मकवानपुर । गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सोनाको स्वरसँगै अभिनय समेत रहेको गीतको भिडियो सार्वजानिक गरिएकाे हाे ।
दीपक शर्माको शब्द र संगीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर सुन्न सकिन्छ छ । एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन् । उनले आउँदो दिनमा यसका गीतहरुलाई सार्वजानिक गर्दै जाने र एल्बममा संग्रहित गर्ने समेत बताएकी छिन् । ‘गीतमा न्याय गर्ने कोसिश गरेकी छुँ’ उनले भनिन् । गीत सार्वजानिक कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका अथितिहरु र मिडियाकर्मीले पनि सोनाको गायकीसँगै अभिनयको प्रशंसा गरेका थिए ।
उनिसँगै भिडियोमा देखिएका सागर लम्साल ‘बले’ ले पनि काम गर्न निकै सहज भएको बताए । उनले पहिलो सहकार्य भएता पनि नयाँ जस्तो नलागेको प्रतिक्रिया दिए । ‘भिडियोको रिहल्सलमा केहि नर्भस थिए यद्दपी छायांकनमा भने काम राम्रो हुन्छ भन्नेमा विश्वस्त भईसकेको थिए । हाम्रो मेहनतले गीत राम्रो बने जस्तो लागेको छ । सोनाजीसँग काम गर्दा निकै राम्रो भयो’ सागरले भने । उनले गीतमा माया निस्वार्थ हुन्छ भन्ने भावलाई देखाईएको बताए । सोनाले पनि टीमले राम्रो काम गरेकोमा जोड दिईन् । उनले को–स्टार सागरसँगै निर्देशक गम्भीर विष्टले निकै सहज वातावरण सिर्जना गरेको बताइन ।

भिडियो सार्वजानिक कार्यक्रम उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा गरिएको थियो । शशी विक्रम थापासँग संगीतको औपचारिक शिक्षा लिएकी सोनाको गायन र अभिनयको प्रशंसा विशिष्ट अतिथि राणाले पनि गरिन् । ‘उहाँले गायन र अभिनय मार्फत आफ्नो कामलाई न्याय गर्नु भएको छ । आउँदा दिनमा अझै सफलताको शुभकामना’ राणाले भनिन् ।
भिडियोमा सागर र सोनासँगै गोविन्द सिंह विष्टको पनि अभिनय रहेको छ । गीतमा माया अमुल्य हुने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिश गरिएको छ । भिडियोमा शुभम भुजेलको कोरियोग्राफी , बुद्ध थापाको छायाँकन , नविन निरौलाको कलर र सम्पादन , दीपक आचार्यको भिडियो कन्सेप्ट रहेको छ भने भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् ।
गीत सार्वजनिक कार्यक्रममा टिकटक च्यालेन्ज पनि घोषणा गरिएको छ । सार्वजनिक गीतको उत्कृष्ट टिकटक बनाउने मध्ये तेस्रोलाई १० हजार नगद , दोस्रोलाई २० हजार नगदसँगै मोबाइल फोन र पहिलो हुनेलाई ५० हजार नगदसँगै मोबाइल फोन दिइने घोषणा गरिएको छ । यो पुरस्कार वितरण सोनाकै तीन सातापछी सार्वजनिक हुने नयाँ गीतको कार्यक्रममा गरिने बताइएको छ । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले संचालन गर्नु भएको कार्यक्रममा लक्की ड्र मार्फत उपस्थित दुइ मिडियाकर्मीलाई मोबाइल सेट पनि प्रदान गरिएको थियो ।
- रेजिना गाैतम
असारको दिन ! गाउँ–घरमा रोपाईको चटारो छ। सिंचाईको व्यवस्था नहुँदा खेतीका लागि मौषमी बर्षामा भर पर्नुपरेको छ। विहान पानी पर्नेवित्तिकै खेतमा गोरु र हलो लिएर सनके खेतका गरामा पुग्छ । नजिकै रहेको खहरे बाढी आएका बेला घरबासै पो उठाउने हो की झैं गरेर गड्गडाउँदै बलेसीमै बाढीको छल्को आइपुग्छ । पानी पर्न छोड्यो, कमिला कुद्न थाल्छन् । खोलाका छेउमा घर भन्नुमात्र छ, खोलाको पानीको कुनै भर छैन । आकाशबाट पानी पर्न थाल्ने वित्तिकै झरी नभनी खेतका गरामा पुग्नुपर्ने डाँडागाउँका केही परिवारको बाध्यता छ।
भद्रसिंको घरमा बाल्यकालदेखि नै बसेको सनके आफ्नै घर जस्तो गरी काममा लिप्त छ । भद्रसिं पनि उसलाई निकै मायाँ गरेजस्तो गर्छन् । हुन त भद्रसिंले माया गर्ने अरु को नै छ र ? छोरा–छोरी पढाईका सिलसिलामा घरदेखि टाढै छन् । घर–परिवार भन्नु नै भद्रसिं उनकी श्रीमती जानुका र सनके मात्र हुन् । विचरा सनके नहुँदो हो त भद्रसिंका गाईवस्तु भोकभोकै मर्थे होलान् । त्यतिमात्र होइन जग्गा जमिन बाँझै रहलाकी भन्ने त्रास उत्तिकै । खेताला पाइदैन डाँडागाउँमा आजकले। गाउँका सबै युवाहरु रोजगारी र अवसरको खोजीमा कोही शहर पसेका छन् त कोही विदेशिएका छन् । गाउँमा युवा नभएका बेला खुब महŒव छ, सनकेको अर्थात सनकेका श्रम र पसिनाको । लामो समय थलिनु हो भने सनकेलाई कसले माया पाउँथ्यो या थिएन भन्न सकिन्न । कामकै कारण सनकेले यथेष्ट माया पाएको छ भद्रसिं र जानुकाबाट । सनके १० वर्षको हुँदा उसका आमा–बाबुको चम्पेको पहिरोमा पुरिएर ज्यान गयो। जग्गा जमिन सबै पहिरोले पुरेर बगरमा परिणत भयो । बाल्यकालमै टुहुरो भएको सनकेका सहारा भद्रसिंको परिवार बने। भद्रसिंले संरक्षण दिए । तर स्वार्थको । सनके जति बढ्दै गयो, त्यति नै कामको बोझ पनि थपिंदै गयो । आजकल घरको सारा कामको जिम्मेवारी सनकेकै काँधमा छ । तर, सनकेले कुनै दिन पनि अर्काको घर सम्झिएन, आफ्नै सम्झेर घर–खेत संहालेको छ।
