नुमा खालिङ किराँत
१.
घाम पानी खपेर बसेको चौतारीमा वर थियो
सुस्केरा काढ्दै थकाई बिसाउने एउटा भर थियो
प्राकृतिक सुन्दरताको आडमा अटल बसेर सधै
मिरमिरे साँझ ढले संगै चरी बिचरीको घर थियो ।
२.
खै किन हो कुन्नी तिमीलाई खास सम्झु लाग्यो
तिम्रै परिवेशमा घुलाउछौ भन्ने आस गरु लाग्यो
त्यसैले त डराई डराई तिम्रो समिपमा आई हेरे
तिमीलाई नै सबै सुम्पिएर उतै बास बसु लाग्यो ।
३.
विदेशी फेसन देखाउदै ठुला शानमानको कुरा गरिन्छ
मौलिक भेष-भुषा लगाउनेलाई अपमानको कुरा गरिन्छ
धर्म,संकृती,परम्पराको बिकृती जेलिदैछ बिस्तारै देश भरी
पराई भुमीमा श्रम बेची अमिल्दो स्वभिमानको कुरा गरिन्छ ।
४.
कति रात बेदनाका छालहरु आँखा भरी छल्कीने होला
बिछोडीएका स्नेहका तस्विरहरु मन भरी झल्कीने होला
जिन्दगीका अनगिन्ती अध्यायहरु पुर्ण हुदै जादा नजादै
कैले सम्म असन्तुलित कर्कलाको थोपा झै टल्कीने होला ।
५.
पलाँसको फुलमा अत्तर खोज्नु मेरै भुल थियो
सुन्दर कमल खोजी हिडे फसाउने कै हुल थियो
खोज्दा खोज्दै मन्त्र मुग्धमा हराई मद्होस परे
अन्तमा जसलाई चुने उनै मुटु चुडाल्ने सुल थियो ।
मकवानपुर । साहित्य संगम मकवानपुरको १५ औं अधिवेशन शनिवार भएकाे छ । अधिवेशनकाे अवसरमा साहित्यकार, प्रचार्य र सञ्चारकर्मी सहित ३ जना सम्मानित भएका छन् ।
अधिवेशनमा साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष श्याम कुमार बानिंया, कृष्ण आदर्श बालवाटिका विद्यालयका प्राचार्य नवीन केसी र सञ्चारकर्मी जमुना थिङलाई सम्मानित भएका छन् ।
यसैबीच मकवानपुरकाे अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । २०४४ सालमा स्थापना भएको संगममा १५ औ अधिवेशनले अध्यक्षमा साहित्यकार अनिता न्यौपानेलाई चयन गरेको छ । संगमको नेतृत्व तहमा पुग्ने न्यौपाने नै पहिलो महिला साहित्यकार भएकी छिन् ।
संगमको शनिबार भएको अधिवेशनले अध्यक्षमा न्यौपानेलाई सर्वसहमत रुपमा निर्वाचित गरेको हो । हेटौंडा–४ भैरवरोडमा आफ्नै प्रेक्षालय रहेको संगमको नेतृत्वमा आएपछि न्यौपानेले सबै साहित्यकारलाई समेट्दै मकवानपुरे साहित्यको श्रीवृद्धिमा लाग्ने बताइन् । उनले सबै तह र तप्काका साहित्यकारलाई संगम आफ्नै हो भन्ने अनुभूती हुनेगरी काम गर्ने उल्लेख गरिन् ।
यसअघि सदस्य, कोषाध्यक्ष तथा उपाध्यक्षमा दुई कार्यकाल काम गरिसकेको अनुभवलाई उपयोग गर्दै समितिका सदस्य तथा मकवानपुरे सबै साहित्यकारसँग छलफल र सहमतिमा योजनावद्ध रुपमा काम गर्ने उनले प्रतिवद्धता जनाएकी छिन् । उनले संगममा रहेर मकवानपुरे साहित्यको विकाससँगै भौतिक विकासलाई पनि जोड दिने बताइन् । उनले गुटउपगुुटबाट टाढा रहेर नितान्त साहित्यको सेवामा सर्मर्पित हुने प्रतिक्रिया दिएकी छिन् ।

यसैगरी अधिवेशनले उपाध्यक्षमा सानु खनाल, सचिवमा डिबी बर्तौला, सहसचिवमा यमनदेव उत्प्रेरक, कोषाध्यक्षमा मनोज पोखरेल निर्वाचित भएका छन् । संगमको कार्यसमिति सदस्यमा मेनुका तिमल्सिना, कुवेर पराजुली, गंगा सापकोटा र सुनिल गौतमलाई निर्वाचित गरेको छ ।
समितिको अन्य पदमा सर्वसहमत भएपनि सचिवमा भने निर्वाचन भएको थियो । सचिवमा डिबी बर्तौला र रमेश बञ्जारको उम्मेदवारी परेपछि मतदान प्रक्रियाबाट बर्तौला विजयी भएका हुन् । मतदानमा प्रक्रियामा बर्तौलाले ७३ र बञ्जारारले ९ मत प्राप्त गरेका थिए ।
संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षमा अधिवेशन भएको अधिवेशनको प्रमुख अतिथि साहित्यकार तुल्सी थापा रहेका थिए । अधिवेशनको बन्दसत्रले कोषाध्यक्ष सानु खनाल र सचिव डिबी बर्तौलाको प्रतिवेदन पास गरेको छ । यस्तै अधिवेशनले संगमको विधानको विभिन्न बुँदालाई परिमार्जन तथा थप गरेको छ ।
कार्यक्रममा साहित्य संगम मकवानपुरका सल्लाहकारद्वय तुल्सी घिमिरे र आरसी रिजाल , भिमविराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्य, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, साहित्य संगम मकवानपुरका पूर्व अध्यक्ष सुवास खनाल, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, नेपाली लेखक संघका अध्यक्ष विष्णु गौतम, नवसर्जक साहित्य चौतरीका अध्यक्ष प्रशन्ना चौलागाई लगायतको उपस्थिति रहेको थियो ।
- सविता के.सी.
