- प्रकाश कुइँकेल
चारहरफको आफैमा स्वतन्त्र अर्थ दिने विधा हो मुक्तक विधा। मुक्तकलाई छोटो कविता पनि भन्दछन् । तर यो कविताभन्दा अलग प्रकारले लेख्ने गरिन्छ। साहित्यको लोकप्रिय विधामा पर्दछ मुक्तक विधा । मुक्तक चार हरफको हुन्छ जसमा पहिलो हरफले विषयवस्तुको उठान गर्दछ, दोस्रो हरफले पहिलो हरफलाई थप समर्थन गर्दछ,तेस्रो हरफ स्वतन्त्र हुन्छ जसले कौतुहल उत्पन्न गर्छ अनि चौथो हरफले मार हान्छ अर्थात झट्का हानेर समापन गर्छ। अन्तिम हरफले सम्पूर्ण कौतुहल मेटाउने काम गर्दछ। सम्पूर्ण मुक्तकको भार थामेको हुन्छ अन्तिम हरफले।
मुक्तक बन्नलाई तुक चाहिन्छ तुकविनाको मुक्तक-मुक्तक हुँदैन त्यो केवल एक रचना मात्रै भन्न सकिन्छ। उस्तै उच्चारण हुने उस्तै सुनिने शब्दसमूहलाई तुक भनिन्छ। तुकपछि दोहोरिने उहीँ शब्दसमूहलाई अन्त्यानुतुक भनिन्छ। मुक्तक बन्नलाई अन्त्यानुतुक हुनैपर्छ भन्ने छैन। अन्त्यानुतुक भएको मुक्तक वाचन गर्न सजिलो एवम् सुन्न मीठो भन्ने कुरा मात्र हो।
जस्तैः
केही नसम्झी पाउ अनि शिर जलाइदिए हुन्छ
नमानी, सुर्ता बरु नमानी पिर जलाइदिए हुन्छ
तिमी सुत्दाखेरि कहिँकतै बिझाउन पनि सक्ला,
सिरानी मुनिको मेरो तस्बिर जलाइदिए हुन्छ।
यो मुक्तकको पहिलो हरफमा भएको शिर, दोस्रो हरफको पिर अनि अन्तिम हरफको तस्बिर (बिर) यी तुक हुन् भने पहिलो,दोस्रो र चौथो यी तिनवटै हरफमा तुकपछि दोहोरिएको शब्दसमूह (जलाइदिए हुन्छ) यी अन्त्यानुतुक हुन्। तेस्रो हरफ सदा स्वतन्त्र रहन्छ।
भारतमा मुक्तक लेख्ने स्रष्टाहरू हेर्ने हो भने अघिदेखि नै धेरै पाइन्छ्न् । अनि मुक्तकलाई अरू नै नाम दिएर लेखिएको पनि देखिन्छ। मुक्तक सङ्ग्रह भनेर लेखिएको पनि भेटियो तर त्यहाँ भएका मुक्तकहरू मुक्तकका नियमभित्र नभएका पनि देखिए। रवि पौडेल, कमल थुलुङ जस्ता स्रष्टाहरूले लगभग २० साल अघि नै मुक्तक सङ्ग्रह निकालिसकेको पनि पाइन्छ। असमका जनप्रिय कवि हरिभक्त कटुवालका कतिपय लेखहरू पनि मुक्तक जस्तै धेरै पाइन्छन्। पहिलाको समयमा मुक्तक विधा ओझेलमा परे तापनि पछिल्लो समयमा यसको चर्चा परिचर्चा अत्याधिक नै छ भन्न सकिन्छ।
पछिल्लो समयमा निक्कै रुचाइएको र लेखिएको विधा हो मुक्तक विधा। सबैको जनप्रिय विधा बनेको छ यो। सामाजिक सञ्जालमा मुक्तकको निक्कै चर्चा हुने गर्दछ। एउटा सिकारु कलमले पनि पहिला मुक्तक विधामै कलम चलाएर अरू धेरै विधामा पाइला अघि सारेको पाइन्छ। पहिला पहिला मुक्तक कुनै साहित्यविधा नै होइन भन्ने अग्रजहरूले पनि अहिले मुक्तक लेख्दै गरेको देख्न पाइन्छ यो मुक्तकका लागि सकारात्मक पक्ष मान्न सकिन्छ। छिमेकी देश नेपालबाट पनि मुक्तक लेखनमा धेरै सहाय, प्रेरणा मिलेको छ भारतवासी मुक्तककारहरूलाई । जो जहाँ रहे तापनि नेपाली साहित्यले एउटा परिवार बनाएर सबैलाई जोडेर राखेको छ यो आफैमा उत्तम कुरा हो। जे नहोस् मुक्तकको विकास नै असल मुक्तककारको लक्ष्य हुनु पर्दछ।

पिता सोमदत्त उपाध्याय अनि माता छविमाया उपाध्यायका कोखबाट लिङमो दक्षिण सिक्किममा जन्मएकी गीताश्री शर्माको पहिलो कृति नै मुक्तक सङ्ग्रह (मुक्ता) रहेको छ। जसमा जम्मा ३१८ वटा मुक्तकहरू अटाएका रहेछन्। मुक्तककार गीताश्री शर्माको पुस्तक हातमा लिएर हेर्दा आवरण पृष्ठले नै मलाई मोहित बनायो। उनले आफ्नी छोरी मुक्ता र वर्षालाई समर्पण गरिएको भनेर लेखेकी रहिछन् तापनि मुक्तक सङ्ग्रहको नाम `मुक्ता´ भएको हुनले उनकी जेठी छोरी मुक्ताकै नाम दिएकी रहिछन्, यो पनि उत्तम कुरा हो। उक्त सङ्ग्रहको भूमिका आदरणीय साहित्यकार `राजन कार्की´ज्यूले गर्नुभएको पाइयो। पन्ना नपल्टाई बस्नै सकिनँ म भित्रसम्म पुग्ने जमर्को गर्न थालेँ। विभिन्न आदरणीय व्यक्तिहरूले विभिन्न राम्रा राम्रा शुभकामनाहरू दिनुभएको रहेछ।
मुक्तक:१
साथी भन्ने शब्द मीठो जिन्दगीको पाटोमा
एक्लै हिँड्न गाह्रो हुन्छ सुमसान बाटोमा
परिस्थितिसँग जुध्ने हो जस्तो मोड आए पनि
शान्तिसँग बाँच्न पाऊँ आफ्नै देशको माटोमा।
गीताश्रीको पहिलो मुक्तक यसप्रकारको रहेछ। तुकको हिसाबले मुक्तक भएको छ विषयवस्तुको तालमेल थोरै नमिलेजस्तो, हरफ अर्कैतिर बतासिएजस्तै लाग्यो बाँकी सबथोक सुन्दर पाएँ।
मुक्तक:२१
संस्कार छ भने यहाँ संसार छाइन्छ
आफू ठाउँमा बसे सबैतिर अटाइन्छ
मान्यजनको आशीर्वाद शिरोपर गर्ने गर
नत्र कमाएको यश अहङ्कारले गुमाइन्छ।
उक्त मुक्तक चेतनामूलक रहेको छ। एउटा असल मान्छे बन्नलाई सर्वप्रथम उसमा संस्कार चाहिन्छ। आफू असल बन्यो भने संसारै असल लाग्छ। अहङ्कार पतनको अर्को एउटा नाम हो जो मान्छेले कहिल्यै गर्नु हुँदैन। यस्तै यस्तै सन्देश दिन खोजेको यो मुक्तक निक्कै मनपर्यो। मानव जीवनलाई अर्थपूर्ण सन्देश दिएको छ यो मुक्तकले।
मुक्तक: २९
यदि तिमी मलाई माया गर्छौ भने
मायाको शरणमा तिमी पर्छौ भने
म झगडा गर्दिनँ अब तिमीसँग
लगत्तै मेरो मनमा बसाइँ सर्छौ भने।
प्रेम यस्तो एउटा चिज हो जहाँ साना साना खुसीहरूले पनि निक्कै उमङ्ग दिने गर्छ र एउटा सानो गल्तीमा पनि बहुतै मन रुने गर्छ। मुक्तककारले आफ्नो प्रेमीलाई मनमा बसाइँ सर्छौ भने म सदा तिम्रो भएर बाँच्छु, तिमीसँग झगडा पनि गर्दिनँ बस तिमी मायाको सरणमा परिदेऊ मलाई माया गर्छु भनिदेऊ बाँकी केही चाहिँदैन भन्न खोजेकी छन्। याे मुक्तकले प्रेमील भाव बोकेको छ ।