आज असार १५ को दिन । हिलोमा पसेर धान रोप्नुपर्ने अनि दिउँसो दही चिउरा खानुपर्ने पुरानै चलन हो । चाडपर्व मनाउन भद्रसिं जति रुची देखाउँछन् सनके त्यो भन्दा धेरै गुणा माथि छ। भद्रसिंले ताप्लेजुङ बजारबाट हिजै कोला किनेर ल्याएका छन् । दुहुनो गाई घरमै भएकाले एकराते लहरे दही जमाइएको छ। रोपाईंमा खाजाका लागि ल्याएको चिउरा छँदैछ । भूमिराजका दिन ल्याङ्वाको बगैंचाबाट ल्याएका आँप पनि पाकेका छन् । खानेकुरा सबै तयार भएपनि हिलोमा खुट्टा नहाली भद्रसिं र सनके दुवैलाई चित्त बुझ्दैन ।
वर्षातमा धेरै भिज्यो भने ज्वरो आउन सक्ने खतरा पनि त्यतिकै हुन्छ। त्यसैले होला सनके एकाकाँधमा हलो–जुवा, पछाडि ढाडमा झुत्रिएको घुम, अर्कोहातमा लौरो अनि अघि–अघि गोरु लिएर खेततर्फ लाग्यो । आकाशबाट बर्सिएको पानीले सनकेको जीऊ निथ्रुक्क भिजेको छ। घुम ओडेको भन्नुमात्र छ । कति वर्ष पहिले भोर्लाका पातले छापेको घुममा सबै प्वालै–प्वाल छन् । घुमबाट छिरेको पानीले भिजाएपनि त्यसको पर्वाह नगरी सनकेले एउटा गरो हिल्यायो, माटो सम्याउन दाँदे लगायो, छेउकुना खनेर फ्याउरीको सहारामा बाउसे गरेर धान रोप्न ठिक्क पा¥यो । पल्लाघरकी काइँली र जानुका डोकामा बिउ बोकेर मेलामा पुगे। धान रोप्ने मेलो तयार भएपछि सनकेले गोरु फुकाएर नजिकै खेतमै बाँध्यो। भद्रसिंले सनकेलाई खाना लिएर संगसंगै पुगे र बिऊ पँजाउने निहुँ गर्दै हिलामा खुट्टा हाले। अलि रमाइला स्वभावका उनले एक÷दुई मुठी बिऊ हातमा लिएर धान पनि रोपे । सनकेले खाना खाएर दिनभरलाई पुग्ने गरी गाई र गोरुलाई घाँस काट्यो ।
तराई जस्तो होइन पहाडमा। असार महिना भित्रैमा खेत रोपी सक्नुपर्छ । बैशाखदेखि नै धान रोप्ने तयारीको सुरसार शुरु हुन्छ । बैशाखको अन्त्यदेखि बीऊ राख्ने खेतका गराका छेउकुनामा भएको झार फ्याक्ने (आली एैचिला काट्ने) जस्ता काम भरसक जेठभित्रैमा सकिन्छ । भद्रसिंको घर ताप्लेजुङको फुङ्लिङ –७ मा पर्छ । घर संगसंगै खेती पनि भएकाले असारको अन्त्यसम्ममा धान रोपी सक्छन् । घरको रोपार्इं सकेपछि फुर्सद पाउने वित्तिकै सनके विहान बेलुका घाँस काटेर दिउँसो पैसा कमाउन जान्छ । यो उसको वर्षौदेखिको निरन्तरता हो । आफ्नो घरको रोपाईं छिटो–छिटो गर्न भद्रसिं र जानुका पनि आतुर हुन्छन् । त्यसो त सनकेको वर्षौदेखिको अभ्यास यी दुवैलाई राम्रो थाहा छ। ताप्लेजुङमा निकै महŒवका साथ धुमधामसंगले लाखे जात्रा मनाइन्छ । अर्काको खेताला गएर कमाएको पैसा सनकेले त्यही जात्रामा खर्च गर्छ । सनके यो जात्रामा तीनदिनसम्म घर फर्कंदैन । बजारमै बस्छ । गाउँबाट आएकाहरुसंग धान नाच्छ, जानी नजानी पालम भन्छ, लाखे पूर्णिमाका दिन हिंडेको सनके धान रोपाईं (द्वितीया) सकेर मात्र घर फर्कन्छ । त्यही जात्रालाई खर्च जुटाउन सनके घरको रोपाई छिटो सकेर छिमेकीकहाँ पनि काम सघाउँछ।
खेतीको समयमा के–के चाहिन्छ आवश्यक जोगाड बेलैमा गर्छन, डाँडा गाउँका बासिन्दा । रोपाई नसकेसम्म घरमा खाने खुवाउने कुनैपनि सामग्रीको अभाव नहोस भन्नका लागि बैशाखकै दिनमा सामान किन्छन् । अझ धेरैले त झापा झरेका बेला चामल, नून, तेल, चिनी लान्छन् । भद्रसिंको झापा झराई ‘पशुपतिको दर्शन सिद्राको व्यापार’ भने झैं हो । पहाडी भेगमा उत्पादन हुने जंगली जडीबुटीको व्यापार पनि छ उनको । व्यापारिक कारोबारका लागि झापा झरेर फर्कने बेलामा घरमा आवश्यक सामग्री लाने उनको पुरानै बानी हो । यी सामान पहाडमा नपाइने होइनन् तर तराईमा केही सस्तो हुने हुँदा दुईचार महिनाका लागि सौदा लान्छन् ।
