मकवानपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन संघीय सरकार तथा स्थानीय सरकारले गरेको ६ महिनाबढी बन्दाबन्दीको अवस्था झेलेका नागरिकहरु फेरि तर्सिएका छन् ।
बुधबार स्वास्थ्य मन्त्रालयको निर्णयपछि आफूहरुलाई फेरी चिन्ता बढेको हेटौंडामा मजदुर काम गर्दै आएका कमल लामाले बताए । ‘मजदुरी नगरी परिवार पाल्ने आधार छैन, धेरै कष्ट गरेर विगतका दिन बिताइयो, काम सुरु गरिएको एक साता हुँदैछ, फेरि पनि बन्द हुने हल्ला सुन्दैछु’ उनले भने ‘बाँच्न नसकिने भयो अब यो पाराले ।’ रोग लागेर भन्दा भोक भोकै बस्न परेको कारण आफ्ना बालबालिकाहरु बिरामी पर्ने अवस्थामा पुगेको उनले बताए ।
बुधबार स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्न सिफारिस गरेको छ । नेपालको स्वास्थ्य सेवाले २५ हजारभन्दा बढी सक्रिय संक्रमितलाई व्यवस्थापन गर्न समस्या हुने भएकोले २५ हजार संक्रमित नाघ्नासाथ लकडाउन गर्न सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी गराएका हुन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार चार सय १४ रहेको छ । बुधबार बिहान बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले जनस्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सरकारलाई सिफारिस गरेको छ ।
विभिन्न अस्पताल र प्रयोगशालाहरुले तोकिएभन्दा बढी शूल्क लिने गरेकोमा स्वीकृति दिने निकायले कडाइका साथ अनुगमन गरी कारबाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । यसअघि गएको चैत ११ गतेदेखि लगाइएको लकडाउन साउन ६ गते मध्य रातिबाट हटाइएको थियो । बुधबारसम्म नेपालमा १७ हजार चार सय ११ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार एक सय चार जना क्वरेण्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
मकवानपुर / मकवानपुर जिल्लामा पछिल्लाे २४ घण्टामा १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । ४ जना महिला तथा १० पुरूषमा काेराेना पुष्टि भएकाे हेटाैंडा उपमहानगरपालिका स्वास्थ्य अधिकृत भाेलनाथ चाैलागाँइले बताए । हेटाैंडा उपमहानगरपालिकाकाे ७, थाहा नगरका २, मनहरी गाउँपालिकाका ४, राक्सिराङकाे १ जनामा काेराेना पुष्टी भएकाे चाैलागाइले बताए ।
यसै बिच नेपालमा हालसम्म ३३ हजार ८ सय ८२ जना काेराेना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बुधबारकाे नियमित प्रेस बिफ्रिङमा उक्त तथ्याङ्क सार्वजनिक गरिएकाे हाे । बितेकाे २४ घण्टामा ९ सय १८ जना संक्रमण मुक्त भए सँगै हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८ सय ८२ पुगेका हुन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार वितेकाे २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएका छन् । यस सँगै प्रदेश नम्बर १ मा हालसम्म ३ हजार १ सय १३, प्रदेश नम्बर २ मा ९ हजार ७ सय १३, बागमती प्रदेशमा ५ हजार ९७ र गण्डकी प्रदेशमा २ हजार ३८ जना संक्रमित आजसम्म डिस्चार्ज भएका हुन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ९ सय १९, कर्णाली प्रदेशमा२ हजार ४ सय १० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय ९२ जना गरी आजसम्म ३३ हजार ८ सय ८२ जना डिस्चार्ज भएका छन् । हालसम्म ५ हजार ८० जना क्वारेन्टिनमा रहेकाे मन्त्रालयले जानकारी दिएकाे छ।
यसै गरी पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । गाेतमले हालसम्म संक्रमितको कुल संख्या ४९,२१९ पुगेको पनि जानकारी दिए । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण भएको छ ।
