- भीम सुवेदी
१.
उनकै कथा केरिन सकिन्छ माया भयो भने
अङालो भित्रै बेरिन सकिन्छ माया भयो भने
हरेक धड्कनका आवाज हरु सुने पछि मात्र पो,
लुकाइएका पीडा हेरिन सकिन्छ माया भयो भने।
२.
आफ्नै मुटु पनि कहिले दुस्मन हुंदो रैछ
अचानक दर्द पीडा झन झन हुंदो रैछ
जे जस्तो हुन्छ परिस्थिती सहनै पर्ने सबै,
थाहै नदि मानव मन बिचलन हुंदो रैछ।
३.
जनादेश कि परमादेश स्वीकार्य हुनुपर्छ
जनताको पीडा संगै अनिबार्य हुनुपर्छ
जुन सुकै सेटिङमा काम गर्ने छुट छैन है,
केही न केहि परिवर्तन अपरिहार्य हुनुपर्छ।
४.
गाउँ समाज अनि देशको धेरै चिन्ता लाग्छ
बदलिइ रहेको परिवेशको धेरै चिन्ता लाग्छ
जनयुद्ध नामको आतंकले धुजा धुजा बनाइएका,
ती निर्दोष भग्नावषेशको धेरै चिन्ता लाग्छ।
५.
बनाउनु भन्दा बिगार्नु लाई सहि भन्छन राजनीतिमा,
तहस नहस पार्नु लाई सहि भन्छन राजनीतिमा
अझै के के देख्नु पर्छ अति धेरै नाटक हुन्छ
आफ्नै साथी मार्नु लाई सहि भन्छन राजनीतिमा।
झापा
- दिब्या शृङ्खला राई
१.
अचेल उसलाई त्यति सम्झन छोडे
पहिला जस्तो पलपल तड्पन छोडे
त्यसै त्यसै रिसाएर टाढा हुनेलाई
साँघु तर्ने पुल बिच पर्खन छोडे।
२.
परदेशमा नै केश फुल्यो जवानी बेकार भो
फर्कन्छु घर भन्दा भन्दै जिन्दगानी बेकार भो
मेरै बाटो हेर्दा हेर्दै अस्ताइन रे मेरि आमा
कस्लाई सुनाउ मनभित्रको कहानी बेकार भो।
३.
हृदयदेखी माया गर्छु भन्नेहरु भेटिन्छन यहाँ
तिमीलाई नपाए मर्छु भन्नेहरु भेटिन्छन यहाँ।
भित्र खोक्रो बाहिर चट्टपरि’ जिन्दगीमा सधैं
उल्लासको रङ्ग भर्छु भन्नेहरु भेटिन्छन यहाँ।
४.
दर्दनाक पींडाले यतिखेर सारा विश्व दुखेको छ
हेर्दा हेर्दै कयौंको अमूल्य ज्यान गुमेको छ
जति सक्दो प्रयास गर्दा पनि केही सीप नलाग्दा
थकित डाक्टर बैद्यहरुकै शिर झुकेको छ ।
५.
अलिकती नजिक सरि आफ्नै ठानी हेरेकी हु
लजाएकी हुँदै होइन आँखा तानी हेरेकी हु
लाग्ला सायद तिमीलाई चालबाल अनौठो
के लुकाउनु मायाले नै जानीजानी हेरेकी हु।
बेलका नगरपालिका, उदयपुर
- तुलसा भण्डारी ‘तपस्या’
१.
पराइको घर धन्दा गरि खा नभन्नुहोस
उसैको सिंदुर उसैको पोते ला नभन्नुहोस
यो कुरौटे समाज को मुख बन्द गर्नु छ आमा ,
उम्मेर ढल्यो बिहे गरि मलाई जा नभन्नुहोस।
२.
