- जनक सिक्देल
सुरवीर उदण्ड स्वभावको थियो । आमा बुवासँग आफ्नो अंशको विषयमा लडाईँ झगडा मच्याउँथ्यो । अनि भन्थ्यो , ” मेरो अंश छुट्याइदिनू । म भिन्दै वस्छु । ” ” अहिल्यै हुँदैन । भाइ वहिनीहरूको पढाइलेखाइ र विहेदान गराउँनुपर्छ । अनि मात्रै बचेकोबाट दुइ विघा जग्गा र एउटा घर हाम्रो जीउँनी छुट्याएर बराबर अंश लाइदिन्छौँ । ” आमा बुवाले ठाडै जवाफ दिनुभयो ।
ऊ भने पटक्कै मान्दैनथ्यो । घरको कामधन्दाहरू मन लाएर गर्दैनथ्यो । जाँड रक्सीले मातेर आमा बुवालाई छाडा छाडा अपशव्दहरू प्रयोग गर्थ्यो । वहाँहरू उसको यस्तो ज्यादति देखेर दिक्कै भैसक्नुभएको थियो । तत्पश्चात भन्नुहुन्थ्यो , ” खुरूक्क विदेश जा । रूपियाँ पैसा कमा , घरजग्गा र धनसम्पति जोड् । यहाँ हामीले कमाएकोबाट अंश त पाइहाल्छस् नि । किन कचकच गरेको ? तेरो पनि त श्रीमती र वालवच्चाहरू छन् । तिनीहरूको भविष्य सोच् । ”
ऊ आमा बुवाको यस्तो कुराले झनक्क झन्कियो र वहाँहरूलाई हातपात गर्न थाल्यो । घोक्र्याइ मुन्ट्याइ पनि पार्न थाल्यो । वहाँहरू पनि गुहार ! गुहार ! मार्यो नि …. मार्यो भनेर रूँन कराउँन थाल्नुभयो । छिमेकीहरू पनि वहाँहरूको यस्तो आवाज सुनेर दगुर्दै आए र भने , ” सुरवीर ! आमा बुवालाई किन यसरी रूवाएको ? यस्तो मति विगारेर हिँड्नुहुँदैन । लाज हुन्छ , सबैले थुक्छन् , आफ्नो कामधन्दाहरू गर्नुपर्छ , मान , प्रतिष्ठा र ईज्जत कमाउँनुपर्छ । ”
उसको पालो ठाडै जवाफ दियो , ” तपाईँहरू को हो ? मलाई सम्झाउँने । आ – आफ्नो घरतिर जानोस । म कसैलाई पनि चिन्दिन र भनेको पनि मान्दिन । ” ” त्यसोभए तिम्रो घरमा मर्दा पर्दा अनि कुनै पनि सामाजिक कार्यहरू हुँदा हामीहरू फर्केर आउँदैनौँ । ” उनीहरूले एकैस्वरमा जवाफ तेर्स्याए । अनि आ – आफ्नो बाटो लागे ।
वैशाखको महीना थियो । उसले आफ्नी छोरीकी विहेको लागि सबैलाई डाक्यो । गएर हात जोड्यो र आफ्नो गल्ती स्वीकार गर्यो तर पनि कोही फर्केरै आएनन् । तत्पश्चात ऊ घर फर्केर आयो । अनि आमा बुवालाई भन्यो , ” मैँले आफ्नो गल्तीको परिणाम पाएँ । तपाईँहरू चाहिँ होशियार हुनूस है । ”
विराटनगर – ५ मोरङ्ग
- पबित्रा चाम्लिङ
१.
मिलन र बिछोड सबै समेटि,रचना फुर्ने रहेछ
सडक जिबन निदाए पनि,सपनाले पुर्ने रहेछ
यो आँखाले दुनियाँलाई हेर्दा,मनमनै रङ्ग फेर्दा
करोडौं मान्छे छन् तर भाग्यमा एक जुर्ने रहेछ।
२.
आखिरीमा के सेखी झार्यौ र खै,मैहुँ भनेर पनि
आज अञ्जुली थाप्ने भयौ औकाती ,बनेर पनि
दैबको लिला कसैको हराउनु, कसैको भराउनु
नोटको बिटो मिलाई-मिलाई, हातले गनेर पनि।
३.
आज भोली लाग्दैन मलाई, सरकार खास किन?
लोक सामु गर्दै हिंड्छौ पाटी बिच,उपहास किन?
माछा देखे दुलो हात, सर्प देखे पाखा हात गर्छौ
वल्लो घाट न पल्लो तिरछ दिदैनौ निकास किन?
४.
