- सन्देश घिमिरे
खालि छ मुटु प्रिय दरबार चाहिँदैन
युगयुग बाँच्छ प्रेम घरबार चाहिँदैन ।
तिम्रो मेराे नामका अफवाह कतिकति
यसै बन्छन् समाचार अखबार चाहिँदैन ।
मेटिएर मेटिदैनन बैरीका प्रयासले
एक नजर काफी छ तरबार चाहिँदैन ।
विपक्षीका अनेकन षड्यन्त्रका ज्वारभाटाले
भयो अब अस्थिर यहाँ सरकार चाहिँदैन ।
जोडि हाम्रो सलामतको कामना धेरै आए
पुग्यो अब कसैको सरोकार चाहिँदैन ।
नेप्सेमा मायाले रेकर्ड ब्रेक गरे पछि
थोरबहुत खुद्रा को कारोबार चाहिँदैन ।
तिम्रो त्यो जादुगरी ले पाक्छन् यहाँ अनेकथरी
साथमा छौ तिमी अरु परिकार चाहिँदैन ।
- इन्दिरा राई
आमासँगको रात
धेरै समयपछि
आज म मेरी आमासँग थिएँ
आजै हो मैले आमालाई छ्यांगै देखेको
आमा बाख्राको घाँस काट्नुहुदै रे
म गुन्द्री ओछ्याएर
आमाका लागि बिस्तरा मिलाउँदै रे
कसो, आमा त लड्नु भएछ क्यार
कान्छी कान्छी आमाले
हारगुहार माग्नु भयो ।
तर म आमा छेउ पुग्दै पुगिनँ
मेरी आमा अभरमा पर्नुभयो
म दौडेर किन पुगिनँ ।
म त ब्युँझिएछु पो त
किन ब्युँझिए म ? नब्युँझिनु पर्थ्यो मैले
हो, बिपत्तिमा पर्दा मेरी आमा
म उनीसम्म पुग्नै सकिनँ
छिस् कत्ति चित्त नबुझाई छ ।
आफैँप्रति कत्ति खेद छ मभित्र
रातको तेश्रो पहर हुँदो हो,
माडिएँ म ओछ्यानमै,
पछारिएँ, थचारिएँ, चिच्याएँ
राता र ताता भएछन् रगडिएर
कुर्कुच्चा, र बुढिऔँठाहरु
पाएँ निथ्रुक्कै एकछेउ सिरानी
झलमल्ल भो बिहानी
तर, उघ्रिए पो नयनहरु
डम्म छन्प रेलीका ढकनीहरु ।
चीया पिउनु भो मामु छोरी हुनुपर्छ,
फोन बजिरहयो
सायद, म तन्द्रा मै थिएछु क्यार
अचानक झस्किएँ ।
मैले म ब्युँझिनुको अर्थ पाएँ
र फेरी उसैगरी भक्कानिएँ
आखिर, म पनि त आमा हुँ
हो, आज मैले आमाहरु आँसु लुकाएर,
कति सपनाहरु बिर्सिएर
मुस्कुराउनुको अर्थ पाएँ ।
२५ श्रावण, २०७८
नसोध्नु मलाई म के हालमा छु
सधैँ हार मात्रै हुने खालमा छु
पुगे लौ सबै ती सधैँ माथि माथि
म पानी बिनाको अझै तालमा छु
छ सारा अँध्यारो नभेटी किनारा
डुबेको म माछो अझै छालमा छु
जलेको छ छाती भनौ के कसोरी
बिना अर्थ बन्दी म त जालमा छु
बसेको थिएँ शान्त सुन्दर धरामा
भयो आज कस्तो म नेपालमा छु
गमुको पाहुना पोष्ट
विराटनगर
मौनताका हरफहरु कोर्दै
पन्नाहरु संगाल्दै गरेको यो जीन्दगी भित्र
तिमी आफ्नो आवाज छपाउन खोज्छौ
भन किन निम्त्याउँ म त्यो कोलाहल
अनि अनिश्चित जिन्दगीको
अनिश्चित समय भित्र तिमी आफ्नो
निश्चितता सुनिश्चित गर भन्छौ
भन कहाँबाट ल्याउँ म त्यो निश्चितता?
