- कविता पूर्ण पाैड्याल
उमेरले बोक्रा नतासी छिप्पिन्छ ऊ
भाले नबिउँझी बिउँझन्छ ऊ
अनि बिस्तारै लाग्छ पैसाको
बोट फल्ने रुखको खोजीमा
रहर लागेर हैन भोक मार्न हिड्छ ऊ
झोला भित्र बालापन बोकेर
घरीघरी सोच्दछ ऊ
कसैले मेरो कसौंडीमा भात उमारी दिए
म पनि त दगुर्थे होला भकुण्डोको पछिपछि
कसैले म ननिदाएको कारण सोधी दिए
हर्षले झार्थे होला वेदनाका कयौं थोपाहरू
एकछाती नीलो आकाश
रहरको इन्द्रेणी बोकेर आउँछ
लुकामारी खेल्दै
अनि, सोहोरेर लान्छ
आँखाबाट सपना
संसारै धमिलो पारेर
हराउछ्न खुशिका बुट्टाहरू
उस्की आमा हराए झैँ
त्यो कागे खोलामा
कहिल्यै नफर्किने गरी
आज आमाको सम्झनाले असाध्यै सताएपछी
एउटा कविते पत्र लेख्छ ऊ
अनि माथि अकाश तर्फ फ्याँक्छ
प्यारी आमा,
मायाको खानी थियो तिमीसँग
खान्न खान्न भन्दा खुवाउने कहाँनी थियो तिमीसँग
घामको मुहान छेक्ने शीतल छाँया थियो तिमीसँग
संसार आट्ने मुटु अनि न्यानो माया थियो तिमीसँग
आमा, सर्वस्व गुमाएपछि
एक्लो भएको छु आज तिमी बिना यहाँ
हरेकपल मेरो झझल्कोमा डुल्छौ तिमी
तिम्रो सम्झनाले औधी सताउँदा
आफ्नै अनुहार नियाल्ने गर्छु ऐनामा
उतिबेला तिमीलाई
तँ जस्तै तेरो छोरो भन्ने मेरो हजुरबुवालाई सम्झदै
हो आमा तेसैले आज खोजी रहेछु आफुमा तिमीलाई
कतै खोज्ने ठाउँ नपाएर यो संसारमा
आमा
एक पटक दैवलाई भेटेर सोध्न मन छ
तिमीलाई किन खोस्यो मबाट
फेरि बाबालाई पनि किन टाढा पुर्यायो नियतिले
म तेति ठुलो कहाँ भएको छु र आमा
जति ठूलो आज समयले बनाउँदैछ मलाई
‘काम नगरी खानेलाई चोर भन्छ्न्’
तिम्रो यहि शब्द मेरो कानमा गुन्जी रहँदा
आज कर्मको पाठ घोक्न हिड्दैछु
तर आमा
निष्ठुर रहेछ् दुनियाँ
मैले रित्तै फर्कनु पर्छ घर सधैंभरी
मलाई सम्झाउने हरूको भिड हुन्छ त्यहाँ
फोटो खिच्नेको ताँती हुन्छ त्यहाँ
एउटै भाषण सवैको मुखभरी
यो त पढ्ने लेख्ने उमेर हो
यसरी काम खोजेर हिन्नु हुन्न बाबा
बिद्यालय जानू पर्छ है भोलिदेखि
यहि एउटा बाक्य सुन्दासुन्दै
थाकिसक्यो आमा मेरो कान
बिद्यालय नजाँँदा पनि त टेकेको छु नि खुट्टा
तर अन्न बिना सक्दिनँ उभिन म आमा
तिमि नै बुझाइदेउ न यो समाजलाई
भनत
कसरी जाउँ म बिद्यालय कस्ले गरिदिन्छ भर्ना
कस्ले किनिदिन्छ कापी कलम किताब र कपडा
अनि फेरि कसले गर्छ जोगाड यो भुँडीको
भो आमा म हैरान भइसकेँ आडम्बरी समाजदेखि
तेसैले निधो गरेको हुँ तिम्रो समीप आउने
एक अँगालो चोखो मायामा लुट्पुटिने
तिमी हुँदा सवैले कति धेरै माया गर्थे
अहिले देख्दिनँ कसैको आखामा
त्यो माया, त्यो प्रेम
हो आमा
सक्ने छैन अब म तिमी बिना बाच्न
बुझ्ने छ दैवले पनि
म आउँदैछु आमा त्यही खोलामा
जुन खोलाबाट तिमी फर्किएनौ कहिल्यै
‘उहीँ तिमीले छोडेको टुहुरो छोरा “मँ”
उसैबेला घाँस काट्न जाँदा
घासीको नजर पर्छ एउटा कागजको टुक्रामा
जसलाई पढेर आत्तिदै थरथरी काम्दै
कुद्देर पुग्छे कागे खोला
तर ऊ शान्त भएर अविरल बगिरहेको हुन्छ
निलेर एउटा् अबोध बालक
बँगैगाउँ गुहावटी आसाम
- बसन्ता गाैतम काेइराला
१.