उनकाे मुक्तामा मुक्तक: ५१ यस्ताे रहेकाे छ
सधैँ केही न केही कुराको घात लागेकै छ
जिन्दगीमा पीडा र वेदनाको खात लागेकै छ
कहिले आफैँभित्र खुसीको पल खोज्ने गर्छु
चुपचाप बस्दा पनि बोल्दिन भन्ने बात लागेकै छ।
साँच्चै दुनियाँ अचम्मको छ अनि यहाँको सोच झनै विचित्रको छ। केही राम्रो गर्दा पनि जल्नेहरूको ताँती लाग्छ, खुट्टा तान्नेहरूको ताँती लाग्छ र केही काम बिरायो भने पनि कुरा काट्नेहरूको ताँती लाग्छ। सधैँ केही कुरामा घात लाग्छ, पीडाहरूको खात लाग्छ, कोहीसँग बोल्दा पनि पागल होइन्छ अनि नबोल्दा पनि बोलेन ठूलो भयो भन्ने बात लाग्छ। मुक्तककारले समाजको तीतो यथार्थ मुक्तकमार्फत बाेलेका छन् ।
मुक्तक: ५६
आमा भन्दा ठूलो भगवान अर्को पाइनँ
उनकै दर्शन गर्न पाउँदा मन्दिर धाइनँ
दु:ख- सुख कति झेलिन् मलाई हुर्काउँदा,
जननीकै महिमा गाएँ भजन किर्तन गाइनँ।
आमा धर्ती हुन्, जननी हुन्, देवीको अर्को रूप हुन्, आमा परमात्मा हुन्। संसारका सारा चिज फिक्का छन् आमाका सामु। उनको वर्णन जति गरे पनि कमै हुने गर्दछ। आफ्नी आमा नै भगवान हुन्। निस्वार्थ आमाको सेवा गर्नेले मन्दिर जाने भजन किर्तन गर्ने जरुरत नै पर्दैन। दशमहिना गर्भमा राखेर जन्माएर, हुर्काउने आमाका सामु सारा भगवानहरू फिक्का छन् ।
मुक्तक:१८२
चारैतिर भौगोलिक सिमानाले घेरिएको सिक्किम
शान्ति र प्रदुषणरहित प्रकृतिले बेरिएको सिक्किम
कञ्च्नजङ्घा, खेचीपेरी, चारधाम, छाङ्गु पोखरी,
पवित्र धार्मिकस्थलले मुहार फेरिएको सिक्किम।
चारैतिर भौगोलिक सिमाले घेरिएको तर पनि शान्तिको अर्को एउटा नाम हो सिक्किम, जहाँ विभिन्न जाति जनजाति गुजारा गरेर बसेका छन्। जहाँका मानिसहरू धर्मकर्म, पूजाआजामा नित्य रमाउँछन्। चारैतिर हरियाली, चारैतिर पहाड निक्कै रमाइलो छ सिक्किम भन्न चाहन्छिन् मुक्तककार गीताश्री शर्मा। आफ्नो ठाउँको वर्णन गर्नु भनेको एउटा लेखकका लागि सकारात्मक पक्ष हो।
मुक्तक: २९४
कहिलेसम्म बग्छौ टिस्टा सबैलाई छुँदै
दिन रात, साँझ बिहान सधैँ एक्लै रुँदै
गाउँ घर, पाखा पखेरा छहरा र पँधेराको
मैलाहरू जम्मा गरी सबको पाउ धुँदै।
सिक्किममा जन्मिएकी मुक्तककार टिस्टा नदीकै बगरमा खेलेर हुर्किएकी भन्न रुचाउँछिन । दुनियाँमै नाम चलेको नदी हो टिस्टा नदी जुन नदीले हरेक राम्रा नराम्रा चिजहरूलाई सागरमा पुर्याउने काम गर्दछ। मुक्तककार टिस्टासँग प्रश्न गर्छिन्- कहिलेसम्म बग्छौ टिस्टा, दुनियाँको फोहोर बगाउँछौ, पाउ धुन्छौ अनि प्यासीको प्यास मेटाउँछौ आखिर कहिलेसम्म ?? तिमी नबग्ने हो भने यो जगत पाप र फोहोरले नै भरिभराउ हुन्थ्यो होला।
सामाजिक विकृति- विसङ्गति, धार्मिक नीतिनियम, अन्धविश्वास, बा-आमा प्रतिको प्रेम आदिको भावसँगै मुक्तककार गीताश्री शर्माका धेरै मुक्तकहरूमा प्रेमभाव झल्किएको पाइन्छ। प्रेमका तीतामीठा गुणहरू छर्लङ्ग पार्न खोजिएको अनि कतै प्रेमीसँग गुनासो पोखिएको पनि पाइन्छ। मुक्तककार सिक्किमकी हुनाले अधिकतम मुक्तकले आफ्नो जन्मथलो, कर्मथलो, डाँडा-काँडा, नदी, पहाड आदि भाव झल्काएको छ। आफ्नो ठाउँ, आफ्नो गाउँलाई माया गर्नु एक लेखकको अर्को एउटा सकारात्मक पक्ष हो। उनका मुक्तकहरूमा कहिँकतै स्थानीय भाषाको प्रभाव परेको पनि देखिन्छ, हो पनि जो जहाँ छ त्यहाँको केही न केही त प्रभाव पर्छ नै।
गीताश्रीको मुक्तक सङ्ग्रह `मुक्ता´ पहिलो पन्नादेखि अन्तिम पन्नासम्म पढिसक्दा कति उत्कृष्ट मुक्तकहरूमाँझ निक्कै त्रुटि भएका मुक्तकहरू पनि फेला परे।
मुक्तक:२६
यति धेरै माया नगर न मलाई यहाँ
मायाको पीडा हुन्छ कहाँ कहाँ
आफन्तको हातबाट टुक्रिएपछि
कसले रुवायो भन्न गाह्रो हुन्छ यहाँ।
यो रचना मुक्तकजस्तो देखिए तापनि यसलाई मुक्तक भन्न सकिन्न। पहिलो हरफ अनि समर्थन् ठिकै भए तापनि स्वतन्त्र हरफ र प्रहार पहिला दुई हरफभन्दा बाहिर निस्किएका छन् त्यसमा पनि यहाँ, कहाँ अनि फेरि यहाँ। यश रचनामा तुक पनि दोहोरिएको छ। तुक दोहोरिनु भनेको मुक्तकमा ठूलो त्रुटि हुनु हो।
मुक्तक: ३०
एउटा पुरुष र महिला कतै गफ गर्दै भेटिँदैमा
एकदुई कदम गफ गर्दै सँगै बाटो काटिँदैमा
शंका गर्दै कुरा काट्नेको जमात पाइन्छ यहाँ
गन्तव्य एउटै परेर हिँडेका पाइलाहरू मेटिँदैमा।
यो मुक्तकमा तुक नमिलेको देखियो। भेटिँदैमा र मेटिँदैमासँग काटिँदैमाको तुक मिल्दैन। अनि मुक्तकमा चाहिने प्रहार पनि अन्तिम हरफले दिन सकेको छैन त्यसैले यसलाई एउटा चारहरफको रचना मात्रै भन्न सकिन्छ।
अरू विधामा निक्कै प्रखर गीताश्री शर्मा मुक्तक विधामा सिकारु हुन् यो निर्धक्कसँग भन्न सकिन्छ। सिकारु कलमले आज मुक्तक सङ्ग्रह निकाल्यो यो आफैमा गर्वको कुरा हो। लेख्दै गएपछि पक्कै पनि सिकिन्छ। अबका दिनहरूमा उनका हातबाट दोषमुक्त मुक्तकहरू जन्मिउन्। उनीबाट यो भन्दा पनि अझ उत्कृष्ट मुक्तकहरू पढ्ने आशा राख्दै र दोस्रो मुक्तक सङ्ग्रह चाँडै आओस् भन्दै उनको उज्ज्वल साहित्यिक भविष्यको शुभकामना ।
बङ्गालीपाडा, असम, भारत
“म कहाँ छु ?”
