१.
मरी लाने केही नभए पनि, खुट्टा तान्न सकिएन
प्राण पखेरु कहिले उड्छ, अहिल्यै जान्न सकिएन
जल्नुपर्छ खरानी भई एक दिन, त्यो पक्कै हो
तर पनि लोभी मन छ, कहिल्यै मान्न सकिएन ।
२.
होस गर है जाली झेली तिम्रै गाउँमा होलान्
फकाई फुल्याई जालमा पार्ने छद्म नाउँमा होलान्
कहिले काँही बाटो छेक्दै बस्या पनि देखे थेँ
तिम्रो हाम्रो सम्बन्धलाई फोर्ने दाउमा होलान् ।
३.
तिमी रैछयौ सुन जस्ती, म चैं पित्तल जस्तो लाग्छ
तिमी सामु सधैंभरि, रहुँ अबिचल जस्तो लाग्छ
उदास हुँदा सामु आइ, बस्न पाए फेरि कतै
तिमी छेउ गर्मी पनि, त्यसै सितल जस्तो लाग्छ ।
४.
तिमी हाँस्दा सधैं मायाँ गरौं जस्तो लाग्छ
धुम्म पर्दा महाकालीमा झरौं जस्तो लाग्छ
तिमी सङ्ग भेट गर्नै नपाउँदा भने फेरि
तिमीले थाहा नपाई बसाईं सरौं जस्तो लाग्छ ।
५.
पिर बोकी मुटुभित्र, खिल दुखाएर राखेको छु
आँशु नझारी आँखाभित्रै, लुकाएर राखेको छु
बाहिर नदेखाउँदैमा, पिडा छैन कसले भन्छ र?
अस्ति लागेको मनको घाउ, सुकाएर राखेको छु ।
६.
अस्ति भेट्दा तिमीलाई मन पराएँ भन्थ्यौ
मेरो मायाँ मुटुभित्रै दर्ता गराएँ भन्थ्यौ
छक्कै परें फोनमा हिजो उल्टो कुरा सुन्दा
विना कारण तिमीबाट अब हराएँ भन्थ्यौ ।
७.
मेरो मायाँ नपाउँदा तिमी कति रून्छ्यौ होला
कहिलेकाहीँ एकान्तमा भावुक पनि हुन्छ्यौ होला
म पनि त कल्पनामा डुबी रुन्छु कहिलेकाहीं
सारै गाह्रो हुँदा उठी मेरो फोटो छुन्छ्यौ होला ।
८.
उल्टो सुल्टो बगेको छ,भावनामा जिन्दगी
सधैं भरि अल्झेको छ, चाहनामा जिन्दगी
खुसी हुन नजानेरै, भौतारिन्छ यताउति
दुख मान्दै अडेको छ, बहानामा जिन्दगी ।
९.
तिमी भन्थ्यौ बाटैमा भारी, बिसाउनु हुन्न
माया गर्दा अविश्वासलाई, मिसाउनु हुन्न
हिजो किन नबोलेर, दिनै बिताई दियौ?
मिलन हुँदा भन्थ्यौ अस्ति, रिसाउनु हुन्न ।
१०.
भुजा हैन सधैं मलाई, भातै मिठो लाग्छ
छेउ आई बस्दा तिम्रो, साथै मीठो लाग्छ
पहिला पहिला टर्रो बोली, रिसाउँथ्यौ पनि
किन किन आजकल तिम्रो,बातै मीठो लाग्छ ।

