर्थ सोध्न चाहन्छु म उनीसँग । उनले जन्मनुअगाडि नै त्यागेकी म छोरी । म पनि उस्तै हुँ; किन उनीप्रति मोह मेरो ? किन र केका लागि ? किन मेरो मनमा उनीप्रति घृणा वा वितृष्णा छैन ! किन मलाई उनीसँग भेट्न मन लागेको ? खासमा मलाई उनको मुख पनि हेर्न मन नलाग्नुपर्ने हो तर अहँ उनी पो मेरो मुख पनि हेर्न चाहँदैनन् ।
उनी र मेरी आमाबिच के सम्झौता भयो त्यो उनीहरू नै जानून् तर मेरो छटपटीलाई ती दुवैले बुझ्न सकेनन् । मलाई बुझ्ने यो सारा संसारमा मेरो बाबा एक जना मात्र हुनुहुन्छ जसले मलाई जन्म त दिएनन् तर जीवन दिए । शिक्षा दिए; ज्ञान दिए; बालापनमा काँध दिए; ममाथि आफ्नो सम्पूर्ण सपनाहरू खन्याए र मलाई नै आफ्नो संसार ठाने ।
म सम्झन थाल्छु आफ्नै कथा, जसको केही भाग टुक्राटाक्री गरेर मैले अरूबाट सुनेँ । केही आमाबाट र विस्तृत र यथार्थ कथा उनै मेरा बाबाबाट ।
अछुत परिवारमा जन्मनुभएकी मेरी आमा शिल्पवती र अत्यन्त सुन्दरी पनि छिन् । स्कुलको मुख मात्र देखेकी उनले कसरी पढ्न–लेख्न सिकिन् ? थुप्रै किताबहरू पढिन्, जुन तत्कालीन समयमा मान्छेहरूको कल्पनाबाहिरको कुरा थियो । एउटी अछुतकी छोरीले वडामा भएको लाइब्रेरीका सबै किताबहरू पढेकी छन् ।
असाध्यै सुरिलो स्वर र मादल बजाउने कुशलताका कारण मेरी आमाको रूप र गुणमा मोहित भएर नै मेरा यी बा हुन नसकेका बा पागलजस्तै भए । त्यस समयमा, जिल्ला शिक्षा अधिकारी भएर गाउँमा आएका उनी गाउँको साङ्गीतिक टोलीकी गायिका तथा मादलवादक मेरी आमासँगको उनको मोह र प्रेम छताछुल्ल भएर पोखियो गाउँभरि ।
उनको भव्य व्यक्तित्व र प्रगतिशील कुरासामु मेरी आमा पनि पग्लिइछन् । ‘जसले जे भनून् तिमीलाई त म झ्याइँझुइँ बाजा बजाएरै बिहे गर्ने हो भनेछन्’ यी मेरा बा हुन नसकेका बाले । त्यस्तै फूलबुट्टे शब्दहरूको फेर समातेर उनी मेरी आमाको जीवनमा पसेछन् र उनको गर्भमा मलाई सुटुक्क हालिदिएछन् ।
त्यसपछि पो ब्युँझिइछन् उनी— सपनाको संसारबाट । उनको प्रगतिशीलता फुमन्तर भएछ । उनलाई समाज, आमा–बाबु, कुटुम्ब, आफ्नो गुठी र गुठियारहरू सबै–सबैको माया लागेछ । यसो भनूँ मेरी आमा र उनको गर्भको मबाहेक अरू सबैको माया र डर दुवै लागेछ उनलाई । सम्भ्रान्त परिवारका उच्च ओहदाका मान्छे उनी कसरी एउटी अछुतलाई बिहे गर्ने ? माया, बिहे र जिम्मेवारी सब फरक–फरक कुराहरू हुन् भन्ने कुरा बल्ल बुझेछन् उनले ।
जीवनमा हुनसम्म खुसी महसुस गरिरहेकी मेरी आमाले कल्पनामा पनि सोच्न सकिनछन् कि उनलाई धोका हुनेछ । उनले हिरो र बहादुर मानेको मान्छे लुच्चा, बेइमान र डरपोकबोहक केही रहेनछन् । उनको प्रगतिशीलताको कुरा पनि के गर्नु । मनसँग र मनको आडमा शरीरसँग खेल्नु र त्यसका लागि जस्तो पनि शब्दसंसार रच्नमा महारथी नै रहेछन् उनी । किनकि, उनको जीवनमा बारम्बार विभिन्न महिलाहरूले अनेक किसिमबाट चोरी पक्रिँदै आएका रहेछन् ।
उनले देखाएका सपनाहरूमा सपनाकै पखेटा लिएर बादलपारिको गाउँसम्मको सहयात्रा गर्ने र त्यसपछि पातलतिर भासिन बाध्य हुने रहेछन् बाको मोहमा परेका अधिकतम महिलाहरू ।
त्यसो त बाका अन्य पक्षहरू राम्रै रहेछन् । खास गरी सबलाई प्रभावमा पार्न सक्ने, त्यागी, मिलनसार तर महिलाहरूका मामिलामा निकै बदनाम ।
यो एउटा कमजोरीकै कारण मान्छेहरू उनलाई मान्छे कम र खेलाडी बढ्ता ठान्दा रहेछन् । उनको उत्कृष्ट काममा खोट लाउने माध्यम पनि यही नै रहेछ । जतिसुकै राम्रो काम गरे पनि के गर्नु ? मान्छे त उनी ठिक होइनन्, हुन पनि मान्छेको मनलाई अझ यसो भनूँ जीवनलाई फुटबल बनाएर खेल्ने मान्छेलाई कसरी राम्रो मान्छे भन्ने ?