Tags: No Comments
- लक्ष्मी भट्टराई ‘परिधि’
आज पनि एउटा युद्ध जितेर आएँ अर्थात् बच्चाहरूलाई स्कूलको गाडी चढाएर फर्किएँ । बच्चाहरूले समयमै स्कूल गाडी भेट्टाउनु भनेको मेरा लागि एउटा युद्ध जित्नुसरह हुन्छ हरेक दिन । न जाडो, न गर्मी, न भोक, न तिर्खा, न सञ्चोसुविस्ता न बिमार; विकल्परहित समय हो यो । आखिर यी सब फुर्सदले जन्माएका अवसर न हुन् ।
पुस–माघको मध्यजाडोमा एउटा पातलो लुगा लगाएर छतमा जमेको ट्याङ्कीको बरफजस्तो पानीले बाहिर बार्दलीमा बसेर एक डोको भाडा अगाडि राखेर माझिराखेको बखत तलबाट कसैले हास्यपूर्ण भावले प्रश्न गरेको सम्झन्छु– “हैन, तपाईँलाई जाडो पनि हुँदैन कि क्या हो ?” त्यसबखत त हाँसेर टारिदिएँ तर अहिले सोच्दै छु– जाडो हुन पनि फुर्सद चाहिन्छ । आफूलाई जाडो भएको छ कि छैन भनेर सोच्ने फुर्सद ।
के बच्चाहरूलाई स्कूल पठाउनु भनेको उनीहरूलाई स्कूलको ड्रेस लगाइदिएर स्कूल बसमा चढाइदिनु मात्र हो ? अहँ, होइन ! हुँदै होइन ! त्यतिञ्जेलसम्म आफूलाई सम्पूर्ण रूपमा बिर्सिएर थुप्रै सेकेन्ड मिनेट र घण्टाहरू उनीहरूप्रतिको जिम्मेवारीमा प्रेमपूर्वक खर्च गरिसकेका हुन्छन् आमाहरूले । अँ, अब अन्य जिम्मेवारी पनि त छन् ! हतारिन्छु म । लथालिङ्ग फालिएका लुगाफाटाहरू, पेन्सिल, कलम, कापीका पानाहरू, किताब र अन्य अनेकथरि खेलकुदका सामग्रीहरू टिपनटापन गर्न थाल्छु । अघिसम्मको हेरिनसक्नुको कोठा बिस्तारै चिटिक्क देखिन्छ । मनमनै दङ्ग पर्छु म ।
भान्सातिर आँखा दौडाउँछु– बच्चाहरूलाई पठाउनुको हतारोले भताभुङ्ग भएको छ भान्सा । भाँडाकुँडाहरू सँगाल्छु र सरसफाइ गर्छु । भान्सा फेरि मुस्कुराउँछ । तपाईंहरूलाई लाग्ला– जाबो दुई छाक भात पकाउँदैमा फूर्ति गर्छन् महिलाहरू ! कहिल्यै सोच्नुभएको छ– एउटी गृहिणीले, एउटी आमाले, एउटी श्रीमतीले भात पकाउनु भनेको के हो ? सम्पूर्ण परिवारको स्वस्थ जिन्दगीको कामना गर्दै हरेक दिन एउटा प्रेमपूर्ण योजना विनास्वार्थ, विनालाभ समापन गरिनु भात पकाउनु हो । भात पकाउनु भनेको भाँडा माझ्नु पनि हो । भात पकाउनु भनेको चुलो सफा गर्नु पनि हो । किचनको सरसफाइदेखि लिएर सुन्दरतासमेतलाई वास्ता गर्नु पनि हो । हरेक छाक के पकाउने ? के खुवाउने ? कसरी सम्पूर्णको अनुहारमा खुशी ल्याउने ? यस्ता सन्दर्भमा एउटी गृहिणीको मनमष्तिकमा हरेक दिने कोरिने परिपक्व, परिपूर्ण योजना हो; जुन हरेक दिन विनाहिचकिचाहट उत्साहका साथ समापन गरिन्छन् हरेक भान्छाहरूमा ।
श्रीमान्, छोराछोरीको अनुहार सम्झँदै हरेक भाँडाहरू टिलिक्क चम्काउँदाको आनन्द स्वयम् उनैलाई थाहा होला । हरेक खानेकुरा हरेक सदस्यको मन पर्नु र नपर्नु, खान हुनु र नहुनुको ख्याल राख्दै तयार गर्नु र उनीहरूको उत्फुल्ल मुहार हेर्दै आफैँ अगाडि बसेर खुवाउनुको आनन्द पनि उनैलाई थाहा होला । ‘स्वार्थ त रहेछ नि यहाँ पनि ! आफ्नै आनन्दका लागि त रहेछन् सब’ भन्नुहोला फेरि ! कतै सुनेकी थिएँ– एउटी आमाले समेत विनास्वार्थ बच्चालाई स्तनपान गराउँदिनन् ! स्तनपान गराउँदा जुन अलौकिक आत्मसन्तुष्टि मिल्छ नि, त्यो नमिल्दो हो त कतिले स्तनपान गराउँदा हुन् भन्ने प्रश्न आउँछ । कति नमीठो तथ्य ! सत्यजस्तै लाग्ने झूटको पुलिन्दा कसको विचार होला यो ?
स्तनबाट छर्छरी रगत मिसिएको दूध आउँदासमेत नछाडेर छातीमा कुस्ती खेल्दै हुर्किएकी आफ्नै जेठी छोरीको निर्दोष शिशुकाल सम्झिन्छु । पीडाले असैह्य भएर छटपटाउँदा–छटपटाउँदै पनि दूध चुसाउन नछाडेको आफ्नै विगत सम्झन्छु । अवाक् लाग्छ मान्छेहरूको स्वार्थपूर्ण विश्लेषण देखेर । हरेक कुरामा स्वार्थको खोजी हुन्छ यहाँ । असमेल जिन्दगीका असरल्ल पानाहरू समेट्दा समेट्दै समय चिप्लिसकेको हुन्छ । मिनेट–मिनेटको, सेकेन्ड–सेकेन्डको हिसाब गर्दै बाँच्नु नै त जिन्दगी रहेछ आखिर । कहिलेकाहीँ त आफैँले भ्याएका काम सम्झेर आफू मेसिन हो कि मान्छे ? कन्फ्युजनमा हुन्छु म ।
यत्तिका जिम्मेवारीहरू एकपछि अर्को गर्दै सहज रूपमा सम्हाल्नमा कति माहिर हुन्छन् महिलाहरू ! तर, यतिमै जिन्दगी कहाँ सिद्धिन्छ र ! आत्मनिर्भर पनि त बन्नुपर्यो नि हैन र महिलाले ? नभए केको समानता ! हतारहतार भातभान्साको समापन गरेर व्यावसायिक काममा व्यस्त हुन्छु म । “समानता मात्र खोजेर हुन्छ ! घर चलाएर देखाओ न ! अनि, गर्नु बराबरीका कुरा, समानताका कुरा !” प्रशस्तै सुनेकी छु मेरै समाजका यस्ताखाले महान् वाणी । हो, महिलाले अन्य आर्थिक जिम्मेवारी पनि लिनुपर्छ, लिन खोज्नुपर्छ । तर, लिनै पर्छ भन्नेमा मेरो असहमति छ । बिहानै पाँच बजे उठेदेखि बेलुकी नौ बजेसम्ममा तपाईंको घरमा हुने सम्पूर्ण क्रियाकलाप सम्झनुस् त ! केही नभए पनि अत्यन्त निष्ठापूर्वक जिम्मेवारी बहन गर्ने कम्तिमा दुई वटा कामदार आवश्यक पर्नेछ तपाईंलाई । त्यतिमात्र होइन, तपाईंका बच्चाबच्चीको असल शिक्षिकासमेतको अभाव हुनेछ ।
तपाईंलाई पैसाको दुःख नहोला तर के पैसा खर्च गर्दैमा एउटी गृहिणी, आमाबाट प्राप्त हुने प्रेमपूर्ण व्यवहार पनि तपाईंको भागमा पर्ला त ! आफूले निर्वाह गरिरहेको यही जिम्मेवारी दुईचार दिनका लागि छाडेर हिँड्दा ‘कसरी सम्हाले होलान् लोग्नेले ?’ भन्ने चिन्तामा पिरोलिइरहन्छ हाम्रो मन । महिलाले गरेका घरायसी काम आर्थिक क्रियाकलापभित्र पर्ला कि नपर्ला ? यस अर्थमा आर्थिक कार्यमा सहभागी हुँदै प्रेममय संसारको सिर्जना गरिरहेकी हुन्छिन् । आफ्ना बालबच्चाको भविष्य निर्माण गरिरहेकी हुन्छिन् एउटा आमा, एउटी गृहिणी । अनि, ‘मैले मात्र कमाइरा’छु, मैले मात्र काम गरेको छु’ भन्ने तपाईंभित्रको अहम्ले कति बिझाउला उनलाई ? विना तलब अठार घण्टा बेहिसाब घोटिने आमा, दिदीबहिनीहरू देखेर साह्रै दया लाग्छ, छाती चिरिन्छ, मन निचोरिन्छ र आँसु चुहिन्छ तप्प–तप्प ।
कहिलेकाहीँ आफूलाई सम्झ्यो र रोयो अनि कहिलेकाहीँ परिवार सम्झ्यो र हाँस्यो । यही त हो हामी र हामीजस्ताको जिन्दगी ! यो दुईपाटोमध्ये एक पाटोमा अँध्यारिएको जिन्दगीको मर्म कसले बुझिदिने ! जीवनमा कहिल्यै ‘म’ को उच्चारणसमेत नगरी सिर्फ परिवारको खुशीका लागि बाँचिदिने आमाहरूलाई सम्झेपछि तपाईंलाई के कसो हुन्छ ? मचाहिँ नतमस्तक हुन्छु । “ममी नभई होमवर्क गर्नै मन लाग्दैन ।” यौटा अर्को युद्ध जितेर अर्थात् स्कूलबाट फर्किएलगत्तै सानी छोरी गुनासो गर्छे । आफूलाई काममा भिड्नुको हतारो छ । उसलाई ममी चाहिएको हुन्छ । गृहस्थीसँगै कामकाजी आमासमेत हुनु भनेको छोराछोरीका लागि दुर्भाग्य नै रहेछ ! यस्तो सोचेर कहिलेकाहीँ साह्रै नरमाइलो लाग्छ ।
यौटी आमाले बच्चाहरूलाई सँगसँगै पछि लागेर हुर्काउनु र सबै व्यवस्था मिलाएर उनीहरूलाई उनीहरूकै सुरमा छाडिदिनु, यी दुई अवस्था धेरै अर्थमा नै फरक हुँदोरहेछ ! केटाकेटी, घर, कार्यालय एकसाथ विवेकपूर्ण ढङ्गले कसरी सम्हालिन्छन् ? त्यो घर चलाउने नारीलाई नै थाहा हुन्छ । तर, कसैले पनि महिला अर्थात् श्रीमती, आमा, दिदीबहिनी, छोरीको बारेमा गम्भीर चिन्ता गरेको अहँ कहीँ कतै देख्न, सुन्न पाइँदैन । किन होला ? हाम्रो ‘मन नै उस्तो हो ! हामी नै उस्ता हौँ’ भनेर धिक्कारेर भए पनि आफ्नो चित्त आफैँ बुझाउँछौँ हामी यदाकदा ।
‘हामी नै हौँ कि क्या हो आफैँमाथि विभेद सिर्जना गर्ने ?’ जस्तो पनि लाग्छ कहिले त ।परिवारको सेवामा बितेका सम्पूर्ण समयलाई साक्षी राखेर चिच्याउन मन लाग्छ— म खोई ? म कहाँ छु ?