एसएलसी पास गरेर पढ्नका लागि भद्रसिंकी छोेरी रिता विर्तामोड डेरामा बस्न थाल्छे। भद्रसिं र जानुकाकी एकमात्र छोरी हो ऊ। रिताका दाजु विमल पढाईकै शिलशिलामा लगभग पाँचबर्ष अघिदेखि यु. के.मा छन् । रिता पनि विर्तामोड बस्न थालेको दुईवर्ष पुग्यो । एसएलसी पास गरेर कक्षा ११ र १२ को पढाइका लागि झापा आएकी उनले दुई वर्षे कोर्ष पुरा गरिसकिन् ।
छोरीको अध्ययनका लागि कुनै अभाव हुन दिएका छैनन् जानुका र भद्रसिंले । अझ बाबुलाई छलेर पनि जानुकाले खर्च पठाइदिन्छिन् बेलाबेला । त्यसो त भद्रसिं पनि छोरीले पैसा चाहियो भनेपछि पठाइदिइ हाल्छन् । ब्यापारका शिलशिलामा विर्तामोड आएकै बेला पनि छोरीलाई बाटैमा बोलाएर खर्च दिएरै फर्कन्छन् । छोरीको पढाइ कस्तो छ ? पासफेल के भई ? भद्रसिंलाई थाहा छैन । कहिले काहीं फोन गरेर रिताको पढाइबारे सोध्छन् भद्रसिं । बुबाको सोधाईमा– रिताको जवाफ ठिकै छ। भेटमा होस वा फोनमा बाबु–छोरीबीच पढाइबारे कुरा त्यही हो। स्कूलमा पढाइ राम्रै भएको रिताको छाप बाबुआमामा ताजै छ । सोही अनुसारको छोरीमाथिको विश्वास छँदैछ । किनकी कक्षा दशसम्म ताप्लेजुङ सदरमुकाममा रहेको स्कुलमा अध्ययन गर्दा रिताको बानी–व्यहोरा र पढाईले गुरुदेखि गाउँघरसम्मले विश्वास गरेका छन् । त्यो कुरा भद्रसिंलाई पनि राम्रो थाहा छ। गाउँमा अलि पढेलेखेकी छोरी रितामात्रै हुनाले पनि सबैको हाइ हाई थिई। ‘यसले यो गाउँलाई चिनाउँछे’ भनेर प्रसंशा गर्नेेहरु थुप्रै थिए । गाउँका सबैको आशा र भरोसा थियो रितामाथि। गुरुदेखि, साथीहरु आफन्त र गाउँले सबैको आशाको किरण बनेकी रितालाई बुबाले अविश्वास गर्ने कुरै भएन। त्यसैले त उसलाई दुईवर्षदेखि विर्तामोडमा एक्लै कोठा भाडामा बसेर उच्च शिक्षा पढ्नका लागि छाडेका छन्–सिं दम्पत्तीले।
कक्षा ११÷१२ को पढाई सकियो। जेठमा परीक्षा सकिएपछि घर जानुपर्ने समय नजिकिएको छ। घरमा गएपछि विगतमा जस्तै घरको काममा आमालाई र सनकेलाई सघाउनु रिताको दैनिकी बन्थ्यो। तर उनलाई पहाडे परिवेश मन पर्न छोडिसकेको थियो। घरमा पुगेर काममा ब्यस्त हुने कुरा सम्झन पनि मन थिएन। त्यत्तिकै विर्तामोड बस्न त ‘बुबाले पक्कै दिनुहुन्न’ भन्ने पनि रिताले बुझेकै थिइ। के गर्ने कक्षा–१२ को परीक्षा सकिएदेखि नै मनमा अनेक प्रकारका तर्कनाहरु खेल्न थालेका छन् । जेठको अन्तिम हप्ता कक्षा–१२ को परीक्षा सकिएको छ। २ वर्षसम्म पढ्दाका साथीहरुसंगको मिलन–विछोड सम्बन्धी भलाकुसारी पनि सकिएको छ। कक्षा–११÷१२ संगै पढेका साथीहरुबीच माथिल्लो तहमा भेट हुने–नहुने कुनै टुङ्गो छैन । त्यही भएर पनि परीक्षा सकेका केही दिन आपसमा भेटघाट गर्नु, रमाइलो गर्नु स्वाभाविकै थियोे । पहाडकी छोरी । सिधा ! बोल्न पनि त्यति नजान्ने ! पढाईमा तगडा, छट्याइ–फट्याई, ठट्यौली के हो स्कुल पढुन्जेल रितालाई केही थाहा थिएन। हप्तामा दुईपटक मात्र स्कूल ‘ड्रेस’ परिवर्तन गर्थी । नङपालिस, लिपिष्टिक देख्दा रिस उठ्थ्यो, लामो समय स्कूल विदा भएका बेला मावल जाँदा सानिमाहरुले लगाइदिन खोज्दा प्राकृतिक रुप नै राम्रो भन्ने गर्थी ऊ । रिताको यो भनाईले सबै छक्क पर्थे र भन्थे–‘यो पछि कस्ती हुन्छे होला ?’ चप्पल त एकजोडी भएपछि त्यो नफाटुञ्जेल अर्को लगाउदिनथी, बुबाले माया गरेर ल्याइदिएका कति जोडी जुत्ताचप्पल नलगाई साना भएर कसैलाई दिनुपरेको यथार्थ पनि थियो ।
स्वास्थ्य, शिक्षा, सडक लगायतका भौतिक सुविधा भएको झापाको विर्तामोडमा पूर्वीपहाड तथा ग्रामीण क्षेत्रका मानिसहरुको आकर्षण बढेकै कारण जनघनŒवको चाप पनि त्यतिकै बढेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ठूल्ठूला व्यापार–व्यवसायहरु यहीबाट चल्छन्। अन्तर्राष्ट्रिय व्यापारका लागि १६ किलोमिटर पूर्वमा रहेको पूर्वी नाका काँकरभिट्टा पर्छ। उक्त नाका भएर छिमेकी मुलुक भारत बंगलादेश तथा तेस्रो मुलुकसंगको व्यापारिक सम्बन्ध जोड्ने पूर्वको नाका यही नै हो। नाका भएर नै होला दिनरात नाकामा ओदोर–दोहोर चल्छ भन्छन् बुझेकाहरु। प्रशासनको आँखा छलेर निकासी गर्नुपर्ने सामान होस् या प्रशासनलाई बुझो लगाएर निकासी गर्नुपर्ने हो त्यसमा व्यापारीहरु पोख्त भइसकेका छन्। कहिले काँही बुझोमा चित्त नबुझ्दा प्रशासनले काम गरेजस्तो पनि देखाउँछ र प्रशासन भएको अनुभूति दिलाउँछ। कहिले होटलमा छापा मारेजस्तो पनि गर्छ, कहिले अवैध सामान समात्छ, कहिले सुपारी, कहिले अम्लिसो, कहिले कपडा यस्तै–यस्तै। त्यसै भएर पनि होला काँकरभिट्टामा बस्न व्यापारीहरु त्यति सुरक्षित ठान्दैनन्। सिमानामा खुलेका किसिम–किसिमका होटल छोडेर बासका लागि विर्तामोड नै आइपुग्छन्। पहाडे जडीबुटीको व्यापार गर्ने भद्रसिं पनि बास बस्नुपर्दा सिमानाकाको काम सिध्याएर विर्तामोडका होटलमा नै आइपुग्थे ।