उधारो जिन्दगीको यो पल पल को खटन भित्र
तिमि आफ्नो एकाधिकार जमाउँन खोज्छौ
भन कहाँबाट दिउँ म त्यो अधिकार
अनि असंभावनाका अनगिन्ती सम्भावना भित्र
तिमी आफ्नो सम्भावितता जताउन खोज्छौ
भन कहाँबाट देखाउँ म त्यो सम्भाव्यतता ?
ठोकिदै हुत्तिदै ,घिस्रिदै खाटा बनेका पलहरु भित्र
तिमी आफ्नो सहजताको झन्डा फहराउन खोज्छौ
भन कहाँबाट दिउँ म त्यो सहजतता
अनि काल्पनिक यथार्थहरुलाई समाई
यथार्थको परिभाषा बटार्न खोज्छौ
भन किन स्वीकाँरू
म तिम्रो काल्पनिक यथार्थता ?
भन किन स्वीकाँरू म यथार्थता ?
हर्नामाडी, मकवानपुर हाल काठमाडाैं
आँखाका नानी नै पुर्ने कालो रात
सुन्दर बस्तीको मुटु लतार्ने बाढी
त्यो विपदको चित्कार …!
मान्छेको छाती कोपर्ने महामारीको धमिरा
त्यो मृत्युको ताण्डव नृत्य !
माटोको आत्मा चिर्ने शकुनीको प्रपञ्च !
कोपीलाको गुदो खोतल्ने
ती महिषासुरका बन्धुहरू !
शायद तिमी पनि रङ्गिएका छौ
हिटलरी विजयको रक्तीम लालीले
शायद असाध्यै तिर्खाएको छौ !
तर आजको रात म इनार बन्दिनँ …..
बिन्ती नखन तिम्रा कठोर बेल्चा र गैँतीले
मेरा सुख्खा तर उर्वर भूमि!
यो चार प्रहर रातपछि
एउटा ग्यानमुखे बुद्ध जन्माउनु छ ।
जब घामका कलिला लाली मुनाले
माटोको गाला सुम्सुम्याउने छ
प्रसबको उन्मादले म उफ्रिने छु ..जुर्मुराउँने छु
र जन्माउने छु सग्लो बुद्ध !
किनकि ,
कसम खाएकी छु मेरो माटोसँग
आत्मा नभएका मानिसहरूको भिडमा
धर्म हराएका बस्तीहरूको आँगनामा
न्याय हराएका स्वर्गका आसनहरूमा
स्नेह , शान्ति र संस्कार चापिएका खण्डहरूमा
ग्यान , शान्ति अहिंसा स्नेह र न्याय प्राप्तिका लागि
म जन्माउने छु बुद्ध !
र पठाउने छु उद्दार गर्न बाढी पीडितको
महामारी पीडितको
हिँसापीडितको…!
त्यसैले ,
वितण्डी खेलले
मेरो शान्ति नलुट
तिम्रो फोहरी चालले
मेरो बाटो नछेक
तिम्रो इर्ष्यालु साङलाले
मेरो गला नकस
तिम्रा स्वार्थ र तृष्णाको विषले मेरा वर्षौँदेखिका
स्वर्ण सपनाको बिभत्स हत्या नगर ।
तिम्रा तानाशाही साम्राज्यको शक्तिले
मेरो शक्तिको ढुकुटी नलुट !
मलाई प्रसबको सगरमाथा उक्लिन
शक्तिको आकाश चाहिन्छ !
तिमी त लत्रिएका जाई र जुही सँग पनि
तानाशाही शासन गर्ने हिटलर
बरु भोलि राति म आफै अाउँली तिम्रो बस्तीमा
तर आज म मेरो तपस्या मा छु
मलाई उषाको भुकभुकेमा बुद्ध जन्माउनु छ
मेरो मौनतामा हल्ला नपार
मेरो तपस्यामा बाधा नगर
मेरो पवित्र भूमिमा धावा नबोल !!
बुटवल