(परिवारको सुख, खुशीलाई नै आफ्नो उपलब्धि मानेर परिवारलाई एकसूत्रमा बाँधिरहने गृहिणीमा समर्पित )
मकवानपुरकाे हर्नामाडीमा जन्मनु भई हाल काठमाडाैलाई कर्म थलाे बनाएका भट्टराई शाल्मलि मासिककी सम्पादक हुन ।
हाम्रो समाजले छोरालाई कुल दीपकको रूपमा मान्ने गरेको भएता पनि छोरी घरकी लक्ष्मी र दीपक दुवै हुन् । घरको प्राण हुन् । छोरी बिनाको घर नुन बिनाको तरकारी जस्तै फिक्का, अपुरो र अधुरो हुन्छ । घरको साज सज्जा एवं मान सम्मान नै छोरी हुन् । छोरी हुँदा घरको कुना काप्चा उज्यालोले धपक्क बलेको भान हुन्छ ।
हाम्रो दिमागले जे कुरालाई धेरै जोड दिएर सोचिरहेको हुन्छ त्यही नै सपनी बनेर आउने रहेछ । सपनीमा जहिले पनि सानी छोरी घरमा फुर् फुर् पर्दै यताउति कुँदेको र आफू पनि अत्यन्त खुसी भएर उसको बालापनमा रमाउँदै सरिक भएको देख्ने गर्छु । तर ब्युँझँदा फेरि निराश पनले डुबाउँछ । सपना त सपना हो तर पनि मन मान्दैन । सपनाकी सानी नानीको उमङ्ग, खुसी र निष्कपट हाँसोसँग मेरो नाता गाँसिसकेको छ । सुत्ने बेलामा जहिले पनि भगवानसँग प्रार्थना गर्छु कि आज पनि छोरी मेरो सपनीमा आओस् र म ऊसँग निर्धक्क भएर खेल्न पाउँ भनेर ।
उज्यालो बाटुलो अनुहार, अनारका दाना झैँ टम्म मिलेका दाँत, हाँस्दा गालामा बन्ने खोपिल्टा, मृगका झैँ लामा आँखाले मेरो मातृत्व स्नेह छचल्किएर उनी माथि पोखिने गर्छ । एक दिन सपनामा खेल्दै गर्दा अचानक उसले मलाई भनी “मामु म धेरै बाँच्न चाहन्छु, हजुर हुनुहुन्छ मलाई केही हुँदैन नि है” ।
मैले पनि उसको हो मा हो मिलाउँदै भने “हो नानु तिमी अहिले सानी छौ ठुलो हुन बाँकी नै छ । यो संसारमा तिमीले सफलताका पाइलाहरू चालेर उच्च शिखर चढ्नु छ, तिमी मेरी छोरी भएकोमा मैले गर्व बोध गर्नु छ, त्यसैले तिमी बाच्नु पर्छ र तिमीलाई बचाउने हर सम्भव प्रयास म गर्ने नै छु” ।
तर यसो भनिरहँदा मेरो मन आत्तिइरहेको थियो किनकि म आफै आफ्नै देश, समाज र आफ्नै परिवारबिच असुरक्षित महसुस गरिरहेको बेलामा कसरी छोरीलाई सुरक्षा दिन सक्छु भनेर । तीन वर्ष पनि नपुगेका दुधे बच्ची बलात्कार गरेर मार्ने मेरो देशमा मानवता हराई रहेको छ, नैतिकता गुमिरहेको छ, विवेक शून्य भइरहेको छ, अहंता र आपराधिक क्रियाकलाप बढिरहेको छ । यस्तो अवस्थामा छोरीको सुरक्षाको प्रश्न उठ्दा अचानक मेरो दिमाग रन्थनियो र “छोरी तिमिलाई म बचाउन सक्दिन” भन्न पुगेछु ।
मेरो कुरा सुनेर खेल्दै गरेकी छोरीको अनुहारबाट खुसी र हाँसो अचानक हरायो । जड बनी पत्थरको मूर्तिमा परिवर्तन भइन । म भने अँध्यारो खाईमा झर्दै गर्दा सपनाबाट ब्युँझिएँ । त्यस दिन देखि मैले नजन्माएकी मेरी सानी छोरी सपनामा आउन छोडिन् । जति सम्झेर सुत्दा पनि उनी आइनन् । उनलाई सपनीमा भेट्ने लालसाले सधैँ भगवान् पुकार्दै सुत्थे तर मेरी मायाकी खानी कता हराइन् थाहै भएन ।
एक दिनको कुरा हो, अचानक निर्मला, भगिरथी, सङ्गीता लगायतका छोरीहरू मेरो सपनीमा आए । सबै जना अत्यन्त दुःखी, दुब्ला, पातला ख्याउटे देखिएका थिए । उनीहरूलाई हेर्दा यस्तो लाग्यो कि वर्षौँदेखि भोकै छन् । शरीर सुकेर बाँसको भाटा जस्तो, अनुहार चाउरिएर मुजा परेको थियो । सुन्निएर फुलेका आँखाबाट बलिन्द्र आशुका धारा झर्ना बनी झरिरहेका थिए ।
पीडा र अपमानको ज्वालाले शरीर दन्किरहेको थियो । उनीहरूले मलिन एवं अँध्यारो अनुहार लगाउँदै एकै स्वरमा भने “आमा हाम्रो के दोष थियो र हामी मारियौँ ? हामी पनि सृष्टिकर्ता नै थियौँ, सबै पुरुषहरूलाई जन्म महिलाले नै दिने होइन ? हात समाएर हिँड्न र बोल्न सिकाउने पनि महिलाले नै होइन ? उनीहरूको बालापनमा आफूलाई चुर्लुम्म डुबाएर उनीहरूको सपनामा आफ्नो सपना देख्ने पनि महिला नै होइन र ? फेरि कहाँ गल्ती भयो ? नारी सर्बते पूज्यति भनेर किन भनेको ? यस्तो अपमानजनक मृत्यु हामीलाई किन लेखियो ? राज्य किन मौन छ, राज्यलाई किन दुख्दैन आमा ? हामीलाई निमोठेर मार्दा पनि यौन पिपासुहरू किन खुलेआम हिँडिरहेका छन् ? हाम्रो बाच्न पाउने अधिकार छैन ? असिना परे जस्तै गरी एक पछि अर्को गरी उनीहरूका प्रश्नहरू बर्सिँदै गए ।
म भने अवाक् भएर उनीहरूलाई हेरिरहे । अझ अगाडि उनीहरूले भने “आमा मृत्यु त सबैको एक दिन हुन्छ नै मारेका मात्रै भए पनि हुन्थ्यो तर किन हाम्रो शरीरमा उनीहरूको रजाइँ ? यो अपमानको पीडाले आत्मा भतभती पोलिरहेको छ, हामीलाई चैन छैन, जति गरे पनि यो पीडा र डाहाबाट मुक्ति पाउन सकेका छैनौँ । हामीलाई मुक्ति देऊ आमा । मुक्ति देऊ” उनीहरू एकै स्वरले डाको छोडेर रुन थाले । त्यो रुबाईमा विरह र असह्य वेदना थियो । म पनि उनीहरूसँग सँगै रुन पुगेछु । ब्युँझिँदा आशुले सिरानी निथ्रुक्क भिजेको थियो ।
महिला, किशोरी, बालिका एवं बृद्घहरु गाउँ गाउँमा, बाटोघाटो र घरमै बलात्कारको सिकार भई रहेका छन् । बलात्कार पछि पनि पोल खुल्ने डरले बीभत्स हत्या गर्ने तर्फ अपराधीहरू बढिरहेका छन् । कडा दण्ड सजायको अभाव, राजनीतिमा अपराधीकरण बढ्दै जाँदा र यस्ता अपराधहरूबाट सजिलै उन्मुक्ति पाउने भएबाट समाजमा महिला र बालिकाहरू असुरक्षित हुँदै गएका छन् । यस्ता अपराधको विरुद्ध राज्य र समाज ढाल बनी उभिएर पीडकलाई हदैसम्मको सजाय दिएर पीडितलाई न्याय दिनुपर्नेमा अपराधी खुल्ला खुल्ला हिँडिरहेका छन् भने पीडितले अमानवीय यातनाका साथ अपमानजनक मृत्युवरण खेप्नुपरिरहेको छ ।
अझ समाजका अगुवाहरूले बलात्कारीलाई जोगाउने, पीडित पक्षमाथि दबाब दिने, पञ्चायती बसेर मिलाउने, पीडक छाती फुलाएर हिँड्ने र पीडित लाञ्छित भएर अपमान र अन्यायको ज्वालामा दन्किनु पर्ने अवस्था छ । अहिलेको “पल” प्रकरणलाई नै हेरौँ न, मुलुकी अपराध संहिता, २०७४ को दफा (२१९)को २ बमोजिम कसैले मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ भन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि कार्यान्वयनमा समस्या आइरहेको छ । दोषी दुवै हुन तर पितृ पितृसत्तात्मक नजरको चस्माले हेरिएकोले पीडित बालिका बढी प्रताडित भइरहेकी छन् ।
