नेपालमा बढ्दो सवारी दुर्घटना अहिले राष्ट्रिय चिन्ताको विषय बनेको छ। दैनिक रूपमा हुने सडक दुर्घटनाले सयौँको ज्यान लिइरहेको छ भने हजारौँलाई अङ्गभङ्ग बनाइरहेको छ। यो केवल प्राविधिक समस्या मात्र नभएर अकल्पनीय मानवीय र आर्थिक क्षतिसँग जोडिएको गम्भीर मुद्दा हो। दुर्घटनाका मुख्य कारणहरूमा जीर्ण र साँघुरा सडक, पुराना सवारी साधन, लापरवाही, चालकले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनु र तीव्र गति देखिन्छन्। ट्राफिक नियमको उल्लंघन र क्षमताभन्दा बढी यात्री राख्ने प्रवृत्तिले सडकलाई थप जोखिमपूर्ण बनाएको छ।
दैनिक हुने सवारी दुर्घटनाको नियन्त्रण गर्न सके भयावह स्थितिको सामाना गर्न पर्ने थिएन । सम्बन्धित निकायले सवारी सधान तथा चालकहरुको समय समयमा परीक्षण गरी दाषी देखिएकालाई कारवाही गर्ने सडकको अवस्था सुधार गर्दै लैजाने र जोखिमयुक्त घुम्तीहरूमा ब्यारियर तथा स्पष्ट ट्राफिक संकेतहरूको व्यवस्था गर्न सके दुर्घटना कम गर्न सकिन्छ । लाईसेन्स वितरण प्रणालीलाई कडा र पारदर्शी बनाइ नियम उल्लंघन गर्नेलाई
तत्काल कारबाहीको दायरामा ल्याउने व्यवस्था गर्नु पर्छ। सडक सुरक्षाबारे जनमानसमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी सन्देश प्रवाह गर्नु पर्ने देखिन्छ।
प्रत्येक नागरिकले ट्राफिक नियमको पालना गर्ने र संयमित भएर सवारी चलाउने हो भने धेरै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।सडक सुरक्षा सरकारको मात्र जिम्मेवारी होइन। यसका लागि राज्य सम्बन्धित निकाय र नागरिकको सामूहिक प्रयास जरुरी छ ।
पटक पटकको प्रयासपछि हेटौंडाको सडक विस्तार सुरु भएको छ । घरधनी व्यवसायी र प्रशासनको रस्साकस्सी पछि गत शनिबार पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गतको बजार क्षेत्रमा सडक ऐन अनुसार सिमा क्षेत्रमा बनाइएका घर भत्काइएको छ । प्रशासनले घर भत्काएको भोलीपल्ट आइतबार अदालतको स्टे अडर्सको कारण विस्तारको कार्य रोकिएको बताएको छ ।
सडक विस्तारले दीर्घकालीन रूपमा हेटौंडालाई फाइदा पुर्याउनेमा दुई मत कसैको नहोला । पूर्वपश्चिम र काठमाडौं जोड्ने सवारी साधनको आवतजावत छिटो र सहज हुने सडक प्रदेश राजधानी समेत रहेको हेटौंडाको व्यवस्थित पेटीसहितको फराकिलो बनाउन अपरिहार्य छ । लामो समयदेखि चर्चा, विवादको विषय बन्दै आएको सडक विस्तार विषयले गति लिने नलिने अदालतको शुक्रबार वा त्यसपछि आउने आदेशले निर्धारण गर्छ ।