मान्छेको मन न हो, उनका ती सारा कमजोरीहरूसहित उनले मेरी आमा र मसँग जे गरे ती सबभन्दा बेठिक गरे । अझ बढी त मलाई आफ्नो सन्तान नै मान्न तयार भएनन् । तैपनि, उनीसँग भेट्ने मोहबाट म कसै गरी मुक्त हुन सकिनँ । सबैथोक भएको यस जिन्दगीको दुःखद र कमजोर पाटो यही रह्यो । भेट्न चाहने म र भेट्न नचाहने उनीबिचको नजिक्याइ र दुरीमा पिल्सने त म नै परेँ ।
कहिलेकाहीँ म आफैंसँग छक्क पर्छु । किन म यो मोहबाट मुक्त हुन सक्तिनँ ? यसो–उसो ग¥यो तिनै बा हुन नसकेका बाको याद आउने र उनैसँग भेट्ने उपायहरूबारे सोच्दै आफ्नो समय खेर फाल्ने मात्र हैन आपूmलाई दुःखी बनाउने काम पनि धेरै गरेँ । आफुलाई भन्दा दुःखी बनाए मेरा वास्तविक बालाई जसको जीवन भन्नु नै म र मेरी आमा मात्र । म त झन् उहाँको ज्यान नै हुँ । आफ्नो सारा जीवन र सारा मेहनतको फल मेरो सुख, समृद्धिमा लगाउनुभयो । सायद उहाँलाई अन्याय नै भयो मबाट ।
म आमाको गर्भमा छँदै मेरा इज्जतदार भनाउँदा बाले मसहित आमा पनि यी बाबालाई सुम्पिदिएका थिए । यिनी मेरी आमालाई एकोहोरो माया गर्छन् भन्ने कुरा पत्ता लगाएरै मेरा हुन नसकेका बाले मेरी आमा यिनलाई सुम्पेका रहेछन् । आमालाई पनि (म भन्छु ब्ल्याक–मेलिङ नै गरेछन्) यी मान्छेसँग विवाह गरेनौ भने म मर्छु भनेछन् । केही पैसा पनि दिन खोजेछन्, जुन मेरी आमा र बाबा दुवैले स्वीकार गर्नुभएन छ । त्यसपछि धरानमा बसाइँ सराइ र मेरो जन्म त्यहीँ भएछ । एउटा शिक्षित र शक्तिशाली पुरुषले दुई जना असल र सहनशील मान्छेहरूमाथि गरेको शालीन अत्याचारबाहेक यसलाई के भन्न सकिएला र !