नाबालकको उमेर घटाउने, बढाउने पक्षमा बहस भई रहेछ, उनलाई मात्र गलत ठहर्याइएको छ, इज्जत भन्ने शब्द उनको शरीरसँग मात्र जोडिएको छ । उमेरको कुरा गर्दा १८ वर्ष भन्दा कम उमेर परिपक्व निर्णय गर्न सक्षम नहुने हुनाले सरकारी जागिर खान, निर्वाचनमा उम्मेदवार बन्न र विवाह गर्न बन्देज लगाइएको हो । समाजलाई नैतिक रूपमा संचलान गर्न र पीडितलाई न्याय दिन यस्ता कानुन निर्माण गरिन्छन् । कानुनले दोषी मानेको व्यक्ति पुरुष भएकोले उसलाई फसाउने प्रयासको रूपमा चित्रित गरिँदै छ । जबकि पीडित पनि नाबालिग छन् उनले अपरिपक्व निर्णय लिइन् अब उनलाई न्याय दिनुपर्छ भन्नेतर्फ समाजको ध्यान जान सकेको छैन ।
कानुनले गर्न नहुने भनेको काम पीडकले गरेका छन् । देशको कानुन थाहा छैन भनेर कसैले पनि उन्मुक्ति पाउँदैन । तर उनैको पैरवी गर्नमा समाज लागि परेको छ । पीडितका बाबुआमासमेत अपमानको रापमा जलिरहेका छन्, दैनिक मर्दै बाँचिरहेका छन् । समाज भने पीडितलाई नै थप पीडा दिनमा व्यस्त छ ।
एकचोटि सबैले आफूलाई यो स्थानमा राखेर मात्रै हेरौँ त कस्तो हुन्छ ? आज हरेक छोरीका बाबु आमा एकातिर छोरीलाई पितृ पितृसत्तात्मक सोचको दोषी चस्माको हेराइबाट कसरी जोगाउने भन्नेमा चिन्तित छन् भने अर्कोतिर बलात्कार गरी मारिएका छोरीहरूको मृतात्माले न्याय र शान्ति नपाएकोमा छटपट्टिरहेका छन् । आफैलाई धिक्कारिरहेका छन् । अन्यायको ज्वालामा जिउँदो लास बनेर जलिरहेका छन् । निर्मला, भगीरथ, सम्झना, नमिता, सुनिता लगायतका ज्ञात एवं अज्ञात अन्य थुप्रै बलात्कार पछि बीभत्स हत्या गरिएका छोरीहरूका आत्माले धिक्कारेको मेरो देशमा छोरी नहुनेले आफूलाई भाग्यमानी ठान्नु पर्ने अवस्था आएको छ । पितृसत्तात्मक सोचको अन्त्य गर्नमा पहल गर्न सके मात्र नारी दिवसले सार्थकता पाउने छ, हैन भने नारामा मात्रै सीमित रहने गरी मनाइने नारी दिवसको कुनै औचित्य छैन । प्रशासन डटकमबाट
- नगेन्द्रराज पाैडेल
एउटा सांग पुरुष र महिलाका लागि उसका यौनांग सुन्दरताका प्रतीक मानिन्छन् । स्त्री पुरुषको समागमबाट सन्तानोत्पादनका लागि यौनांग आवश्यक मात्र होइन, विकसित, स्वस्थ र कामयावी हुन पनि जरुरी छ । अझ महिलाका हकमा त यौनांगको पूर्ण विकास सन्तानोत्पादका लागि जरुरी छ । यसैबाट महिलाको व्यक्तित्वमा समेत निखारता झल्किन्छ । यसैकारण आजको दुनियाँमा यौन र यौनिकता’ बारे खुलेर बहस हुने गर्दछ ।
एउटा चिकित्सकका हातमा परेको कैचींले बिरामीको ज्यान बचाउँछ, त्यही कैंची एउटा दुष्ट मानिसका हातमा पर्दा कसैको ज्यान जान सक्छ । महिलाको यौनांगको महत्व, सुन्दरता र यौनिकताको विकास नबुझ्ने वा बुझेर पनि धैर्यतामा बस्न नसक्ने समाजका केही दुुष्ट प्रवृत्तिका व्यक्तिबाट यतिबेला महिला खासगरी योनी भएकै कारणले असुरक्षित हुन पुुगेका छन् ।
हाल मात्रै कलाकार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिका समीक्षा अधिकारीमाथि बलात्कार गरेको उजुरी परी उनी पक्राउ परेका छन् । कैलालीका निर्मला पन्त बलात्कार र त्यसपछि हत्या प्रकरण सेलाएकै छैन । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कारकै आरोपमा जेल चलानपछि सफाइ पाएर फर्किसकेका छन् । पूर्वमुख्यमन्त्री शेरधन राईविरुद्ध बालिका खड्काले बलात्कारको आरोप लगाउन छाडेकी छैनन् । केही दिनअघि मात्र सांसद मोहन बानियाँ नेपालगन्जस्थित अप्सरा होटलमा ४० वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा अघिल्लो सोमबार पक्राउ परेका छन् । गत साता मोरङ लेटाङकी १२ वर्षीया किशोरीलाई सोही ठाउँका ६४ वर्षीय दीपक गिरीले बलात्कारपछि हत्या गरेको खबर सार्वजनिक भएको छ । यी घटनाले आजभन्दा ४० वर्षअघि पोखरामा घटेको नमिता, सुनिता काण्ड त छायामा परेका छन् नै केही वर्षअघिको निर्मला पन्त बलात्कार र हत्या प्रकरणसमेत नेपथ्यमा पारेको छ ।
तथ्यांक बोल्छः
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८÷७९ माघसम्म १ सय ४६ जना महिला जबर्जस्ती करणीको सिकार भएका मध्ये ९६ जना बालिका मात्रै छन् । सबैभन्दा धेरै ६१ बालिका ११ देखि १६ वर्ष उमेरका छन् भने १७ देखि १८ वर्षका २१ जना छन् । अर्थात् जबर्जस्ती करणीको सिकार हुनेमध्ये ११ देखि १८ वर्ष उमेर समूहका बालिकाको संख्या मात्रै कुल पीडितको ५६ प्रतिशत छ । यो तथ्यांकले हाम्रा किशोरी जबर्जस्ती करणीजस्ता गम्भीर अपराधको घटनाबाट सबैभन्दा धेरै जोखिममा भएको पुष्टि गर्दछ । यो तथ्यांक त नेपाल प्रहरीमा गरेको उजुरी जाहेरीको आधारमा मात्र हो । यौन हिंसा र शोषणका सबै घटना सावर्जनिक हुँदैनन् । झन् किशोरी पीडित भएका घटनामा त यस्ता विषय मुस्किलले मात्र बाहिरिन्छन् । कतिपय घटना त गाउँ, घर, छर छिमेकमा नै मिलापत्रका नाममा सामसुम पार्ने चलन अद्यापि छ ।
भारतमा सन् २०१८ मा गरिएको एक अध्ययनले त्यहाँ ७० प्रतिशत बालबालिकाले आफूमाथि भएको हिंसा विभिन्न कारणले सार्वजनिक गर्दैनन् भन्ने देखाइएको छ । नेपालमा पनि लगभग उस्तै अवस्था छ । पीडितलाई सुरक्षा र उचित मनोपरामर्श दिनेभन्दा पनि सामाजिक रूपमा उल्टै तिरस्कार गर्ने र पीडककै पक्षमा उभिने परिपाटीले गर्दा यस्ता घटना गुपचुप पार्ने चलन हामीकहाँ छ ।
यौन व्यवस्थापनको कमजोरीले गर्दा व्यक्तिको नैतिक पतनदेखि जीवनलीला स्वाहा हुन बेर लाग्दैन
