
१.
बाबाले घट्स्थापना थापी सक्नु भो,
आमाले आजै जमरा राखी सक्नु भो!
तिमी पनि आउने प्रयास गर हे प्रदेशी,
माइला दाइले नि बाटो लागी सक्नु भो।
२.
बाध्यता मै दिन बित्छ्न प्रदेशमा दशै तिहार सम्झिएर
आफन्तको मीठो माया अनि प्यारिको प्यार सम्झिएर
आँखा बाट आँसु बगाएरै किनेको टिकेट फिर्ता गरेँ आमा–
बाबाको टाउका माथी थुपारिएको रिणको भार सम्झिएर।
भरतपुर -५,चितवन

दशैंकाे पहिलाे दिन घटस्थापना
तन मन लगाई गराै देवी बन्दना
जाैं मकै गहुँ छरी सबकाे घरमा
शैलपुत्री देवीकाे -गराैं साधना
सिरानचोक ३ गोरखा

लाला र बाला चिची र नानाको सपना बुन्छ दशैंको बेला
गरीबको साउ साँवा र ब्याज हिसाब गुन्छ दशैंको बेला
बुझे नि दुख प्रिया हेर कठै थाम्दैन त्यो मन अामाको
हेरेर बाटो रुन्छि अामा प्रदेशमा छोरो रुन्छ दशैंको बेला।
हेटाैडा मकवानपुर

बिदा पाए साईली अवश्य आउने छु
तिमीलाई सुनको सिक्री ल्याउने छु
घर लिप पोत गरी राख बेलैमा प्यारी
यसपाली आमा बा को आशीष पाउने छु।
रुम्तेक सिक्किम

१.
यो बर्ष दसैको टीका लगाउन पाइन यस्तै भो
रहर थियो आउने, आउन पाइन यस्तै भो
भन्ने बित्तिकै समय नमिल्दो रैछ बिदेशमा–
मायाको लागि धाउन पाइन यस्तै भो ।
२.
शहर भन्दा गाउँ रमाइलाे हुन्छ चाडबाडमा
वातावरण, घर सुकिलाे हुन्छ चाडबाडमा
परदेश र घरदेश सम्मका गाउँघर फर्कन्छन्
सबैसगँकाे भेटघाट सजिलाे हुन्छ चाडबाडमा ।
हेटौंडा मकवानपुर

आम नेपालीको सामु खुसीयाली छाउँदै छ
अबोध शिशु पनि रमझम देखेर रमाउँदै छ
यता परदेशीलाई सम्झेर रुँदै छन् परिवार,
परदेशी उता परिवारको लागि कमाउँदै छ ।

दशैको लहर आयो फेरी
हर्ष उमंग त छायो फेरी
गरिबलाई दशै हो दशा
भन्नु पर्नेछ फसायो फेरी ।

प्रदेश बाट यो साल दशैमा आफ्नो घर फर्कीने मन छ
गाउँ घर रहे सम्म आफ्ना साथी-भाइ सम्झिने मन छ
तल्ला घरे ठुलदाई र भाउजु मिली लठ्ठा बाट्दै होलान
दोहोरो प्यारी सँग लिङ्गे पिङमा बेस्सरी मच्चिने मन छ ।
पाेखरा

