१.
सधै आउने तिम्रो यादले मष्तिक जाम छ
कैले नमेटीने मन मुटु मा उनकै नाम छ
जति भुल्न खोजे पनि भुल्न मैले सकिन
दिल भित्र कोरिएको तिम्रै शब्दको खाम छ ।
२.
मठ मन्दिर धाएर के भाक्छन् मान्छे
अमुक मुर्ति पुजा गरि के माग्छन् मान्छे
जिउँदा देवता घरमा छन् भनी जान्दैनन् ती
जन्मदिने बावु आमा धर्मशालामा फ्याक्छन् मान्छे ।
३.
बोकेर सपना अधेरी रात टोलाँउछ!
अतालिदै मसंग मेरो साथ टोलाउँछ !!
भोलिको खुसि हेर्ने आशमा बस्दाबस्दै!
अाज अाफुसंग आफ्नै बात टोलाउँछ !!
४.
बिदेसिए घर देशको माया मुटुमा बोकेर युवा
देश छोडी दुखि हुँदै आँखामा आँशु रोकेर युवा
बिकाश रोजगार छैन देशमा नाना खाना नपुगेर
अर्काको देशमा रगत पसिना पैसामा जोखेर युवा
५.
घाईते तक्दिरको के कुरा छर गरौ
पिडाले जल्ने मुटुको के भर गरौं
चोटले कति मरे कति, मर्ने ठॉऊ छैन
यो झुटो संसारमा बॉच्ने के रहर गरौ ।
६.
मेरो सामु अब नआउ फेरि तिमी
दुखेको मन छ नदुखाउ फेरि तिमी
जिउँदो लास जस्तै बनेको छ जीवन
अदृश्य छाँया बनि नछाउ फेरि तिमी ।
७.
कोभिड १९ ले पनि संसारलाई कारागारमा पारिदियो
आफ्नै परिवार,नाता ,साथि पनि वारपारमा पारिदियो
कोरोना कोराोना भन्दै कति मैना कति वर्ष बस्ने हो
अनेक नाम लिदै लकडाउनको हाहाकारमा पारिदियो ।
चितवन भरतपुर ।।
हाल अमेरिका न्युयोर्क
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले शनिबार विभिन्न विधाका १० जना साहित्यकारलाई सम्मानित तथा पुरस्कृत गरेको छ । सङ्गमको गत चैत ७ गतेको कार्यसमिति बैठकले सम्मान/पुरस्कारको लागि साहित्यकारको छनौट गरेको थियो । हेटौंडा–४ स्थित पुष्पलाल स्मृति पुस्तकालयको प्राङ्गणमा एक कार्यक्रमकाबीच विभिन्न व्यक्ति तथा संघसंस्थाले स्थापना गरेको विधागत पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
सङ्गमले गोपालप्रसाद रिमाल स्मृति सम्मान नाटककार गोपाल पराजुलीलाई प्रदान गरेको छ । नगद २० हजार रुपैयाँसहित उनलाई सम्मान गरिएको हो । यो सम्मान नाटककार साहित्यकार गोपालप्रसाद रिमालको स्मृतिमा उनको परिवारले स्थापना गरेकाे हाे । मकवानपुर साहित्य श्री सम्मान अप्सरा तिम्सिना लम्साललाई मरणोपरान्त प्रदान गरिएको छ । १५ हजार ५ सय ५५ रुपैयाँ तिम्सिनाको सम्मान उनको परिवारलाई प्रदान गरिएको थियो । उनले साहित्य संगमको उपाध्यक्ष र आँचल साहित्य कला पुञ्ज मकवानपुरको संस्थापक उपाध्यक्ष र अध्यक्ष पदमा रहेर काम गरेकी थिइन् ।
यस्तै आर्दश टोल विकास संस्था हेटौंडा–१० ले स्थापना गरेको पारिजात स्मृति सम्मानबाट डा. अरुणा उप्रेती सम्मानित भएकी छन् । नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित उप्रेतीलाई सम्मानपत्र प्रदान गरिएको थियो । भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार् व्यङ्ग्यकार गणेश लाठले प्राप्त गरेका छन् । उनलाई सम्मानपत्रसहित २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो । व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा उनको परिवारले यो सम्मान स्थापना गरेका हुन् ।
