मकवानपुर । साहित्य संगम मकवानपुरले शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम गरेकाे छ । संगम मकवानपुरले शनिबार हेटौंडा—४ मा रहेको साहित्य संगमकाे भवनमा बडादशै, तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम गरेको हाे ।
साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएकाे कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीहरुले शुभकामना आदानप्रदान गर्नुका साथै मुक्तक, गजल र कविता वाचन गरेका थिए ।
कार्यक्रममा पूर्वअध्यक्ष निमेष निखिल, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, संगमकै पूर्व अध्यक्ष सुवास खनाल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, गजल मञ्ज मकवानपुरका अध्यक्ष देवराज तिवारी, मुक्तिगोविन्द बैद्य, तुल्सी घिमिरे,जेसीआई हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठ, संगमका उपाध्यक्ष सानु खनाल, विश्वनाथ संजेल, सचिव डीबी बर्तौला, मसन उपासक लगायतको उपस्थिति थियो ।
मकवानपुर । ‘स्मृति बिम्बमा श्यामप्रसाद’ पुस्तक लोकार्पण गरिएकाे छ । राजनीतिक, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउएका मकवानपुरका श्यामप्रसाद शर्माको स्मृतिमा विभिन्न व्यक्तित्वले लेखेकाे रचनाहरुको संगालो ‘स्मृति बिम्बमा श्यामप्रसाद’ पुस्तकको शनिबार लोकार्पण गरिएकाे हाे ।
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालले प्रकाशन गरेको पुस्तक बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ तथा राजनीतिक एवम् सामाजिक व्यक्तित्वले शनिबार हेटौंडामा लोकार्पण गरेका हुन् ।
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष कौशल पाण्डेको अध्यक्षतामा भएको पुस्तक लोकार्पण समारोहमा श्यामप्रसाद शर्माको व्यक्तित्वका विषयमा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले जानकारी गराएका थिए । प्राध्यापक घनश्याम घिमिरेले समीक्षात्मक टिप्पणी गरेकाे पुस्तक ६६ जना व्यक्तिका रचना संगालोको रुपमा प्रकाशित भएको छ ।
पुस्तक लोकार्पण कार्यक्रममा राजनीतिकर्मी बद्रिप्रसाद खतिवडा, केदार न्यौपाने, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, मुनु सिग्देल, ओमबहादुर ग्लानसहित साहित्यकार, राजनीतिकर्मीको उपस्थिति रहेको थियो ।
बि.सं. १९८६ मा मकवानपुरको मन्थली, सोलीथुममा जन्मनुभएका श्यामप्रसाद शर्माको २०७४ साल बैशाख २४ गते निधन भएको थियो ।

सरास्वती तिवारी
१.
चाडबाड आयो हर्ष खुशि उमङ्ग छायो देशमा
तिज गयो, तिहार आउदैछ दशैं आयो देशमा
बाटोहेर्दै आँखा पाटिए प्रदेशी कहिले आउछ ?
नआउने खबरले बा आमालाई रुवायो देशमा ।
२.
दिनभरी गर्थी कमाई बेलुकी खान पुग्दैन नआउ दशैं
टीकाथाप्न गाडी भाडा महंगो जान पुग्दैन नआउ दशैं
बजार महंगाईले डाडो काट्यो पहुँच बाहिर सबै कुरा,
अलिकति फलफुल पाउर लैजान पुग्दैन नआउ दशै ।
बासा, नवलपरासी

सतीश पण्डित
दशैँ आयो तिहार नि आउँदै छ
गाउँघर जाउँ झै नि लाउँदै छ
चाडबाडको रमैलो यही नै हो
हुँदा सँगै परिवार रमैलो छाउँदै छ।
भानु ६ चुँदी तनहुँ, हाल मातातीर्थ काठमाडाैं

खुसी ‘कला’
दसैँ, तिहार, गाउँघर सम्झी परदेशी रूँदैछ
दुख र पीडा मनको घाउ चोट आँसुले धुँदैछ
ती बुढी आमा छोराको बाटो हेर्दै टोलाइ बस्दि हुन,
स्वास लामो फेर्छ साहुको ऋण केही जम्मा हुँदैछ।
लेखनाथ पाेखरा हाल जर्मनी

प्रकाश ‘निश्चल’
धनिका लागि दसैं तिहार शुभ दिन हुन्छ
गरिबको टाउकोमा साहुको ऋण हुन्छ
आउन आयौ रमझम गर्दै झुपडीमा पनि
परिबर्तन लिएर आउ पठाउन कठिन हुन्छ ।
जाजरकोट