पढ्ने सुविधाका लागि विर्तामोड आएकी रितालाई पनि विर्तामोडको हावाले छोइसकेको थियो। यहाँ हुने हरेक प्रकारका व्यापारहरुबारे बुझ्न थालिकसेकी थिइ । ११ कक्षा पढुञ्जेल उसको पढाइ राम्रै भएपनि कक्षा–१२ मा निकै विग्रिसकेको थियो । पढाइमा भन्दा अन्तै मन जान थालिसकेको थियो । दिनहुँ फेसनेवल लुगा परिवर्तन गर्ने, नयाँ–नयाँ साथी बनाउने र नयाँ–नयाँ ठाउँ घुम्न जाने, होटल–रेस्टुरेन्ट परिवर्तन गरेर नयाँ–नयाँ स्वाद लिने बानी परिसकेको थियो । कक्षा–१२ को परीक्षा सकिनेवित्तिकै बुबा–आमाले घर आउन भने पनि त्यो उसलाई स्वीकार्य भएन । सिप सिक्ने बहाना बनाएर त्यसलाई अस्वीकार गरिदिई उसले । रितामात्रै होइन, स्वास्थ्य, शिक्षा, सडक, व्यापार–व्यवसाय आदिको सहजताका लागि विर्तामोड छिर्नेहरुको लर्को बर्षेनी बढ्ने गरेको छ। त्यही भिडमा रिताले पनि आफूलाई उभ्याएकी थिई । बुबा आमाकी प्यारी छोरी उसलाई केहीको अभाव थिएन। उनीहरुले दुःखै गरेर पनि सारा आवश्यकताहरु पूरा गरिदिएका थिए । तर बद्लिएको फेसन र उच्च जीवनशैलीले बुबाआमाले पढ्नका लागि पठाएको खर्चले रिताको दैनिकी धान्न छोडेको थियो । उसलाई परिश्रम नै नगरी पैैसा कमाउने र रामरौसमा खर्च गर्ने रहर जाग्न थालेको थियो। ऊ परिश्रम नगरी सहज पैसा आर्जन गर्ने बाटो खोज्न थालेकी थिई ।
पढाई पनि सकिएका कारण यसवर्षको असार १५ मनाउन अर्थात दही चिउरा खान भद्रसिंले रितालाई घरैमा बोलाए । तर, व्युटी पार्लर सिक्न शुरु गरेको भन्दै घर फर्कन अस्वीकार गरिदिई । बरु पार्लर सिक्दा निकै खर्च लाग्ने भन्दै बुबालाई पैसा पठाइमागी उसले । घर बोलाउँदा आउँदिन भनेपछि खिन्न हुँदै फोन राखे भद्रसिंले । बाबु खिन्न भएको बुझेकी रितालाई पैसा आउने हो कि नआउने हो भन्ने चिन्ता भइरह्यो । तर, उसले बुबाको आग्रहलाई ढाँटेर उडाए पनि भद्रसिंले भनेजति पैसा भोलीपल्टै पठाइदिए । छोरीले विर्तामोडमा नै पार्लर सिकेकोप्रति आमा जानुका चाहीं सहमत थिइनन् । उनले पैसा नपठाइ छोरीलाई घरैमा बोलाउन आग्रह पनि गरिन पतिलाई । ताप्लेजुङमै प्रशस्त व्युटिपार्लरहरु खुलिसकेको भन्दै जानुकाले घरैमा बसेर छोरीले सिप सिक्न सक्ने तर्क समेत गरिन् । तर, सिप सिकेर आफ्नै खुट्टामा उभिन्छु भन्ने छोरीको कुरा ठिकै लाग्यो भद्रसिंलाई । सिप सिक्न थालिसकेकी छोरीलाई त्यहाँबाट छुटाउनु भन्दा पैसा पठाउनु नै मनासिव लाग्यो क्यारे भद्रसिंलाई। जानुकाको भनाई पनि भद्रसिंलाई ठिक नलागेको होइन, तर छोरीको मागलाई पनि काट्न सकेनन् ।
दुई वर्ष विर्तामोड बस्दा रितामा धेरै परिवर्तन आएको थियो। ११ बजे कलेजबाट आएपछि कसले बोलाउँछ÷कुन होटलबाट फोन आउँछ, मोवाइल कुरेर बस्न थालेकी थिई। कोठामा संगै बस्ने पाँचथर भारपाकी साथी मनिताको बसाईको पनि कुनै टुङ्गो हुँदैनथ्यो । ऊ निकै चल्तीकी यौन व्यवसायी । उसैको संगतले रितालाई पनि फोन कुर्ने अर्थात श्रम नै नगरी पैसा कमाउने बाटो पहिल्याउन सहज भएको थियो । बुबाले रितालाई कोठामा एक्लै बस्नु भनेका थिए । तर कलेजमा मिल्ने साथी मनितालाई साथी बनाएकी थिई रिताले ।
भाडामा कोठा लिएर बसेको । घरधनीले पनि धेरै याद ग¥यो र सोध्यो भने पैसा तिरेर बसेको त हो नी, त्यसै बसेको हो र ? भन्ने ठाडो जवाफ दिन्थ्यौं । टाढा भएका बुबा–आमा अन्जान थिए । घरधनीलाई पनि त्यसो भनेपछि रिता स्वतन्त्र पक्षी झैं भई ।
