शाेभा शाह थापा
मौका छोपी छोपी गरीब लुट्ने साउको युग हो यो ।
बाबू मार्ने छोरा र छोरी लुट्ने बाउको युग हो यो ।
बिक्दैन अचेल यहाँ खुकुरी खुर्पा कुनै हतियार,
विश्वासघातको छुराले पाउने घाउको युग हो यो ।
जसको छ रुपैयाँ पैसा उसकै चल्छ ऐसा तैसा
कसले गन्छ चानचुन डलर भाउको युग हो यो ।
बन्नु छैन विद्वान मलाई गर्नु छैन पि एच डी
माल हेरी हेरी गोटी चाल्ने दाउको युग हो यो ।
अधर्मी भए सन्तान जन्मिदैंन श्रवण कुमार
वृद्धाआश्रम गई रुँदै बस्ने माउको युग हो यो।
पार्वती भट्ट
१.
अनाैठाे युद्ध चलिरहेछ, आफैँ भित्र अरु के भनुँ
बुझी नसक्नुका हुँदा रहेछन् ,चरित्र अरु के भनुँ
उदास रङ्गमञ्च अनि व्यङ्ग्य कथानक बाेकेकाे
जिन्दगी भइदियाे, नचल्ने चलचित्र अरु के भनुँ ।
२.
अलिकति रिस राग अनि, अलिकति डाहा हुनुपर्छ
घृणाका पहाड भित्र पनि, अलिकति आहा हुनुपर्छ
हेर ! अरु जेजस्तो भए पनि फरक पर्दैन जिन्दगीमा
प्रेम चाहिन्छ हर कसैलाई पनि, यत्ति थाहा हुनुपर्छ ।
३.
प्रेमकाे कुनै साँध – सिमाना, देश र घर हुँदैन
दृष्टि समान हुन्छ, विषमता देख्ने नजर हुँदैन
यत्ति बुझिदिए पुग्छ, प्रेमकाे बजार थाप्नेहरुले
साँचाे प्रेमकाे कुनै माेलताेल हुँदैन, दर हुँदैन ।
डडेल्धुरा हाल इमाडाेल, ललितपुर
मेरी आमालाई ताते हिड्न सिकाउने,
यी पखेराहरू र भीर पाखासंग अभ्यस्त बनाउने,
यी लहरा-बेराहरू, खहरे-खोल्साहरू,
आमाको प्राणको लागि प्राणरस भर्ने आमाहरू,
कर्तव्य पथमा अडिग बन्न प्रेरित गर्ने बुवाहरू,
आमालाई जीवन कलामा रङ्ग भर्न सिकाउने,
मेरो आदरणीय मामाहरूका साथमा
साराका सारा जीवन दिने,
यो माटो, यो हावा-पानी, यो सिङ्गो धरामा,
पहिलो पटक पाइलो टेक्दैगर्दा,
मेरोमन ढक्क फूलेर आयो,
खुसीले भक्कानिएँ, अवरुद्ध बने गला,
रसिला बने नयन, बोल्न सकिन,
मनले सोधे: “आमा ५० बर्षपछी फर्केर हेर्दा यो भूमी कस्तो लाग्यो ?”
उबेला आमा बाध्यताले चढ्नुहुन्थ्यो भीर,
घाँसको भारी बोकेर,
दाउरा भारी बोकेर,
पानीको जोर गाग्रो बोकेर,
मेला पर्म गर्नुहुन्थ्यो,
ऐंचोपैचो गर्नुहुन्थ्यो यही माटोमा,
यही बाटोमा बालबधु मेरी आमाले
गर्नुभयो घर-माइती,
आहा !
पाखैभरी फूलेका छ ढकमक्क कटुसका फूलहरू,
बगैंचै भरी हाँसीरहेका छन् सयपत्रीहरू,
स्वागत गरीरहेका छन् तिहारलाई,
अर्थात मेरी आमालाई,
कलकल झरीरहेका छन् खहरे खोल्साहरू,
मीठो झोका दिईरहेको छ पवनले,
यो प्रिय भूमी, स्वर्गको एउटा टुक्रा,
जहाँ देवत्वको रूप लिएर बसेका छन्:
मेरो मामा-माइजूहरू,ठुलोबुवा-ठुलीमाहरू,
दिदिबहिनीहरू,दाजु-भाउजुहरू,
भाइ-बुहारीहरू, भिनाजु र ज्वाईहरू,
अनि अबोध चन्चले नानिबाबुहरू ।
विकासको श्वाद चाख्दै गरेको,
हराभरा उछ्याईलो धरती,
प्रकृतिको रमणीय छटाले भरिपुर्ण,
यो पुण्यभूमी, यी मनकारी मनहरूलाई
हृदय बिछ्याएर नमन:
मेरी आमाको प्याण,मेरो जननी प्रिय छवेली,
निस्कपट मनकारी छवेली गाउँवासीहरू ।

टिङ्कु भट्टराई
यसपाली त परदेशीले आउने भन्नु भा छ
सँगै बसी रातोटीका लाउने भन्नु भा छ
उत्साह र उमंगले मनै अति फुरुङ्ग भो
यता भ्याई उता पनि धाउने भन्नु भा छ ।
लक्ष्मीपुर इलाम

दिपेन्द्र अधिकारी
दसैंआयो पिङ्गखेल्न मन उडेर पुग्यो गाउघरमा
ठिङ्गै शरीर मात्रै रोकियो हजुर टोक्यो शहरमा
कहरहरू पनि हुन्छन् जिवनमा चाहमात्रैले भएन
तालमेल मिल्दैन जान प्रदेशिको आफ्नै रहरमा ।
पाेखरा हाल जापान

निरू गाैतम
१.
बडादसैँ पनि खल्लो हुने भयो
मन सुस्ताइरहने सल्लो हुने भयो
भगवानलाई पनि ईर्ष्या लागेछ कि !
खुशी जमेर हिउँको डल्लो हुने भयो ।
२.
याद आउँदा घरको मुटुमा भक्कानो फुट्दछ
सपना नराम्रो देखी रातमा नै निन्द्रा टुट्दछ
चाडबाडमा पनि पसिना बगाउँदै छ पर्देशी,
परिवार सम्झी अनायासै हिक्का छुट्दछ ।
मोरङ

सूर्य गिरी
मन मस्तिष्कमा खुसी छाउन पाए पाे दशैँ
मालसीरी धुनसँगै गीत गाउन पाए पाे दशैँ
मान्यजनहरुबाट शुभआर्शिवाद ग्रहण गर्दै,
निधारमा टिका जमरा लाउन पाए पाे दशैँ ।
माछापुच्छ्रे ५,कास्की

गंगा खड्का
सबैका मुहारमा जून लागोस् यसपटकको दसैँले
अभाव, पीडा र छटपटीले बाँच्न नपरोस् है कसैले
सत्यको सदा जित होओस् सर्वत्र असत्यको पराजय
हर्षको उल्लास छाई मन भरियोस् अलौकिक रसैले ।
बुढानिलकण्ठ काठमाडाैं

प्रीति आत्रेय ज्ञवाली
सबै भन्छन् दशैँ आयो खाउँला लाउँला घुमौँला
परिवार आफन्त मिलीजुली रमाइलो नै गरौँला
जुरेकाले भेटून् रमाइलो गरून् प्रीतिको शुभकामना
परिस्थितिले टाढिएकाले फोनबाटै आशिष थापौँला।
बुटवल हाल न्होम पेन्ह, कम्बोडिया