नानु राना थापा
मालश्री धून रोटेपिङ रमणीय वातावरण दशैं आगमनको
कति छन् कति अविस्मरणीय क्षण आनन्दित मनको
त्यो खुशी आज कहाँ गयो जीन्दगीले कोल्टे फेर्दा
पूनारावृति भईदिन्छ मानसपटलमा त्यो बालापनको !
स्याङ्जा, हाल बेलायत

गणेश तिमल्सिना
याे दसैं कसैलाई मासु त कसैलाई आँसु नहाेस् ।
कसैका जवान छाेरा कसैका बुढी सासू नहाेस् ।
हे माँ ! सबैका आँखामा खुसी छर्दै पेट भरियाेस् ।
काेही मेस्तर काेही सुब्बा साहेब नासु नहाेस् ।
गाेदार, धनुषा

भावना बिष्ट
जान पाइन के गर्ने हो दशैमा घर यसपाली
कहिल्ये भाग्य सात दिदैन कहिल्ये घरको माली
सात बर्ष भो भाई बहिनीको टिका नलागेको,
हरेक बर्ष हुन थाल्यो अभागीको निधार खाली ।
अछाम

सुधिर थापा
रोक्नै सकिएन आँसुको सागरलाई
काम्मा नै लगाएँ ती थुप्रै जाँगरलाई
ठूलो माग त का’ हो र यो महान चाड्मा
ल्याउ नै सकिएन सानीको घाँगरलाई ।
काठमाडाैं

सुविद्या सिग्देल
यस पटक त चुहिनी छाना छाउनु छ
आमाको हातको टीकाजमरा लाउनु छ
बुद्धि बोकेर विदेश आइयो हण्डर खाइयो ,
अब परिश्रम गर्न मातृभूमि मै आउनु छ ।
काठमाडाै

अन्जिता राउत क्षेत्री
किन आउँछ बेकार यो दशैं तिहार
सारा पर्देशीलाई रुवाउन बारम्बार
आफ्नै गाउँघर बाबा आमा सम्झेर
रुँदैरुँदै बस्नुपर्छ यहाँ खाली निधार।।
सोलुखुम्बु
भावना बिष्ट
१.
तिम्रो हाँसो असाध्यै नै सुहाएको भन्छ
बैसालु ती नजरले यो मन रुवाएको भन्छ
जसलाई दिएकी थे मैलै चोखो प्रेमको रस,
आज उसै अमृत भनी जहर खुवाएको भन्छ ।
२.
खुट्टा तानेर नसोध उसको इच्छा
जाने जति साबित गर्ला नखोज शिक्षा
पैसाकाे नगर गरिबसंग घमण्ड महोदय,
करोड सकिएर मागेर खानु पर्ला भिक्षा ।
३.
प्रेम गर्न सिकाउछन् अचेल कलिला नानी
शान्त रहन पाठ सीकाउँछ सागरको पानी
जिन्दगी त हाँसो संगै आँसुको मिश्रण रहेछ,
दुःखमा संघर्ष गर्दै हिड्दै छ याे जिन्दगानी ।
४.
कहिले काँही यात्रा एक्लै हिडनु पर्दो रहेछ
हिड्दा हिड्दै खाली पाईलाहरु छेड्नु पर्दो रहेछ
जीवनभर साथमा र हातमा कोहि हुदैन यहाँ,
जस्तोसुकै दुख कष्टसंग एक्लै भिड्नु पर्दो रहेछ ।
अछाम
गंगा सफल
वडा दशैं उत्सबका साथ मनाउनु सबै नेपालीले
जमरा र रातो टीका लाउनु सबै नेपालीले
निधारमा रातो टीका, जमरा र आशिर्वाद
थाप्नलाई मान्यजन काहाँ धाउनु सबै नेपालीले
देखा-सेखी गर्ने बानी सारै गलत नेपालीको
औकातमा जे छ त्यसमै रमाउनु सबै नेपालीले
राम्रो लाउने ,मिठो खाने इच्छा होला सबैलाई
उमंग र खुशीको गीत गाउनु सबै नेपालीले
खल्लो होला कत्तिको मन बिछोड र वेदनाले
यसपालिको दशैंमा घर आउनु सबै नेपालीले
उर्लाबारी, मोरङ