एसएलसीको पढाईसम्म घुँडा देखिने कपडा लगाउन नमान्ने रिताको लवज छोटिएको छ। नाम पनि परिवर्तन भएर रिस्तामा परिणत भएको छ। तिघ्रा देखिने कपडा नलगाए चित्तै बुझ्दैन । कलेजको समय भन्दा अघिपछि आङमा लामो कपडा पर्न छोडेको छ। मनिताको संगतले रिता पनि यौन व्यवसायमा छिरिसकेकी छे । उसका व्यवसायिक साथीहरु नै धेरै छन् । शुरु–शुरुमा यो व्यवसायमा मनिता, रिताजस्ता दुईचार जनामात्र थिए । कमाई पनि राम्रै थियो । तर, पछिल्लो समय यसमा पनि भिड बढ्दै गएको छ। गज्जव रहेछ यो व्यवसाय न त लगानी छ न त परिश्रम नै । रमाइलो व्यापार। अघिपछि रमाइलै भएपनि प्रशासनले कहिलेकाँही दिने शास्तीबाट भने अलि चिन्ता लाग्ने गरेको छ रिस्तालाई । प्रशासनको दवावकै क्रममा घर–परिवार र आफन्तले थाहा पाउलान् की भनेर झस्किन्छे कहिलेकाहीं ।
विर्तामोडसहित देशका विभिन्न शहर तथा गाउँमै खोलिएका कतिपय होटलले आ–आफ्नै तरिकाले यौनकर्मी सम्पर्कमा राखेका छन् । पहिलेपहिले राजमार्गका होटलतिर बढी हुने यौन धन्दा समय बित्दै जाँदा ठूलोदेखि साना छाप्रे होटलसम्म फैलिएको छ। शायद यौनलाई शारीरिक आवश्यकताका रुपमा लिने खुल्लापन बढेर हो वा पश्चिमा चलनको प्रभावले।
विद्यालयमा नै स्वास्थ्य शिक्षा लिएर पढेको पढाइले रितालाई निकै सहज बनाएको छ व्यवायिक क्षेत्रमा। यौन के हो ? भन्नेबारे जानकार छन् उनी। त्यसबाट बच्ने उपाय सम्बन्धी पनि धेरथोर जानकारी छ । त्यसैले त होटलका सम्पर्कमा रहन्छिन् । विहान, दिउँसो वा बेलुका जतिबेला भने पनि उनी हाजिर हुन्छिन् । पसलेले उनको यौवनलाई सहज आयस्रोतको माध्यम मात्रै बनाएको छैन, उनलाई पनि पर्याप्त पैसा दिएर आकर्षण गरेको छ। ग्राहकलाई दिने सेवाका कारण पनि उनी त्यस क्षेत्रमा निकै चर्चित छन् ।
पहाडबाट झरेको दुइवर्ष भएपनि वर्षौदेखि खाएको पहाडको पानी अझै सकिएको छैन शरीरमा । गोरो वर्ण सलक्क परेको केशराशी, मृगका जस्ता आँखा, अग्लो कद, शारीरिक बनोट नै लोभ लाग्दो छ। त्यसैले पनि होटलवाला र ग्राहकले बढी रुचाउँन थालेका छन्–उनको जवानीलाई।
उता पहाडमा धान रोपाइ सकियो । धान रोप्नुअघि खेतका पाकेका मकै भाँचेर त्यतिकै थुपारेका थिए । त्यो पनि नङ्ग्याउने तथा झुत्याएर थाङ्ग्रामा राखिसके । एकदुई गरामा कोदो रोप्नुपर्ने त्यो पनि सकियो । धान सँगसँगै दाल छरेर छिट्टै काम सके । भद्रसिंलाई तराई झर्ने हतारो छ, त्यसैले पनि हतार–हतार घरको थान्कोमुन्को सकेका हुन् ।
आमा जानुकाको छोरीसंग भेट नभएको लामो समय भइसकेको छ। आफू आउन नपाएपनि छोरीलाई मनपर्ने सामान पठाइदिने तयारी गर्दैछिन् । जानुकाले छोरीलाई मनपर्ने असारे आरुदेखि आल्चा, आँपको अचार, धुले अचार, घिउ लगायतका सामान भद्रसिंका झोलामा हालीसकेकी छन् । किन कि भद्रसिं पनि भोली झापा जाने तयारीमा जुटेका छन् । लेकाली भेगका किसानले संकलन गरेर ल्याएको चिराइतो खरिद गरेर झापामा ल्याई गोदाममा थन्क्याएको लामो समय वितिसकेको छ। नकेलाई राखेका कारण अन्य झार–पातले गर्दा मूल्यवान चिराइतो कुहिएर कौडीको मूल्यमा पुग्ला कि भन्ने ठूलो चिन्ता छ। गोदाममा थुपारेको चिराइतोलाई मजदुर लगाएर केलाउने र निकासीको प्रबन्ध समेत मिलाउनुपर्ने हुँदा भद्रसिं केहीदिन बस्नैपर्ने छ यसपटक ।
विहान ४ बजेको ताप्लेजुङबाट झापाको विर्तामोड आउने बसमा टिकट काटेको अघिल्लै दिन भद्रसिंले श्रीमति जानुकालाई जानकारी गराइसकेका थिए । सोही अनुसार जानुकाले विहान चाँडै उठेर चिया–खाजाको बन्दोबस्त मिलाइन् । खाजा खाँदै गर्दा झोलामा छोरीका लागि पठाएका सामानबारे पतिलाई जानकारी गराइन। माथि बाटामा गाडीको हर्न बज्यो । सनकेले झोला बोक्यो । भद्रसिंका घर नजिकै छ–राजमार्ग । सनकेले झोला बोक्यो, जानुका पनि पतिलाई छाड्न बाटासम्म आइन् । केही क्षणमै गाडी आइपुग्यो । भद्रसिं बसमा चढे । श्रीमती र सनकेलाई हात हल्लाएर विदाइ गर्न नभ्याउँदै गाडीले हुँइकिएर घुम्तीमा पुगिसकेको छ ।
दिउँसोको ३ नबज्दै विर्तामोड बसपार्क आएपुगे भद्रसिं । बाटैबाट फोन गरेर छोरीलाई बसपार्क आउन भनिसकेका थिए । बुबाको आज्ञा अनुसार रिश्ता बसपार्क पुगी तर, अलि ढिलो गरेर। त्यहाँ पुग्दा भद्रसिं अघि नै आएर छोरीको बाटो कुर्दै बसिरहेका थिए । बाबुछोरीबीच सामान्य भलाकुसारी र खबरखाबर आदान–प्रदान भयो । जानुकाले छोरीलाई पठाइदिएको सामान झिकेर दिए भद्रसिंले । कोठामा बसेकी छोरीको कोठामा जान पनि चाहेनन् उनले ।उनले छोरीलाई केही खर्च समेत दिएर विदा गरे ।