सफर दुर दुरसम्म गर्न अत्यायाे जिन्दगीले ।
झर्याम्म फुटे सपनाहरु लत्यायाे जिन्दगीले ।
साहस गरी समेट्दै थिएँ घाइते तक्दिर मेराे,
खै किन किन खुसी सबै हत्यायाे जिन्दगीले ।
संसारकै भाग्यमानी म नै रै’छु ठान्थेँ सायद,
पछारिन रहेछ मत्याउनु मत्यायाे जिन्दगीले ।
आँटिली छु भन्दै टुङ्गाे लगाउन जाँदै थिए,
आफैंलाई छल गर्दा नि पत्यायाे जिन्दगीले ।
बाँध फुटाई वर्षे भेल झैँ नयनबाट झर्दै थिए
आँशु लुकाई हाँस्न भन्दै रत्यायाे जिन्दगीले ।
२.
धनले धन कमाउनेहरु भन्छन् रासैरास चाहियाे ।
खुला आकासमा बस्नेलाई सानाे बास चाहियाे ।
न परिकार न व्यञ्जन कर्मले ठगिएकालाई त,
पटुकी फुकाउछु नुनकाे ढिकाे र गाँस चाहियाे ।
ग्रहदशा कटाउदा दु:ख टर्छ भन्थे बुढापाकाले,
दिनुस् न हजुर कालाे बस्त्र अनि मास चाहियाे ।
कठै बिझाउन थालेछ बगरका शैयाहरुले पनि,
निदाइरहन मन छ अामा कमलाे घाँस चाहियाे .
उतारचढाव कति आए गए पन्छिदै व्यवधानहरु,
खुसी छु, भन्दिन जिन्दगी मलाई खास चाहियाे ।
भैरहवा
- अनन्त घिमिरे
फाट्नु फाट्यो रुमाल सिउने सियो नभएसी
प्रेमको बाती क्यारी बल्छ र दियो नभएसी
पन्छाइ सक्नु छैन पराल मेरो खले गरामा
दाइँ पो कसरी गर्नु र गाड्ने मियो नभएसी ।
उजेलीमा नआउ कान्छा चाल पाउने छन्
दुनियाले हल्ला गर्लान हाल गाउने छन्
चकमन्न हुन्छ जब ढोका ढक्ढक्याउनु है
खोल्छु ढोका अनि हाम्रो ताल आउने छन् ।
लौन नि ! दीलको ढोका कस्ले फोरेछ
हिजो राति लट्टिपट्टि बनाइ सबै चोरेछ
खस्या खुसुक गर्या चाल पाएकी थिएँ
बाँकी कत्ती नराखेर मेरो लगेर मोरेछ।
कति पिउनु मन चिन्ते झरुवाको पानी
पिउनु हुन्थ्यो धितमारि करुवाको पानी
मेट्ने थिएँ मनको प्यास मनकारी पाए
बरु दिन्थेँ लेउ पन्छाइ जरुवाको पानी ।
लौन नि !मलाई कति कुराएको होला
म सोझि लाई किन सुर्याएको होला
यस्तै धोका दिन्थ्यो त भो भन्थेनि म
निष्ठुरीलेअन्तै धोको पुर्याएको होला ।
लमजुङ
- बसन्त अनुभव
श्यामप्रसादको छोरा सानैदेखि अलि फटाहा प्रवृतिको थियो । उ आफ्ना साथीभाइ सँग चल्ने, जिस्कने, झगडा गर्ने गर्दथ्यो । पढ्ने कक्षामा पनि हल्ला गर्ने, नपढ्ने भएकोले शिक्षकबाट गाली नखाएको वा सजाय नपाएको दिन हुदैनथ्यो ।