घोर्ले खसी किनेर आफ्नै टाट्नामा बानौंला आमा
आफुलाइ मन परेका राम्रा कपडा छानौंला आमा
बिदेशको काम र कोभीडबाट मुक्ति पाइएछ भने
अर्को सालको दशै हजुरसंगै बसेर मानौंला आमा।
झापा
मीरा न्यौपाने गजुरेल
१.
सुन्दर शान्त एकताको परिवेश कसरी बनाउन सक्छौ ?
छैन समानता देशमा एउटै भेष कसरी बनाउन सक्छौ ?
झुटा र ठुला भाषण ठोक्नेहरू,खोक्रोआदर्श बोक्नेहरू!!
आफ्नैआँगन आफैँ भत्काउनेले देश कसरी बनाउन सक्छौ ?
२.
यी आँखाहरूले अब कत्ति रहर तिम्रा गन्न सक्दिनँ म
सधैँ फूूल दिँदा काँढा दिनेलाईआफ्नो भन्न सक्दिनँ म
जति हृदयले पुजे पनि, यादमा रातदिन डुबे पनि
पलपल यो मन जलाउनेको आफ्नो बन्न सक्दिनँ म।
३.
मनोहर छ प्रकृति शरद्ऋतुको मिठो प्रहर चलेको छ
घरमा दसैँ पसेको छ मनमा उल्लास र रहर चलेको छ
अम्बा र सुन्तला बारीभरि धानका बाला झुलेकाआलीभरी
दङ्ग छन्,किसान शरद् ऋतुको मिठो लहर चलेको छ।
४.
आफ्नै स्वार्थ मात्र बटुल्ने ती नेता भएनन् थेचा भए
कहिल्यै जाती भएनन्,सधैँभरि जनताका व्यथा भए
यो देश कहिल्यै दुख्दैनथ्यो,जनताको मन टुट्दैनथ्यो,
शान्ति र समृद्धिले भरिन्थ्यो देश स्वाभिमानी नेता भए।
५.
कहिले पत्नी बनेर लेखेँ, कहिले प्रेमिका बनेर लेखेँ,
हरजन्म तिम्रै दासी प्रिय, ! तिम्रै सेविका बनेर लेखेँ,
कल्पनामा हराउँदा, सम्झनामा अश्रुहरू बहाउँदा,
प्रेमको मिठो अनुभूति गर्दै सधैँ लेखिका बनेर लेखेँ।
तीनकुने काठमाडौं
खुशी ‘कला’
किन हुन्छ दुख,किन आधार पत्ता लाग्दैन।
यो शहरमा खुशीको बजार पत्ता लाग्दैन।
हत्याहिंसा बढ्यो कहाँ हराउन थाले चेलीबेटी,
छोरी चेली सुरक्षित रहने घरबार पत्ता लाग्दैन।
छाम्दा भेटिदैन मनको घाउ तर चस्किरहन्छ
धामी डाक्टर सबै धाएँ उपचार पत्ता लाग्दैन
निद्रा विहान सम्म,यात्रा चिहान सम्म त हो,
मान्छे किन दौडिरहन्छ हतार पत्ता लाग्दैन।
गरिबी पढेको छु महँगीको कथा पढेको छु,
देश लथालिङ्ग छ भ्रष्टाचार पत्ता लाग्दैन ।
अधिकारको प्रयोग गर्न पनि सक्नुपर्छ महोदय
अधिकार भनि हिड्दैमा अधिकार पत्ता लाग्दैन।
लेखनाथ पाेखरा, हाल जर्मनी
लक्ष्मी निरौला
१.
हाम्रै निम्ति खटिँदाका ठेला हत्केलामा लिएर गयौ
आफ्नु सास समेत प्रकृति लाई जिम्मा दियेर गयौ
सन्तान सुखी रहुन् भन्दै गरेउ मेहनत पौरखी भै,
दिई जिम्मा श्री सम्पति आफू गङ्गाजल पिएर गयौ ।
२.
नीति नियम मर्यादाको पालक बनेको छु
लक्ष्य विहिन गन्तव्यको चालक बनेको छु
बाँधिएका छन् हात पाउ सहित जीउ पनि,
तेसैले एउटा बबुरो ~ बालक बनेको छु।
३.
मिर्मिरेले रवि किरण~तिम्रै माथमा पारोस्
गोधुलिले इन्द्र धनुष~तिम्रै हातमा झारोस्
सुख,शान्ति,समृद्धि र सबल स्वास्थ्य सहित,
विधताले दीर्घ जीवन~तिम्रै गाथमा सारोस् ।
४.
आफू संतृप्त हुन अर्काको मन चर्न खोज्छन्
उसैको पुच्छर समाई वैतर्नी तर्न खोज्छन्
मनको भित्री बगैंचामा स्वार्थकाे फूल फुलाई,
आडम्बरी उपकारको सद्भाव छर्न खोज्छन्
५.
फल लाग्ने भएपो घमण्ड फुल्नुको अर्थ हुन्थ्यो
वाला लाग्ने भएपाे उन्यूले झुल्नुको अर्थ हुन्थ्यो
पर्दा भित्रै रहेको बेश सुन्दर् स्वप्ना देख्ने नयन् ,
सत्य तथ्य देखेपो नजर खुल्नुको अर्थ हुन्थ्यो ।
झापा