असम (भारत) । भारत असमका साहित्यकार कविता शर्मा पौडेलको गजल सङ्ग्रह अचानोको लोकार्पण गरिएको छ । असम नेपाली साहित्य सभाको १६ औँ महाधिवेशन तथा स्वर्णजयन्ती समारोहमा कविताको गजल सङ्ग्रह अचानोको लोकार्पण गरिएको हो ।
असमको गोलाघाट जिल्ला सरूपथारमा भएको असम नेपाली साहित्य सभाको १६ औँ महाधिवेशन तथा स्वर्णजयन्ती चारदिवसीय कार्यक्रममा अन्तर्राष्ट्रिय संगोष्ठी, कार्यपत्र प्रस्तुत, पुरस्कार तथा सम्मान कार्यक्रम, असमबाट प्रकाशित विभिन्न स्रष्टाका १०० वटा पुस्तक लोकार्पण गरिएको थियो ।
सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले पूर्वायन प्रकाशन गुवाहाटी, असमले प्रकाशन गरेको गजलकार कविताको दोस्रो कृति अचानोको विमोचन गरेका थिए । उनको यो पहिलो गजल सङ्ग्रह हो भने कृतिगत रूपमा दोस्रो कृति हो । यसअघि उनको कविता सङ्ग्रह समयको बारुद प्रकाशित भएको छ ।
भारत, असम राज्यको बडगाउँ सोणितपुरमा २१ फेब्रुवरी १९८६ मा जन्म भई जील्ला चिराङ वीटीएडी असम स्थाई बसोवास गर्ने कविता साहित्यका कविता तथा गजल विधामा कलम चलाउँछिन । चिराङ नेपाली साहित्य सभा, विटीआररिजन, असम नेपाली साहित्य सभा जस्ता साहित्यिक संस्थाहरूमा सकृय सर्जक उनि हाल नेपालको मोरङ जिल्ला उर्लाबारी नगरपालिकामा अस्थाई बसोबास गर्छिन ।
नेपाली भाषाबाहेक असमिया, हिन्दी, बंगाली र अंग्रेजी भाषामा समेत दख्खल र लेखनमा सकृय कविताले नेपाल र भारत असम बीचको साहित्यक सहकार्यको समेत भूमिका निर्वाह गरिरहेकी बताइएको छ ।
यसैगरी भारतको असममा रहेको असम नेपाली साहित्य सभाले कीर्तिशेष स्रष्टा निरू शर्मा पराजुलीको नाममा स्थापित एक लाख राशीको ‘निरू शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ पहिलोपटक नेपाली साहित्यकार प्राध्यापक डा.देवी नेपाललाई प्रदान गरिएको छ ।
कार्यक्रममा नेपालबाट डा.गोविन्दराज भट्टराई, डा.देवी नेपाल, शरद चन्द्र वस्ती, विवश बलिभद्र कोइराला, डा.गोपीकृष्ण खतिवडा, चन्द्र भण्डारी, विमल वैद्य, विष्णु न्यौपाने, अभागी थेगुवा, दीपक सुवेदी लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
यसैगरी भारत असमबाट साहित्यकार डा.चिन्तामणि शर्मा, डा.इन्दु प्रभादेवी, डा.खगेन्द्र शर्मा, रण काफ्ले, नव सापकोटा, ज्ञानबहादुर क्षेत्री, रुद्र बराल, अर्जुन निरौला, पूजा आचार्य, नैना अधिकारी, अमित अधिकारी, ज्योति हुमागाईँ लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
असम नेपाली साहित्य सभाका सभापति दुर्गा खतिवडाको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण महासचिव मदन थापाले गरेका थिए ।कार्यक्रममा भारतको सिक्किम, दार्जिलिङ,सिलिगुडी, मणिपुर तथा नेपालका स्रष्टाहरूको उपस्थिति रहेको थियो।
यूरो कप २०२४ को फाइनल स्पेन र इंगल्याण्ड बीच भिडन्त हुने भएको छ। जर्मनीमा जारी युराे कपकाे बिहीबारकाे सेमिफाइनल खेल सकिएसँगै फाइनलको समिकरण पुरा भएको हो।
सेमिफाइनलको दोस्रो खेल नेदरल्याण्ड्स र इंगल्याण्ड बीच भएको थियो। सेमिफाइनलमा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई २–१ ले पराजित गर्दै फाइनलमा स्पेनसँगकाे भेट पक्का गरेकाे हाे ।
खेलको सातौँ मिनेटमा जाभी सिमेन्सले गोल गरेर नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। यद्यपि, त्यसपछि नेदरल्याण्ड्स इंगल्याण्ड विरुद्ध कुनै गोल गर्न सकेन। खेलको १८ औँ मिनेटमा इंगल्याण्डका ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसैगरी, खेलको ९० औँ मिनेटमा वाट्किन्सले गोल गरेपछि नेदरल्याण्ड्स इंगल्याण्डसँग २–१ ले पराजित भयो।
युराेकपकाे फाइनल खेल इंगल्याण्ड र स्पेनबीच नेपाली समय अनुसार सोमबार बिहान १२ः४५ बजे हुनेछ।
काठमाडौं । जर्मनीको फ्रयान्कफर्टमा कलाकार रन्जु यादवको चित्रकला प्रदर्शनी भएकाे छ । मिथिला चित्रकार रन्जुले शनिबार नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजना गरेकाे नेपाल डेको कार्यक्रममा एकल चित्रकला प्रदर्शनी गरेकी हुन् ।
प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको नेपाली समाजले चित्रकला प्रदर्शनीकाे लागि रन्जुलाई निमन्त्रणा गरेका थिए । उनकाे २४ वटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा चित्रकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रुपान्तरणमा आफ्ना चित्रहरुको प्रभावबारे कार्यपत्र समेत प्रस्तुत गरिन् ।
जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवर्धन हुने र यसले फ्र्यान्कफर्टजस्तो अन्तर्राष्ट्रिय सहरमा नेपालको सांस्कृतिक कुटनीतिमा सघाउ पुग्ने बताए । जर्मनीमा मिथिला चित्रकला प्रदर्शनी आयोजना गर्न भूमिका खेलेको नेपाली समाज र चित्रकार यादवमाथि आफूलाई गर्व लागेको राजदूत खड्काकाे भनाइ थियाे ।

नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न सहरबाट कार्यक्रममा सहभागी हुन आएका नेपाली र जर्मन नागरिकले रन्जुकाे चित्रकला प्रदर्शनीलाई अवलोकन गरेका थिए । अध्यक्ष अधिकारीले नेपाली समाजले फ्रयान्कफर्टमा नेपाल डे आयोजना गरेर नेपालबारे जर्मनीमा प्रचारप्रसार गर्नुका साथै दुई देशका नागरिककाे सम्बन्ध सुमधुर बनाउने काम गरेको बताए ।
नेपाल डेको अवसरमा नेपाल, युक्रेन र भियतनामका कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । एक जना बलिउड कलाकारले नेपाली गीतमा प्रस्तुति प्रदर्शन गरेका थिए । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता रन्जु अहिले ३३ दिवसीय युरोप कला यात्रामा छन् । उनले युरोपका चार वटा देशको भ्रमण गर्ने छन् । तर तीन देशमा मात्रै चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताएका छन् ।
एंगोलाको लुवान्डामा आयोजित अन्तरव्यवस्थापिका संघ (आइपियू)को १४७औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संसदमा आउने विधेयकहरूलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरेर तिनीहरूको औचित्य परीक्षण हुँदै आएको बताएका हुन् ।
उनले नेपालले दिगो विकास लक्ष्यहरूलाई मूलभूत रूपमै आन्तरिकीकरण गरेको बताउँदै संविधानको प्रस्तावनामै नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षालाई उल्लेख गरिएको बताए ।
अध्यक्ष तिमिल्सिनाले विश्वका ज्वलन्त समस्याहरूको समाधान गर्दै दिगो र समुन्नत भविष्य निर्माण गर्न शान्ति र न्याय कायम गर्नु र हाम्रा संस्थाहरूलाई खुला, प्रभावकारी, पारदर्शी, समावेशी र प्रतिनिधिमूलक बनाउनु अपरिहार्य भएको कुरामा जोड दिए ।
अर्को प्रसंगमा अध्यक्ष तिमिल्सिनाले आणविक हतियार निर्माण र त्यसको जथाभावी प्रयोग विवेकहीन काम भएको जिकिर गरे । मानव जातिले शान्ति र न्यायका लागि नभई शक्ति प्राप्तिका लागि मानवजातिकै संहार हुने गरी सैन्य, सामरिक र आणविक अस्त्रमा सबैभन्दा धेरै खर्च गरेको विषय जायज हुन नसक्ने धारणा उनले राखे ।
‘विज्ञान र प्रविधिको विकास सुन्दर पृथ्वी र मानवजातिको हित र न्यायका लागि हुनुपर्नेमा क्षणभरमा मानवजाति मात्र हाेइन पृथ्वीको नै अस्तित्व समाप्त हुने गरेर आणविक शस्त्रअस्त्र निर्माणमा प्रयोग भइरहनु विवेकहीन कार्य हो, यो जायज छैन,’ उनले भने, ‘शक्तिसम्पन्न राष्ट्रले गरिब र कमजोर राष्ट्रहरूमाथि विभिन्न बहानामा गर्ने आक्रमण, थिचोमिचो र दमन शान्ति र न्यायको लागि खतरा बनेको छ ।’ नयाँपत्रिकाडेली डटकमबाट
मकवानपुर । नेपालले यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । यूएईलाई १९ रनले हराउँदै नेपालले उपाधी जितेकाे हाे । उपाधी जीतसँगै नेपाल यूएई यू-१९ एसिया कपकाे लागि छनौट भएकाे छ ।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १ सय ९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १ सय ७८ रनमात्रै बनायाे । टस जितेर पहिले ब्याटिङ राेजेकाे खेलकाे पहिलाे पारीमा नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रनको लक्ष्य युएईलाई दिएको थियो ।
तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो । नेपालका बलर आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामी एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो ।
यूएईको पारीमा भने वर्षा भयो । २ ओभरमै वर्षा भएपछि प्रभावित भएको खेल केही समयमा पुन: सुरु भयो । तर, फेरि ११ ओभरमा वर्षा भएपछि प्रभावित भएको खेललाई २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।
च्याम्पियन बनेको नेपालसँगै यूएई यू-१९ एसिया कपमा छनोट भइसकेका छन् । तेस्रो भएको जापान पनि एसिया कपमा छनोट भएको छ । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।