मकवानपुर । युक्रेनमा रहेका नेपालीहरूलाई अन्य मुलुकतर्फ जान वर्लिनस्थित नेपाली राजदुताबासले आग्रह गरेकाे छ । राजदुतावासले युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरीतर्फ जान अनुरोध गरेको छ । ती ३ मुलुकले युक्रेनमा फसेका विदेशी नागरिकहरूका लागि मानवीयताको आधारमा नाका (बोर्डर) खुल्ला गरेको जानकारी आएकाेले दूतावासले नेपालीलाई पनि त्यतै जान विज्ञप्ती मार्फत भनेकाे हाे ।
शुक्रवार विज्ञप्ति प्रकाशित गर्दै दूतावासले सुरक्षित तवरले नेपाल फर्कनका लागि सम्पर्कका आएका सबै नेपालीहरूलाई युक्रेन छाडेर ती मुलुकहरूतर्फ जान दूतावासले अनुरोध गरेको हो । दूतावासले हालसम्म युक्रेनमा रहेका १ सय ९३ जना नेपाली सम्पर्कमा आएको उल्लेख गरेको छ । ‘युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू गणतन्त्र स्लोभाकिया, पोल्यान्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका (बोर्डर) खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ । सुरक्षित तबरले नेपाल फर्कनका लागि ती मुलुकहरूतर्फ जान सकिने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र सम्बन्धमा समस्या परेमा सम्पर्क राख्न सम्पर्क व्यक्ति ताेकि दूतावासले अनुरोध समेत गरेको छ ।