त्यसपछि उहाँहरूले कहिल्यै बागलुङतिर फर्केर हेर्नु भएनछ । त्यसै पनि बाबा टुहुरो भएकाले केही जग्गा बेचेरै यता आउनुभएकाले रहेछ । यद्यपि त्यो जग्गा मेरा तिनै बाले अलि राम्रै मोलमा किनेका रहेछन् । फर्केर जाने कारण पनि भएन । फेरि आफन्त र छरछिमेकको घोचपेच सुन्न के जानु । खुला तर गोप्य त्यस प्रेमकथाले बेग्लै मोड लिएकोमा कति मान्छेहरू रमाएका थिए रे त्यसबेला । त्यसै पनि बागलुङ बजारमा त्यस्ता घटनाहरू भई नै राख्दा रहेछन् ।
त्यसबेला दिउँसो–दिउँसो सर्किनी, राति–राति खड्किनी भन्ने त उखानै रहेछ त्यहाँ । अहिले के छ कुन्नि ! के यो पनि सिमान्तीकृत वर्गमाथि वा जातिमाथि ठुला भनाउँदाहरूले गरेको अन्याय थिएन र ! जातीय विभाजनमा पारिएकै कारण आफ्नो शरीरमाथि सम्म पनि अधिकार छैन ती सिमान्तीकृत मान्छेहरूको । अछुतहरूको धन, स्त्री, श्रम र सम्पत्तिमाथि ब्राह्मणहरूको अधिकार हुन्छ भनेर ब्राह्मणहरूले धर्मशास्त्रका नाममा पापशास्त्र त्यसै लेखेका हुन् र ? मेरा यी बा हुन नसकेका बा पनि यसैका पृष्ठपोषक हुन् ।
तर, यिनी आफुलाई कम्युनिस्टचाहिँ किन भन्छन्, माक्र्सवादी रे । यो खाले माक्र्सवादीहरूले माक्र्सको नाममा गर्नु गरे । यीभन्दा त मेरा भनिएका बाबा कति बेस बेस आफू क्षेत्री भए पनि खै जात भन्नु भएन; अर्काको बच्चा पनि भन्न ुभएन ! मानवता र प्रेम मात्र हेर्नुभयो र यसैका लागि जीवन लगानी गर्नुभयो । यसले गर्दा मलाई समाजमा उभिन सक्ने, सम्मानित नागरिक बनाइदिनुभो । उहाँ मेरी आमाको जीवनमा जीवन नै भएर रहनुभएको छ । त्यो प्रथम प्रेमलाई जिन्दगीको भुलबाहेक अरू केही सोच्नु भएन ।
उहाँले र मैले कोट्याउँदा पनि भन्नुहुन्छ । कोही कोही मानिसहरू सम्झनलायक हुँदैनन् । तिनलाई बिर्सेको नै बेस । तिनका छायाबाट टाढा बसेकै बेस । तर, के गर्नु उनैलाई भेट्न मन लाग्ने आपूmलाई । उनका केही साथीहरूमार्पmत पनि कुरा गरेँ मैले । उनका झन्डै पाँच हजार फेसबुक साथीहरू तर उनले मलाई त्यहाँ पनि स्विकारेनन् । उनकी तेस्री श्रमिती रिसाउँछिन् रे ।
मेरी आमालाई त्यागेपछि उनले स्वजातीय बिहे गरेछन् । तीन जना मेरा भाइबैनी पनि भएछन् । तर, उनको मन डुलाउने बानी जहाँको तहीँ । त्यही भएर उनलाई उनको जातकी–ले पनि छाडिछन् । त्यसपछि उनी एउटी झन्डै बिस वर्ष कान्छीसँग अमेरिका उडेछन् । ती स्वास्थ्य व्यवसायमा लागेकी, उनको पनि त्यो तस्रो नै बिहे रहेछ । उनको कडा नियन्त्रणमा रहेछन् ती बा हुन नसकेका मेरा बा । उनी नियन्त्रणमै बसेछन् । निरही, हुतिहारा, आफ्नै छोरा–छोरीसँग पनि भेट्न बन्देज लगाइएका उनले मसँग भेट्ने आँट कसरी गर्नु ।
मलाई राम्ररी याद छ, माघेसङ्क्रान्तिको ठिक एक दिनअगाडि म तिलको लड्डु बनाउँदै थिएँ । कौसीमा बसेर पारिलो न्यानो घाम, रमाइलो लागिरहेको थियो मलाई । पुस महिनाको घाम रमाइलो लाग्ने त हुने नै भयो । त्यही बेला कृष्ण दाइको फोन आयो । ल, तिम्रो इच्छा पूरा हुने भयो । भोलि २ बजे तिमीसँग भेट्न तयार हुनुभयो तिम्रो बुबा । धरहरा क्याफेमा जानू ।
‘ए ! हो र ? अन्तमा भेट्न तयार हुनुभयो ?’
‘हो, अब नेपाल आएको बेलामा एकचोटि भेटेरै जाऊँ न त भन्नुभयो । तर, मैले धेरै मेहनत गर्नुप¥यो है । उनलाई कान्छी रिसाउँछे भन्ने पिर रहेछ । जे होस्, अब भेट्न पाउने भयौ ।’
त्यसै मनमा खुलदुली हुँडुलियो । व्यक्त गर्नै नसकिने भावहरू मनमा आए । बनाउँदै गरेको तिलको लड्डु हातमै लिएर कतिबेर टोलाएर बसेँ । यो लड्डु उनलाई नि लगिदिऊँ कि क्या हो ?