महिला पनि मानव हो यसकारण जैविक कारणले परिपक्वतासँगै यौन, उसका लागि पनि आवश्यक छ । तर, सांस्कृतिक कारणले पुुरुष जातिले जबर्जस्त गर्नैपर्छ भन्ने गलत मनोभावना आज पनि व्याप्त छ । यसैकारण आममहिला हिंसा, बलात्कार र अपमानको सिकार भएका छन् । महिलासँगको सानिध्य सम्बन्धलाई ‘मिसयुज’ गरेका घटना दोहोरिइरहेका छन् । बलात्कारीलाई लिंगछेदनदेखि फाँसीसम्मका मागहरू यसैकारण बढ्न थालेका छन् । अवैध यौन वा बलात्कार कानुनी अपराधभन्दा पनि मास्लोको आवश्यकता सिद्धान्तअनुसार अनिवार्य आवश्यकताका कारण यसलाई अपराध नठानी यौन विचलन ठान्ने प्रवृत्तिका कारण पनि यसको मात्रा बढ्दो छ । कतिपय अवस्थामा यौन व्यवस्थापन गर्न नसक्दा बलात्कार हुने गर्दछ भनेर पनि उन्मुक्तिको भाषा बोल्ने गरेको देखिन्छ । यसले पनि बलात्कारीलाई प्रोत्साहन गरेको देखिन्छ ।
सन्त नेता भनेर चिनिने कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेला उनीसँग कलेजका छात्राले महिला हिंसासम्बन्धी गुनासो राख्दा प्रतिउत्तरमा उनले हरेक महिलालाई नङ पाल्न र गोजीमा खुर्सानीको धुलो लिएर हिँड्न सुझाएथे भन्ने सुुनिन्थ्यो । उनले उतिबेला आफ्नो सुरक्षा आफैं गर्नुपर्ने सन्देश दिँदा खुब आलोचना भएको थियो । कुनै बेला आफू गृहमन्त्री हुँदा रामबहादुर थापाले पुँजीवाद नै बलात्कारको मुख्य कारण हो भनी संसद्मा जवाफ दिएका थिए । विद्यालयमा हुने बलात्कारका विषयमा शिक्षामन्त्रीको त प्रतिक्रिया नै सुनिँदैन । मानौं उनको प्राथमिकतामा यो विषय नै पर्दैन । मनोविद्काअनुसार बलात्कारका अनेक कारण हुन्छन् र तीमध्ये अनुकूल परिस्थिति र कामुक वातावरण पनि मुख्य कारण हो । साहित्यको श्रृंगार रसले त एकान्त बसाइ, जुनेली रातलाई समेत यौन उत्तेजक परिवेश ठान्दछ । विद्यालयले यस मामलामा सचेतता र निगरानी दुुवै अपनाउन जरुरी छ । तर, अधिकांश विद्यालयसमेत यसका लागि सुरक्षित छैनन् ।
कारकको खोजीः
बलात्कारीलाई मृत्युदण्ड सजाय नभएर वा कानुन कडा नभएकोले बलात्कारका घटना बढेको भन्ने पनि गरिन्छ । तर, मृत्युदण्ड दिने देशहरूमा पनि यस्ता घटना घटेकै छन् । खासगरी जीवशास्त्री बलात्कारी चरित्र भएका मानिसको जैविक बनोट र स्वभाव नै अरूभन्दा भिन्न हुने तर्क अघि सार्छन् । यौन असन्तुष्टि बलात्कारको एउटा कारण होला तर उनीहरू यसलाई मात्र बलात्कारको मुख्य कारक मान्दैनन् । जे भए पनि आगोको छेउमा राखेको घिउ पग्लिन्छ भन्ने मान्यता छ । विज्ञानले पनि आगो नफुकी धुँवा निस्किँदैन भन्छ ।
खप्तड स्वामी हरेक मान्छेमा रहेको विचारअनुसारको परिणाम निस्कने कुरा गर्छन् । विचार २ प्रकारको हुन्छ ः सुविचार र कुविचार । सुविचारले सबैका लागि राम्रो र कुविचारले नराम्रो स्थिति पैदा गराउँछ । विचार उत्पन्न गराउनका लागि परिवेश, समाज र संगत जिम्मेवार हुन्छन् । यसैकारण हिजोआज स्कुले छात्राले लगाउने अत्यन्त छोटा कपडा (मिडी, फ्रक आदि) र घरघरमा राखिएका इन्टरनेटको माध्यमबाट हेरिने पोर्न साइट किशोरकिशोरीको लत बिगार्ने महत्वपूर्ण माध्यमका रूपमा लिने गरिएको पाइन्छ । अनुकूल परिस्थिति र कामुक वातावरणमा कुविचार उत्पन्न हुन्छ । यसैकारणले होला एक अध्ययनले पोर्नोग्राफी हेर्नेहरू बढी कामुक हुन्छन् र मौका मिल्नासाथ बलात्कार गर्छन् भन्ने तथ्य फेला पारेको छ । यद्यपि नेपालमा पोर्नसाइट बन्देज भए पनि विकल्पमा अनेकौं सञ्जाल कायम नै छन् । प्रतिबन्ध लागेका यस्ता विषय भूमिगत शैलीमा झनै चलायमान देखिन्छन् र यसका लागि प्रयोगकर्ताले प्रशस्त चोरबाटा पछ्याउने गर्छन् ।
पोखरामा घटेको नमिता–सुनिता काण्ड छायामा परेका छन् नै, निर्मला पन्त बलात्कार र हत्या प्रकरणसमेत नेपथ्यमा परेको छ
पुरानैशैलीः
नेपाली समाजमा विपरीत लिंगीबीचको सम्पर्क, सम्बन्ध नौलो होइन । लामो समयसम्म सम्पर्क भएर पनि वियोगान्तमा पुुगेका घटना धेरै छन् । मन मिल्दासम्म सहमति, सम्बन्ध र सहकार्यमा जस्तोसुकै हर्कत पनि गर्ने, मन नमिलेको अवस्थामा जबरजस्तीको आरोप लगाएर कतै हत्या गर्ने, कतै मुद्दा मामिला गर्ने प्रचलन बढ्दो छ । यसरी हेर्दा पल–समीक्षा प्रकरणलाई महरा– रोशनी प्रकरणकै नयाँ संस्करण मान्दा हुन्छ । यसो त अपराध संहिता–२०७४ लागू भइसकेपछि लोग्नेले स्वास्नीविरुद्ध सम्बन्ध विच्छेदका लागि उजुरी गर्ने गरेको पनि पाइन्छ । पाँच÷सातवटा सन्तानकी आमाले समेत लोग्नेद्वारा बलात्कृत भएको भनी अदालतमा मुद्दा हालेका घटना पनि सुनिन थालेका छन् । आफ्नै श्रीमतीले बलात्कारको आरोप लगाउने मुलुकमा अर्काकी श्रीमतीले मन नमिल्दाको अवस्थामा यौन हिंसा, बलात्कार वा जबरजस्ती करणीको आरोपमा कारबाही गरें भन्नु खासै नौलो कुरा भएन ।
मनोविज्ञान भन्छः
जतिसुकै नकारात्मक रूपले हेरे पनि यौन मानव जीवनको एउटा अनिवार्य आवश्यकता भने हो । अमेरिकी मनोविद् अब्राहम मास्लोका अनुसार आवश्यकताका पाँचौं तह छन् र यीमध्ये पहिलो तहमा शारीरिक आवश्यकता पर्दछ । शारीरिक आवश्यकताअन्तर्गत मास्लोले गास, बास, कपास यौन, सुरक्षा आदिलाई लिएका छन् । उनका अनुसार मानिसलाई जसरी खाना चाहिन्छ त्यसरी यौन पनि अनिवार्य रूपमा चाहिन्छ । आचार्य रजनिशको त ‘सेक्स से समाधितक’ दर्शन नै छ । अर्का मनोवैज्ञानिक सिग्मण्ड फ्रायडले बच्चाले आमाको स्तनपान गर्दा समेत यौन आकांक्षा उत्पन्न हुन्छ भन्छन् । उनका अनुसार छोरा आमासँग र छोरी बाबुसँग नजिकिनुका पछाडि पनि यही मनोवैज्ञानिक कारण छ ।
यौन जैविक पक्षसँग सम्बन्धित भएकाले पनि होला अधिकांश मान्छेहरू विचलित भएकै हुन्छन् । यसलाई उमेर, वाद, जात, धर्मले कमै छेक्छ । जतिसुकै कडा दर्शन बोकेको विचारक पनि यस मामलामा कमजोर ठहर्छ भन्ने कुरा ‘हजारांै गोलीका छर्राले नढलेको एक योद्धा यौनको लालसाले सहजै ढल्छ’ भन्ने लेनिनको भनाइले पुष्टि गर्छ । यौन व्यवस्थापनको कमजोरीले गर्दा व्यक्तिको नैतिक पतनदेखि जीवनलीला स्वाहा हुन बेर लाग्दैन ।
स्वभाव आ–आफ्नाः
