- कविता शर्मा
समयसँग जोगाएका पल
भावनामा बगेर शब्द बन्न नसकेका मन
नियाल्दैछ
आफ्नै हातमा कस्सिएको कालचक्र
घरीघरी खुट्टामा फलामका पाङ्रा
पिठ्युँभरि तातो घामको बिटो
आखा रित्त्याउँदै बुनेको सपना
अनि
एकमुठी आत्मविश्वासका जरिबुटीले नै
सक्षम हुन्छ
ओढाउन सफलताको पछ्यौरी
हिमाल नाघ्ने
तवत
भावनामा पिल्सिदै मसी खोज्न छोड्यो मनले
बारूदसँग माया साटेको छ अचेल
बारुद बोल्छ
ठोक्नु छ मादल कुम्भकर्णको कानमा
छर्नु छ सन्जिवनीको बिरुवा
दिवाङ्गत मनहरूमा
जाग्राम ती धमिला आँखाले रचेको इतिहास
भत्काउन
बाल्नै पर्छ आगो बारुदको
निशब्द त्यो भावनाको गाँठ फुकाउन
एउटा् कलिलो मनलाई
बारुदकै मसीमा चुर्लुप्प डुबाउँदै
असंख्य झिल्का उडाउनु छ
तबत भरिन्छन् इतिहासका पछिल्ला पानाहरू
थपिन्छ अर्को एउटा युगको आत्मकथा
समयको रङ्गीन बुटाहरूमा
भोकुन्डो फुट्दैमा वायु सकिन्न रे
भन्दैछ बारुद मन
आकाशमा फलाउनु छ मकै उसलाई
रोपेर चमत्कारका बिरुवा
बँगैगाउँ गुहावटी आसाम
शरीरमा पसिना बगाएर पनि
माया र आशिर्वाद दिएर
नअघाउने मेरी आमा
भन न तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
म सम्झिरहेको छु ती दिनहरु
तिमी दिनभर बारीमा
माटोको डल्ला फोडेर
थकित भई आउँदा पनि
हामीसँग अङ्कमाल गर्थ्यौ
साना- भाइबहिनीहरु
तिम्रो पछि पछि लाग्थे
तिमीले पटुकीमा नखाई राखेको
रोटी दिन्थ्यौ
मुसुक्क मुस्कुराउँदै
हामीले खाउञ्जेल हेरिरहन्थ्यौ
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
आमा तपाईंको कतिवटा पेट छ ?
तपाईंको भोक कसरी मर्छ?
दिनभर काम गरेर पनि भोक लागेन ?
जवाफमा मेरी आमा भन्ने गर्थिन !
खाएर बचेको बाबु…
मनमनै सोच्थेँ,
कति मीठो झुठ !
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
मुटुभरी मायाको पुलिन्दा बोकेर
स्नेहको हर्लिक्स खुवाउनु भयो
हौसलाको च्ववनप्रास खुवाउनु भयो
धर्तीमा अथकित हिड्न सिकाउनु भयो
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
मेरी आमा !
तिमी स्नेहको आकाश बन्यौ
ममताको धर्ती बन्यौ
लड्थेँ म, दुख्थ्यो तपाईंलाई
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
आमा ! म सम्झिरहेछु
सानोमा म बिरामी हुँदा
मेरो टाउको सुम्सुमाउँदै
हातगोडामा तेल लगाउँदै
रातभरि तिम्रा आँखा
रसिला हुन्थे
अनिदा हुन्थे
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
कहिँ कतै जाँदा
म आउने बाटाभरि
बिच्छ्याइएकाे त्यो मुटुको कार्पेट
कसरी भुल्न सक्छु म ?
छोरो न भोकै छ कि भनेर
मीठो सन्त्रास बोकी
आँखाको दैलो खोली बसिरहने
मेरी आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?
आमा!
यति गहिरो प्रेमको समुद्र
शितल निवासलाई पनि
सिकाइदेऊ न है !