दिनभर गाडीको यात्राले थकान महसुस भइरहेको थियो भद्रसिंलाइ। जाडो ठाउँबाट एक्कासी गर्मीमा प्रवेश गर्दा जीऊ थकित भएको थियो। त्यसैले आराम गर्न बसपार्ककै एक होटलभित्र पसे, जहाँ लजको पनि सुविधा थियो । यो उनको झापा आउँदा बस्ने पुरानै ठाउँ हो । पुरानै ग्राहक भएकोले होटलवालाले भद्रसिंको चाहना अनुसारको तीनतला माथिको कोठाको प्रबन्ध मिलाए । १० घण्टा लामो पट्यार लाग्दो बसाईले बोधो भएको जीउ फ्रेस गराउन नुहाए र केही अनन्य साथीहरुलाई त्यहीं बोलाएर भेटघाट तथा खानपिनतर्फ लागे । राती अवेरसम्म खानपानमा रमाइलो गरेपछि साथीहरुलाई विदा गर्दै आफूपनि विस्तारामा पल्टिए ।
भोलीपल्ट विहानै उठेर चिराइतो गोदामतर्फ हान्निए । अध्यारो हावा कहींबाट नपस्ने कोठामा थुनेर राखिएको चिराइतो परै ढुसी गन्हाउने भएको थियो । भद्रसिं झस्किए कुहियो कि क्या हो ? भन्ने त्रास पनि बढ्यो । त्यसपछि उनी लागे चिराइतो केलाउने मजदुर खोज्न । भोलीपल्टदेखि काम गर्ने ५ जना मजदुरको बन्दोबस्ती गरेर फर्किए उनी । विहानदेखि खाना नै नखाइ खाजाका भरमा बसेका भद्रसिंले काउन्टरकै अगाडि बसेर मासु–रक्सी खाए । रात परी सकेको थियो । अनि एउटा शिखर चुरोट तान्दै रातिका लागि माल (केटी) मगाइदिन होटलवालालाई आग्रह गरेर कोठातर्फ लागे ।
बसपार्कमा व्यवसाय सञ्चालन गरेर अभ्यस्त भएको होटलवालालाई ‘माल’को भाषा बुझ्न कठिन थिएन। भद्रसिंको बोली भुँईमा खसी नसक्दै होटल साहुले फोन नम्बर डायल गरी हाले । र भने रिश्ता हो ? ल आज बेलुका यहाँ आउनुप¥यो । ग्राहक छन् । होटलवालाको फोन अनुसार बेलुका ८ बजेतिर रिश्ता होटलमा पुगी । अनुहार ‘फुल मेकअप’ ले सजिएको थियो । शरीरमा कलेज ड्रेस र काँधमा कलेज ब्याग (झोला) । रिताको यौन व्यवसायमा फेरिएको नाम थियो–‘रिस्ता’ । टकटक गर्दै होटलमा पुगेकी रिश्ताले काउन्टरमा एकछिन् उभिई । त्यो पछि टेवलमा बसी । केही हार्ड ड्रिङ्सका साथमा चुरोट पनि तानी । रिस्तालाई होटलवालाले रुम नम्बर संकेत गरिसकेको थियो । जहाँ भद्रसिं बसेका थिए । नौ बजेपछि विर्तामोडका होटलमा बाहिरका सटर बन्द हुन्छन् । भित्र जे–जे भएपनि ।
टक–टक हिंडेको आवाज आयो । भद्रसिं रोमान्टिक मुडमा पुगिसकेका थिए । केही क्षणमै आफ्नै कोठाको ढोका ढकढक गरेको आवाज सुनेपछि ओछ्यानमा पल्टिएका भद्रसिंले जुरुक्क उठेर कोठाको ढोका खोले र पुनः ओछ्यानमै पल्टिहाले । ढोकातिर अध्यारो भाग भएपनि भित्र कोठा उज्यालो थियो । यतिञ्जेल न त भद्रसिंले रिश्ताको अनुहार देखे न त रिश्ताले नै । रिस्तालाई पनि ग्राहक खुशी पारेर बढीभन्दा बढी पारिश्रमिक लिने तिब्र इच्छा थियो भने भद्रसिं पनि निकै महिनापछि घर बाहिर हिंडेका, रमाइलो गर्ने मक्सजमा पछाडिबाटै नियाल्दैछन् । रमाइलो गर्ने तरिकाबारे सोच्दैछन् । कस्ती होली रातभर आफूसंगै रोमान्समा सहभागी हुने पार्टनर भन्ने कौतुहलता पनि थियो । कोठाभित्र छिरेकी युवतीलाई देखेपछि होटलवालालाई मनमनै धन्यवाद दिए भद्रसिंले।
कपडा फेरिसकेर रिस्ता हतार–हतार भद्रसिं पल्टिएको खाटमा गएर बसिन् । श्रृङ्गारले बदलिएको रिस्ताको रुपको भद्रसिंलाई ख्यालै भएन । ढोकाभित्र छिरेसंगै विकिनीमा लुटपुटिन पुगेकी युवतीको स्पर्शले भद्रसिं झन उत्तेजित हुँदै गए । रिस्तालाई नशालु नजरले अंगालोमा बरेर सुम्सुम्याइरहे । साथमा चुरोट र रक्सीले उनको जोसलाई अझ हौस्याइरहेको थियो । तर रोमान्सको अन्तिम सिमानामा पुग्दा भद्रसिंको अनुहारमा सिधा आँखा जुधाएकी रिस्ता एक्कासी डाको छोडेर रुन थाली । नसामा डुबेका भद्रसिंले पहिले छोरीलाई चिनेकी चिनेनन् । तर, चिच्याहटसहितको रुवाईले झस्काएर पछाडि फर्किन बाध्य बनायो । धेरै बेरको सन्नाटापछि भद्रसिंका बाबु–छोरी त्यही अंगालो हालेर रुवाबासी गरे । केही बेर एक्ला एक्लै बसेर सोच्न थाले। एवम् क्रम दोहोरियो । रात त्यत्तिकै वित्यो । विहान सखारै बाबु छोरीबीच आगामी दिनमा यस्ता कार्य नदोहो¥याउने बाचा गर्दै कसैलाई नभन्ने सम्झौता गरे ।
मकवानपुर । मकवानपुरे साहित्यकार आरसी रिजालको हास्यव्यङ्ग्य निबन्ध संग्रह सार्वजनिक गरिएको छ । प्रमुख अतिथि साहित्यकार विवश पोखरेल, विशिष्ट अतिथि उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश शेषराज शिवकोटी, साहित्यकार धनराज गिरीलगायतले रिजालको हास्यव्यङ्ग्य निबन्ध संग्रह ‘को वरिष्ठ’को सार्वजनिकीकरण गरेका हुन् ।