मान्छे कामवासनाबाटै जन्मेको हो, यसैकारण जति बढी कामवासनाको पूर्ति गर्न सक्यो त्यति मात्रामा मानिस खुसी हुन्छ भन्ने भनाइ फ्रायडले राख्दछन् । उनका अनुसार मानिसको ‘इद’मा रहेको स्वभावले यौन चाहना गरी नै रहन्छ र हर सम्भवले यसको पूर्तितर्फ ऊ लाग्दछ । यसलाई उनी जीवनको जैविक आवश्यकता नै ठान्छन् ।
नेपोलियन २५ वर्षसम्म नारीप्रति आकर्षित नै भएनन् । कामवासनाको कुरो त परै जाओस् । बुद्धले पत्नी नै त्यागे । विवाहित भएर पनि रामकृष्ण परमहंस योगीसरह रहे । मानवीय स्वभाव हेर्दा पुरुष बढी यौनात्तुर देखिए पनि नीतिले पुरुषमा भन्दा महिलामा आठगुणा बढी कामवासना हुन्छ भन्दछ । उनीहरू दबाउन सक्छन्, पुरुष सक्दैन फरक यत्ति हो । सन् २०१३ को अगस्त १५ मा ७७ वर्षीय भारतीय धर्मगुरु आशारामले आफ्नै भक्तकी छोरी १६ वर्षीया किशोरीलाई आफ्नै आश्रम जोधपुरमा बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । नेपालमा पनि बेला बेलामा महाराजजी चुक्ने गरेका छन् । पर्खालमन्त्री, रोपाइँमन्त्री आदिका नामले केही उच्च पदस्थहरू पनि कतै न कतै यस मामलामा बिटुलिएका छन् । मूल कुरो कुरा मिल्ने अवस्थासम्म यस्ता घटनाहरू गुपचुप राखिने र मनमुटाव पैदा भएपछि आरोपित गर्ने प्रवृत्तिका कारण अनैतिक कार्यकलापमा कमी आउन सकेको छैन । कतिपय व्यक्ति हत्याको कारक समेत बनेर आएका छन् । यो प्रवृत्तिलाई बेलैमा दुरुत्साहन गर्न जरुरी छ । राजधानी दैनिकबाट
- सञ्जय पन्थी
स्थानीय सरकारका (महानगर,उपमहानगर, नगर र गाउँपालिका) जनप्रतिनिधिले नगरको कार्यक्रम कसरी सञ्चालन गरिरहेका छन् भन्ने बुझ्न महालेखाको ५८ औं प्रतिवेदनबाट छर्लङ्ग हुन्छ । यसले पालिकाहरूको जवाफदेहिता र शुसासनको अवस्था दर्शाउँछ ।
नागरिकका आवश्यकता भन्दा आफ्नो तलब–वेतन र सुविधा जसरी भएपनि उपलब्ध गराउदै अधिकांशले सुशासनको दाबी गरिएको तथ्य महालेखाले उल्लेख गरेको छ । सर्वाेच्च अदालतको फैसलालाई चुनौती दिँदै कतिपय पालिकाले कानुनको समेत हुर्मत लिएका छन् ।
स्थानीय पालिका तहमा बनाइएका कानुन लागू गर्न भन्दा चोर बाटो अपनाएर यस अवधीमा गरिएका कामलाई अब्बल देखाउनु यतिवेला प्रतिस्पर्धा भैरहेको छ । तर सुशासन के हो ? अधिकांश पालिकाले नागरिकबाट प्रतिक्रिया लिनुको सट्टा मिडियामा आफ्ना कर्मलाई ढाकछोप गर्न क्रियाशील देखिएका छन् । गणतन्त्रमा अधिकार र स्वतन्त्रताको उपभोग गरिरहँदा जवाफदेही चाहीँ हुननपर्ने हो ?
सुशासनमा पुरस्कृत भनिएका कतिपय नगर वा गाउँपालिकाको अवस्था कस्तो छ भन्ने जान्न उनीहरूले जारी गरेको प्रतिवेदन अध्ययन गर्दा जानकारी हुन्छ । गत वर्ष नेपाल नगरपालिका संघबाट सुशासनमा उत्कृष्ट कपिलवस्तुको एक नगरपालिको सन्र्दभमा महालेखाको ५८औं प्रतिवेदनले औल्याएका अंश तल प्रस्तुत गरिएको छ । दक्षिण एसियामा विकेन्द्रीकरणका प्रर्वतक महात्मा गान्धीले भनेका छन्, ‘राज्यसत्ताले नागरिकको स्वतन्त्रता हरण गर्दा, त्यो समाज कर्तव्यविहीन बन्न पुग्छ ।’ गान्धीले नागरिकको स्वतन्त्रता हरण गर्ने त्यस्तो चिन्तन र व्यवहारलाई अराजकतावादी भनेका छन् ।
सुशासनमा अब्बल ठहरिएको एक नगरलाई महालेखाले दिएको सुझावका अंश यस्तो छ– ‘स्थानीय तह (वाणगङ्गा नगर) ले संचित कोषमा विगतको बाँकी, यस वर्ष प्राप्त रकम र संचित कोषबाट भएको खर्च स्पष्ट देखिने गरी खाता राखेको छैन् । लेखा परीक्षण क्रममा पेश्की खाता अद्यावधिक नरहेको स्थानीय तहको पेश्की यथार्थ मान्न सक्ने अवस्था छैन ।’
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७८ बमोजिम आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नु पर्नेमा लागू गरेको पाइएन । स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ अनुसार आफ्नो क्षेत्रभित्रको आधारभूत तथ्याङ्क संकलन, अभिलेखाकंन र व्यवस्थापन गर्नु पर्नेमा गरेको पाइएन ।
पालिकाले एक आर्थिक वर्ष भित्रको आर्थिक कारोबारको अनुसूची १४ बमोजिमको ढाँचामा वार्षिक प्रतिवेदन तयार नगरेको साथै योजनागत खाता राखेको पाईएन । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १७ बमोजिम मध्यकालिन खर्च संरचना तयार गर्नुपर्नेमा पालिकाले सो बमोजिमको खर्चको संरचना तयार पारेको पाइएन् । विषयगत क्षेत्रमा सञ्चालन हुने कार्यक्रममा बैठक भत्ता, भ्रमण भत्ता, तालिम, गोष्ठीतर्फ बढी केन्द्रित भई वितरणमुखी रहेको पाइयो ।’
अधिकांश पालिकाका प्रतिवेदनमा महालेखाले, कार्यालयको श्रेस्ता र बैंकबीचको हिसाब फरक परे वा नपरेको कारण हिसाब मिलान भए–नभएको सम्बन्धमा यकिन गर्न सकिएन । पालिकाले जिन्सी समानको एकीकृत विवरण तथा सहायक जिन्सी खाता अद्यावधिक नगरी वडा कार्यालय तथा विभिन्न संघ संस्थालाई वितरण गरेको पाइयो ।
स्थानीय निकायले आर्थिक प्रशासन नियमावली २०६४ को नियम ६२ मा जुन सुकै निर्माण कार्य, माल समान परामर्श, सेवा वा अन्य सेवा खरिदको लागि अनुमान तयार गर्नुपर्ने व्यवस्था रहेकोमा कार्यलयले निर्माण तथा सेवा सम्वन्धी कार्यको लागत अनुमान तयार गरेको भएपनि लागत अनुमानबेगर फर्निचर, कार्यलय समान कम्प्युटर आदी खरिद गरेका छन् ।
कुनै रकमको भुक्तानी दिदाँ रित पुगेका वा नपुगेको जाँच गरी रसिद विल भर्पाइहरूमा सिलसिलेवार नम्बरहरू राखेर कार्यालय प्रमुखले तोकेको कर्मचारीले भुक्तानी भएको जनाउने छाप समेत लगाई दस्तखत गरी प्रमाणित गर्नु पर्नेमा सो अनुसार गरेको पाइएन् । स्थानीय तह सञ्चालन ऐनको दफा १३ बमोजिम आर्थिक वर्ष शुरु हुनुभन्दा १५ दिन अगावै पालिकाले आफ्नो क्षेत्र भित्रको निर्माण सामग्री मूल्य ज्याला भाडा तथा अन्य महसुलको स्थानीय दररेट तोक्नु पर्नेमा तोकेको पाइएन् ।
निजामति सेवा ऐनको धज्जीः