श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यङ्ग्यकार आरसी रिजालले प्राप्त गरेका छन् । रिजाललाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मानित गरिएको संगमका सचिव डीबी बर्तौलाले जानकारी दिए । यो सम्मान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको हो । यस्तै यस्तै नगद १० हजार राशीको सुभद्रादेवी मदन मुडवरी स्मृति सम्मान साहित्यकार राम बर्तोला आँशु लाई प्रदान गरिएको छ । मकवानपुरको पालुङ निवासी बर्तोलालाई सम्मान गरिएको हो । हाल अमेरिका निवास मकवानपुरे साहित्यकार दीपक मुडवरीले मातापिताको स्मृतिमा यो सम्मान स्थापना गरेका हुन् ।
त्यसैगरी मंगलादेवि श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । शिक्षा तथा सािहत्यसेवी देव श्रेष्ठले माताको नाममा स्थापना गरेको उक्त सम्मानको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिएको छ । सङ्गगमका कार्यसमिति सदस्य विशाल अधिकारी आशुतोषले पिताको स्मृतिमा स्थापना गरेको यो सम्मान काठमाडौं निवासी सिग्देललाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीसहित प्रदान गरिएको हो । यो सम्मानको राशी अघिल्ला वर्षमा १० हजार रुपैयाँ रहेकोमा यसवर्षबाट वृद्धि गरिएकाे हाे ।
णकुमारी साहित्य पुरस्कार प्रशन्ना चौलागाईंलाई प्रदान गरिने भएको छ । व्यङ्ग्यकार आरसी रिजालले माताको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रहेको छ । यो पुरस्कार जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत् छात्राहरु बीच साहित्यका विभिन्न विधामा प्रतिस्प्रर्धा गराई उत्कृष्ट एकलाई प्रदान गरिदै आएको छ ।
यस्तै शेषजंग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत् छात्र उज्वल बराललाई प्रदान गरिएको छ । हेटौंडा– ८ मा रहेको चन्द्रोदय माविमा कक्षा १० मा अध्ययनरत् बराललाई २ हजार ५ सय राशीसहित यो पुरस्कार प्रदान गरिएको हो । शिक्षासेवी डण्डीजंग शाहले छोराको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । जिल्लाका माध्यमित तहमा अध्ययनरत् विद्यार्थीबीच कथा लेखन प्रतियोगिता मार्फत् उत्कृष्ट एकजनालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।
सङ्गमका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएको ३ सय ६ औं नियमित साहित्य सन्ध्या एवम् सम्मान समर्पण समारोहमा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
मकवानपुर । गीतकार तथा संगीतकार कस्तुप पन्तले आफ्नो नयाँ गीत ‘सिलौटोमा चटनी…’को भिडियो सार्वजनिक गरेका छन् ।
संगीतकार पन्तको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा गायक कलेन्द्र बिक, रामजी खाँड तथा गायिका ज्योति मगर र प्रीति आले मोडलका रूपमा उतारेका छन् । गीतमा मोडलसमेत रहेका कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीकाे स्वर सुन्न सकिन्छ भने गीतलाइ आशीष अविरलको संगीत संयोजन गरेका छन् ।
गण्डकी प्रदेशमा प्रचलित मौलिक भाका गीतमा समेटिएकाे पाउन सकिन्छ । गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् भने दर्शकलाई थप नयाँपन दिन गीतको भिडियोमा गायक र गायिकालाई अभिनय गराएको बताइएकाे छ । गीतको भिडियो सम्पादन अमृत चापागाईं र छायांकन दुर्गा पौडेलले गरेका छन् ।
१.
मरी लाने केही नभए पनि, खुट्टा तान्न सकिएन
प्राण पखेरु कहिले उड्छ, अहिल्यै जान्न सकिएन
जल्नुपर्छ खरानी भई एक दिन, त्यो पक्कै हो
तर पनि लोभी मन छ, कहिल्यै मान्न सकिएन ।
२.