कार्यक्रममा व्यङ्ग्यकार राजकुमार लामिछानेले सार्वजनिक गरिएको रिजालको कृति सामाजिक सन्देशमूल रहेको बताउनुभयो । समाजको बेथिति र विसङ्गतिमाथि ‘को वरिष्ठ’ले बेजोडरुपमा प्रहार गर्ने र पाठकले सजिलै बुझ्न सकिने भाषाको प्रयोग गरिएको लामिछानेको भनाई थियो ।
साहित्यकार निरा शर्माले कथात्मक शैलीकाे निबन्ध हास्यव्यङ्ग्यमार्फत कृति लेखिएको बताइन्। राजनितिको घटना, सामाजिक घटना र व्यक्तिहरुको प्रत्यक्षरुपमा आलोचना गर्न नसकिने स्थितिमा व्यङ्ग्य लेखनले साहित्यको माध्यमबाट उजगार गर्न सहयोग पुर्याएको शर्माले बताइन् ।
११० पृष्ठ रहेको कृतिमा कथात्मक सामूहिक चेत, लघुकथाजस्ता विषयवस्तुले व्यक्तिको धारणमा परिवर्तन ल्याउने बताइएको छ । नेपाल परनिर्भर बनेको अवस्थामा नेपालमै युवाले परिश्रम गरी जीविकोपार्जन साथै सरकारले युवाको संरक्षण गर्न सक्छ भन्ने विषय सार्वजनिक कृतिमा समावेश गरिएको छ । कृतिमा आमाको बिलौना, राजनीतिक विसङ्गति, मानवीय समवेदना हराएको र धर्मशास्त्रलगायत विषयलाई कथात्मक शैलीमा निबन्धको माध्यममार्फत् उखान–टुक्का प्रयोग गरिएको छ ।
सार्वजनिक कृतिमाथि साहित्यकार सुवास खनालले समीक्षा गरेका थिए। ‘पाठकीय टिप्पणीका रुपमा मात्र आफ्नो टिप्पणी रहेको छ’ उनले भने– ‘हास्यव्यङ्ग्यकार रिजाल आफ्नै शैली र गतिमा हिँड्ने व्यक्ति हुनुहुन्छ ।
आँचल साहित्य कला पुञ्चका अध्यक्ष अनिता न्योपानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा साहित्यकार पोखरेल प्रमुख आतिथ्यता, साहित्य संगम मकवानपुरका अध्यक्ष निमेश निखिलको अध्यक्षतामा भएको थियाे ।
- प्रभा पोख्रेल
१.
दबायाै मेरा आवाजहरू, अनि धुन हुने माैका पाएँ
यात्रा अलिनाे तिमीसँग, अहिले नुन हुने माैका पाएँ
सलाम छ तिम्राे चाहानालाइ ,म खरानी भएकाे हेर्ने
तिमीले आगाे लायाै,मैले नम्बरी सुन हुने माैका पाएँ ।
२.
दुख्छ छाती गरिबीले,देखाउँनलाई घाउ छैन
श्रम बेचेर खान पाउँ म ,अरू कुनै दाउ छैन
याेग्यताकाे छैन कदर ,ठाउँमा मान्छे नहुनेकाे
मृगौला बिक्छ देशमा,प्रमाणपत्रको भाउ छैन ।
३.
छाडि यादका ठेलीहरू, आफू नेटाे काटि गयाै
मलाई त्यान्द्राे नछाेडेर, तिमी डाेरी बाटि गयाै
शान्त मनकाे तलाउमा, बेइमानीकाे पत्थर हानी
देखाइ चिता डाेली भनि ,गज्जबले ढाँटी गयाै ।
४.
जानेलाई बिदाइकाे हात ,स्वागत आउनेलाई
छाेड्नेलाइ पछुताे झैं ,घमन्ड हाेस् पाउनेलाई
सिउँदाेभरी फुलिदिने सर्त ,स्वीकार गर्छाै भने
जीवन धितो राखि दिन्छु,चाेखाे प्रीत लाउनेलाई ।
५.
फूलै फूलकाे बहार हुन्छ,बगैँचा र माली हुदैन
हुन्छ अबिर सल्किन्छ धूप,तर पूजा थाली हुदैन
तिम्रै सामु लान्छ मलाई ,खरानी र धुवाँ बनाइ
मृत्यु शाश्वत सत्य हुन्छ ,तिमी जस्ताे जाली हुदैन ।
६.
नेताहरू भाेट्काे भिख,माग्दै आउँछन् नाेट गनेर
भ्रष्टाचारी माथि नजाउन् ,अब हाम्राे भाेट गनेर
विवेकले गराैं न काम,बिकाउ के लाई हुनुपर्याे
एउटा गलत निर्णयले ,बस्नु पर्ला चाेट गनेर ।
७.
हृदय भरी ममता सजाई,प्रीत बनी आयाै तिमी
प्यारकाे मिठाे सरगम घाेली,गीत बनी आयाै तिमी
साेचेकी थिएँ मृत्यु राेजेर,जिन्दगीसँग माफी मागाैं
जीवन ओइलाई झर्नै लाग्दा,शीत बनी आयाै तिमी ।
८.
जिन्दगीकाे सागर तर्न प्रेमकाे ,डुङ्गा भए पुग्छ
मनकाे बागमा तिम्रै नामकाे,एकै थुङ्गा भए पुग्छ
गरे पनि दर्शन धामकाे ,तिमी मेरो मनकाे देउता
तिमी भित्रै पाउँछु ईश्वर,पूज्न ढुङ्गा भए पुग्छ ।
९.
छैन मुस्कान यी ओठमा,पीरमा छु अचेल
मुटु काम्ने छाँगाे भएको ,भीरमा छु अचेल
तिमी गयाै खाेलासँगै,एकतर्फी बाटाे लागि
पर्खाइमा त्यही खाेलाकाे,तिरमा छु अचेल ।
१०.
चढ्याे नसा तनैभरी,प्यारकाे मिठाे मात हाम्राे
कहिले अन्त्य नहुने झन् ,कस्ताे बात हाम्राे
तिम्राे साथ पाए देखि,चाेखाे माया लाए देखि
जान्छ पलमै दिन अनि,छाेटाे भाछ रात हाम्राे ।
११.
धन दौलत हातको मैला ,तिम्रो साथ लाखै प्यारो
देखावटी छैन पनमा, तिमी मलाई साखै प्यारो
मूल्य हुन्छ हिरा मोतीको,तिमी अनमोल छौ प्रिय
चाहा छैन खासै स्वर्गको,मलाई तिम्रो काखै प्यारो ।
१२.
