मकवानपुर । श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरको अध्यक्षमा केदार प्रसाद चौलागाई चयन भएका छन् । शनिबार भएको ३० औं साधारण सभा तथा १० औं अधिवेशनले चौलागाईको नेतृत्वमा १० सदस्यीय समिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षद्धयमा श्रीराम खतिवडा,भरत ढकाल,सचिवमा मोहन ढकाल,सहसचिवमा देवी अधिकारी,कोषाध्यक्षमा दिपकलाल खतिवडा,सदस्यहरुमा कृष्ण प्रसाद अधिकारी,श्याम ढुङ्गना,भरत खतिवडा रहेका छन् ।
श्रीकृष्ण प्रणामी सेवा समितिको केन्द्रीय उपाध्यक्ष श्याम शर्माको प्रमुख आतिथ्यता र अर्जुन प्रसाद वाग्लेको सभादक्ष्यतामा कार्यक्रम भएको हो । केन्द्रीय उपाध्यक्ष रामकृष्ण तिवारी,केन्द्रीय सदस्य बद्री चौलागाई,समाजसवी तिलक प्रसाद दुलाल लगायत जिल्लामा रहेका सात प्रणामी मन्दिर समितिका अध्यक्षहरुकाे कार्यक्रमका उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्बर–६ चौघडा निवासी शान्ति कुमारी कुँवर थापाले चौघडामा रहेको रक्षादेवी मन्दिरलाई सोमबार २ थान सिमेन्टको कुर्सी प्रदान गरेका छन् ।
आफनो बृबा आमाको सम्झनामा थापाले कुर्सी प्रदान गरेका हुन् । स्वर्गीय बुबा हर्कमान कुँवर र आमा मोती कुँवरको सम्झनामा मन्दिरलाई कुर्सी प्रदान गरिएकाे हाे । रक्षादेवी मन्दिर व्यवस्थापन समितिका संस्थापक अध्यक्ष शम्भु बहादुर रिमालको प्रमुख आतिथ्या एवम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार बानियाँको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष उपेन्द्र थापा, सचिव राजकुमार फुँयाल, सहसचिव विजय कुमार हुमागाई, सञ्चारकर्मी भीमसेन पौडेल, समितिका पदाधिकारी र स्थानीयको उपस्थिति रहेको थियो ।
मकवानपुर । आज भाद्रकृष्ण अष्टमी । हिन्दुहरूका भगवान श्रीकृष्णकाे जन्मदिन । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ ।
श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान श्रीकृष्ण जन्माष्टमी’ काे दिन महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।
विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि यस वर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण कृष्ण मन्दिरमा खासै चहल पहल छैन । शोभायात्रा निकाल्ने र झुला झुलाउने काम पनि नगर्न स्थानीय प्रशासनले आग्रह गरेका छन् ।
पौराणिक ग्रन्थमा उल्लेखित कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पाइन्छ । महाभारत ग्रन्थ अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त विचारहरूकाे संग्रह ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको एक पवित्र ग्रन्थ मानिन्छ ।
सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा सार्वजनिक विदा समेत दिएकाे छ ।

हेटौंडामा गाईजात्रा पर्व मनाइयो
Tags: No Comments
मकवानपुर । नेवार समुदायकाे मुख्य पर्व गाईजात्रा हेटाैडामा पनि मनाइएकाे छ । नेपालमा प्रताप मल्लको पालादेखि चलनमा आएको मान्यता रहेकाे गाईजात्रा पर्व हेटौंडाका नेवार समूदायले मनाएका हुन । भदाै ७ गते सोमबार हेटौंडामा पिपलबोटबाट सुरु भएको जात्रा संगमचोक हुदैं कान्तिराजपथ, बुद्धचोक, सिमाचोक हुदैं टिसिएन सानो भुटनदेवी मन्दिरमा पुगेर गाईजात्रा समापन गरिएको छ ।
यो जात्रा काठमाडौं उपत्यकाका तत्कालिन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुवेपछि, रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प¥यो भनेर देखाउन गाई जात्राको चलन बसालेको विश्वास छ ।
नेवारी समुदायले मृत आत्माको चिरशान्तिको कामना गर्दै घरबाट विभिन्न भेषभुषा धारण गरी मनाइने गरिन्छ । सोही अनुरुप हेटौंडामा सामूहिक रुपमा गाइजात्रा मनाइएको नेवाः गुठी खलका अध्यक्ष अनिल खड्गेले बताए । मानिस मर्नु पर्छ मरे आफ्नो धर्म संस्कृति अनुरुप तामाङले घेवा गरेजस्तै हामीले गाइजात्रा मनाउने गरेको बताउदैं सरकारले दिएको स्वास्थ्य मापदण्ड अनुरुप पर्व मनाइएको नेवाः साँस्कृतिक पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ । यसो गर्दा मृतकको आत्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
गाई पाल्नेहरुले भने गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन पनि गराउने चलन छ ।
हेटाैडा लगायत नेवार समुदायकाे बाहुल्यता रहेकाे काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, पोखरा, तानसेनलगायत देशैभरका नेवार समुदायले यो पर्व मनाउने गरेका छन् ।
गाईजात्राकाे अवसरमा काठमाडाैं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरिएकाेमा संघीय सरकारले देशभरका नेवार समुदायलाई विदा दिएकाे छ भने बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा सार्वजानिक विदा समेत दिएको छ ।
ब्लु डायमण्ड सोसाईटीको ‘गाईजात्रा’ कार्यक्रम
ब्लु डायमण्ड सोसाईटीले सोमबार हेटौँडामा गाईजात्रा कार्यक्रम गरेकाे छ । सोसाईटीले ‘राईट हियर राईट नाउ’को सहयोगमा हेटौँडा ११ सहिद स्मारक परिसरमा गाईजात्रा कार्यक्रम गरेको हो ।

संस्थाले बिगत १८ वर्षदेखि काठमाडौँ उपत्यकामा गाईजात्रा कार्यक्रम आयोजना गर्दै आएको थियो । यसवर्ष भने कोरोनाको जोखिमका कारण हरेक जिल्ला–जिल्लामा कार्यक्रमको आयोजना गरिएको जनाएकाे छ।
कार्यक्रममा लैंगिक तथा अल्पसंख्यक समुदायका २५ जना सहभागीहरुले स्वास्थ्य मापदण्ड पालना गरी प्ले कार्ड सहित गाईजात्रा कार्यक्रम गरेका थिए ।
मकवानपुर । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार(आज) सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय पनि गरेको छ । यसअघि गाईजात्रामा काठमाडाैं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरेकाे थियाे ।
यसैगरी बागमती प्रदेश सरकारले भदाै ७ गते मनाइने गाईजात्रा पर्वकाे अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने भएकाे छ । प्रदेश सरकार मन्त्रिपरिषदबाट बागमती प्रदेशकाे प्रमुख पर्वकाे रूपमा मनाइने गाईजात्रा पर्वकाे उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय भएकाे हाे ।
प्रदेश राजपत्रमा भदाै २ गते सुचना प्रकाशित गरी भदाै ७ गते सार्वजनिक विदा दिइने घाेषणा भएकाे हाे