सारा दुनियाँ दिक्क हुने गरि बोल्न मन लाग्छ
समाजले गरेको तिरस्कार खोल्न मन लाग्छ
छाउपडी ,दाइजो प्रथा ,जातीय विभेद के हो के,
हो यहि समाजको कुसंस्कार पोल्न मन लाग्छ।
सल्यान
हेटौंडामा गाईजात्रा पर्व मनाइयो
Tags: No Comments
मकवानपुर । नेवार समुदायकाे मुख्य पर्व गाईजात्रा हेटाैडामा पनि मनाइएकाे छ । नेपालमा प्रताप मल्लको पालादेखि चलनमा आएको मान्यता रहेकाे गाईजात्रा पर्व हेटौंडाका नेवार समूदायले मनाएका हुन । भदाै ७ गते सोमबार हेटौंडामा पिपलबोटबाट सुरु भएको जात्रा संगमचोक हुदैं कान्तिराजपथ, बुद्धचोक, सिमाचोक हुदैं टिसिएन सानो भुटनदेवी मन्दिरमा पुगेर गाईजात्रा समापन गरिएको छ ।
यो जात्रा काठमाडौं उपत्यकाका तत्कालिन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुवेपछि, रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प¥यो भनेर देखाउन गाई जात्राको चलन बसालेको विश्वास छ ।
नेवारी समुदायले मृत आत्माको चिरशान्तिको कामना गर्दै घरबाट विभिन्न भेषभुषा धारण गरी मनाइने गरिन्छ । सोही अनुरुप हेटौंडामा सामूहिक रुपमा गाइजात्रा मनाइएको नेवाः गुठी खलका अध्यक्ष अनिल खड्गेले बताए । मानिस मर्नु पर्छ मरे आफ्नो धर्म संस्कृति अनुरुप तामाङले घेवा गरेजस्तै हामीले गाइजात्रा मनाउने गरेको बताउदैं सरकारले दिएको स्वास्थ्य मापदण्ड अनुरुप पर्व मनाइएको नेवाः साँस्कृतिक पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ । यसो गर्दा मृतकको आत्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
गाई पाल्नेहरुले भने गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन पनि गराउने चलन छ ।
हेटाैडा लगायत नेवार समुदायकाे बाहुल्यता रहेकाे काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, पोखरा, तानसेनलगायत देशैभरका नेवार समुदायले यो पर्व मनाउने गरेका छन् ।
गाईजात्राकाे अवसरमा काठमाडाैं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरिएकाेमा संघीय सरकारले देशभरका नेवार समुदायलाई विदा दिएकाे छ भने बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा सार्वजानिक विदा समेत दिएको छ ।
ब्लु डायमण्ड सोसाईटीको ‘गाईजात्रा’ कार्यक्रम
ब्लु डायमण्ड सोसाईटीले सोमबार हेटौँडामा गाईजात्रा कार्यक्रम गरेकाे छ । सोसाईटीले ‘राईट हियर राईट नाउ’को सहयोगमा हेटौँडा ११ सहिद स्मारक परिसरमा गाईजात्रा कार्यक्रम गरेको हो ।

संस्थाले बिगत १८ वर्षदेखि काठमाडौँ उपत्यकामा गाईजात्रा कार्यक्रम आयोजना गर्दै आएको थियो । यसवर्ष भने कोरोनाको जोखिमका कारण हरेक जिल्ला–जिल्लामा कार्यक्रमको आयोजना गरिएको जनाएकाे छ।
कार्यक्रममा लैंगिक तथा अल्पसंख्यक समुदायका २५ जना सहभागीहरुले स्वास्थ्य मापदण्ड पालना गरी प्ले कार्ड सहित गाईजात्रा कार्यक्रम गरेका थिए ।
मकवानपुर । मकवानपुरमा हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह ‘गिलासवाद’ विमोचन गरिएकाे छ । मकवानपुरका व्यङग्य लेखक गाविन्द पौडेलको हाँस्यव्यङ्ग्य निबन्ध सङग्रह ‘गिलासवाद’ भदाै ७ गते सोमबार गाईजात्राको अवसर पारेर विमोचन गरिएको हो ।
‘गिलासवाद’ पाैडेलकाे पहिलाे कृति हाे । साहित्य सङ्गम र सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा भएको गाईजात्रा विशेष कार्यक्रमकाे अवसरमा गिलासवाद लाेकार्पण गरिएकाे हाे । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले गिलासवादमाथि परिचर्चा तथा टिप्पणी गरेका थिए ।
सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका वरिष्ठ व्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार रामचन्द्र आचार्य ‘फुर्सती’, तुलसी घिमीरे, मुक्ति गोविन्द वैद्य, देवराज खरेल, रमेशमोहन अधिकारी, माधव पोखरेल, सुवास खनाल, अनिता न्यौपाने, सीएम रिमाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम सञ्चालन साहित्य सङ्गम मकवानपुरका सचिव डी बी बर्तौलाले गरेका थिए ।

