दुर्गा घिमिरे
एक एक गरी आए बितिगए दिन
उसरी नै रात बित्यो सुति एकैछिन
हप्ता भन्दै, महिना भन्दै, बर्ष पनि बित्यो
दु:ख, कष्ट, संघर्षलाई समयले जित्यो
आजभोलि एउटै चिन्ता लागिरहन्छ जहिले
खोज्दैछु म मेरो जोबन बुढो भयो कहिले ?
ऐना हेर्यो अस्ति भन्दा हिजो फरक छैन
हिजोबाट आज पनि फरक देखिदैन
दुईचार महिना अगाडिको खुब याद आई
तस्बिर हेर्दा उस्तै उस्तै लाग्दछ मलाई
जून तारा झैं फरक किन ? उहिले र अहिले
भन साथी मेरो जोबन बुढो भयो कहिले ?
घुम्रीएका आँखिभौंले गहीरा आँखा छेक्दा
हेर्दा हेर्दै शिरमाथि सेतो कपाल देख्दा
पखालेरै खुइलिएको हो कि भन्ठानेर
पन्ध्र दिनमा एकपटक नुहाउंछु हेर
तर पनि कपाल छ कपास झैं अहिले
लौन हजुर मेरो जोबन बुढो भयो कहिले ?
तताएको प्लाष्टिक जस्तो शरीरको छाला
फुर्के थैली कसे जस्ता निधार र गाला
मिचीमिची धोएर पो हो कि भन्ठानेर
ख्वाल्ल पानी खन्याउँछु मिचिरहन्न धेर
आइरन लगाउँ जस्तो भयो अनुहार अहिले
हरे शिब मेरो जोबन बुढो भयो कहिले ?
धनुष जस्तै बाङ्गिन पो थालिसक्यो जिउ
सोझोहुन नभ्याउने कामैकामको निहुँ
आजभोलि धेरै काम मँदेखि छन् टाढा
जहाँसुकै बस्दा पनि लगाउँछु आड
केले छेकिराख्नु पर्थ्यो पत्तै पाइन मैले
अरे बाबा मेरो जोबन बुढो भयो कहिले ?
डुल्दा, खेल्दा, हिड्दा, बस्दा, खाँदा, सुत्दा फेरी
सँगसँगै लगि जान्थें बाथरुम जाँदाखेरी
एकै निमेष छाड्दैनथें उम्केला कि भनी
कत्तीबेला झुक्याएछ यति गर्दा पनि
चिन्तनमा डुबेकोछु यही कुराले अहिले
हत्तेरीका मेरो जोबन बुढो भयो कहिले ?
हेटाैडा, मकवानपुर
लक्ष्मी सुवाल
आमाले भन्छिन् तातो भात त खाएर जा छोरी
चिसो लाग्छ यो जाडोमा न्यानो लाएर जा छोरी
अरुको मात्र कति ख्याल गर्छस आफ्नो नि गर्नु है
मानिसको सेवा धर्म हो ठानि अगाडि बढ्नु है ।
पानी त पिउने फुर्सद हुन्न के खाना खाउ आमा
पी पी ई लगाई नै सके म के न्यानो लाउ आमा
दिन र रात अनि चाडपर्ब भुलि अस्पताल आइन्छ
जति आफ्नो सोचि सेवा गरेनी न त जस पाइन्छ ।
आँखामा आँसु लुकाई, मनलाई ढुङ्गा झै बनाउछु
जीवन र मरण रितै हो सोची आफूलाई मनाउछु
आतिन्छ मन पीडितका आँसु जमिनमा पोखिदा
निर्जिब झै त्यो मृत शरीर सेतो कात्रोले छोपिदा ।
म दिन्थे सबैलाई औषधि पाए अमर रहने
साहास मिलोस सबै दुखिलाई पिडा त्यो सहने
दुखेको घाउमा मलमपट्टि सधैभर लाउने छु
नर्सको चिनारी बोकेर म अगाडि आउने छु ।
चाँगुनारायण, भक्तपुर
खुशी कला
अझै धड्किन्छ दिल आभास अर्कै छ।
छ माया प्रेमको इतिहास अर्कै छ।
विना तिम्रो नजिक बाँच्ने म कसरी खै,
यो माया प्रेमको मधुमास अर्कै छ।
यो जीवनको कुनै रचना छ अब भेट्नु
म सायरको सधैँ उल्लास अर्कै छ।
उसैले प्यारको बद्ला दियो धोका,
अझै गाढा उ प्रति विश्वास अर्कै छ।
तिमी छौ बाँच्छु पीडा आज सब भुली,
तिमी वाहेक फेर्ने स्वास अर्कै छ।
पाेखरा
लक्ष्मी रेग्मी खनाल
१.
नभन मलाई तिम्रो आफ्नै सुर छ
मेरो शिरमा त पराईको सिन्दुर छ
साथ अनि काख पराइको भए पनि,
यो मनमा तिम्रो नै माया मधुर छ ।
२.
मनमा एउटा शिरमा अर्को सजाएकी थिए
भित्रभित्रै रुदै बाहिर त्यसै लजाएकी थिए
उपनाम पाए धोकेबाजको होइन भनाै ,
भक्कानिएर रुदै पञ्चेबाजा बजाएकी थिए ।
३.
सपनाहरु सब टुटे झै लाग्छ
गन्तव्यहरु सब छुटे झै लाग्छ
कति के के बाहाना बनाउ र खै !
समयले नै सब लुटे झै लाग्छ ।
४.
सपना पक्कै टुट्छ एक दिन
सिसा पनि फुट्छ एक दिन
जोसँग सजाए हजार सपना
उसैसँग साथ छुट्छ एक दिन ।
वालिङ् स्याङ्जा
नैना अधिकारी
विश्वासको घाटी रेटेर
समुद्री जीवसरी
जताततै सलबलाई रहेछन्
हजारौं टाउँकाहरू
काला
सेता
सुनौला
परिचित
अपरिचित
अविराम कुदिरहेछन् कति हो कति टाउका
पिस्सिइरहेछन् सांसारिक अन्तर्द्वन्द्वको जाँतोमा
फरेबको धुलो आँखामा छ्याप्ने तरखरमा
मौका छोपेर बसिरहेछन्
अनगन्ती टाउका
कतै विरोधका टाउका
कतै समर्थनका
कतै ताक परे तिवारी नत्र गोतामेका टाउका
जताततै टाउकैटाउका,
गिदी भएर पनि रित्तो जस्ता
शिथिल भएर बसेका,
स्वार्थको चाँयाले भरिएको कपाल बोकेर
धोकाको रङ्ग पोतेर आँखा छल्न पल्केका टाउका
टाउकोको सदुपयोग गरेर
(होइन, दुरपयोग भन्दा सही होला)
टाउकाहरू धनी भएका छन्
मानी भएका छन्
दीनहीन टाउका
दलित टाउका
यी टाउका टाउका मात्र हुन्
टाउकै त होइनन्
टाउकाले देश सपार्छ
बिग्रेका टाउकाले देशै स्वाहा पार्छ
एक टाउकाले हजारौं पाखुरालाई धराशायी पार्न सक्छ
हेरिराख!
हेरिराख, तेस्रो विश्वयुद्धमा बम पडकिँदैन
टाउको रन्किन्छ
अनि संसार सल्किन्छ।
कामरूप, असम भारत
(अधिकारीकाे भर्खरै प्रकाशित कविता संग्रह ‘घात-प्रतिघातका उद्गारहरू’ मा समावेश कविता- सं)