त्यो रातभरि म सुत्न सकिनँ । छटपटी लागिरह्यो, सँगै सुतेका श्रीमान्को समेत निद्रा खलबलिने गरी । मैले बाबालाई पनि साँझ सुनाइदिएकी थिएँ । ‘ल भेट; मनको इच्छा पुर्याउ’ भन्नुभएको थियो । मेरो आफ्नो प्रिय बुबाले उहाँको जस्तो विशाल मन त कसको हुनु र ? आमालाई चाहिँ नभन्ने सल्लाह ग¥यौँ हामी बाबाछोरीले ।
माघ १ गते कठ्याङ्ग्रिएको तुवाँलो लागेको बिहानी तर मनमा उत्साह थियो । दिमागभरि मैले उनलाई भन्नुपर्ने कुराहरु सोचिरहेकी थिएँ । पक्कै मन हलुङ्गो पार्ने छु । एउटा पाठ सिकाउने नै छु । यस्तै सोच्दै माघीको तयारी गर्दै रहेँ । आमा–बाबा, केटाकेटी हामी सबै सँगै थियौँ । खाना खायौँ । विशेष परिकारसहित रमाइरहेकै बेला कृष्ण दाइको फोन आयो ।
‘बरबाद भएछ नि ।’
‘किन, के भयो ?’
‘उहाँ त बित्नुभएछ ।’
म झसङ्ग भएँ । ‘हैन के भन्नुभएको ?’
‘हो । आज राति नै बित्नुभएछ । पशुपति लगिसकेछन् । त्यहाँ जाने ?’
‘नजाने …।’
जबाफ दिन मलाई एक सेकेन्ड लागेन । के भेट्नु ती भेट्नै नचाहने मान्छेसँग । हाम्रा लागि उनी मरेको मान्छे सह्री नै थिए ।
किन किन मनमा एक सर्को दिक्दारी पस्यो ।
‘मसँग भेट्नुपर्ला भनेर मरेका त होइनन् होला नि उनी !’
के मृत्यु मान्छेको आफ्नो बसमा छ र ?
सुवासको ‘सपनाका अवयव’ विमोचित
Tags: No Comments
मकवानपुर । नेपाली कविता लेखनमा क्रियाशील कवि सुवास खनालको दाेस्राे कविताकृति ‘सपनाका अवयव’ औपचारिक रुपमा सार्वजानिक भएको छ । दुई दशकदेखि कविता लेखनमा संक्रिय कवि खनालकाे २०७१ सालमा ‘विचारको उल्टो नदी’ नामको पहिलाे कविताकृति प्रकाशित भएकाे थियाे ।
बुधबार सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भएको कृति विमाेचन कार्यक्रममा भर्चुअल रुपमा भिडियोमार्फत खनालका बुवा आमा गोकर्ण खनाल र सुशीला खनालले संयुक्त रुपमा कविताकृति सार्वजानिक गरेका हुन् । खनालको दोस्रो कृति सपनाका अवयव शाब्दिक बुक्सले बजारमा ल्याएको हो ।

कार्यक्रममा पुस्तकबारे प्राध्यापक घनश्याम घिमिरेले मन्तव्य राखेका थिए। पुस्तककाबारे बोल्दै घिमिरेले खनालका कवितामा ससाना विषयमा पनि गम्भीर भाव पैदा गर्ने शक्ति रहेको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्यामलले खनालका कविता सामाजिक उल्टो गतिको प्रतिरोधी रहेको बताए । अर्का वक्ता उदय अधिकारीले ‘सपनाका अवयव’का कविता आधुनिक समाजको चित्रण र त्यसले सिर्जना गरेको पीडाप्रति केन्द्रित रहेको बताए ।
कार्यक्रममा साहित्यकारहरू आर. सी. रिजाल, कौशल पाण्डे , ह्यग्रीव आचार्य , शान्ति प्रियवन्दना , अनिता न्यौपाने लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले गरेका हुन् । दुई चरणमा भएको विमोचन कार्यक्रमअन्तर्गत दोस्रो चरणमा एन एस टेलिभिजनमार्फत पुस्तकसम्बद्ध भिडियो टिप्पणी प्रसारण गरिएको थियो । कविहरू मनु मञ्जिल , शकुन्तला जोशी , अनमोलमणी , अभय श्रेष्ठ, सुरेश श्रेष्ठ लगायतले भिडियोमा पुस्तकबारे आफ्नो भनाइ राखेका थिए ।
कवि तथा रासस अध्यक्ष श्यामलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम सञ्जालका अध्यक्ष निमेष निखिलको सभाध्यक्षतामा भएको थियो ।
भिडियाे साभारः एन एस टेलिभिजन