मातृभूमिद्वारा संगीतकार वल्लभ सहित ६ जना सम्मानित
Tags: No Comments
मकवानपुर । मकवानपुर जिल्लाको अग्रेणी साहित्यिक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले सगीतकार शक्ति बल्लभ सहित ६ जनालाई सम्मानित गरेको छ । शनिबार हेटौंडामा मातृभूमिले संगीगकार बल्लभसँगै पुरातत्वविद् बसन्त विडारी, साहित्यकार सीताराम अधिकारी, नाटककार उज्ज्वल शर्मा भण्डारी, अधिकारकर्मी सरस्वती बर्तौला र बाल कलाकार जेनिश उप्रेतीलाई सम्मान गरेकाे हाे ।
२० हजार राशीको नित्यगोविन्द स्मृति संगीत पुरस्कार–२०७८ बाट शक्ति बल्लभ, १५ हजार राशीको क्षेत्रबहादुर स्मृति सम्मान–२०७८ बाट बसन्त विडारी, ११ हजार राशीको होमनाथ–बलदेवी मातृभूमि छन्द साहित्य सम्मान–२०७८ बाट गोरखाका सीताराम अधिकारी, १५ हजार राशीको राजकुमार स्मृति माृतभूमि सम्मानबाट उज्ज्वल शर्मा भण्डारी, १० हजार राशीको मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान–२०७८ बाट सरस्वती बर्तौला र मंगलादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल सम्मान–२०७८ बाट द भ्वाइस अफ किडका विजेता गायक जेनिश उप्रेती सम्मानित हुनुभएको छ ।
विभिन्न व्यक्तिले आफ्ना परिवारका सदस्यको स्मृतिमा स्थापना गरेकाे पुरस्कार तथा सम्मान प्रदान गरिएकाे मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलले बताए । समाज अध्यक्ष पोख्रेलको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एवम् पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न साहित्यकारले रचना वाचन गरेका थिए ।
मकवानपुर । झरना साहित्यिक परिवारकाे २ सय ७६ औं नियमित साहित्य शृङ्खलाकाे अवसरमा २८औं मुक्तक साँझ–२०७८ कार्यक्रम भएकाे छ । शनिबार भएकाे कार्यक्रम अन्तरगत सम्मान, प्रतियाेगिता एवम् टिकटमा मुक्तक कार्यक्रम भएकाे हाे ।
मुक्तक साँझ कार्यक्रममा मकवानपुरका ३ जना तथा अन्य जिल्लाका ३ जना अतिथि मुक्तककारकाे मुक्तक वाचन गरेका थिए ।मुक्तक साँझमा मकवानपुर, काठमाडौं, सिन्धुली र नुवाकोटका ६ जना मुक्तककारहरुले १०/१० वटा मुक्तक वाचन गरेका थिए । मकवानपुरका डिबी बर्तौला, देवेन्द्र सञ्जेल र भवानी तिमल्सिना न्याैपाने तथा सिन्धुलीका बिर्ख वाईबा, काठमाडौंकी निशा केसी र नुवाकोटकी सुशीला भट्टले १०/१० वटा मुक्तक वाचन गरेका हुन् ।
यसैगरी जनप्रिय प्राविधिक शिक्षालय हेटौंडा–१६ मा अध्ययनरत अजिता ओझा उत्कृष्ट मुक्तककार घोषित भएकी छिन् । मावि तहमा अध्ययनरत विद्यार्थीबीच आयोजित मुक्तक प्रतियोगितामा सहभागी भई उत्कृष्ट घोषित हुनुभएकी अजितालाई २ हजार ५ सय रुपैयाँ नगदसहित शिव–सावित्री अधिकारी स्मृति नवप्रतिभा मुक्तक पुरस्कार–२०७८ बाट सम्मान गरिएको छ । झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले आफ्नो आमा र बुबाको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
झरना साहित्यिक परिवारको आयोजनामा भएको प्रतियोगितामा १९ जनाको सहभागिता रहेको थियो । सहभागी मध्ये उत्कृष्ट १० मुक्तक छनोट गरी झरनाले शनिबार प्रस्तुतीको अवसर दिएको थियो । उत्कृष्ट १० मध्ये केही प्रतियोगी प्रस्तुतीको चरणमा सहभागी नभएकाे निर्णायक सानुबाबु खनालले जानकारी दिए ।
झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको सभाध्यक्षता तथा मुक्तककार रमेश पौडेलको प्रमुख आतिथ्यमा नियमित साहित्य शृङ्खला तथा मुक्तक साँझ भएको हो । साेही अवसरमा झसपाकाे आयाेजनामा भएकाे वकैया कला साहित्य महाेत्सवमा सहभागी तथा सहयाेग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा कदर पत्र प्रदान गरिएकाे थियाे ।
मकवानपुर । मकवानपुरे कवि छवि अनित्यको “तुइनको बाटो” कविता संग्रह गृह विमोचन गरिएको छ । गत चैत १८ गते नेपाली लेखक संघकाे केन्द्रीय अधिवेशनमा पोखरामा विमोचन गरिएको कविता संग्रहको मकवानपुरे साहित्यकार छविले शुक्रबार आफ्नै जिल्लामा विमोचन गराएका हुन् ।
बरिष्ठ साहित्यकार एलबी क्षेत्री, साहित्यकार सुमन पोखरेल, मकवानपुरका शिक्षासेवी पुरणबहादुर जोशी र छवि अनित्यका बुवा आमाले तुइनको बाटोको गृह विमोचन गरेका हुन् । समकालीन विश्व साहित्य र नेपाली कवितामाथि साहित्यकारद्वय एलबी क्षेत्री र सुमन पोखरेलले चर्चा गरेका थिए ।
कृतिमा अझै निखार ल्याउने प्रयत्न रहेको बताउँदै कार्यक्रममा छविले “फुलको बिम्बमा कविता”, “तिमी जो कोहीँ हौँ” र “राष्ट्रवाद” शिर्षकका कविता बाचन गरेका थिए । २ दशकदेखि कविता लेख्न सुरु गरेका छवि अनित्य नेपाली लेखक संघ मकवानपुर अध्यक्ष हुन् । शिक्षण पेशामा आवद्ध उनकाे ८ वर्ष अघि ‘हल्ला’ कविता संग्रह प्रकाशित भएकाे छ ।

गोबिन्दी अवस्थी
१.
तिमीले मलाई दिएको तस्बिर उस्तै छ
धोकेबाले उपहार दिएको पिर उस्तै छ
तिम्रो पो भाग्य बद्लियो मन बद्लियो
म त मान्छे उस्तै अनि तग्दिर उस्तै छ ।
२.
पिरैपिर अनि चटारोनै चटारो जीवनमा
जे गर्दा जसोगर्दा पनि सधै गारो जीवनमा
खुसीको क्षण त कसरी बित्छ थाहै हुँदैन
दु:ख मात्रै किन सहन अप्ठ्यारो जीवनमा।
डडेल्धुरा
- आर. आर. चौलागाईं
बाँझो जमीन जोतेर
हामीले अन्न फलाएका छौँ
पहरालाई फोरेर
हामीले पानी ल्याएका छौँ
बाँदरहरूसँग जुधेर
हामीले घर जोगाएका छौँ
तिमी ठ्याक्कै खाने बेलामा आयौ
तिमी ठ्याक्कै आराम गर्ने बेलामा आयौ
तिमी यस्तो बेलामा आयौ कि
वस्तीमा यतिका धेरै घरहरू छन्
तिमी हाम्रै घर भनेर आयौ
यति राति तिमीलाई कहाँ पठाउनु !
स्वागत छ सूर्यकुमारी तिमीलाई ।
आउनासाथ मीठोमीठो नखोज्नू
पहिला खेतबारीमा काम गर्नू
एटेच्ड बाथरुम र एसी भएको कोठा नखोज्नू
पहिला पिँढीमै बस्नू
चारैतिर फोहर छ
बाहिरदेखि भित्रसम्म सबैतिर सफा गर्नू
घरका सदस्यहरूको मन जित्नू
धेरै जान्नेसुन्ने नबन्नू
उताको फूर्तिफार्ती यता नदेखाउनू
हाम्रो घरको रीतिरिवाज राम्रोसँग बुझ्नू
हामी त आगोमा पोलिएर आएका मान्छे हौँ
हामी त बाढीमा हेलिएर आएका मान्छे हौँ
घर मालिकलाई रिझाए पुगिहाल्छ नि भन्ने नठान्नू
आफ्नो ठाउँमा बस्नू
आफ्नो हैसियतमा बस्नू
यताको कोर्स राम्रोसँग पढ्नू
स्वागत छ सूर्यकुमारी तिमीलाई ।
तिमीसँग अब्बल सीप छ
यो कुरा हामीलाई थाहा छ
तिमी अरूलाई लट्ठ पार्न सक्छ्यौ
यो पनि हामीलाई थाहा छ
हामी त राता रङ्का मान्छे हौँ
हामी त राता विचारका मान्छे हौँ
तिम्रो रङ हाम्रोतिर चल्दैन
तिम्रो विचार हाम्रोतिर बिक्दैन
सक्छ्यौ आफूलाई परिवर्तन गरेर यतै बस्नू
सक्दिनौ यताको नबिगारीकन बेलैमा बिदा हुनू
जे भए पनि आइहाल्यौ स्वागत छ सूर्यकुमारी तिमीलाई ।
२०७८ चैत्र २४