तर राजमार्ग क्षेत्रको सडकका कारण हेटौंडाको विकासमा असर परिरहेको बताइरहँदा मानविय पक्षलाई नहेरी सडक विस्तारको कार्यले धेरैको उठिबास लागेको छ ।सडक विस्तारले स्थानीय बासिन्दा र व्यवसायी मर्कामा छन् । संरचना भत्काउँदा पीडित भएकाले मुआब्जाको माग गर्दै आएका छन् । तर सर्वोच्च अदालतको २०८० सालको आदेशले २५ गज भन्दा बढी संरचना भत्काउनु पर्दा मात्रै मुआब्जा दिनु पर्ने भनी व्याख्या गरेको छ ।
हेटौंडाको सडक विस्तार नहुँदा दीर्घकालीन विकासमा बाधा पुगेकाे छ । सरकार, घरधनी, व्यवसायीबीच मुआब्जा तथा व्यवस्थापनकाे द्वन्द्वले अहिलेसम्म निकास पाउन सकेकाे छैन । एकातर्फ कानून अनुसार राष्ट्रिय राजमार्गलाई फराकिलो बनाउनु अपरिहार्य छ भने, अर्कोतर्फ वर्षौंदेखि बसोबास गरिरहेकालाई मुआब्जाको विषष चुनौतीपूर्ण बनेको छ।
भत्किएका घरधनीहरूले उचित मुआब्जा नपाए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । सडक ऐन तथा सर्वोच्चको उक्त आदेशले धेरैले न्याय पाउने देखिदैन् । यसको लागि प्रशासन, उद्योग वाणिज्य संघ तथा बास्तविक पीडित सहितको संयन्त्र बनाएर अवकाे बाटो टुंगो लगाउनु पर्ने देखिन्छ ।
जेनजी आन्दोलनका नाममा भएको अपराधिक गतिविधिमा संगल्नलाई कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई धेरै सकस छ । ति दिनहरुमा देशभर घटेका गतिविधिहरूले केवल राजनीतिक असन्तोषको रुप मात्र देखाएका छैनन्, यसले कानून र सुरक्षाको आधारभूत मूल्यमा नै प्रश्न उठाएको छ। आन्दोलन लोकतान्त्रिक अधिकार हो, तर जब त्यो अधिकार तोडफोड, आगजनी, जनधनको क्षति र आम नागरिकमा त्रास उत्पन्न गर्ने दिशातर्फ मोडिन्छ ।
त्यो स्वतन्त्र अभिव्यक्तिको अभ्यास होइन स्पष्ट रूपमा अपराधको स्वरूप लिन्छ। तर विडम्बना, यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू अझैसम्म नियन्त्रणमा आएका छैनन्। प्रहरी प्रशासनको ढिलासुस्ती, अनिर्णायकता र मौनताले नागरिकमा गम्भीर आशंका उत्पन्न गरेको छ। आखिर किन प्रहरी निष्क्रिय छ ? के राजनीतिक दबाबका कारण कानुनी प्रक्रिया अवरुद्ध भइरहेको हो ? कि प्रहरीभित्रकै समन्वयहीनता र इच्छाशक्तिको कमीले कारबाही सम्भव हुन सकेको छैन ?