राती राती सपनीमा,किन आउँछाै भेट्नलाई
किन खाेज्छाै थाहा भएन,फेरी घाउ रेट्नलाई
संझनाकाे ज्वारभाटा ,छचल्किन्छ आँखैभरी
औषधीकाे खाेजीमा छु, तिम्राे याद मेट्नलाई ।
१३.
हामी दुइले सजाएकाे ,प्रेमको सानाे शहर थियाे
त्यहि शहरमा सँगै बस्ने ,कस्ताे मिठाे रहर थियाे
तिम्राे न्यानाे स्पर्शले,तिमी भित्रै समाहित हुँदा पनि
लाजले नजर तल पारी ,लजाएकाे प्रहर थियाे ।
१४.
सुनकाे पनि छैन चाहा ,मलाइ नुन भए पुग्छ
चाहिंदैन झिलिमिली,दियालाे र जून भए पुग्छ!!
देखासिकी मन पर्दैन,म त आफ्नै तालकाे मान्छे
महङ्गाे नि चाहिंदैन ,लाज ढाक्ने ऊन भए पुग्छ ।
१५.
संघर्षकाे तिम्राे कथा लेख्न सक्ने,कलम खाेज्छु आमा
एउटा कलम किन्न सकुँ त्यस्ताे, इलम खाेज्छु आमा
धर्ती बनी सहिरहन्छाै कहिले सम्म ,बचनकाे घाउ
चट्टै बिसेक हुने तिम्राे घाउकाे ,मलम खाेज्छु आमा
भक्तपुर
- एलएन शरद
१.
गर्न जाने त्यै मायाले नै खास बनाउँछ
अनुपम मिलनकाे आभास बनाउँछ
एक अर्कामा कतै विश्वास टुट्याे भने
त्यसैलेैनै जीवनकाे वनिवास बनाउँछ ।
२.
के गर्दै हुनुहुन्छ? भनेर सवाल नसाेध
कस्ताे बुन्नुभयाे? त्याे प्रेमजाल नसाेध
भराेसा गरेकै मान्छेबाट घात हुँदाखेरी
कस्ताे हुँदाे रहेछ जीवनकाे हाल नसाेध ।
३.
पेशा अनुसारकाे आम्दानी फरक हुन्छ
प्रत्येक घर घरकाेनि कहानी फरक हुन्छ
एउटै हातका अाैलानी बराबर नभए झैं
मान्छे अनुसारकाे पनि बानी फरक हुन्छ ।
४.
जुर्नुपर्छ भन्छन् कसैलाई माया लाउन पनि
स्वर नै राम्राे हुनुपर्छ सुन्दर गीत गाउन पनि
काँढाले त फूलकाे आश गर्नु बेकार हुन्छ
भरपुरनै माया दिनुपर्छ है माया पाउन पनि ।
५.
तारा चम्किन आकाशमा जून हुनुपर्छ
स्वाद आउननि तरकारीमा नुन हुनुपर्छ
रुपले मात्र के गर्नु र त्याे चाट्न मिल्दैन
सबैकाे प्रीय बन्न त असल गुण हुनुपर्छ।
६.
जिन्दगीमा एउटा यस्ताे मान्छे सवार भैदिन्छ
नजर नजर जुधेर एकअर्कामा प्यार भैदिन्छ
सुख अनि दुख्ख एकअर्कामा साटासाट गर्दै
जिन्दगीनै जिँउने अचम्मकाे त्याे सार भैदिन्छ।
७.
थाहा छैन म यहाँ जितमा छु कि हारमा छु
धेरै दिनदेखि त्यसैले हाेला म दाेधारमा छु
जसले मलाई मिलनकाे त्याे सपना देखायाे
हाे धेरै दिनदेखि त्यै मायाकाे ईन्तजारमा छु।
८.
दुईचार पैसा केहि कमाउदैमा खाेक्ने नगर
दुःख पिडा पनि जाे काेहिसँग पाेख्ने नगर
पैसाले कहिल्यै सच्चा प्रेम किन्न सकिदैन
मायाप्रेमलाई धनसम्पत्तिसँग जाेख्ने नगर ।
९.
तिम्राे प्यार अनि मेराे प्यार मिसाउनु पर्छ
सुख र दुःख एकअर्कालाई बिसाउनु पर्छ
गुलावकाे महत्व पनि काँढाले झल्काए झैँ
माया मिठाे हुन कहिलेकाँही रिसाउनु पर्छ ।
१०.
बिगार्न जस्ताे सजिलाेत कहिल्यै बनाउन हुँदैन
गुमाउन सजिलाे हुन्छ तर पाउन सजिलाे हुँदैन
नचाहेकाे चिज नै बरु सजिलै प्राप्त हुन सक्ला
मन परेकाे मायालु मनाउन त्यति सजिलाे हुँदैन ।
११.
ताजा भन्दा त बासी दूधमानै तर धेरै हुन्छ
अप्ठ्याराे पर्दा सच्चा मित्रकाे भर धेरै हुन्छ
जवानी छँदा सम्म याे नभए त्याे भन्ने हुन्छ
बुढेसकालमा प्रेमबिछाेडकाे असर धेरै हुन्छ ।
१२.
नजिकै हुँदानि कसैसँग माया टाढा बनिदिन्छ
कसैसँगकाे माया बिझाउने काँढा बनिदिन्छ
याे मायाप्रेम भन्ने चिज पनि अचम्मकाे रहेछ
कसैसँग भने माया अनायासै गाढा बनिदिन्छ ।
१३.
पुल भएकै नदीमा नै नाउ लाग्छ
हुनेलाई नैत यहाँ सँधै दाउ लाग्छ
गरीबले त कहिले अबसर पाँउदैन
उसलाई सँधै अभावकाे घाउ लाग्छ ।
१४.
तिम्रै त्याे परेलीकाे डिलमा बस्ने धाेकाे छ
तिम्रै मन मुटु भित्रनै मलाई पस्ने धाेकाे छ
कुनेै पनि दुस्मनहरुले चुँडाउन नसक्ने गरि
प्रेमकाे डाेरीले नै तिमीलाई कस्ने धाेकाे छ ।
१५.
अवसरपनि घरिघरि आँउदैन नचुकाउनुस्
आँशु झर्न दिनुस आँखाबाट नसुकाउनुस्
बरुसँधै सिठाेपठाे खानुस् आफ्नै मेहेनतले
शत्रुकाे अगाडि कहिल्यै नि शिर नझुकाउनुस् ।