ऊ आयो अनि सोध्यो “के तिमी आफूलाई बेच्दै छौ ?” उनले भनिन् “हो बेच्दै छु ।” “अनि मूल्य त निकै राखेकी रहिछ्यौ त !” उसले भन्यो ।”तिमीले मलाई मासु खान राखिएका राँगा, बोका, सुँगुर, ब्रोइलर कुखुरा सोच्यौ कि कसो? मासु मोलमा भाउ राख्न ?” उनी कड्केर बोलिन् ।
उसले अनकनाउँदै भन्यो “हैन । फेरि पनि !”उनले भनिन् “मैले मेरो इमान्दारिता, मेरो स्वाभिमान, इज्जत मेरो सत्यता विक्री गरेर खुसी किन्न खोजेको हो ।” “इमान्दारिता बेचेपनि पुग्छ खुसीका लागि । इमान्दारिता बेचेपछि स्वभिमान, सत्यता, इज्जत अपाङ्ग हुन्छन् । त्यसैले सबैलाई एकमुष्ट बेच्ने योजना छ । अनि त्यसले खुसी किनेर आरामको जीवन जिउने रहर छ । सक्नुहुन्छ किनेर देखाउनु होइन भने मेरो भाउ मेरो मूल्यमा दख्खल नदिनु ।” उनले कड्किएरै भनिन् ।
ऊ केही नबोली जुरुक्क उठेर गयाे । उनी आफ्नो चिन्तित अनुहार लिएर भित्र पसिन् ।
बझाङ
सावित्री अधिकारी
आजकाल त घरको चुलो बाल्नै गाह्रो भो
रित्तिसक्यो गोजि आफ्नो पेट पाल्नै गाह्रो भो ।
महिना बितिसक्यो अब हात खाली भाको
फाटी सक्यो धोती चोली पनि टाल्नै गाह्रो भो ।
प्राइभेट शिक्षक म सवै गर्छन आदर
सम्मानकै भरमा पाइला चाल्नै गाह्रो भो ।
कोरोनाको त्रास मात्र फैलियो सबैतिर
यस्तो बेला नयाँ काम पनि थाल्नै गाह्रो भो ।
गाउँ फर्की जाउँ भने नि बस्ने बास छैन
भुकम्पले लडाको घर उचाल्नै गाह्रो भो ।
छोराछोरी निन्याउरो परि हेर्छन् मुखमा
कठै !मिठो मसिनो मुखमा हाल्नै गाह्रो भो ।
कति छन् कति पिडा कसलाई सुनाउनु
मनको पीर यी आँसुले पखाल्नै गाह्रो भो।
काठमाडाै
बासुदेव गुरागाईं
१.
पुग्दैन याे किन भन्थेँ सधैँ मनकाे धाेकाे
खनीखाेस्री जे गरे’नि सधैँ तनकाे भाेकाे
साेद्धाखाेज्दा आजित भएँ किन हुन्छ यस्ताे !
आखिरीमा पत्ता लाग्याे भाग्य रैछ डाेकाे ।
२.
भ्यागुताकाे धार्नी कैले पुग्छ यस्तै बात भए
पँधेराकाे गफ हुन्छ हिँडाइमा घात भए
जति मथे पनि दही नाैनी कतै निस्कदैन
खुट्टा काँप्न बेर छैन उज्यालैमा रात भए ।
३.
ढुङ्गा बाेल्न थाले यहाँ माटाे बाेल्न थाले
उँभाे लग्ने हामीलाई काे छाै ? भन्न थाले
गर्छाैँ भन्ने माथि पुगे बिर्से सबैलाई
त्याे पनि हाे ऊ पनि हाे भन्दै गन्न थाले ।
नुवाकाेट हाल काठमाडाै