मकवानपुर । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। हिजो चैत २६ गते राती पाकिस्तानी संसद्ले अविश्वास प्रस्ताव पारित गरेसँगै खान पदमुक्त भएका हुन्। उनी पाकिस्तानको इतिहासमा अविश्वास प्रस्तावबाट हटाइएका पहिलो प्रधानमन्त्री हुन्।
विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि शनिबार मध्यराति मतदान भएको थियो। अविश्वास प्रस्तावको पक्षमा १ सय ७४ मत परेको छ। यो प्रस्ताव पारित गर्न १ सय ७२ मत आवश्यक थियो।
पाकिस्तानी सभामुख असद क्वेसरले राजीनामा गरेपछि सांसद अयाज सदिकले संसद्को अध्यक्षताका ग्रहण गरेका थिए। पास्कितानी सर्वोच्च अदालतले राति १२ बजेभित्र अविश्वास प्रस्तावमाथि मत विभाजन गर्न आदेश दिएको थियो।
खानको पार्टीका सभामुख क्वेसरले राति १२ बज्नुभन्दा १५ मिनेट अघि राजीनामा दिएका थिए। त्यसअघि उपसभामुखले पनि राजीनामा दिएका थिए।
सांसद सदिकले संसद् चलाएका थिए। राति १२ बजेपछि भएको मतदानमा अविश्वास प्रस्तावका पक्षमा १७४ मत परेको हो। अन्य सांसदले मतदानमा भाग लिएनन्। यो प्रस्ताव पारित भएसँगै खान प्रधानमन्त्रीबाट हटेका छन्।
पाकिस्तानमा यसअघि २ पटक अविश्वास प्रस्ताव आएको थियो। सन् २००६ मा सौकत अजिज र सन् १९८९ मा बेनिजिर भुट्टोविरुद्ध दर्ता अविश्वास प्रस्ताव पारित हुन सकेको थिएन।
प्रधानमन्त्री खानको बहिर्गमनसँगै आज पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन प्रक्रिया शुरु हुने भएको छ। संसदको नेतृत्व गरिरहेका प्यानल अध्यक्ष सदिकले आज दिउसो २ बजे प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने समय दिएका छन्। त्यसपछि सोमबार बिहान ११ बजे संसद् बैठक बस्नेछ। त्यसमा प्रधानमन्त्रीका लागि मतदान हुनेछ।
विपक्षी पार्टीहरुका तर्फबाट शेहबाज सरिफ प्रधानमन्त्रीका उम्मेदवार बन्ने भएका छन्। ४ वर्षअघि भएको निर्वाचनमा प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तेहरिक-ई-इन्साफ (पीटीआई)ले १ सय ३३ सिट जितेको थियो। खानले अन्य साना दलसँग मिलेर सरकार गठन गरेका थिए। तर, अहिले साना दलले समर्थन फिर्ता लिएका छन।
अहिले उनको पक्षमा ४ वटा मात्रै साना दल छन्। पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) गरी ९ वटा पार्टी विपक्षमा छन्।
पाकिस्तानको संसद् ३ सय ४२ सदस्यीय छ। सरकार गठनका लागि १ सय ७२ सांसद आवश्यक पर्छ।
अमेरिकामा बस्दै आएकी ‘चेसी मे’ नामकी महिला सामाजिक सञ्जालमा निकै चर्चित छिन् । वास्तवमा उनको शरिरको तौल घटाउदा छाला तन्किएको देखिएका कारण सामाजिक सञ्जालमा चर्चा भएको हो । उनको टिकटकमा २ लाख ३० हजार भन्दा धेरै फलोअर्स रहेका छन् ।
बेलायती पत्रिका ‘द सन’ का अनुसार उनी हरेक दिन सामाजिक सञ्जालमा आफ्नो तस्वीरहरु सेयर गर्ने गर्छिन् । डिसेम्बर २०१९ मा उनले बेरियाट्रिक स्लिभ शल्यक्रिया गराएकी थिइन् । शल्यक्रिया हुनुभन्दा पहिला उनको तौल १ सय ७८ किलो थियो भने अहिले उनको तौल ७० किलो मात्र रहेको छ । उनले आफ्नो शरिर रुपान्तरणको तस्वीर सार्वजनिक गरेकी छिन् । उनको तौल घटाएको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
तौल धेरै बढेपछि आफ्नो मानसिक स्वास्थ्यमा पनि असर परेको उनी बताउँछिन् । आफ्नो मानसिक स्वास्थ्य दिनदिनै बिग्रिन थालेपछि खानादेखि रिसाउन थालिन् । उनको खानाको बारेमा निकै खराब बानी पनि थियो ।
अब उनी आफ्नो तौल घटेर तन्किएको छालालाई हटाउन चाहान्छिन् । त्यसका लागि उनी पैसा जम्मा गर्दैछिन् । यसका लागि उनले गो फन्ड मी मा अभियान पनि चलाइकी छिन् । यस शल्यक्रियाका लागि करिब १२ लाख रुपैयाँ जम्मा गर्नु उनको लक्ष्य रहेको छ । उनलाई धेरैले मद्दत पनि गरेका छन् ।
डाक्टरहरुका अनुसार उनको झोलिएका छाला हटाउनको लागि कमसेकम ३ पटक शल्यक्रिया गर्नुपर्ने छ । यस वर्ष जनवरीमा उनले एक चिकित्सकलाई पनि भेटिन जसले उनलाई शल्यक्रिया सम्बन्धित धेरै कुराहरु बताए । चिकित्सकले पहिला प्यानिक्युलेक्टोमी नामक शल्यक्रिया गरिने बताएका छन् । जसले तन्किएको छालालाई हटाउने छ । यो शल्यक्रिया करिब ५ घण्टा सम्म चल्नेछ ।
मकवानपुर । युक्रेनमा रहेका नेपालीहरूलाई अन्य मुलुकतर्फ जान वर्लिनस्थित नेपाली राजदुताबासले आग्रह गरेकाे छ । राजदुतावासले युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरीतर्फ जान अनुरोध गरेको छ । ती ३ मुलुकले युक्रेनमा फसेका विदेशी नागरिकहरूका लागि मानवीयताको आधारमा नाका (बोर्डर) खुल्ला गरेको जानकारी आएकाेले दूतावासले नेपालीलाई पनि त्यतै जान विज्ञप्ती मार्फत भनेकाे हाे ।