होस गर है जाली झेली तिम्रै गाउँमा होलान्
फकाई फुल्याई जालमा पार्ने छद्म नाउँमा होलान्
कहिले काँही बाटो छेक्दै बस्या पनि देखे थेँ
तिम्रो हाम्रो सम्बन्धलाई फोर्ने दाउमा होलान् ।
३.
तिमी रैछयौ सुन जस्ती, म चैं पित्तल जस्तो लाग्छ
तिमी सामु सधैंभरि, रहुँ अबिचल जस्तो लाग्छ
उदास हुँदा सामु आइ, बस्न पाए फेरि कतै
तिमी छेउ गर्मी पनि, त्यसै सितल जस्तो लाग्छ ।
४.
तिमी हाँस्दा सधैं मायाँ गरौं जस्तो लाग्छ
धुम्म पर्दा महाकालीमा झरौं जस्तो लाग्छ
तिमी सङ्ग भेट गर्नै नपाउँदा भने फेरि
तिमीले थाहा नपाई बसाईं सरौं जस्तो लाग्छ ।
५.
पिर बोकी मुटुभित्र, खिल दुखाएर राखेको छु
आँशु नझारी आँखाभित्रै, लुकाएर राखेको छु
बाहिर नदेखाउँदैमा, पिडा छैन कसले भन्छ र?
अस्ति लागेको मनको घाउ, सुकाएर राखेको छु ।
६.
अस्ति भेट्दा तिमीलाई मन पराएँ भन्थ्यौ
मेरो मायाँ मुटुभित्रै दर्ता गराएँ भन्थ्यौ
छक्कै परें फोनमा हिजो उल्टो कुरा सुन्दा
विना कारण तिमीबाट अब हराएँ भन्थ्यौ ।
७.
मेरो मायाँ नपाउँदा तिमी कति रून्छ्यौ होला
कहिलेकाहीँ एकान्तमा भावुक पनि हुन्छ्यौ होला
म पनि त कल्पनामा डुबी रुन्छु कहिलेकाहीं
सारै गाह्रो हुँदा उठी मेरो फोटो छुन्छ्यौ होला ।
८.
उल्टो सुल्टो बगेको छ,भावनामा जिन्दगी
सधैं भरि अल्झेको छ, चाहनामा जिन्दगी
खुसी हुन नजानेरै, भौतारिन्छ यताउति
दुख मान्दै अडेको छ, बहानामा जिन्दगी ।
९.
तिमी भन्थ्यौ बाटैमा भारी, बिसाउनु हुन्न
माया गर्दा अविश्वासलाई, मिसाउनु हुन्न
हिजो किन नबोलेर, दिनै बिताई दियौ?
मिलन हुँदा भन्थ्यौ अस्ति, रिसाउनु हुन्न ।
१०.
भुजा हैन सधैं मलाई, भातै मिठो लाग्छ
छेउ आई बस्दा तिम्रो, साथै मीठो लाग्छ
पहिला पहिला टर्रो बोली, रिसाउँथ्यौ पनि
किन किन आजकल तिम्रो,बातै मीठो लाग्छ ।
मकवानपुर । हरेक महिनाको पहिलो शनिबार गजल यात्राको नियमित शृङ्खला सञ्चालन गर्दै आएको गजल मञ्च मकवानपुरको १७७ औं शृङ्खला शनिबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका बरिष्ठ हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष एवम् झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी मकवानपुरका अध्यक्ष डा. गणेशकुमार पौडेल, प्रगतिशील लेखक संघ मकवानपुरका पूर्व अध्यक्ष पुरुषोत्तम आचार्य, साहित्य सङ्गम मकवानपुरका सचिव डिबी वर्तौला, सुस्केरा परिवारका राम कार्की, यादव श्रेष्ठ, गजलकार किशन पौडेल, सानु खनाल, सञ्जित श्रेष्ठ, प्रशन्ना चौलागाई स्वस्तिका दाहाललगायत करिब डेढ दर्जन गजलकारहरुले गजल बाचन तथा गायन गरेका थिए ।