प्रियसीको नजरमा यो नजर,जोड्न नसकेर होला
दुख लाग्छ एकोहोरो मनलाई,मोड्न नसकेर होला
कहिले काहीँ अभावताको,महशुस गराई दिने गर्छ
सायद अतितलाई टाढा लगि,छोड्न नसकेर होला।
प्रिय ! कहिले काहीँ तिम्रो आँखा भित्र,लुक्न मन लाग्छ
अलि-अलि सर्माउँदै त्यो परेली भएर,झुक्न मन लाग्छ
मुखले बोल्न नसके पनि,मनले चाहिँ के-के माग्ने भयो
नजरको तिर हान्न तिमी हिड्ने बाटो,ढुक्न मन लाग्छ।
खोटाङ
महिला हक अधिकार र स्वतन्त्रताका बिषयमा निकै जोडदार रुपमा आवाज उठाउने हरिबहादुर सबै महिलाहरुका प्रिय नेता थिए । उनका हरेक भाषण तथा बक्तब्यहरु महिलामैत्री हुने गर्दथे । उनले महिलाप्रती गर्ने ब्यवहार र आदरभावका कारण सबैको मनमुटुमा बस्न सफल थिए ।
अन्तरास्ट्रिय महिला दिवसको दिन थियो । एक भब्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा समाजका विभिन्न गन्यमान्य ब्यक्तिहरुका साथै थुप्रै महिला तथा पुरुषहरुको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी भने उनै हरि बहादुर थिए । कार्यक्रमका विभिन्न बक्ताहरुले महिला हक अधिकार सम्बन्धि निकै जोशिला मन्तव्य प्रस्तुत गरे ।
तर उपस्थित आमजनता भने हरिबहादुरको भाषण सुन्न लालायित थियो । उद्घोषकले मन्तव्यका लागि हरिबहादुरलाई आमन्त्रित गरे । हरिबहादुरले पनि बडो ठाटका साथ आफ्नो ओजपुर्ण मन्तव्य शुरु गरे ।”आदरणीय आमा तथा दिदीबहिनीहरु साथै उपस्थित महानुभावहरु ! महिला पुरुष भनेको एकरथका दुई पाङ्ग्रा हुन । जसरी एउटा रथ चल्नका लागि दुई पाङ्ग्रा चाहिन्छ । त्यस्तै मनुष्य जीवन रुपि रथ संचालनका लागि पनि महिला पुरुष दुबैको खाचो पर्दछ ।
हाम्रो धर्मशास्त्रले पनि नारीलाई देवीको स्वरुप मानेको छ । तसर्थ महिलाको आदर, सम्मान गर्नुपर्दछ । महिलालाई स्वतन्त्रतापुर्वक बाँच्न दिनुपर्दछ । महिला … लाई …. ” भाषण गर्दै गर्दा कार्यक्रममा एक्कासि आफ्नी श्रीमतिलाई देखेपछि उनको बोली रोकियो । उनलाई साह्रै रिस उठ्यो । रिसले कामेका कारण उनले अगाडि बोल्न सकेनन् । खोकी लागेको बहाना गरि थुचुक्कै बसे ।
नेता जिलाई के भयो भन्दै सबै अत्तालिए । होहल्ला भयो । स्टेज मुनी बसेर भाषण सुनिरहेकि उनकी श्रीमती हतारिदै दौड्दै आएर मिनरल वाटर बोतल बाट श्रीमानलाई पानी खुवाउन थालिन ।”तँ यहाँ किन मुन्टेकी ? कस्लाई सोधेर आईस ” एक्कासि हरिबहादुरले श्रीमतीको कानमा फुस्फुसाउदै भने ।”म ….. दिदीबहिनी ….. बोलाएर …मा… मात्र …. ” डरले काप्दै र हडबडाउदै भन्न मात्र के खोजेकी थिइन, हरिबहादुरले श्रीमतीलाई चुप लाग्न र केही नबोल्न संकेत गरे । उपस्थित सबैले उनीहरु बिचको कुरा नसुने पनि दृश्य देखेर अवाक थिए ।
घोराही- १४ दाङ
मकवानपुर । ‘एक पटकको सैनिक जीवनभरको सैनिक’ पुस्तक सार्वजनिक भएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा अवकाशप्राप्त कर्णेल छत्रबहादुर थापाका बारेमा लेखेकाे पुस्तक सार्वजनिक गरेका हुन्।
पुस्तक बिहीबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विमोचन गरेका हुन्। स्व.छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको हाे । पुस्तकमा लेखक थापाले तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरेका छन्।
अध्यक्ष थापाले आफ्ना पिताको जीवनकालमा घटेका घटनाको बारेमा पुस्तक लेखेका हुन्। पुस्तकमा स्व. थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहनसमशेर र राजा महेन्द्रसँगको समीप्य तथा पञ्चायत कालका अनुभवहरु छन्।
१.
दिवङ्गत नेताको नाममा प्रतिष्ठान खोल्छन्
अनियमितता चरम गर्दै जथाभावी बोल्छन्
कति भए अघाउने हुन् कति भए पुग्ला लौन
बिमारीका नाममा यिनले नैतिकता पोल्छन्।
२.
पूर्णिमाको चन्द्र पनि औंशी आउँदा कालो हुन्छ
उज्यालो दिनलाई पनि रातको अन्धकारले छुन्छ
सधैँ एकनास हुन्छ भनेर नसोच्नु होला किनकी
घैला भएर बसेको बादल पनि पानी बनेर रुन्छ।
३.
प्रत्येक दिन नयाँ नयाँ अनुभव बटुल्नु छ
जन्म देखि मृत्यु सम्मका मूल्य असुल्नु छ
बुझेर या नबुझेर पनि जीवन पढ्नु पर्ने रत
भित्र जति पीडा भए पनि वाहिर खुल्नु छ।
४.
हाँसेर बोल्न कस्ले रोक्यो तिमिलाई
हृदय खोल्न कस्ले रोक्यो तिमिलाई
दुई दिनको चोला बाँच्न पाए हाँसेर,
निराशा पोल्न कस्ले रोक्यो तिमिलाई।
५.
सकिंदैन कसैगरि भुल्न ,पीडा हृदयभरि लेखिएका छन्
सकिंदैन कसैगरि खुल्न , पीडा हृदयभरि लेखिएका छन्
बिर्सन खोज्दछु तर नसकिने बिर्सन, सधैँ सोध्छु आफैंलाई
सकिंदैन कसैगरि असुल्न , पीडा हृदयभरि लेखिएका छन्।
भक्तपुर