छोराको आनीबानी थाहा हुँदाहुदै पनि बच्चै भएकोले उनी केहि भन्दैनथे । केटाकेटीलाई हप्काएर, गाली गरेर वा सजाय दिएर सुधार्न सकिदैन र गर्नुपनि हुदैन भन्ने उनको मान्यता थियो । मायाले सम्झाएर भने सहि बाटोमा ल्याउन सकिन्छ भन्नेमा भने विश्वस्त थिए उनी । उनी त्यही मौकाको खोजीमा थिए ।
एकदिन छोराले विद्यालयबाट फर्कने बित्तिकै अँध्यारो अनुहार लाउदै भन्यो ।”बाबा ! विद्यालयमा सरहरूले मलाईमात्र पिट्नुहुन्छ, अरूलाई भने माया गर्नुहुन्छ, किन? साथीहरू पनि मसँग खेल्नै मान्दैनन्, म के गरुँ ।” जवाफमा श्यामप्रसादले छोरालाई बार बारेको ठाउँमा लिएर गए । अनि झालमा फलेको काक्रो र एरेलु टिपेर ल्याउने भने ।
छोराले भनेबमोजिम टिपेर ल्यायो अनि उनको हातमा दियो । श्यामप्रसादले छोराको हातमा काक्रो दिदै खाएर त्यसको स्वाद भन्न भने । उसले मिठो मानीमानी खायो । काक्रो खाइसकेपछि ऐरेलु पनि त्यसैगरी खान भने । उसले ऐरेलु टोकेको मात्र थियो । थुक्दै उल्टि गर्यो र बचेको ऐरेलु टाढा मिल्काइदियो अनि दौड्दै गएर ऐरेलुको फलहरु सबै टिप्दै फाल्यो तर काक्रोलाई केहि गरेन ।
त्यो देखेर श्यामप्रसादले भने । “छोरा, तिमीले काक्रोलाई केहि गरेनौ तर ऐरेलु सबै टिपेर फाल्यौ, किन ?””काक्रो मिठो छ, तर त्यो (ऐरेलुलाई देखाउदै ) तितो कोक्काउने छ । त्यसको त झाल नै उखेलेर फाल्नुपर्छ ।””हो छोरा ! जसले पनि काक्रो जस्तै मिठो गुण भएको बस्तुलाई राम्रो मान्छन् तर तिमीले जस्तै तितो गुण भएको त्यो ऐरेलुलाई रुचाउदैनन । त्यसैले तिमी पनि ऐरेलु जस्तो तितो नभएर काक्रो जस्तो मिठो हुनसक्यौ भने सबैले माया गर्छन्, बुझ्यौं ।”
घोराही उपमहानगरपालिका १४, दाङ
‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि पुन: प्रशारण हुने भएकाे छ । कोरोना संक्रमण जाेखिम कम गर्न गरिएको निषेधाज्ञाका कारण कमेडी क्लबकाे नयाँ भागकाे छायाँकन राेकिएकाे थियाे । कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भागको छायाँकन शुरु भएकाेले साेमबार बाट नियमित प्रशारण काे तयारी गरिएकाे हाे ।
आगामी सोमबारदेखि शोलाई नियमित प्रशारणमा ल्याउने तयारीका साथ छायाँकन शुरु गरिएको कार्यक्रमका जीतु नेपालले बताए । निषेधाज्ञाको समयमा ‘मुन्द्रेको कमेडी क्लब’मा पुरानै भागहरु शारण गरिएको थियो । नेपाल टेलिभिजनबाट सोमबार बेलुका प्रशारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ लोकप्रिय कमेडी कार्यक्रममा पर्दछ ।