कानूनको शासनमा बस्ने समाजमा कुनै पनि व्यक्ति वा समूह कानूनभन्दा माथि हुन सक्दैन। आन्दोलनका नाममा जथाभावी हिंसा फैलाउने र सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरूलाई उन्मुक्त राख्नु भनेको कानुनी शासनको धज्जी उडाउनु हो। प्रहरी प्रशासनले यस्ता घटनापछि तुरुन्तै अपराधी पहिचान, प्रमाण सङ्कलन र पक्राउ प्रक्रिया अघि बढाउनुपर्ने थियो।
प्रहरी संस्थामाथि जनताको विश्वास तब मात्र रहन्छ जब त्यसले निष्पक्षता र जवाफदेहिताको परिचय दिन्छ। अपराधको स्वरूप जुनसुकै होस्, अपराधी जोसुकै होस् कारबाही समान हुनुपर्छ। कुनै राजनीतिक वा प्रशासनिक दबाबका कारण प्रहरी कमजोर देखियो भने त्यसले केवल आजको होइन, भोलिको कानुनी व्यवस्था पनि कमजोर बनाउँछ। राज्यको स्थायित्व, जनविश्वास र कानूनी शासनको प्रतिष्ठा प्रहरीको हातमा छ।अपराधी उन्मुक्त रहे भने जनतामा असुरक्षा र प्रणालीप्रतिको विश्वासको संकट गहिरिंदै जानेछ। मकवानपुर प्रहरीले बुधबार ५ जनालाई नियन्त्रणमा लिएको छ, अब यो कामले निरन्तरता पाओस्, प्रहरीमाथि गौरव गर्न सकियोस् । दबाब र प्रभावमा कारवाही प्रकृया फितलो नहोस् ।
सालक स्तनधारी लजालु जनावर हो, यो प्याङ्गोलिनको नामबाट पनि चिनिन्छ । जीवविज्ञान अन्तर्गत सालकलाई वर्गीकरण गर्दा फोलिडोटा फाइलमा राखिएको छ । जसको अर्थ खपटा भएको जनावर भन्ने हुन्छ । विश्वभर ८ प्रजातिका सालक पाइन्छ। नेपालमा दुई प्रजातिका सालक पाइन्छन् । ती हुन्: तामे सालक अर्थात् इन्डियन प्याङ्गोलिन र कालो सालक अर्थात चाइनिज प्याङ्गोलिन ।
झट्ट हेर्दा न्याउरीमुसा जस्तो देखिने यो स्तनधारी जीवको शरीरभरी बाक्लो र कडा खपटा हुन्छ । यो सानो डाइनोसरजस्तो देखिन्छ । सालकलाई विभिन्न स्थान समुदाय अनुसार फरक नामले चिनिन्छ । तराईमा यसलाई ‘हिलेमाछो’ वा ‘सालमछरी’ भनिन्छ भने पश्चिम पहाडतिर यसलाई ‘भकुण्डे भुत’ भनेर चिनिन्छ । सालकका आँखा साना हुन्छन् र बाक्लो परेलाले ढाक्ने गर्छ । सालकको दाँत हुँदैन । जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलन सक्छ । यसको रङ माटोसँग मिल्दोजुल्दो देखिन्छ । सालकले जमिनको प्रांगारिक माटो खनेर जमिन बाहिर निकाल्ने गर्दछ यसले जमिनको उर्वराशक्ति बढ्छ । यसको साथै जमिन भित्रको माटो खुकुलो बनाइ जमिनभित्र बर्षातको पानि छिरेर जमिनको चिस्यान कायम गर्न मदत पु¥याउँदछ र यसले प्राकृतिक सन्तुलनमा पनि महत्वपूर्ण सहयोग पु¥याउँदछ । त्यसैले सालकलाई किसानको साथी भन्ने गरिन्छ ।
हालसम्मको जानकारी अनुसार मकवानपुरमा दुबै प्रकारका कालो र तामे सालक पाइन्छ । मकवानपुरको चुरेको फेद जहाँ सालको जंगलको राम्रो उपस्थिति छ त्यो क्षेत्रमा र माथिल्लो भेगको चित्लांग पालुंगको जंगलमा समेत यसको उपस्थिति देखिन्छ । चितवन र पर्सा दुवै राष्ट्रिय निकुन्जको सिमा जोडिएको स्थानमा सालकको बसोबास छ । मकवानपुरको झण्डै एकसय वटा सामुदायिक वनमा सालक रहेको अनुसन्धानले देखाएको छ । स्थानीय सामुदायिक वनको उपभोक्तामा सालकबारे जानकारी भएपछि यसको संरक्षणमा सहजता हुँदै आएको छ । सालकको बैगुन केही छैनन्,बहुगुणले भरिपुर्ण जीव हो सालक यसको संरक्षण गरौ । जेठ ११ गते सहीखबर साप्ताहिककाे अंकमा प्रकाशित सम्पादकीय ।