मृतकको विवरण
नेपालमा कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका गौतमले बताए । यस्तै कास्कीमा ७३ वर्षीया महिला, अर्घाखाँँचीमा ४२ वर्षीय पुरुष, बाँकेमा ८० वर्षीया महिला र नवलपरासीमा ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।
प्रदेशगत विवरण
संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय ५, प्रदेश नम्बर २ मा ३ सय ७४, बागमती प्रदेशमा ४ हजार ७ सय ७२ र गण्डकी प्रदेशमा ७ सय ३३ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १३, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ६ सय १६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना उपचाररत रहेका छन् ।
यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ६२, प्रदेश नम्बर २ मा २ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ४ सय ६६ र गण्डकी प्रदेशमा १ सय जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९५, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा १ सय ३० जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार २७ जना संक्रमित उपचाररत रहेका छन् । आइसियुमा देशभरी १ सय ६२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा २२ जना संक्रमित उपचाररत रहेका छन् ।
मकवानपुरमा ५३ जना कोरोना संक्रमित, विश्वमा प्रति १५ सेकेण्डमा कोरोनाको कारण १ जनाको मृत्यु
Tags: No Comments
मकवानपुर/ पछिल्लो चौबिस घण्टामा मकवानपुर जिल्लामा ३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै मकवानपुर जिल्लामा कोरोना संक्रमितको संख्या ५३ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिका–५ भालुखोलाका स्थानीय ७० वर्षीय पुरुषलाई बुधबार कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको विद्यालयहरु बन्द गरेको छ । यस अघि केही सातादेखि भौतिक दुरी कायम गर्दै जोर विजोर रोल नम्बरका विद्यार्थीहरुलाई आलोपालो गर्दै विद्यालयहरुमा पठनपाठन सुरु गरिएको थियो ।
यसैगरी बुधबार हेटौंडा–९ की ४६ वर्षीया महिला र हेटौंडा–२ का २२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनु भयो ।
देशभर पछिल्लो २४ घन्टामा थप ३ सय ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यस्तै १ सय ३० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा २४ घन्टामा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको हो । नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । नयाँ संक्रमितमध्ये सबैभन्दा बढी पर्सा जिल्लाको रहेका छन ्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पर्सा जिल्लामा १ सय ५१, काठमाडौंमा ५७ जनामा संक्रमण देखिएको छ ।
यसैबीच विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको विज्ञहरुले बताएका छन् । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ६ सय ४७ पुगेको छ ।
कोरोनाबाट अमेरिका, ब्राजिल, मेक्सिको, बेलायत र भारतमा सबैभन्दा बढी मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी १ लाख ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ४७ लाख ७१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २ हप्ताको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