झरनाको बकैया स्तरीय बाल साहित्य परिचालन समिति गठन
Tags: No Comments
मकवानपुर । “सिर्जनशील नयाँ पुस्ता निर्माण” अभियान सञ्चालन गर्दै आएको मकवानपुरको एक मात्रै साहित्यिक संस्था झरना साहित्य परिवार मकवानपुरको २ सय ६५ औँ नियमित साहित्य शृङ्खलाका अवसरमा बकैया स्तरीय झरना- बकैया बाल साहित्य परिचालन समिति गठन भएको छ ।
बकैया गाउँपालिकाभित्र रहेका बालसाहित्य समितिका गतिविधिहरुलाई प्रभावकारी बनाउनका लागि १३ सदस्यीय बाल साहित्य परिचालन समिति गठन भएको संस्थाका अध्यक्ष दिपक गौतमले जानकारी दिए । झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको संयोजकत्वमा गठित झरना बाल साहित्य परिचालन समितिको अध्यक्षमा विजय दोङ र सचिवमा स्वस्तिका दाहाल रहेका छन् । परिचालन समितिका सदस्यहरुमा बकैया गाउँपालिकामा रहेका सबै माध्यमिक विद्यालय र आधारभुत विद्यालयहरुमा यसअघि नै गठन भएका बालसाहित्य समूहका ११ जना अध्यक्षहरु रहेको संस्थाका सचिव मिन प्रसाद सञ्जेल ‘मसान उपासक’ले बताए ।
संस्थाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै नयाँ पुस्तालाई राम्रोसँग परिचालन गर्न सके आगामी दिनमा पनि साहित्यको नेतृत्व स्थापित हुन सक्नेमा ढुक्क रहेको बताए । कार्यक्रममा बकैया स्थित बालसाहित्य समितिका बालबालिकाहरुले आ-आफ्ना रचना समेत वाचन गरेका थिए । कार्यक्रममा हरि घिमिरे, हरिवंश चौधरी, शुभलक्ष्मी प्रभा, स्वस्तिका दाहाललगायतले रचना समेत रचना वाचन गरेका छन् ।
- अङ्कुर चन्द
साँझको समय अँध्यारो भइसकेको थियो । पूर्णिमा बार्दलिमा बसेर रमाइरहेकी देखेर म पनि सँगै बस्न गए । निलो आकाशमा सेता कपासका भुवाजस्ता बादलका टुक्राहरू निस्फिक्री उडिरहेका थिए । ताराहरूको चकमन्नताले आकाश सुन्दर बगैंचा जस्तै देखिरहेको थियो । जुनको आगमन अझै सुन्दर थियो ।ताराहरु एकटकले चियाइरहेका थिए । सेता बादलका टुक्राहरू पनि सुकिला भएर घरी यता घरी उता ओहोरदोहोर गरिरहेका थिए त्यहि जुनको सुन्दरता हेर्न सायद ।
यो दृश्यले मोहित भएकी पूर्णिमाले भनिन ” हेर्नु न कति सुकिला भएर यी बादलका भुवाहरु जुन हेर्न निस्किरहेका । आहा कति स्वच्छन्द छन् ,कति शान्त छन्, निष्प्रभि दौडिरहेका छन्” । मैले मनमनै भने यि सुकिलाहरु बाहिर मात्रै सुकिला हुन् भित्र त कालो पालेर बसेका हुनसक्दछन् । उनी जुन, तारा, सुकिला भुवाजस्ता बादलको बखान गर्दा गर्दै आकाशमा बलिष्ठ , कालो रूपि डरलाग्दो आकृतिको अचानक पदार्पण भयो । उनी हेर्दाहेर्दै विचलित भइन् ।
सुन्दर जुनको खोजी गरिन् , ताराहरूको खोजी गरिन् ती सुकिला सेता भुवाहरुको खोजी गरिन् । निलो आकाशको खोजी गरिन् ।अह देखिनन् । जुनको सुन्दरता र यौबन् देखेर यताउती भौतारिरहेका तिनै सुकिला सेता बादलहरू एकीकृत भई ताराहरुले नदेखुन भनी सिंगो आकाशलाई कालो कालो पर्दा ले छेकेर जूनलाई आफ्नो बाहुपासमा अठ्याएर लियो । जुन चिच्यायो होला करायो होला तर चट्याङको आवाजले निरिह बनाइदियो । बलिन्द्र आँशुका धारा चुहाइरहेको आकासकाे दृश्य हेर्दै पूर्णिमाको गहभरी आशुकाे ताल बनिसकेको थियो।
कञ्चनपुर
मकवानपुर । गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको सुन्धारास्थित न्यूरो एन्ड जनरल अस्पतालमा उपचारका क्रममा विहीबार निधन भएको हाे।
प्रेमध्वज प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ । सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् । सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।
प्रधानका घुम्तिमा नआउ है…पर लैजाउ फूलहरु….गोरेटो त्यो गाउँको….नमान लाज यसरि….हाँस्ने रहरहरू आँसुमा….तिमीलाई अचेल कहाँ भेटौं…यो नेपाली शिर उचाली लगायतका दर्जनौं गीत चर्चित छन् ।
नेपाली गीत संगीतका शिखर व्यक्तित्व प्रधान विभिन्न राष्ट्रिय सम्मानले सम्मानित भएका छन् । २०२१ सालमा तत्कालीन राजा महेन्द्र शाहको हातबाट उत्कृष्ट गायक सम्मान, राजा वीरेन्द्रबाट २०४४ सालमा गोर्खा दक्षिण बाहु चौंथो र २०५३ सालमा विख्यात त्रिशक्ति पट्ट तेस्रो सँगै गायक प्रधान छिन्नलता पुरस्कार, भुपालमान सिहं कार्की पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नारायण गोपाल संगीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौ सम्मान र पुरस्कारबाट सम्मानित भएका थिए।