महालेखाको ५८ औं प्रतिवेदनमा, अधिकांश पालिकालाई, सुशासन नियमावली २०६५ को नियम १४ अनुसार नागरिक बडापत्रमा उल्लेखित सेवाहरूको कार्यान्वयन स्थिति, अनुगमन तथा अनुगमन संयन्त्र तय गरेको पाइएन् । निजामती सेवा ऐन, २०४९ बमोजिम कार्य विवरण बनाई लागू गरेको पाइएन ।
पालिकाहरुले आफ्नो सबै आर्थिक कारोबार समावेश हुने गरी एकिकृत वार्षिक आयव्ययको विवरण तयार गर्नुपर्नेमा उक्त विवरण तयार गरेको नपाइएकोले कार्यन्वयन भएका योजनाको स्थलगत अवलोकन नगरिएकोले यर्थाथ आय र व्ययको यकिन गर्न नसकेको महालेखा परीक्षकले जनाएको छ ।
पालिकाद्वारा सञ्चालित कार्यक्रम र योजनाको स्थलगत अवलोकन नगरिएकाले कार्यन्वयन भए, नभएको अवस्थामा स्पष्ट जानकारी नै पाउन सकिदैंन । महालेखा परीक्षकले पालिकालाई आन्तरिक नियन्त्रण प्रणालीलाई तोकिए बमोजिम प्रभावकारी र विश्वसनीय बनाइ सेवा प्रवाह सुदृढ बनाउने तर्फ ध्यान दिन सुझाएको छ ।
ठेक्का प्रक्रियाका लागि अपनाइने कृत्रिमताः
प्रतिवेदनमा, अन्तिम चौमासिकमा गरिएका ठेक्का गरी प्रगति शतप्रतिशत देखाउने गरेकोमा महालेखा परीक्षकले आपत्ति प्रकट गरेको छ । स्वीकृत कार्यक्रम अनुसार सो बमोजिम नगरेको महालेखा परीक्षकले औंल्याएको छ । ठेक्का कार्य सम्पादनका लागि जमानत, बैंक ग्यारेण्टी, काम सम्पन्न गर्ने मिति, भेरिएसन आदिको जानकारी स्पष्ट गराएर मात्र प्रक्रिया पुर्याएर काम गर्नुपर्ने भएपनि नपाले त्यस्ता प्राविधिक आर्थिक पारदर्शीताका कुरालाई हेक्का राख्न सकेको छैन ।
अभिलेखबिना नै कार्य गर्दै आएको महालेखाले जानकारी गराएको छ । योजना छनौट र कार्यन्वयनको अवस्था अध्ययन गर्दा अघिल्लो नगर/गाउँसभाबाट पारित भएर स्वीकृत अधिकांश योजना न्यून वजेट देखाएर लागत प्रभावी हुने किसिमबाट सञ्चालन गरिएको महालेखा परीक्षकले औंल्याएको छ । सम्पन्न अधिकांश योजनाको गुणस्तर समेत शंकास्पद र नकारात्मक देखिन्छन् ।
सर्वाेच्च अदालतको फैसला पनि निरिहः
सर्वाेच्च अदालतको आदेशले २०७६ कार्तिक १ गते बाट लागू हुनेगरी सुविधा खारेज गरेको भएपनि नगरले लुम्बिनी प्रदेश सरकारले ७७ असार ८ मा पारित गरेको सेवा सुबिधा सम्वन्धी व्यवस्थालाई समेत वेवास्ता गर्दै कपिलवस्तुका नगरका पदाधिकारीले मासिक तलब सुबिधा लिएको पाइएको छ ।
प्रदेश सरकारले बनाएको सुबिधा सम्बन्धी अनुसूची १ (क) १ (ख) १ (ग) मा उल्लेख भएको सुविधा मात्र लिनु पर्ने हुन्छ । उक्त संशोधनले स्थानीय तहका पदाधिकारीले मासिक पारिश्रमिकबापतको सुबिधा लिनु पाउन सक्ने देखिदैंन । तर नगरका पदाधिकारीले मासिक रुपमा तलब सुबिधा लिदैं आएका छन् ।
एकातिर सर्वाेच्चको आदेशलाई वेवास्ता गर्दै मासिक वेतन बुझिरहेको देखिन्छ, प्रदेशको संशोधित ऐनको हवाला दिएर सुविधाका विभिन्न शीर्षकमा खर्च बुझेको उदाहरण प्रशस्त छन् ।
शीर्षकका आधारमा अविश्वसनीय खर्चः
महालेखाले, आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विधि खर्च गर्नुपर्ने व्यवस्था भएपनि पालिकाले गरेको यस्तो खर्च नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ ।
सार्वजनिक खरिद ऐनको खिल्लीः
स्थानीय तहले २० लाख रुपैयाँ भन्दा कम लागतका विकास निर्माण आयोजनामा उपभोक्ता समिति मार्फत गराउनु पर्ने भएपनि नाम मात्रका उपभोक्ता समिति बनाएर गरेकोले अनुगमन तथा प्रयोग भएका समानको गुणस्तर नै परिक्षण नगरी उपयोग गरेको मलेप प्रतिवेदनमा उल्लेख छ । त्यस्ता समितिहरुमा सडक कालेपत्रे, ट्रष्ट निर्माण, नहर निर्माण, सडक काले पत्रे, प्रसुती गृह निर्माण आदि ।
अविश्वसनिय भ्रमण र भत्ताः
प्रधानमन्त्री रोजगार कोष अन्तर्गतको कार्यक्रम पहुँचका आधारमा नाला, इनार र प्रतिक्षालय बनाउन खर्च गरिएका छन् । रोजगारीको दिगो व्यवस्था गर्न खर्चिएको नदेखिएको मलेपले जनाएको छ ।
अनुगमनका नाममा पदको दुरुपयोगः
अनुगमनका नाममा अनावश्यक मेयर, उपमेयर र कर्मचारीलाई खर्च उपलब्ध गराएको पाइएको छ । कतिपय अनुगमनमा एकै दिनमा दुइ पटक र एउटै संस्थाको अनुगमनमा केही दिनका अन्तरमा पुन दोहर्याएर मेयर, उपमेयर, केही वडा अध्यक्ष, मानोनित सदस्य र कर्मचारीले भत्ताका नामबाट खर्च बुझेको पाईएको छ ।
कोभिड महामारीका बेला अधिकांश नगरहरुले मास्क, स्यानिटाइजर, पिपिइ र थर्मलगन खरिदमा ब्रहमलुट तरिकाले खर्चिएका छन् ।
क्वारेन्टिन व्यवस्थापनमा मनग्य खर्चिएका छन् । क्वारेन्टाइनको बस्नेहरुको खाजाका लागि दशौं लाख रुपैयाँ खर्चिएको पाइएको छ । क्वारेन्टिनमा बस्नेहरूको औषधी खरिदमा पनि त्यसैगरी पारदर्शिताबिना खर्चिएको महालेखा परीक्षकले औलाएको छ । तर खरिदको विल सहित, पक्रिया र पारदर्शिता नभएको पाइएको छ । पालिकाहरूमा बेरुजू लाखमा नभएर करोडमा आएका तथ्य महालेखा प्रतिवेदनमा उल्लेख छ ।
मुलुक संघीय गणतन्त्रमा गएपछि अधिकांश स्थानिय सरकारहरुले गरेका कामका गतिविधी केलाउँदा सिंहदरवारको सुशासनभन्दा हुकुमी शासन अपनाएको पाईन्छ । नागरिक निरिह छन् । जनप्रतिनिधि मोटाएका छन् । कर्मचारी सुकिलामुकिला हुन पाएका छन् । यस्तो अवस्थामा दोस्रो पटक आगामी बैशाख ३० गते नागरिकले स्थानीय सरकारका जनप्रतिनिधि चुन्नुपर्ने भएको छ ।
तर यस्ता सवालमा चर्चा बहस नै नगरी दलहरुले नयाँ अनुहार वा पुराना अनुहारलाई स्थान दिदा प्रवृति नदोहरिएला भन्ने के ग्यारेण्टी ? त्यसैले दलहरूले आफ्ना दलका जनप्रतिनिधिको समीक्षा स्थानीय स्तरमा गरेर टिकट वितरण गर्न सके राम्रो हुने थियो । अन्यथा कुशासनका लागि सिंहदरवार गाउँ–गाउँ पुर्याएको बुझ्नु अन्यथा हुने छैन् । व्यवस्थाको जग नै मक्किएको ठहरिने छ । आगामी दिनमा माथि उल्लेखित विषयहरुलाई सुधार गर्छु भन्ने हिम्मत राख्न स्थानिय सचेत नागरिकलाई वैशाख ३० गतेको निर्वाचनमा उम्मेद्वार बनाउनु बाञ्छनीय हुने देखिन्छ । आगे दलहरू कै मर्जी । इकागजबाट