त्यस्तै एक घण्टामा २ सय ४७ जना र प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको देखिन्छ । पछिल्लो समय अमेरिका र ल्याटिन अमेरिकी देशहरु कोरोना भाइरसको इपिसेन्टर बनेका छन् । सुरुमा ल्याटिन अमेरिकी देशहरुमा संक्रमण कम भए पनि पछिल्लो समय ब्राजिललगायतका देशमा संक्रमण तीव्र गतिमा बढिरहेको छ । हालसम्म विश्वभर संक्रमितको संख्या १ करोड ८५ लाख नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी निको भएका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस विरुद्धको खोप निर्माणमा विभिन्न मुलुकले गरेका अनुसन्धानहरुमा आशा गर्ने ठाउँ भए पनि कहिले बन्छ भनेर भन्न नसकिने बताएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अडहानोम गेहब्रेयससले कोरोनाको खोप निर्माण ‘जादुको छडी’ नभएको बताएका छन् ।
उनले कोरोनाविरुद्धको खोप कहिल्यै नबन्ने सम्भावना पनि रहेको उल्लेख गर्दै मास्कको प्रयोग र आवश्यक दूरी कायम गर्नु नै संक्रमण रोकथामको उत्तम विकल्प भएको बताएका छन्
।
काठमाडौं । युएईमा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् ।
कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन् । यो कम्पनीमार्फत करिब १२ हजार नेपालीले युएईका विभिन्न कम्पनीमा काम गर्दै आएका छन् ।
तर पछिल्लो पटक कम्पनीले एकैपटक ठूलो संख्यामा नेपालीसँग भएको श्रम करार अन्त्य गरेको हो । करार अवधि बाँकी छँदै रोजगारी गुमाउनुपरेपछि त्यहाँ कार्यरत नेपाली समस्यामा परेका छन् । उनीहरूले आफ्नो समस्याबारे युएईस्थित नेपाली दूतावासमा जानकारी गराएका छन् ।
एकैपटक ठूलो संख्यामा नेपालीले रोजगारी गुमाएपछि दूतावासले यसको जानकारी परराष्ट्र मन्त्रालयमा गराएको छ । यूएईका विभिन्न क्याम्पमा रहेका ती नेपालीको उद्धारको लागि पहल सुरु गरिएको दूतावासका एक अधिकारीले बताए ।
उनका अनुसार कम्पनीले आफ्नै खर्चमा श्रमिकलाई नेपाल पठाउने प्रस्ताव गरेको छ । त्यसका लागि नेपाल सरकारले स्वीकृति दिनुपर्नेछ ।
आफूहरूलाई छिटो नेपाल फर्काउनुपर्ने रोजगारी गुमाएका नेपाली जयराम नेपालले बताए । कम्पनीले खान दिए पनि लामो समय विदेशमा रोकिँदा समस्या थपिँदै जाने उनको भनाइ छ ।
यूएईमा हाल करिब २५ हजार नेपाली रोजगारी गुमाएर फर्किनुपर्ने अवस्थामा छन् । हालसम्म ४ हजार मात्रै फर्किएका छन् ।
कोरोना महामारीको असरपछि रोजगारदाता कम्पनी आर्थिक संकटमा परेका छन् । जसका कारण उनीहरूले विदेशी कामदार कटौतीको नीति लिएका छन्। अनलाइनखबर
एजेन्सी।कप्तान सर्गियो रामोसले दोस्रो हाफमा गरेको एक मात्र पेनाल्टी गोल मद्दतमा ला लिगा लिडर रियल मड्रिडले एथ्लेटिको विल्वाओलाई १-० ले पराजित गरेको छ ।
रामोसले ७३ औं मिनेटमा भीएआरको सहायतामा प्राप्त पेनाल्टीमा गोल गरेका हुन् । विल्वाओका डानी गार्सियाले रियल मड्रिडका मार्सेलोलाई पाल्टी एरियामा फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । रेफ्रीले भीएआरको मद्दतमा लिएर रियललाई पेनाल्टी अवसर दिएका थिए । रामोसको उक्त गोल नै रियललाई ३ अंक दिलाउन निर्णायक बन्यो ।
उक्त गोलपछि रामोस एकै सिजन ला लिगामा १० गोल गर्ने २००५ यता पहिलो डिफेण्डर बनेका छन् । २००५-०६ मा गेटाफेका डिफेण्डर मारियानो पर्नियाले उक्त उपलब्धी हासिल गरेका थिए ।
रामोसले कोरोना भाइरसको महामारीका कारण स्थगित भएको खेल सुरु भएपछि ला लिगामा ७ खेलबाट ५ गोल गरिसकेका छन् ।
जितपछि रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनामाथि ७ अंकको अग्रता बनाउँदै उपाधि होडलाई बलियो बनाएको छ ।
यद्यपि बार्सिलोनाले एक खेल कम खेलेको छ । रियलले ३४ खेलबाट ७७ अंक जोड्दा बार्सिलोनाको ३३ खेलबाट ७० अंक छ । बार्सिलोनाले आजै राती भियारियलसंग खेल्दैछ ।