मकवानपुर । आजदेखि सोह्र श्राद्ध सुरु हुने भएकाे छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सोह्र श्राद्ध सुरु हुन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो ।
सोह्र श्राद्ध अर्थात् पितृ पक्षमा आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ। कतै यो पक्षलाई प्रेत पक्ष पनि भनिएको छ। पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ। सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ ।
चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्र, ग्रन्थमा उल्लेख गरिएको छ। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन्।
नेपालीले बडा दशैँ मनाउनुअघि पितृलाई तृप्ति गर्ने परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको मान्यता छ। पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडा दशैँ शुरु हुन्छ।
यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गर्छ । यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण स्वास्थ्य मापदण्ड अपनाएर कर्म गर्न धर्मशास्त्रविद्ले आह्वान गरेका छन्। विशेष गरी अरुको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । अरुको घरमा श्राद्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्राद्ध गर्ने गरिएको हो।
श्राद्धका लागि कर्ता (गर्ने मानिस), ब्राह्मण (गराउन जान्ने मानिस) र श्राद्ध सामग्रीको आवश्यकता पर्दछ। कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन्। सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ। आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन धर्मशास्त्रविद् बताउँछन्।
यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ। कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति लाग्नुअघिसम्म अर्थात् मङ्सिर अघिसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ।
आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको छ।
त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १ सय ८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको छ। विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ। यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ।
‘श्रद्धया यद्दियते तद् श्राद्धम्’ अर्थात् श्रद्धाले जे दिइन्छ, त्यो नै श्राद्ध हो। यसैले यो पक्षमा पितृलाई खुसी बनाएर आनन्द लिने गरिन्छ । सोह्र श्राद्ध चार किसिमले गरिन्छ। तीन पुस्तालाई मात्र पिण्ड दिएर गरिने एकापार्वण श्राद्ध हो। यही पक्षमा निधनका भएकाका नाममा यो श्राद्ध गरिन्छ।
घर मामाघर तिरका तीन पुस्तासम्मलाई पिण्ड दिएर गरिने श्राद्धलाई द्वि पार्वण भनिन्छ। घर तर्फकालाई दुई पिण्ड र मामाघरतर्फ एक पिण्ड दिएर गरिने सोह्रश्राद्धलाई त्रिपार्वण भनिन्छ। घरतर्फका पितृलाई दुई र मामाघरतर्फका पितृलाई दुई गरी चार पिण्ड दिएर गरिने सोह्र श्राद्धलाई चतुर्पावण भनिन्छ।
मकवानपुर । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी मन्दिर व्यवस्थापन समितिको प्रथम बार्षिक साधारण सभा भएको छ। शनिबार भएकाे प्रथम साधारणसभाले अध्यक्षमा पुनः रमेशकुमार बानियाँलाई नै चयन गरेको छ।
असाेज २ गते शनिबार मन्दिर परिसरमा भएको प्रथम बार्षिक साधारणसभाले बानियाँको अध्यक्षतामा लक्ष्मीचरण श्रेष्ठ उपाध्यक्ष, राजकुमार फुयाँल सचिव, विजयकुमार हुमागाई सहसचिव र केशव धिताल कोषाध्यक्ष रहने गरी १३ सदस्यिय समिति चयन गरेकाे छ । नव गठित समितिका सदस्यहरुमा केशव प्रसाद कोईराला,र ाजेश पौडेल, मदन न्यौपाने, रामप्रसाद सापकोटा, सविना गुरुङ, सूर्य बहादुर खड्का, कमला सापकोटा र सरस्वती श्रेष्ठ चयन भएका हुन ।
भेलामा समितिका अध्यक्ष रमेशकृमार बानियाँले संस्थागत प्रतिवेदन,सचिव राजकुमार फुयाँलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्दिरको भौंतिक विकासमा आर्थिक तथा जिन्सी सहयोग गर्ने उत्तमकुमार कुमार श्रेष्ठ, रामप्रसाद सापकोटा, विजयकुमार श्रेष्ठ, राजकुमार बास्तोला, सरोज न्यौपाने,संञ्चारकर्मी भीमसेन पौडेल लगायतकालाई सम्मान गरिएको थियो ।
हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाँईको प्रमुख आतिथ्यता एवम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बानियाँको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मकवानपुरगढी–७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्वा, हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाँई, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, समाजसेवी कृष्णप्रसाद सञ्जेल, मन्दिर व्यवस्थापन समितिका सल्लाहकार रामहरि चौलागाँई, उपाध्यक्ष उपेन्द्र बहादुर थापा मगर लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । हेटौडा ६ काे रक्षादेवी मन्दिरलाई नगर सहयाेग गरिएकाे छ ।
हेटौंडा-६ चुच्चेखोलाका समाजसेवी चेतनारायण श्रेष्ठ र छोरा उत्तम कुमार श्रेष्ठले आफ्ना छोरा र भाइ दिपक श्रेष्ठको स्मृतिमा रक्षादेवी मन्दिरलाई १ लाख रुपैंया सहयोग गरेका हुन् ।
श्रेष्ठ परिवारले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बानियाँलाई १ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका छन् ।
यसैगरी, हेटौंडा–६ चौघडास्थित राजु पोलि क्लिनिकका संचालक समाजसेवी राजु गुरुङले आमा ओम कुमारी र बुवा गणेशबहादुर गुरुङ र सोनी गुरुङका बुवा पदमध्वज गुरुङको स्मृतिमा मन्दिरलाई पानी ट्यांकी सहयोग गरेका छन् । गुरुङले मन्दिरलाई ११ हजार रुपैंया बराबरको १ हजार लिटरको पानी ट्यांकी सहयोग गरेका हुन् ।
पछिल्लो समय मन्दिर व्यवस्थापन समितिले राज्यका साथै सामाजिक व्यक्तित्वहरुबाट संकलित रकमबाट मन्दिर क्षेत्रको पूर्वाधार विकासको काम गरिरहेको छ ।
मकवानपुर । हिन्दु धर्मावलम्बी महिलाररूले भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्दछन् । ३ वटा ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्ने गरिन्छ ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय मान्यता रहे पनि ऋषिपञ्चमी भने महिलाले मात्र गर्नुपर्ने हिन्दु शास्त्रहरूमा वर्णन गरिएकाे पाइन्छ । महिनावारी अथवा रजस्वलाका समयमा कुनै त्रुटि भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको पाइन्छ ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।
ऋषिपञ्चमी सुरु हुनुको मान्यता महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए । यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको धार्मिक रहेकाे छ ।
मकवानपुर । हिन्दु महिलाहरुले आज हरितालिका तिज पर्व मनाएका छन् । भाद्र शुक्ल तृतीयाका दिनमा पर्ने याे पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइएकाे हाे ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । हरितालिका पर्वमा व्रत गर्ने नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने विश्वास गरिन्छ ।
यसवर्ष कोरोना संक्रमण कम हुँदै गएको र निषेधाज्ञा पनि हटेको कारण पोहोरको तुलनामा तीजको रमझम बढी देखिएकाे छ । तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न र सकेसम्म घरमै मनाउन र भौतिक दूरी कायम गर्न सरकारले आग्रह गरेकाे छ । साेही अनुसार यस बर्ष मन्दिरहरुमा भीडभाड कम देखिएकाे थियाे । हेटाैडामा पनि मन्दिरहरुमा चहलपहल कम देखिएकाे छ । प्रायले आ आफ्नै घरका सदस्य भेला भई रमाइलाे गरी पर्व मनाएका छन् । मन्दिरमा पुगेर पुजाआजा गरिएकाे तस्विरकम पारिवारिक जमघट बढी भएकाे तस्विर सामाजिक सञ्जालमा धेरै आएका छन् ।
पहिले जस्ताे राैनकता हराउँदै गएकाे देखिएता पनि यसकाे माैलिकता र मिहला अधिकारकाे सवालमा तिजकाे महत्वलाई भुल्न नहुने अधिकारकर्मीहरु समेत बताउँछन् । हेटाैडाका सविता तिमल्सिना सामाजिक सञ्जालमा यसरी लेख्छिन ‘तपाईंहरू मान्नोस नमान्नोस नेपालमा महिला अधिकारकोलागि चेतना जगाउने र आफ्ना अधिकारका लागि लड्न सिकाउने पर्व तिज नै हो र तिजका गितनै हुन । भलै आज भोलिका गित र पर्व मनाउने शैली गलत होला। व्रत आफ्नो इच्छा अनुसार बस्ने म त मज्जाले तिज मान्छु। र तिजलाई महान पर्व नै मान्छु।

भाद्र शुक्ल द्वितीयका दिन दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व भाद्र शुल्क पञ्चमीकाे दिन सम्म मनाइन्छ । ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबैले निराहार व्रत बस्नु नपर्ने संस्कृतिविदहरु बताउँछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएको र साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिको रुपमा प्राप्त गरेको भन्ने कथन हिन्दु धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको शास्त्रीय मत रहिआएको छ ।
यसै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तीजको शुभकामना सन्देश दिदै काेराेना जाेखिम कायम रहेकाे अवस्थामा स्वास्थ्य मापदण्ड पालनासहित हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन अनुरोध गरेका छन् ।