शुक्रवार विज्ञप्ति प्रकाशित गर्दै दूतावासले सुरक्षित तवरले नेपाल फर्कनका लागि सम्पर्कका आएका सबै नेपालीहरूलाई युक्रेन छाडेर ती मुलुकहरूतर्फ जान दूतावासले अनुरोध गरेको हो । दूतावासले हालसम्म युक्रेनमा रहेका १ सय ९३ जना नेपाली सम्पर्कमा आएको उल्लेख गरेको छ । ‘युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू गणतन्त्र स्लोभाकिया, पोल्यान्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका (बोर्डर) खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ । सुरक्षित तबरले नेपाल फर्कनका लागि ती मुलुकहरूतर्फ जान सकिने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र सम्बन्धमा समस्या परेमा सम्पर्क राख्न सम्पर्क व्यक्ति ताेकि दूतावासले अनुरोध समेत गरेको छ ।

मकवानपुर । युक्रेनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन नेपाल सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो ।
त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरि अत्यावश्यक बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत नेपालीहरुलाई मन्त्रालयले अनुरोध गरेको छ । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै सचेत हुन समेत आग्रह गरेको छ।
युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको परराष्ट्रले जनाएको छ । युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिन र मस्कोमा सम्पर्क गर्न सक्ने परराष्ट्रले बताएको छ ।
रुसले युक्रेनबाट अलग हुन संघर्षरत दुई राज्य लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिएपछि युक्रेनी सीमामा तनाब बढेको छ । युक्रेनबाट अलग भएको घोषणा गरेका यी दुई ओब्लास्ट क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रुसी कदमविरुद्ध पश्चिमा देशहरु छन् । यही तनाबका कारण दुई देशबीच युद्ध हुने आंकलनहरु भइरहेका छन् ।
यसै बीच युक्रेनी संसदले बुधबार यूक्रेनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्मा यूक्रेनबाट छुट्टिएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिएको भन्दै १० वर्षका लागि रूसी अधिकारीहरूलाई प्रतिबन्ध लगाउन प्रस्ताव पारित गरेको छ ।
यस प्रस्तावनालाई ४ सय ५० मध्ये ३ सय २२ जना विधायकले समर्थन गरेकाे अन्तराष्ट्रिय संचार संस्था सिन्ह्वाले जनाएकाे छ । प्रस्तावनाको लक्ष्य र उद्देश्यहरू युक्रेनी राष्ट्रिय सुरक्षा र रक्षा परिषद्को निर्णयको लागि आवश्यक कानूनी स्वरूप प्रदान गर्नु हो जुन व्यक्तिगत विशेष आर्थिक तथा अन्य प्रतिबन्धात्मक उपाय घोषणाका लागि मार्गप्रशस्त गर्नु रहेकाे बताइएकाे छ ।
मकवानपुर । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ। प्रणय दिवसमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन्।
आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन्।
विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन्। यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ। यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन्।
यो पर्व वा दिवसमा गुलाब को फूल अफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। विशेष गरी युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ। प्रत्येक वर्ष यो पर्व वा दिन नेपालमा मात्र ५ लाख भन्दा बढी गुलाब को बिक्री हुने गरेकाे छ ।
यसरी सुरु भयाे दिवस
प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
पछिल्लो समयमा हाम्रो देश नेपालमा पनि यो दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक-अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । हरेकको मनमा प्रेमभाव अङ्कुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन ।
प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन्छ । प्रेम दिवस भन्दैमा बाटोमा हिँडेको जोकोहीलाई हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ । जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ सच्चा प्रेममा । विगतमा मन पराएको मान्छेलाई चिट्ठीपत्रमार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो । तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेक छ ।
एकअर्कामा प्रेम हुनु जरुरी छ । प्रेमबिना संसार चल्दैन । सच्चाप्रेमीले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । यो निश्वार्थी हुनुपर्छ । तर पछिल्लो समय भावनात्मक रूपमा भन्दा पनि विभिन्न श्वार्थ भावका साथ झूटो प्रेम ‘फेक लभ’ गर्नेहरूको कमी छैन । यसो हुनु राम्रो होइन । अतः फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम पो मिठो र दीगो हुन्छ ।
भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसकाे सबैलाई हाम्राे पनि शुभकामना ।